Friday, December 12, 2014

China's Becomes World's Largest Economy-Article-152

चीनको पछिल्लो आर्थिक उपलब्धि

चीन विश्वको सर्वाधिक ठूलो अर्थन्त्र भएको समाचारले अहिले सर्वत्र निकै चर्चा पाइ रहेको छ। यो चर्चाको साथै एक थरीले चीन यति छोटो अवधिमा नै कसरी यति ठूलो आर्थिक उपलब्धि हासिल गर्न सफल भयो भन्ने बारे गहिरिएर सोंच्दै छन् भने अर्को थरिले चीनले हासिल गरेको यो उपलब्धि के भविष्यमा पनि कायम राख्न सफल होला त भनी संका व्यक्त गर्दैछन्।
यति छोटो अवधिमा चीनले यति ठूलो आर्थिक उपलब्धि हासिल गर्नुको पछाडि तीन प्रमुख कारणहरु रहेको हुन सक्छन्। पहिलो, चीनको सर्वाधिक ठूलो जनसंख्या जसले चीनलाई सस्तो लागतमा वस्तु र सेवाहरु उत्पादन गर्न सघाउ पुर्यायो। चीनले गरेको जनसंख्या व्यवस्थापनले उसलाई श्रम लागत कम पार्न ठूलो सहयोग गर्यो। दोस्रो, नियन्त्रित राजनैतिक व्यवस्था जसले देश भित्र निरन्तर रुपमा राजनैतिक स्थिरता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो। चीनको राजनैतिक व्यवस्थामा केन्द्र यति बढी बलियो छ कि यसले देश भित्र उत्पन्न हुने कुनै पनि किसिमको राजनैतिक वा सामाजिक उपद्रव अथवा असन्तोषलाई बलपूर्वक र कठोरताका साथ नियन्त्रण गर्न सक्छ। देशलाई लामो समयसम्म अस्थिर हुन दिंदैन। चीनमा मजदूरहरुले हडताल गर्नु  र उत्पादन ठप्प पार्नु त सपनाको कुरा हो। तेस्रो, सुधारवादी नेता देङ्ग जिआयोपिंगको आर्थिक कार्यक्रम, जसले चीनको अनुदार अर्थव्यवस्थालाई बजारमुखी तुल्यायो। अर्थव्यवस्थामाथि राज्यको अति नियन्त्रलाई ज्यादै खुकुलो पार्यो। माओ जेदोंगले टाउको तल र खुट्टा माथि पारेको चीनिया अर्थव्यवस्थालाई टाउको माथि र खुट्टा तल पार्ने कार्य गर्यो। कछुवा चालमा हिंडिरहेको चीनिया अर्थव्यवस्थालाई खरायोको चालमा दौडिने तुल्यायो।
चीनले आफ्नो यो आर्थिक सफलतालाई लामो अवधिसम्म कायम राख्न सक्ला त भनी संका गर्नेहरु पनि कम छैनन्। हुन पनि चीनको आर्थिक अवस्थामा आएको तिब्र प्रगतिले आम चीनियाहरुको पारिश्रमिकमा वृद्धि गर्नु पर्ने वाध्यात्मक स्थिति उत्पन्न गर्नेछ र वृद्धि भएको पारिश्रमिकले अहिलेको सस्तो श्रम लागतलाई केही चर्को पार्नेछ। चर्को श्रम लागतले चीनिया वस्तुहरुलाई महँगो पारि अन्तरार्ष्ट्रिय बजारमा चीनिया वस्तुहरुको प्रतिस्पर्धात्मक क्षमतामा कमी ल्याउने छ। यस्तै समस्या अहिले पश्चिमी युरोपका राष्ट्रहरुले भोगिरहेका छन्। त्यसकारण चीनले आफ्नो यो चमत्कारी आर्थिक उपलब्धिलाई लामो अवधिसम्म, जसरी अमेरिकाले कायम गर्न सकेको छ, कामय राख्न गार्हो पर्ने देखिन्छ।   
