Thursday, December 25, 2014

Geeta Chapter 3

 

 भागवत गीता अध्याय ३

 

 

अर्जनु उवाज

ज्यायसी चेत् कर्मणस्ते मता बुद्धिर्जनार्दन।

तत् किं कर्मणि घोरे मां नियोजयसि केशव।।१।।

अर्नुनले भने,

(हे केशव, हजूरको विचारमा यदि आध्यात्म ज्ञान लालसायुक्त क्रिया भन्दा उत्तम हो भने मलाई किन यो घोर डरलाग्दो युद्ध गर्न भन्दै हुनु हुन्छ, हे जनार्दन।)

 

व्यामिश्रेणेव वाक्येन बुद्धिं मोहयसीव मे।

तदेकं वद निश्र्चित्य येन श्रेयोSहमाप्नुयाम्।।२।।

(हजूरको अनेक अर्थ लाग्ने विभिन्न विचारहरुले मेरो बुद्धि मोहित झै भइरहेको छ। त्यसकारण मलाई हजूरको कुनै एक विचार प्रष्ट गरी भन्नुहोस, जुन बिचारले मेरो कल्याण होस।)

 

श्रीभगवाननुवाच

लोकेSस्मिन् द्विविधा निष्ठा पुरा प्रोक्ता मयानघ।

ज्ञानयोगेन सांख्यानां कर्मयोगेन योगिनाम्।।३।।

भगवान श्रीकृष्णबाट आज्ञा भयो,

(कहिले पापकर्म नगरेका, हे निष्पाप अर्जुन, यस संसारमा दुई प्रकारका निष्ठा छन् भन्ने तथ्य मैले पहिले नै प्रष्ट हुने गरी वर्णनन् गरिसकेको छु। सांख्यबादी ज्ञानीहरुको निष्ठा ज्ञानयोगद्वारा हुन्छ भने योगीहरुको निष्ठा कर्मयोग द्वारा हुन्छ। अर्थात एक प्रकारका पुरुषहरुको निष्ठा दर्शनमा हुन्छ भने अर्को प्रकारका पुरुषहरुको निष्ठा आध्यात्ममा हुन्छ।)

 

न कर्मणामनारम्भान् नैष्कर्म्यं पुरुषोSश्नुते।

न च संन्यसनादेव सिद्धि समधिगच्छति।।४।।

(एक पुरुषले शास्त्रीय कर्मका कार्यहरु नगरेर नैष्कर्म रुप ज्ञान प्राप्त गर्न सक्तैन र केवल कर्मको त्याग गरेर मात्र अशुद्ध चित्त भएको पुरुषले सिद्धि प्राप्त गर्न सक्तैन।)

 

न हि कश्र्चित् क्षणमपि जातु निष्ठत्यकर्मकृत्।

कार्यते ह्यवश: कर्म सर्व: प्रकृतिजैर्गुणै:।।५।।

(कुनै पनि व्यक्ति कार्य नगरेर कुनै पनि समयमा बस्न सक्तैन, यहाँसम्म कि एक क्षण पनि कुनै कार्य नगरेर बस्न सक्तैन। भौतिक प्रकृतिले दिएका गुणका कारणहरुले गर्दा कुनै पनि व्यक्ति प्रत्येक क्षण कुनै न कुनै क्रिया गर्न बाध्य छ।)

 

कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन्।

इन्द्रियार्थान् विमूढात्मा मिथ्याचार: स उच्यते।।६।।

(जुन मुढ व्यक्तिले आफ्ना पाँच कर्मेनद्रियहरुलाई नियन्त्रित गरेर मन भित्र भने इन्द्रियहरुका विषयहरुलाई सोंच्छ भने त्यो व्यक्ति ढोंगी हो।)

 

