Friday, May 29, 2015

What the Fifth World Is?-Article-172

के हो यो पाँचौ संसार?

हामी एउटै आकाश मुनी बस्छौ। चारैतिर फैलिएको एउटै हावा हामी सबैले स्वांस प्रस्वांसका लागि प्रयोग गर्छौ। सूर्यले बिना भेदभाव हामी सबैलाई एकै किसिमको प्रकास दिन्छन्, त्यसको हामी सबैले समान किसिमले उपभोग गर्छौ। यस अर्थमा हामी सबै एउटै ग्रहका प्राणी हौ। एउटै ग्रह, पृथ्वीमा हामी सबै बस्छौ। तर व्यवहारमा भने हामी एउटै पृथ्वी वा संसारमा बस्दैनौ। हामी बस्ने संसार फरक फरक छ। आर्थिक हैसियत, अवस्था र वातावरण आदिको  आधारमा हामी फरक फरक संसारमा बस्छौ। परम्परागत रुपमा हामी बस्ने संसारलाई चार किसिमले विभाजित गरिएको छ। पहिलो, दोस्रो, तेस्रो र चौथो गरी यो संसारलाई अन्य चार संसारहरुमा विभाजन गरिएको छ।  
पहिलो संसार त्यो हो जुन संसारका देशहरुमा स्थिर सरकार हुन्छ। सरकार जनउत्तरदायी मात्र होइन, सरकारका संयन्त्रहरु सामान्य जनताको निर्दैशन र नियन्त्रणमा हुन्छन्। जनताले दिएको करलाई सरकारले  सदुपयोग गर्छ र जनताले कर दिएकोमा आभार व्यक्त गर्छ। सरकार र त्यसमा रहेका नेता एवं कर्मचारीहरुले आफूलाई देश र जनताको सेवक हुँ भन्ने अनुभुति हरदम मनन गर्छन् र त्यसै अनुरुपको जिम्मेवारी र कर्तव्य निर्वाह पनि गर्दछन्। यो पहिलो संसारमा न्यायलाई सजिलो मात्र होइन निस्पक्ष पनि पारिएको हुन्छ। नियम कानूनहरुको निर्माण  राजनैतिक दल वा नेताहरुको सुविधा अनुसार नभएर जनताको सुविधा र आवस्यकता अनुसार हुन्छ। सामान्य किसिमले, पहिलो विश्वका जनताको आम्दानी तुलनात्मक रुपमा उच्च हुन्छ। यो संसारका देशहरुमा प्रजातान्त्रिक व्यवस्था हुन्छ। राष्ट्रको अर्थतन्त्रलाई पूँजीवादले डोर्याएको हुन्छ। बजारलाई सरकार होइन माग र आपूर्तिले नियन्त्रण गर्छ।
पहिले साम्यवादी व्यवस्था भएका वा हाल पनि सोही व्यवस्था अनुरुप राष्ट्रिय अर्थव्यवस्थालाई प्रभावित एवं राष्ट्रिय अर्थव्यवस्थामा सरकारको नियन्त्रणको वकालत गर्ने राष्ट्रहरु दोस्रो विश्वमा पर्दछन्। तत्कालिन सोभियत संघ, पूर्वीय युरोपका पहिले कम्युनिष्ट व्यवस्था अंगालेका राष्ट्रहरुलाई त्यसबेला दोस्रो विश्वका राष्ट्रको रुपमा लिने गरिन्थ्यो। केहीले अहिले पनि ती राष्ट्रहरुलाई दोस्रो विश्वको राष्ट्रको रुपमा लिने गर्छन्। चीनलाई पनि दोस्रो विश्वको राष्ट्र अन्तरगत नै राख्छन्। दोस्रो विश्वका राष्ट्रका नागरिकहरुको राजनैतिक अधिकार नेता वा राजनैतिक व्यवस्थाद्वारा संकुचित पारिएको हुन्छ। कानून एवं न्याय नागरिकमुखी हुनुको साटो सरकारमुखि हुने गर्दछ। राजनैतिक स्वतन्त्रता पनि सीमित पारिएको हुन्छ।
