Friday, November 28, 2014

SAARC:What Should Be Its Main Agenda?-Article-150

सार्कको मुल एजेन्डा के हुनु पर्ने हो?

यो आलेख तयार परिरहँदासम्म काठमाडौमा १८ औं सार्क सम्मेलन आयोजना गर्न सरकारी एवं नागरिक, दुवै स्तरमा भव्य तयारी चलिहरेको छ। मंसिर १० र ११ गते (26-27November, 2014)  गरी दुई दिनमा सम्पन्न हुने यस सम्मेलनका लागि, नेपालले आफ्ना स्रोत र साधनहरुले भ्याए सम्म, भव्य तयारी गरेको छ। नेपालले गरेको तयारी हेर्दा र सार्क सम्मेलन सम्बन्धी आएका समाचार, विचार आदिको विश्लेषण गर्दा नेपालले यो १८ औं सम्मेलन मात्र होइन, सार्क संगठनलाई पनि अति महत्व दिएको सरल किसिमबाट अनुमान गर्न सकिन्छ। साथै नेपालले सार्क संगठनबाट ठूलो अपेक्षा गरेको पनि प्रष्ट हुन आउँछ। नेपालमा छोटो छोटो अवधिमा हुने सरकार परिवर्तन, सत्ता लिप्साका कारण नेताहरुमा हुने विग्रह र कलह, अस्थिर राजनीति एवं कमजोर सरकार आदिको कारणले नेपालले सार्कको उपयोग आफ्नो हितमा बढी मात्रामा गर्न नसक्नु विश्लेषणको अर्को पाटो हो तर वर्तमानको स्थितिमा र यो सरकारले यो सम्मेलन सफलतापूर्वक आयोजना गर्न जुन किसिमको हौसल र तत्परता देखाएको छ त्यसले यो मुलुकले सार्क संगठनबाट ठूलो अपेक्षा राखेको र साथै सार्क सम्मेलनलाई राष्ट्रिय प्रतिषठाको विषय बनाएको प्रष्ट हुन आउँछ। नेपालको यस्तो अपेक्षा सार्कले कसरी पूरा गर्ने हो त्यो त भविष्यले नै देखाउने छ।
बंगलादेशको राजधानी ढाकामा भएको पहिलो सिखर सम्मेलन ( 7-8 December, 1985) र सो सम्मेलनमा जारि भएको “ढाका घोषणा” बाट सार्क संगठन विधिवत रुपमा अस्तित्वमा आएको हो। आफ्नो स्थापनाकालदेखि नै यसले सदस्य राष्ट्र (नेपला, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान, मालदिभ्स र अफगानिस्तान) हरु बीच कृषि एवं ग्रामिण विकास , जैविक प्रविधि, संस्कृति, अर्थतन्त्र एवं व्यापार, शिक्षा, ऊर्जा, वातावरण, वीत्त, कोषप्रवाह पद्धति, सूचना, संचार तथा संचार माध्यम, व्यक्ति व्यक्ति वीच सहयोग, गरिबी निवारण, विज्ञान एवं प्रविधि, सुरक्षा, सामाजिक विकास, पर्यटन आदि जस्ता क्षेत्रहरुमा एक अर्कालाई सहयोग पुर्याउने र ती क्षेत्रहरुको विकासमा मिलेर कार्य गर्ने प्रतिवद्धता जाहेर गर्दै आएको छ। तर भारतको सहर बैंग्लोरमा सन् १९८६ मा भएको दोस्रो सिखर सम्मेलनदेखि माल्दिभ्सको सहर एडु सहरमा सन् २०११ मा भएको सत्रौं सम्मेलनसम्मको स्थितिलाई हेर्दा सार्क संगठनले कुनै उल्लेखनीय उपलब्धि हासिल गरेको देखिंदैन। सार्क क्षेत्रका गरिबहरुको जीवनमा कुनै ठूलो सकारात्मक परिवर्तन ल्याउन कुनै किसिमको भूमिका खेलेको पनि देखिंदैन। जबकी सार्कलाई “गरिबहरुको संगठन” पनि भन्ने गरिन्छ। हुन पनि यसका क्रियाकलापहरु पनि मुख्य गरी गरिबी निवारणमा केन्द्रित हुनु पर्ने हो। यस क्षेत्रका निर्धनहरुको जीवन अति नै कष्टकर छ। वर्षौको गृह युद्धले अफगानी अर्थतन्त्र त झन चुंडिएको स्थिति छ जुन विस्तारै विस्तारै जोडिने क्रममा छ।