चीनको यो आर्थिक उपलब्धिलाई केहीले चीनका धनीहरु अझै धनी भएको र गरिबहरुको जीवनस्तरमा सुधार आउन नसकेको स्थितिको रुपमा पनि लिइरहेका छन्। हुन पनि चीनले अहिले केवल आफ्नो अर्थ व्यवस्थालाई मात्र विश्वको सर्वाधिक ठूलो अर्थ व्यवस्था बनाउन सफल भएको हो तर आफ्ना गरिब नागरिकहरुको जीवन स्तरमा त्यसै गरी ह्वात्त वृद्धि गर्न सफल भएको भने होइन। चीनका निर्धन परिवारहरुको क्रय शक्तिमा ह्वात्तै वृद्धि भएको होइन। प्रतिव्यक्ति आयको आधारमा चीन अहिले पनि विश्वका धनी राष्ट्रहरुको सूचीमा पर्दैन।  विश्वका दस धनी राष्ट्रहरुको सूचीमा चीन कतै देखिंदैन। विश्वकै सर्वाधिक धनी राष्ट्रहरुको सूचीमा, प्रतिव्यक्ति आयको आधारमा, पहिलो कतार, दोस्रो लगजेम्बर्ग र तेस्रो युनाइटेड अरब इमिरेट्स रहेका छन्। कतारको प्रतिव्यक्ति आय ९१ हजार ३ सय ७९ डलर रहेको छ। चीनले अहिले विश्वको ठूलो अर्थव्यवस्था बन्ने प्रतिस्पर्धामा अमेरिकालाई जितेको छ। तर प्रतिव्यक्ति आयको आधारमा चीनको तुलना अमेरिकासँग गर्दा चीन अमेरिका भन्दा अझै निकै पछाडि रहेको देखिन्छ। सन् २०१३ मा चीनको प्रतिव्यक्ति आय ६ हजार ८ सय ७ डलर थियो भने अमेरिकाको प्रतिव्यक्ति आय ५३ हजार १ सय ४३ डलर थियो।
माथि विभिन्न किसिमका अनुमान, अडकल, र विश्लेषणहरु गरिए तापनि वर्तमानको यथार्थले के भन्छ भने चीनले अहिले ठूलो आर्थिक उपलब्धि हासिल गरेको पक्कै हो। सन् १८७२ देखि विश्वको सर्वाधिक ठूलो रहँदै आएको अमेरिकलाई उछिनेर चीन विश्वको सर्वाधिक ठूलो अर्थतन्त्र भएको हो।
१४२ वर्षसम्म अमेरिका विश्वको सर्वाधिक ठूलो अर्थतन्त्र रहँदै आएको थियो। सन् १८७२ भन्दा पहिले भने बेलायत विश्वको सर्वाधिक ठूलो अर्थतन्त्र थियो। अहिले चीनको अर्थतन्त्रको मूल्य १७.६ ट्रिलियन छ भने अमेरिकाको १७.४ ट्रिलियन छ। र सन् २०१९ मा चीनको अर्थतन्त्रको मूल्य २७ ट्रिलियन पुग्ने अनुमान गरिएको छ। यो अनुमान अन्तरार्ष्ट्रिय मुद्राकोषको हो। सन् २०१९ मा अमेरिकाको अर्थतन्त्रको मूल्य २२.३ ट्रिलियन हुनेछ। सन् २०१९ मा चीनको अर्थतन्त्रको मूल्य अमेरिका भन्दा २० प्रतिशतले ठूलो हुनेछ।
चीनले विश्वलाई नै चकित पार्ने किसिमबाट गरेको आर्थिक उपलब्धिले नेपाल जस्तो सीमा गाँस्सिएको र केही स्थानहरुमा समान संस्कृति समेत भएको छिमेकी राष्ट्रलाई के कति र के कस्ता आर्थिक फाइदाहरु दिन सक्छ भन्ने विषयमा खास चर्चा हुनु अति नै महत्वपूर्ण देखिन्छ। चीनले गरेको चमत्कारी आर्थिक विकासले नेपालका खास गरी दुई क्षेत्रहरु लाभांदित हुने सक्ने बलिया आधारहरु सतहमा देखिएका छन्। पहिलो क्षेत्र हो, पर्यटन। वृद्धि भएको आम्दानीले चीनिया नागरिकहरुलाई दैनिक आवश्यकता बाहेकका अन्य वस्तु एवं सेवाहरु खरिद गर्न सजिलो पारि दिनेछ। चीनिया नागरिकहरु भ्रमण गर्ने प्रयोजनका साथै छोटो वा लामो विदा मनाउन वा रमाइलो गर्न समेत पनि विभिन्न मुलुकहरुमा पुग्ने छन्। विभिन्न मुलुकहरु पुग्ने सिलसिलामा नेपाल चीनियाहरुको प्राथमिकता सूचीमा पहिलोमा नपरे पनि दोस्रो वा तेस्रो स्थानमा पर्न सक्छ। केही हदसम संस्कृतिमा देखिएको समानताले चीनियाहरुलाई नेपाल आउन र बस्न सजह पनि हुनेछ। यो सहजताको फाइदाले उनीहरुलाई नेपालतर्फ बढी आकर्षित गर्नेछ। अहिले नै पनि नेपालमा चीनियाहरु पर्यटकको रुपमा उल्लेख्य संख्यामा आइ रहेका छन्। चीनिया पर्यटकहरु नेपाली पर्यटन उद्योग विकासको बलियो आधार बन्न थालिसकेका छन्। अहिले चीनियाहरुले पर्यटनमा निकै पैसा खर्च गरि रहेका छन् पनि।