आर्थिक एवं सामाजिक पछेउटेपनबाट उन्मुक्ति पाउन संघर्षरत विकासशील मुलकहरु तेस्रो विश्वमा पर्दछन्। अस्थिर सरकार, भेदभावपूर्ण न्याय व्यवस्था, आर्थिक एवं पदीय भ्रष्टाचार, अस्थिर नियम कानून, परम्परागत संस्कृति आदि तेस्रो विश्वका विशेषताहरु हुन। तेस्रो विश्वका सरकार एवं नेताहरुले आफूलाई मालिक ठान्दछन र नागरिकहरुलाई आफ्नो निर्दैशन पालकको रुपमा हेर्दछन्। साधनहरुको प्रचुरता रहेता पनि कमजोर नीति, अस्थिर सरकार, सम्बन्धित निकायहरुको गैर जिम्मेबारी, भ्रष्टाचार आदि जस्ता समस्याहरुले गर्दा ती साधनहरुको अनुकूलत्तम उपयोग गरेर वहुसंख्यक जनताको आर्थिक जीवनलाई सरल पार्न असक्षम हुन्छन। उपलब्ध भूमिको तुलनामा अति जनसंख्याको भारले थिचिएका तेस्रो विश्वका राष्ट्रहरुको अधिकतम समय केवल गरिबीसँग संघर्ष गर्नमा नै बित्छ जसले गर्दा विज्ञान र प्रविधिको क्षेत्रमा पछाडि हुन पुग्छन। चर्को उत्पादन लागतले गर्दा प्रतिस्पार्धात्मक लाभ उपभोग गर्न सक्तैनन्। तेस्रो विश्वका मुलुकहरु आफ्नो अर्थव्यवस्थामा निर्भर हनुको साटो निर्यातमूखि अर्थ तन्त्रमा बढी आश्रित हुन पुग्छन। तेस्रो विश्वका राष्ट्रहरुलाई तेस्रो विश्वको वर्गिकरणमा पार्न त्यहाँका नागरिकहरु पनि उत्तिकै जिम्मेवार हुन्छन जति राजनैतिक दल र नेताहरु हुन्छन्। नेपाल, भारत, भुटान, पाकिस्तान, अफगानिस्तान, सुडान, अलजेरिया, नाइजेरिया, ब्राजिल, अर्जेन्टिना आदि आदि मुलुकहरु तेस्रो विश्वका राष्ट्रहरु हुन।
अहिले पनि आदिम युगमा बाँचिरहेका, आधुनिक शिक्षा एवं स्वास्थ्यबाट बंचित तथा अज्ञानता र अन्धविश्वासको जंजिरबाट मुक्त हुन नसकेका र अहिले पनि जंगल वा आधुनिक अथवा सरकारी सुविधाहरु पुग्न नसेका स्थानहरुमा वसोबास गर्ने आदिवासीहरु (Indigenous people)  चौथो संसारका नागरिकहरु हुन। सभ्यता विकासको क्रमले न छोएको र आफ्नै किसिमको परम्परागत वा जंगली जीवन शैली परित्याग गर्न नमान्ने तथा आफ्नै साँघुरो संसार रमाउने यी चौथो विश्वका नागरिकहरु जुन देशको सीमा भित्र बसे पनि यिनीहरुको सरकार वा मुखिया भने आफ्नै समूह वा कबिलाका व्यक्तिहरु हुन्छन्। आफू बसोबास गरेको क्षेत्रलाई आफ्नो थलो मानेर समबन्धित सरकारको नीति निर्दैशनको पालना नगर्ने यिनिहरुको जीवन जोखिमपूर्ण र  कष्ट मात्र छैन, यिनीहरुमा मृत्युदर पनि ज्यादै उच्च छ। यिनीहरुले सभ्य कहलिएको वा आधुनिक संसारसंग सम्पर्क राख्न नमान्ने मात्र होइन यो संसारमा आउन समेत पनि डराउँछन, रुचाउँदैनन् पनि। यी आदिबासीहरुलाई मूलधारको जीवन संग जोड्न अहिले पनि सम्बन्धित सरकारहरुलाई चुनौतिको विषय हुन पुगेको छ। एशिया, अफ्रिका, लैटिन अमेरिकाका विभिन्न देशहरुमा आदिबासीहरु ठूलो संख्यामा बसोबास गर्छन। मुख्य गरी जंगलमा बस्छन्। नेपालका राउटेहरुलाई पनि आदिबासीको रुपमा लिने गरिन्छ।