यस्त्विन्द्रियाणि मनसा नियम्यारभतेSर्जुन।

कर्मेन्द्रियै: कर्मयोगमसक्त: स विशिष्यते।।७।।

(तर, हे अर्जुन, जो व्यक्तिले इन्द्रियहरुलाई आफ्नो मनले नियन्त्रित गरेर, फलको अभिलाषा नगर्दे, कर्मेन्द्रियद्वारा शास्त्रले देखाएका कर्महरु गर्दछ त्यो व्यक्ति श्रेष्ठ हो।)

 

नियतं कुरु त्वं कर्म ज्यायो ह्यकर्मण:।

शरीरयात्रापि च ते न प्रसिद्ध्येदकर्मण:।।८।।

(तिमी सध्या उपासना पनि नित्य कर्म गर किनभने कुनै कर्म नगर्नु भन्दा कर्म गर्नु उत्तम हो। शरीर निर्वाहका लागि पनि कर्म गर्नुको विकल्प नै छैन।)

 

यज्ञार्थात् कर्मणोSन्यत्र लोकोSयं कर्मबन्धन:।

तदर्थं कर्म कौन्तेय मुक्तसंग: समाचर।।९।।

(हे कौन्तेय, श्री विष्णुको लागि अर्पित निष्काम कर्मको अतिरिक्त अन्य कर्मद्वारा मनुष्यलाई कर्मबन्धन प्राप्त हुन्छ। त्यसकारण तिमी फलको अपेक्षा त्यागेर भगवान श्री विष्णुको उद्देश्यबाट कर्मको भलिभाँति आचरण गर।)

 

सहयज्ञा: प्रजा: सृष्ट्वा पुरोवाच प्रजापति:।

अनेन प्रसविष्यध्वमेष वोSस्त्विष्टकामधुक्।।१०।।

(आदि कालमा यज्ञका अधिकारी ब्राह्मणहरुको रचना गरेर प्रजापति ब्रह्माले भन्नु भयो तीमीहरु यो यज्ञ गरेर बृद्धि गर्ने कार्य गर र यो यज्ञले तिमीहरुले चिताएका कामनाहरु पूर्ण गरोस।)

 

देवान् भावयतानेन ते देवा भावयन्तु व:।

परस्परं भावयन्त: श्रेय: परमवाप्स्यथ।।११।।

(तिमीहरु यी यज्ञहरु गरेर देवताहरुलाई खुसी पार्ने कार्य गर। देवताहरु खुसी भएमा उनीहरुले तिमीहरुलाई पनि फल दिएर खुसी पार्नेछन्। यसरी देवता र मनुष्यहरु बीच सह कार्य भएमा सबैको कल्याण हुनेछ।)

 

इष्टान् भोगान् हि वो देवा दास्यन्ते यज्ञभाविता:।

तैर्दत्तानप्रदायैभ्यो यो भंक्ते स्तेन एव स:।।१२।।

(जीवन निर्वाह गर्न आवश्यक पर्ने विभिन्न सामाग्रीहरुका मालिक देवताहरु प्रशन्न भएमा देवताहरु बाट तीमीहरुले ती आवश्यक सामाग्रीहरु प्राप्त गर्नेछौ। त्यसकारण देवताहरुबाट प्राप्त भएका द्रव्य (सामाग्री) हरु देवताहरुमा अर्पित नगरेर तिनको भोग गर्ने व्यक्ति भने निश्चय पनि चोर हो।)

 

यज्ञशिष्टाशिन: सन्तो मुच्यन्ते सर्वकिल्बिषै: । सनि

भुञ्जते ते त्वघं पापा ये पचन्त्यात्मकारणात्।।१३।।

(इश्वरका भक्तहरु सबै किसिमका पापहरुबाट मुक्त हुन्छन किनभने उनीहरुले इश्वरलाई अर्पण गरिएको खाने कुराहरु खान्छन् तर पापीहरुले पाप खान्छन् किनभने उनीहरुले खाना आफ्नो आनन्दको लागि पकाएका हुन्छन्।)

 

