Friday, August 29, 2014

Unseen Factors Making People Poorer-Article-140

आर्थिक समृद्धि र अदृश्य तत्वहरु

आर्थिक समृद्धिलाई हामी केवल धन सम्पत्तिसँग मात्र जोडेर हेर्छौ। तर आर्थिक समृद्धिको आधार केवल धन सम्पत्ति मात्र होइन। धन सम्पत्तिकलाई मात्र केवल आर्थिक समृद्धिको आधार मान्ने हो भने हामी परम्परागत मान्यताको पछाडि लागेको ठहर्ने छ। हाम्रो विश्लेषण सतही हुनेछ। तर यसको अर्थ यो होइन कि धन सम्पत्तिको कुनै अर्थ नै छैन। धन सम्पत्तिको आर्थिक समृद्धिसँग गहिरो सम्बन्ध छ तर केवल केही हदसम्म। सम्पूर्ण रुपमा भने होइन।
धन सम्पत्तिले व्यक्ति र समाजलाई आर्थिक समृदधि प्रदान गर्दछ, हो, यो सत्य हो। तर यो केवल सतह माथि देखिने सत्य वा तत्व मात्र हो। सतह मुनी पनि यस्ता धेरै तत्वहरु छन् जसले व्यक्ति र समाजलाई आर्थिक रुपमा समृद्ध पार्नमा ठोस योगदान पुर्याएका हुन्छन। ती तत्वहरुको सम्बन्ध धन सम्पत्तिसँग हुँदैन तर यी तत्वहरुले व्यक्ति एवं परिवारलाई धनी वा गरिब पार्नमा महत्वपूर्ण भूमिका खेलेका हुन्छन। धन सम्पत्तिको सट्टा यी तत्वहरुको सम्बन्ध भावन, विचार, प्रथा, चलन आदि जस्ता कुराहरु सँग हुन्छ। व्यक्ति एवं परिवारलाई आर्थिक रुपमा समृद्ध वा गरिब पार्ने तर सतह मुनी रहेर कार्य गर्ने त्यस्ता तत्वहरु मध्ये एउटा तत्व हो जाति प्रथा। समाजमा बलियो गरी जरो गाडेको जाती प्रथाले व्यक्ति एवं परिवारलाई आर्थिक रुपमा सक्षम हुन बाधा पुर्याउने मात्र होइन, गरिब पार्नमा समेत महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
व्यवहारमा त्यो समाजले द्रुततर गतिमा आर्थिक प्रगति हासिल गरेको देखिएको छ जुन समाज जाती विहिन छ। यूरोपेली समाज जातीको आधारमा विभाजित छैन, त्यसैले तुलनात्क रुपमा एशियाली राष्ट्रहरु भन्दा बढी आर्थिक समृद्धि हासिल गरेको छ। एशियाली राष्ट्रहरु र मुख्य गरी नेपाल र भारत, जातीको आधारमा अनेक चिरामा विभाजित भएको हुनाले आर्थिक विकासको गति यी मुलुकहरुमा तुलनात्मक रुपमा तिब्र हुन सकेको छैन, ज्यादै सुस्त छ। नेपाल, भारतमा समाज जातीको आधारमा यति नराम्रो गरी विभाजित छ कि तथाकथित ठूलो जातीको मान्छेले तथाकथित सानो जातीको मान्छेको हातको पानीसम्म खाँदैन। सानो जातले छोएको खण्डमा खाने कुरा अपवित्र हुन्छ भन्ने अन्ध विश्वास ठूलो जातले पाल्दछ। पश्चिमी राष्टका नागरिकहरुलाई यो पत्याउन पनि गाह्रो हुन्छ कि एउटा जातीले छोएको खाने कुरा अर्को जातीले अपवित्र मान्दछ, र खाँदैन। सानो जातीको व्यक्तिले ठूलो जातीको व्यक्तिसँग सजिलै गरी बिहे बारी गर्न नपाउनु अर्को ठूलो समस्याको रुपमा देखिएको छ। यो समस्याले गर्दा समाजमा अन्तरघुलन हुन सकेको छैन। त्यति मात्र होइन, जाती वा छुआ छुतको परम्पराले गर्दा दहेज प्रथाले झनै बढी प्रश्रय पाएर यो अति पीडादायी समस्या उन्मुलन हुन सकेको छैन। तल्लो जातीको