मेरो विश्लेषण वा वर्गिकरणमा भने एउटा अर्को वा पाँचौ संसार पनि छ। यो पाँचौ संसारमा पनि ठूलो संख्यामा व्यक्तिहरु बसोबास गर्छन।  यो संसारमा बस्ने व्यक्तिहरु भने सर्वाधिक शोषित, पीडित, अपहेलित, अधिकारविहीन एवं अनिश्चित भविष्यका साथ जीवन यापन गर्न अन्य शक्तिहरु द्वारा बाध्य पारिएका छन्। आफ्नै देश भित्र वा बाहिर सरर्णाथी जीवन बिताउन बाध्य पारिएका छन्। शासकहरुको बक्रदृष्टिमा परेर, शक्ति पिपासुहरुको शक्ति संघर्षमा चेपिएर, जातीय सफायाको सिकार भएर, जतीय दंगामा पिल्सिएर बसेका छन्। गृहयुद्ध, शत्ता संघर्ष, जातीय दंगा, जातीय सफाया, आतंकवाद, शैन्य शासन, कुशासन जस्ता समस्याहरुले आफ्नै देशमा विस्थापित भएका वा विदेशमा शरर्णाथी हुन बाध्य पारिएका पाँचौ विश्वका नागरिकहरुको जीवन सर्वाधिक जोखिमपूर्ण र कठिन देखिएको छ। माथि उल्लेख गरिएका समस्याहरुले गर्दा अहिले करोडौको संख्यामा नागरिकहरु विभिन्न देशहरुमा सरर्णाथी बनेर कष्टपूर्ण जीवन बिताउन बाध्य पारिएका छन्। अफ्रिका, एशिया, दक्षिण अमेरिकाका लाखौ नागरिकहरु अहिले अनिश्चित भविष्यका साथ शरर्णाथी जीवन बिताउन विवश छन्।
केही गलति नगरे पनि सुरक्षित भइ शान्तिपूर्वक बस्न नपाएका मुलुकबिहीन यी नागरिकहरु आफ्नो देश जान त चाहन्छन तर जान पाउँदैन। आफ्नै देश भित्र भए पनि सुरक्षित भएर बस्न पाउँदैनन्। यिनीहरुको समस्या सुनिदिने न त यिनीहरुको आफ्नो सरकार छ न त जुन देशमा बसेका छन् त्यो देशको सरकारलाई अधिकारपूर्वक आफ्नो पीरमार्का भन्न सक्छन्। देश भित्र भएकाहरुको पनि सरकारले यिनीहरुको बेवास्ता गर्छ वा सरकार नै अति नै निर्वल हुन्छ।
डर र त्रासमा जीवन बिताउने मात्र होइन डरलाग्दो मृत्यु नै वरण गर्ने यी पाँचौ विश्वका नागरिकहरुको दु:खका अनेक कथाहरु केवल यो सानो लेखमा समेट्न सकिंदैन। त्यैपनि केही प्रतिनिधि पीडाहरु यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु।
सिरिया र इराकका विभिन्न क्षेत्रहरुमा संघर्षरत एक कट्टर धार्मिक संगठन आइ यस (ISIL, ISIS or IS), जसले त्यहाँ कट्टर इस्लामिक राष्ट्र स्थापना गर्न लक्ष्य राखेको छ ले सन् २०१४ को अगष्टमा इराकको उत्तरी भागमा पाँच हजार यजिदी पुरुषहरुको हत्या गरेको थियो। त्यसरी मारिने यजिदीहरुको गलति केही पनि थिएन, केही गलति थियो भने उनीहरु हत्या गर्ने समूहको बिपरित धर्मका थिए। त्यति ठूलो संख्यामा यजिदीहरु मारिएको विवरण सन् २०१४ को अक्टुबरमा संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको थियो।