अन्नाद् भवन्ति भूतानि पर्जन्यादन्नसम्भव:।

यज्ञाद् भवति पर्जन्यो यज्ञ: कर्मसमुद्भव:।।१४।।

(सबै प्राणीहरुको उत्पत्ति खाद्य अन्नबाट हुन्छ। अन्नको उत्पत्ति वर्षाबाट हुन्छ। वर्षाको उत्पत्ति यज्ञद्वारा हुन्छ। यज्ञ कर्मद्वारा गरिन्छ।)

 

कर्म ब्रह्मोद्भवं विद्धि ब्रह्माक्षरसमुद्भवम्।

तस्मात् सर्वगतं ब्रह्म नित्यं यज्ञे प्रतिष्ठितम्।।१५।।

(कर्म वेदबाट उत्पन्न भएको जान, वेद अच्युतबाट उत्पन्न भएको जान। त्यसकारण सर्वव्यापी ब्रह्म सँधै यज्ञमा प्रतिष्ठित छ।

 

एवं प्रवर्तितं चक्रं नानुवर्तयतीह य:।

अघायुरिन्द्रियारामो मोघं पार्थ स जीवति।।१६।।

(हे पार्थ, यो संसारको यदि कुनै व्यक्तिले वैदिक शास्त्रहरुले निर्दैशित र स्थापित गरेका विधिहरुको प्रयोग गर्देन भने त्यो व्ययक्ति इन्द्रियहरुको आसक्त भएर पापी जीवन भोग्न पुग्छ।)

 

यस्त्वात्मरतिरेव स्यादात्मतृप्ततश्र्च मानव:।

आत्मन्येव च सन्तुष्टस्तस्य कार्य न विद्यते।।१७।।

(यदि कुनै व्यक्ति आत्मामा रमेको छ, आत्मामा नै तृप्त रहन्छ र आत्मामा नै सन्तुष्ट रहन्छ, त्यो व्यक्तिको लागि कुनै कर्तव्य कर्म छैन्।)

 

नैव तस्य कृतेनार्थो नाकृतेनेह कश्र्चन।

न चास्य सर्वभूतेषु कश्र्चिदर्थव्यपाश्रय:।।१८।।

(आत्मरमण व्यक्तिले यस जगतमा कर्मको लागि गरेको कार्यबाट पुन्य प्राप्त गर्दैन। कर्मको लागि कार्य नगरेकोमा पापको भागेदार पनि हुँदैन। त्यस्तो व्यक्तिले कुनै प्राणी माथि आश्रित पनि हुनु पर्दन्। )

 

तस्मादसक्त: सततं कार्य कर्म समाचर।

असक्तो ह्याचरन् कर्म परमाप्नोति पुरुष:।।१९।।

(त्यसकारण तिमी अनाशक्त भएर निरन्तर कर्तव्य कर्मको आचरण गर किनभने अनाशक्त भएर कर्मको आचरण गर्ने पुरुषले मोक्ष प्राप्त गर्दछ।)

 

कर्मणैव हि संसिद्धिमास्थिता जनकादय:।

लोकसंग्रहमेवापि सम्पश्यन् कर्तुमर्हसि।।२०।।

(रार्जषिहरु जस्तै जनकले पनि कर्मद्वारा नै परम सिद्धि प्राप्त गरेका थिए। त्यसकारण लोक शिक्षाको दृष्टिकोणले पनि तिमीले कर्म गर्नु उचित देखिन्छ।)

यद् यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जना:।

स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते।।२१।।

(श्रेष्ठ पुरुषहरुले जस्तो व्यवहार गर्छन् अन्य सामान्य व्यक्तिहरुले पनि त्यस्तै व्यवहार गर्छन्। श्रेष्ठ पुरुषहरुले व्यवहारद्वारा जे कुरा प्रमाणित गर्छन् समान्य व्यक्तिहरुले त्यो कुराको अनुशरण गर्छन्।)

 