व्यक्तिले माथिल्लो जातीको व्यक्तिसँग बिहे गर्न नपाउने र केवल आफ्नै जातीको व्यक्ति सँग बिहे गर्नु पर्ने सामाजिक वाध्यताले गर्दा कुनै एक जातीको वर वा वधुले आफ्नो लागि वधु वा वर पाउने सम्भावना खुम्चिन पुगेको छ। केवल आफ्नै जातीबाट वर वा वधु रोज्नु पर्ने वाध्यता सृजना भएको छ। र यसरी सीमित संख्यामा रहेका उपलब्ध वरहरु मध्ये आफ्नो कन्याको लागि वर खोज्नु पर्ने अनिवार्यताले गर्दा दहेज प्रथालाई मल जल पुगेको छ। दहेज प्रथाको जरा समाजमा झनै तल तल पुग्न थालेको छ, उखेलिएर फालिनुको सट्टा।
सभ्यता विकासको क्रममा कुनै काल खण्डमा, श्रम गरेको आधारमा श्रृजना भएको जाती प्रथाले अहिलेको यो उन्नत समयमा पनि प्रश्रय पाउनु आफैमा अनौठो छ नै, साथै यो आधुनिक समाजमा पनि कलंकको रुपमा रहेको जाती प्रथालाई टिकाइ राख्न खोज्नेहरुको यस्तो व्यवहार झनै उदेक लाग्दो छ। जाती प्रथा धर्मले श्रृजना गरेको होइन। जाती प्रथा, सभ्यता विकासको क्रममा आफ्नो आर्थिक एवं सामाजिक फाइदाका लागि तत्कालिक शासकहरुले समाजमा थोपरेका एक अति नै पीडादायी मानवीय समस्या मात्र हो। त्यस कारण जाती विभाजनको धर्मसँग कुनै किसिमको सम्बन्ध छैन। तत्कालिक शासकहरुले आफ्नो पुर्खेउली शासन व्यवस्था टिकाउनका लागि पनि समाजमा जातीयताको श्रृजना गरेका हुन। 
तल्लो जाती र उपल्लो जातीले गर्दा तल्लो जाती भनिएकाहरुका लागि देश भित्र रोजगारीका औसरहरु समेत सांघुरिन पुगेको छ। तल्लो जातीकाहरुले केही तोकिएका कामहरु मात्र गर्न पाउने वाध्यताले गर्दा उनीहरुले विभिन्न र लाभदायक रोजगारीहरु पाएर आफ्नो आर्थिक स्थितिमा मा सुधार ल्याउन गार्हो परिरहेको छ। अर्को तिर, उनीहरुले आफ्ना सन्तानहरुलाई राम्रो शिक्षा दिक्षा दिएर मानसिक र आर्थिक दुबै रुपमा सक्षम नागरिक बनाउन निरन्तर रुपमा, परिस्थिसँग अन्तहीन संघर्ष गरि रहनु परेको छ।
नेपालमा विद्यमान रहेको जातीय प्रथालाई, सन् १९८९ मा बर्लिनको पर्खाललाई बलपूर्वक भत्क्याइए झै भत्क्याउन त सकिंदैन। र त्यसरी गर्नु हुँदैन पनि। बलपूर्वक ल्याइएको परिवर्तन दिगो हुँदैन। बरु मानसिक परिवर्तन गरेर वा समाजलाई शिक्षित पारेर स्वेच्छापूर्क ल्याइएको परिवर्तन दिगो हुन्छ।  तर यो परिवर्तन ल्याउन भने अति आवश्यक छ, नेपालीलाई समाजलाई आर्थिक समृद्धिको दिशातर्फ डोर्याउने हो भने। नेपली समाजमा कष्टदायी पर्खालको रुपमा खडा रहेको जाती प्रथालाई भत्काउन आवश्यक छ। यो कार्य गर्नका लागि युवाहरुलाई प्रेरित गर्न आवश्यक छ। जातीय प्रथा अन्त्य गर्न सर्वप्रथम त छुवा छुतको प्रचलन हटाउन जरुरी छ भने दोस्रो अन्तर जातीय विवाहलाई प्रोत्साहित गर्नु आवश्यक छ। यस्तो गर्न सकिएमा जातीय प्रथाको अन्त गरेर नेपाली समाजलाई आर्थिक समृद्धिको पथमा दौडाउन सकिन्छ।

विश्वराज अधिकारी 
प्रतीक दैनिकमा प्रकाशित Friday, August 29, 2014

No comments:

Post a Comment