यसै गरी सिरियाको सरकार र विभिन्न बिद्रोही संगठनहरु बीच पाँच वर्ष भन्दा बढी समयदेखि चलिरहेको अति रक्तपातपूर्ण संघर्षमा दुई लाख भन्दा बढी नागरिकहरुको ज्यान गइसकेको छ भने ६५ लाख भन्दा बढी नागरिकहरु विस्थापित भएका छन्। तीस लाख भन्दा बढी नागरिकहरु लेवनान, जोर्डन, टर्की लगायत अन्य मुलुकहरु शरर्णाथी हुन बाध्य भएका छन्। सिरिया भित्र रहेका नागरिकहरुले पनि आफूलाई हरफल डर र त्रासमा बाँच्नु परेको बताइ रहेका छन्।
यसै गरी केही वर्ष पहिले मात्र शुरु भएको युक्रेनको गृहयुद्धले एक हजार भन्दा बढी नागरिकहरुको ज्यान लिसकेको छ। युक्रेनलाई बीचमा पारेर रुस र यूरोपियन युनियन (केही राष्ट्रहरु) बीचको यो ‘प्रोक्सी वार’ ले त्यहाँका नागरिकहरुलाई हरपल त्रासमा बस्न बाध्य पारेको छ।  आफ्नो देशमा भइ रहेको हत्या, हिंसाबाट बच्न अफ्रिकाका विभिन्न देशहरुबाट ‘मेडिटेरेनियन सि’ पार गरेर युरोप पुग्न खोज्ने मध्ये हजारौंले ज्यान गुमाइ सकेका छन र यो क्रम अहिले पनि जारी छ।
 सन् १९९४ मा रवान्डामा भएको जातीय सफायामा पाँच लाख देखि दस लाख नागरिकहरु मारिएको  अनुमान गरिएको छ। सन् १९९४ को अप्रिल देखि जुलाईको बीचको केवल एक सय दिनको अवधिमा रवान्डामा त्यति ठूलो संख्यामा मानिसहरु मारिएका थिए। दुई जातीय समूहरु- हुटु र टुट्सी बीचको यो अति रक्तपातपूर्ण संघर्ष इतिहासले कहिले बिर्सिने छैन्।
यो पाँचौ विश्वका नागरिकहरुलाई न त सत्ताको कुनै मोह छ न त राजनीतिमा कुनै सक्रिय भूमिका निर्वाह इच्छा नै छ। न त राजनीतिमा कुनै स्थान नै खोजेका छन्। तर शक्ति केन्द्रहरुको महत्वाकांक्षाहरु द्वारा लादिएका युध्दहरुले गर्दा मृत्यु वरण गर्न र कष्टकर जीवन बिताउन यी पाँचौ विश्वका नागरिकहरु बाध्य छन्। बलपूर्वक बाध्य पारिएका छन्।
अविरल सत्ता संघर्ष, लामो गृहयुद्ध (२०५२-६२) र कुशासनले गर्दा ठूलो संख्यामा नेपालका नागरिकहरु पनि यो पाँचौ संसारमा बाच्न बाध्य पारिएका छन्। अहिले पनि ठूलो संख्यामा नेपालीहरु विश्वका विभिन्न राष्ट्र्हरुमा शरर्णाथी भएर बसेका छन्। यसै गरी जोखिमपूर्ण रोजगारी गर्दै अरबका राष्ट्रहरुमा कष्टकर जीवन बिताउन बाध्य भएका छन्। बिना कुनै कसूर ठूलो संख्यामा नेपालीहरु बिदेसिन बाध्य भएका छन्।
समग्रमा, यो पाँचौ विश्वमा बस्ने नागरिकहरुको दोष भने केही छैन। 

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, May 29, 2015

No comments:

Post a Comment