न मे पार्थास्ति कर्तव्यं त्रिषु लोकेषु किञ्चन।

नानावाप्तमवाप्तव्यं वर्त एव च कर्मणि।।२२।।

(हे पर्थ पुत्र, पार्थ, मेरो लागि गर्नु पर्ने आवश्यक कार्य केही पनि छैन किनभने यी तिनै--आकाश, पाताल र मृत्यु लोकमा मैले पाउन न सकेको र पाउनु नै पर्ने योग्य कुनै पनि कुरा छैन तैपनि म कर्म गर्दछु।)

 

यदि ह्यहं न वर्तेयं जातु कर्मण्यतन्द्रित:।

मम वर्त्मानुवर्तन्ते मनुष्या: पार्थ सर्वश:।।२३।।

(हे पार्थ, यदि मैले कहिले सावधानीपूर्व कर्म नगरेमा बाँकि सबैले निश्चय पनि मेरो त्यो आचरणको अनुशरण गर्नेछन्।)

 

उत्सीदेयुरिमे लोका न कुर्यां कर्म चेदहम्।

संकरस्य च कर्ता स्यामुपहन्यामिमा: प्रजा:।।२४।।

(मैलै यदि कर्म नगर्ने हो भने सबै व्यक्तिहरु भ्रष्ट हुनेछन् र म वर्णसंकारको प्रवर्तक हुनेछु। यस प्रकार यी सम्पूर्ण प्रजाको नाशको कारण म नै बन्न पुग्ने छु।)

 

सक्ता: कर्मण्यविद्वांसो यथा कुर्वन्ति भारत।

कुर्याद् विद्वांस्तथासक्तश् चिकीर्षुर्लोकसंग्रहम्।।२५।।

(हे, भरतका पुत्र, भारत, कर्ममा आसक्त अज्ञानी व्यक्तिहरुले जसरी कर्म गर्दछन् लोक शिक्षामा लागेका ज्ञानी व्यक्यिहरुले पनि त्यसै गरी नै तर अनासक्त भएर कर्म गर्नु पर्दछ।

 

न बुद्धिभेदं जनयेदज्ञानां कर्मसंगिनाम्।

जोषयेत्सर्वकर्माणि विद्वान् युक्त: समाचरन्।।२६।।

(कर्मको त्याग गरेर ज्ञानको अभ्यास गर्न ज्ञानयोगको उपदेशक अज्ञेय व्यक्तिहरुलाई यो उपदेश दिंदै उनीहरुको बुद्धिमा भ्रम उत्पन्न गर्दिन बरु समाहित चित्तले स्वंय सबै कर्मको भलिभाति आचरण गर्दै अज्ञेय व्यक्तिहरुलाई पनि कर्ममा नियुक्त गर्नेछु, अर्थात अज्ञेय व्यक्तिहरुलाई पनि कर्म गर्न दिनेछु।)

 

प्रकृते: क्रियमाणानि गुणै: कर्माणि सर्वश:।

अहंकारविमूढात्मा कर्ताहमिति मन्यते।।२७।।

(बिना कुनै अपबाद नै, सबै कर्महरु प्रकृतिका गुण अनुसार गर्ने गरिन्छ तर अज्ञानी एवं अहंकारको वसीभूत भएको व्यक्तिले कर्मको कर्ता आफूलाई मान्ने गर्दछ।)

 

तत्त्ववित्तु महाबाहो गुणकर्मविभागयो:।

गुणा गुणेषु वर्तन्त इति मत्वा न सज्जते।।२८।।

(हे महाबाहो, जो यो सत्यबाट परिचित छन् कि आत्मा गुण र कर्मबाट पृथक छ ती तत्वविद्हरु हुन। तत्वविद्हरुले कर्तापनको अभिमान गर्दैन किनभने उनीहरुले यो विश्वास गर्छन कि इन्द्रियहरु आ-आफ्ना विषयमा लागेका छन् तर म भने उनीहरुबाट पृथक छु, उनीहरुको प्रभावबाट मुक्त छु।