सार्कको स्थापना कालदेखि अहिलेसम्मको स्थितिलाई हेर्ने हो भने समय समयमा कुनै एक सदस्य राष्ट्रको एक सहरमा सार्क राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरु जम्मा हुने र उनीहरु बीच भेटघाट भइ  हालखबर आदान प्रदान हुने बाहेक सार्क संगठनबाट केही खास उपलब्धिमूलक कार्य हुन सकेको छैन।   
सार्कले यस क्षेत्रको गरिबी निवारणमा उल्लेखनीय भूमिका खेल्न नसक्नुको मुख्य कारण सार्क राष्ट्रहरु बीच सुमधुर सम्बन्ध नहुनु हो। यसका केही सदस्य राष्ट्रहरुले एक अर्काप्रति संकाको दृष्टि राख्नु हो। परम्परागत सत्रुताको मानसिकताबाट बाहिर  आउन नसक्नु हो। सदस्य राष्ट्रहरु बीच सुमधुर सम्बन्ध नभएकोले न त गरिबी निवारण सम्बन्धी नया साझा प्रतिवद्धताहरु निर्माण हुन सकिरहेका छन् न त पहिले निर्माण भएका प्रतिवद्धताहरुको कार्यान्वयन हुन सकेका छन्। गरिबी निवारण एक यस्तो वृहत एवं चुनौतिपूर्ण मुद्दा हो जसले सार्कका सदस्य राष्ट्रहरु बीच अनेक क्षेत्रहरुमा साझा धारणा एवं सहकार्यको जोडदार अपेक्षा गर्दछ।
भारत-पाकिस्तान विभाजन कालदेखि नै, भारत र पाकिस्तान बीच समधुर सम्बन्ध कायम हुन सकेको छैन। यी दुई देशका नागरिकहरुले जनस्तरमा सम्बन्ध सुमधुर बनाउन खोजे पनि दुबै मुलुकतिर सक्रिय स्वार्थी सक्तिहरुले यी देशहरु बीच राम्रो सम्बन्ध कायम हुन दिइ रहेका छैनन्। ती स्वार्थी सक्ति वा तत्वहरुले यी दुई देशहरु बीच फाटो बढ्नुमा नै आफ्नो फाइदा देख्छन। काश्मिर-समस्या त झन, भारत र पाकिस्तानका लागि यस्तो घाउ हुन पुगेको छ जसलाई दुबै देशले मलहम लगाएर कम पार्न त सक्छन तर सँधैको लागि निको भने पार्न सक्तैनन्। अर्थात समस्या समाधानको दिशा तर्फ अग्रसर हुन सक्छन तर समाधान गर्न सक्तैनन्। यो समस्या समाधान गर्न दुवै पक्षहरुले ठूलो सदासयता देखाउनु पर्ने हुन्छ। त्यस्तो हुन सकिरहेको छैन। तर यो घाउ भने बेला बेलामा बल्झिने गर्दछ। यसैगरी भारतको सहयोगमा, तत्कालिन पश्चिमी पाकिस्तानबाट छुट्टिएर पूर्वी पाकिस्तान  हालको बंगलादेश बन्दा (श्रृजना) पनि भारत र पाकिस्तान बीचको मात्र होइन पाकिस्तान र बंगलादेश बीचको सम्बन्ध पनि अमिलो हुन पुगेको थियो। सुमधुर सम्बन्धको कुरा गर्ने हो भने, विश्लेषकहरु भन्छन बंगलादेश र भारत बीचको सम्बन्ध पनि सोहार्दपूर्ण छैन। र यसका कारणहरु पनि अनेक छन। केही सतह माथि छन भने केही सतह मुनी। चकमा सर्णार्थी समस्याले पनि बंगलादेश र भारत बीचको सम्बन्धलाई प्रभाव पारेको छ। तालिबान र अफगानिस्तान भित्र हुने विभिन्न किसिमका हिंसापूर्ण घटनाहरुलाई लिएर पाकिस्तान र अफगानीस्तान बीच पनि बेला बेलामा कटुटता उत्पन्न हुने गर्दछ। साझा सिमाना र साझा संस्कृति रहेका यी दुई मुलुकहरु बीच जति सुमधुर सम्बन्ध हुनु पर्ने हो त्यति हुन सकेको छैन। श्रीलंकमा, भेलुपिल्लाइ प्रभाकरनको नेतृत्वमा लिबरेसन टाइगर्स अफ तामिल इलमले छुट्टै तामिल राज्य स्थापना गर्न चलाएको जुन आन्दोलन थियो त्यसलाई बलपूर्वक दबाउन त्यहाँका राष्ट्रपति महिन्दा राजपाक्षेले सक्तिको अति प्रयोग गरे भन्ने कुरामा धेरै भारतीय नेताहरु विश्वास गर्छन्। यसै गरी नेपाली मुलका धेरै भुटानी नागरिकहरुलाई भुटान सरकारले भेदभावपूर्ण व्यवहार गरेर उनीहरुलाई भुटान छाडि सर्णार्थी हुन बाध्य पार्यो। नेपाली मुलका धेरै भुटानीहरु नेपालमा मात्र होइन, विश्वका अनेक राष्ट्रहरुमा पुगेर शर्णार्थी जीवन बिताउन विवस हुनु पर्यो। तर देश फर्किन चाहने ती सर्णार्थीहरुलाई भुटान सरकारले फर्किन दिनु पर्थ्यो। भुटान सरकारले त्यस्तो गर्न दिएन।  