चीनको आर्थिक विकासबाट नेपाल लाभांदित हुन सक्ने दोस्रो क्षेत्र हो, निर्यात व्यापार। चीनलाई आवश्यक पर्ने दैनिक आवश्यकताका वस्तुहरु नेपालले निर्यात गरेर, नेपाले फाइदा गर्ने सम्भावना भने देखिंदैन। यस्ता वस्तुहरु चीन स्वयंले सस्तोमा आफ्नै देश भित्र उत्पादन गर्न सक्छ, र गरि रहेको छ पनि। नेपालले चीनमा विलासी एवं अर्ध विलासी वस्तुहरु विक्री गरेर अधिक्तम फाइदा लिन सक्छ। चीनमा निर्यात गर्न विलासी एवं अर्ध विलासी वस्तुहरु पनि यस्तो हुनु पर्दछ जुन केवल नेपालमा मात्र उत्पादन हुन सकोस। आफ्नो विषेश सीप एवं सामाग्रीहरुको प्रयोग गरेर केवल नेपालीहरुले मात्र उत्पादन गर्न सकुन। यसै गरी नेपालले विभिन्न किसिमका सफ्टवेयरहरुको निर्माण गरेर पनि चीनमा निर्यात गर्न सक्ने सम्भावना देखिन्छ।
राष्ट्रको आर्थिक विकासका लागि अहिले नेपालसँग पर्याप्त पूँजी रहेकोले नेपालले चीनबाट पूँजी आयात गर्नु पर्ने अवस्था भने छैन र त्यस्तो गर्नु लाभदायक हुने छैन पनि।
तर सबैभन्दा ठूलो कुरा त छिमेकी चीन र भारतको द्रुदतर गतिको आर्थिक विकासबाट नेपालले के कस्ता आर्थिक फाइदाहरु उठाउन सक्छ ती कुराहरुको पहिचान नेपाल सरकारले गर्न आवश्यक छ। यी क्षेत्रहरुमा नेपाल आर्थिक फाइदा उठान सक्छ भन्ने पहिचान भइसके पछि ती क्षेत्रहरुको उपयोग कसरी गर्ने भन्ने बारे विभिन्न राजनैतिक दलहरु मिलेर साझा अवधारणा र रणनीति बनाउन आवश्यक छ।
र महत्वपूर्ण कुराहरु मध्ये पनि उच्च महत्वपूर्ण कुरा त के छ भने नेपालले आफ्नो सुरक्षाको बारे गर्नु पर्ने चिंता। भारत र चीन दुबैले तिब्र गतिमा आर्थिक विकास गरिहरेक छन र साथै सोही रफ्तारमा उनीहरुको क्षेत्रीय नेतृत्व आफ्नो हातमा लिने महत्वाकांक्षामा पनि वृद्धि भइरहेको छ। उनीहरुका आर्थिक उपलब्धिहरुले उनीहरुलाई अझै बढी महत्वाकांक्षी हुन थप ऊर्जा प्रदान गरिरहेको छन्। उनीहरुको, क्षेत्रीय नेतृत्व आफ्नो हातमा लिने वा शक्ति विस्तार गर्ने उच्च महत्वाकांक्षाले नेपालमा अझै शक्ति विस्तार गर्न र नेपालको माइक्रो मैनेजमेन्टमा समेत सक्रिय हुन प्रोत्साहित गर्ने छ। दुवै छिमेकीले एकै साथ नेपालमा शक्ति बिस्तार र माइक्रो मैनेजमेन्ट गर्न थाले भने नेपाल थप अस्थिरतातिर नधकेलिएयला भन्न सकिंदैन। तसर्थ नेपालले यी दुबै छिमेकीहरुसँगको सम्बन्धलाई सन्तुलित अवस्थामा राख्न आवश्यक छ। नेपालको, चीन र भारत सँगको सम्बन्ध सन्तुलित भएरमा मात्र नेपालले आफ्ना यी निकट छिमेकीहरुको उच्च आर्थिक विकासबाट फाइदा लिन सक्छ। र समबन्धलाई सन्तुलित राख्न एकसँग गले प्राणी र अर्को सँग तातो खरानी हुने बाट नेपाल हलफल जोगिन आवश्यक छ।

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित
Wednesday, December 10, 2014

  

No comments:

Post a Comment