 

प्रकृतेर्गुणसम्मूढा: सज्जन्ते गुणकर्मसु।

तानकृत्स्नविदो मन्दान् कुत्स्नविन्न विचालयेत्।।२९।।

(प्राकृत गुणमा अविष्ट पुरुषहरु विषयमा आसक्त हुन्छन तर जो सर्वज्ञ छन् उनीहरुले अज्ञेव एवं  मन्द बुद्धि भएका व्यक्तिहरुलाई विचलित तुल्याउँदैनन्।

 

मयि सर्वाणि कर्माणि संन्यस्याध्यात्मचेतसा।

निराशीर्निर्ममो भूत्वा युध्यस्व विगतज्वर:।।३०।।

(आत्मनिष्ट चित्त हुँदै सबै कर्महरु ममाथि समर्पित गरेर निष्काम, ममताशून्य र शोकरहित भएर युदध गर।)

 

ये मे मतमिदं नत्यमनुतिष्ठन्ति मानव:।

श्रद्धावन्तोSनसूयन्तो मुच्यन्ते तेSपि कर्मभि:।।३१।।

(ती व्यक्तिहरु, जसले दृष्टिदोष त्यागेर, श्रद्धावान हुँदै  नित्य मेरो निर्देशन अनुसार कर्म गर्दछन् र जसले विश्वासका साथ बिना कुनै द्वेष यी ज्ञानहरुको अनुशरण गर्दछन, ले मोहबन्धनबाट मोक्ष प्राप्त गर्छन्।)

 

ये त्वेतदभ्य्यसूयन्तो नानुतिष्ठन्ति मे मतम्।

सर्वज्ञानविमूढांस्तान् विद्धि नष्टानेतस:।।३२।।

(तर तिनीहरु सबै, जसले दोषरोपण गरेर मेरो यो मतको अनुशरण गर्दैनन्, लाई विवेकरहित र सबै ज्ञानहरुबाट बंचित एवं सर्व पुरुषार्थबाट पतीत भएको मान्नु पर्दछ।)

 

सदृशं चेष्टते स्वस्या: प्रकृतर्ज्ञानवानपि।

प्रकृतिं यान्ति भूतानि निग्रह: किं करिष्यति।।३३।।

(विवेकवान व्यक्तिले पनि आफ्नो प्रकृति अनुसार कार्य गर्दछ। सबै प्राणीहरुले पनि प्रकृतिको अनुसरण गर्दछ। त्यसकारण दमनले के गर्न सक्छ।)

 

इन्द्रियस्येन्द्रियस्यार्थे रागद्वेषौ व्यवस्थितौ।

तयोर्न वशमागच्छेत् तौ ह्यस्य परिपन्थिनौ।।३४।।

(प्रत्येक इन्द्रियको आ-आफ्नो विषयप्रति राग र द्वेष निश्चित रुपमा हुन्छ नै। त्यसकारण तिमी तिनीहरुको अधिनमा नहोउ किनभने राग र द्वेष साधकहरुका कल्याणका बिरुद्ध छन्।

 

श्रेयान् स्वधर्मो विगुण: परधर्मात् स्वनुष्ठितात्।

स्वधर्मे निधनं श्रेय: परधर्मौ भयावह:।।३५।।

(अति उचित किसिमबाट धारण एवं पालन गरिएको अरुको धर्म भन्दा दोषपूर्ण नै भए पनि सर्व धर्म श्रेष्ठ हुन्छ। आ-आफ्नो वर्णाश्रम उचित धर्मको पालनमा मर्नु राम्रो हो तर अरुको धर्म भने डरलाग्दो हुन्छ। अर्थात आफ्नो स्वत्व समाप्त पार्नु हुँदैन।

 

अर्जुन उवाच

अथ केन प्रयुक्तोSयं पापं चरति पुरुष:।

अनिच्छन्नपि वार्ष्णेय बलादिव नियोजित:।।३६।।

अर्जुनले भने

(हे, विष्णुका वंशजवार्ष्णेय, आफ्नो इच्छाको विपरित कसैबाट नियोजित भएर वा कसैको दबाबमा परेर कसरी कुनै पुरुषले पाप कर्म गर्दछ?