भुटानको यो कार्यले धेरै नेपालीहरुको मन दुखेको छ। अर्कोतिर, भुटान नेपालसँग “ओषधी सेवनको सम्बन्ध” राख्न चाहन्छ। अर्थात आवश्यक परेको बेलामा नजीक हुने न त टाढा नै बस्ने नीति राख्दछ। नेपालसँगको सम्बन्ध घनिष्ट भएमा नेपालीमूलका भुटानीहरुले भुटानमा गडबड गर्ने मानसिकताबाट भुटान बाहिर आउन सकेको छैन्।
सार्क संगठनका सदस्य राष्ट्रहरु बीच केवल कटुतापूर्ण सम्बन्ध छ भन्ने कुरा मात्र देखाउन खोजिएको होइन र त्यसका लागि विभिन्न उदाहरणहरु पेश गरिएको पनि होइन। देखाउन के खोजिएको हो भने सार्क संगठनका सदस्य राष्ट्रहरु बीच अनेक आग्रह र पूर्वाग्रहहरु छन र ती आग्रह र पूर्वाग्रहहरुले सार्क संगठनका सदस्य राष्ट्रहरु बीच, एक अर्कालाई सहयोग गर्ने सन्दर्भमा ,साझा दृष्टिकोण र साझा प्रतिवद्धताको निर्माण हुन दिई रहेका छैनन्। यी कारणहरुले गर्दा सार्क संगठनले आफ्नो स्थापनालाई उपलब्धिमुलुक बनाउन सकेको छैन। न त भविष्यमा बनाउने सम्भावना नै देखिन्छ। त्यसकारण सार्क संगठनाई अर्थपूर्ण पार्नका लागि सार्कले केवल आर्थिक क्षेत्रमा मात्र आफूलाई केन्द्रित गर्नु उचित एवं प्रभावकारी देखिन्छ। राजनैतिक, सामाजिक, सांस्कृतिक आदि आदि विषयलाई महत्व न दिएर केवल आर्थिक क्षेत्रमा, र आर्थिक क्षेत्रमा पनि बढी मात्रामा व्यापारमा केन्द्रित हुन आवश्यक देखिन्छ। राजनीतिलाई त सार्कले सँधैका लागि आफूदेखि अलग राखे हुन्छ। सार्कले राजनैतिक मुददाहरुलाई सम्बोधन गर्नु आफ्नो अस्तित्व समाप्त पार्ने दिशामा अग्रसर हुनु हो।
विश्व व्यापार संगठनले जुन किसिमका कार्यहरुलाई आफ्नो उद्देश्य र प्राथमिकताको सूचीमा राखेको छ सार्कले पनि त्यसै किसिमबाट केवल व्यापार सम्बन्धी कुराहरुलाई मात्र आफ्नो उद्देश्य र प्राथमिकताको सूचीमा राख्न आवश्यक छ। सार्कले आफ्नो ध्यान यसका सदस्य राष्ट्रहरु बीच रहेका विभिन्न किसिमका व्यापार बाधा (Trade barriers) हरु हटाउन वा कम पार्न, सदस्य राष्ट्रका नागरिकहरु एक अर्काको राष्ट्रमा सजिलै किसिमले जान पाउने पार्न, सदस्य राष्ट्रहरु बीच खरिद बिक्री सरल तुल्याउन,  एक देशका सामानहरुलाई अर्को देशमा सरल किसिमले प्रवेश दिलाउने तर्फ केन्द्रित गर्न आवश्यक छ। सदस्य राष्ट्रहरु बीच हुने आर्थिक कारोबारहरुलाई सरल किसिमले सम्पन्न गराउन सदस्य राष्ट्रका केन्द्रिय एवं व्यापारिक बैंकहरु बीच प्रभावकारी सह कार्य एवं समन्वय गराउने तर्फ अग्रसर हुनु पर्ने देखिन्छ। यस्तो गर्न सकेको खण्डमा मात्र सार्कको स्थापानलाई अर्थपूर्ण र सार्क क्षेत्रको गरिब जनताको हितमा तुल्याउन सकिन्छ।   


विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, November 28, 2014

No comments:

Post a Comment