 

श्रीभगवानुवाच

काम एष क्रोध एष रजोगुणसमुद्रव:।

महाशनो महापाप्मा विद्ध्येनमिह वैरिणम्।।३७।।

भगवान श्री कृष्णबाट आज्ञा भयो

(यो काम नै क्रोधमा परिणत हुन्छ र रजोगुणबाट उत्पन्न सर्वभक्षी र अत्यधिक उग्र यो कामलाई नै जीवको प्रमुख शत्रु मान्नु पर्दछ।)

 

धूमेनाव्रियते वह्निर्यथादर्शो मलेन च।

यथोल्बेनावृतो गर्भस्तथा तेनेदमावृरतम्।।३८।।

(जुन किसिमले आगो धूवाँबाट, ऐना धूलोबाट र भ्रूण गर्भबाट ढाकिएको हुन्छ त्यसैगरी यो ज्ञान पनि काम भावनाबाट ढाकिएको हुन्छ।)

 

आवृतं ज्ञानमेतेन ज्ञानिनो नित्यवैरिणा।

कामरुपेण कौन्तेय दुष्पूरेणानलेन च।।३९।।

(हे कुन्तिपुत्र, कहिले तृप्त नहुने अग्नी जस्तै यो नित्य सत्रु रुपी कामले ज्ञानीहरुको ज्ञान ढाकिदिने गर्छ।)

 

इन्द्रियानि मनो बुद्धिरस्याधिष्ठानमुच्यते।

एतैर्विमोहयत्येष ज्ञानमावृत्य देहिनाम्।।४०।।

(इन्द्रिय, मन र बुद्धि यो कामको आश्रय स्थल हुन भन्ने गरिन्छ। यो कामले इन्द्रिय, मन र बुद्धिलाई ढाकेर प्राणीलाई मोहित वा भ्रमित गरिदिन्छ।)

 

तस्मात्त्वमिन्द्रियाण्यादौ नियम्य भरतर्षभ।

पाप्मानं प्रजहि ह्येनं ज्ञानविज्ञाननाशनम्।।४१।।

(भरतहरुमा सर्वश्रेष्ठ हे भारत, त्यसकारण सर्वप्रथम त तिमीले आफ्ना इन्द्रियहरुलाई नियन्त्रित गर अनि ज्ञान र विज्ञानलाई नष्ट गर्ने पापरुपि यो कामलाई समाप्त पार।)

 

इन्द्रियाणि पराण्याहुरिन्द्रियेभ्य: परं मन:।

मनसस्तु परा बुद्धिर्यो बुद्धे: परतस्तु स:।।४२।।

(इन्द्रियहरुलाई श्रेष्ठ भन्ने गरिन्छ। तर मन इन्द्रियहरु भन्दा श्रेष्ठ, बुद्धि मन भन्दा श्रेष्ठ र आत्मा बुद्धि भन्दा पनि श्रेष्ठ हुन्छ। आत्मा श्रेष्ठहरुमा पनि सर्व श्रेष्ठ छ।)

 

एवं बुद्धे: परं बुद्ध्वा संस्तभ्यात्मानमात्मना।

जहि शत्रुं महाबाहो कामरुपं दुरासदम्।।४३।।

(हे, महासस्त्रधारी, महाबाहोयस प्रकार जीवआत्मा बुद्धि भन्दा सर्वश्रेष्ठ छ भन्ने कुरालाई थाहा पाएर बुद्धिद्वारा मनलाई स्थिर गर्दै शत्रुको रुपधारण गरेको कहिले तृप्त न हुने यो काममाथि विजय प्राप्त गर।)

 तेस्रो अध्याय समाप्त



No comments:

Post a Comment