Friday, July 31, 2015

Bigger Impacts From A Small Thing-Article-178

कुरा सानो प्रभाव ठूलो

हामी आर्थिक विकासका कुराहरु गर्छौ र आर्थिक विकासलाई व्यक्ति र परिवारको सम्पन्नतासँग जोड्छौ, भौतिक सुखबाट पाउने सन्तुष्टिको आकारलाई हेर्छौ। अनि आर्थिक सम्पन्नतालाई आम्दानीका विभिन्न स्रोतहरुसँग जोड्छौ। यसै गरी विभिन्न किसिमका खर्चहरु र खर्च गर्ने सक्ने क्षमतालाई पनि आर्थिक सम्पन्नतासँग जोड्छौ। तर आम्दानी र खर्च दुबैलाई अति नै प्रभावित गर्ने सामाजिक परम्पराका कुराहरु भने गर्दैनौ। हाम्रो आर्थिक जीवन वा समृद्धिलाई प्रभावित गर्ने कतिपय सामाजिक कुप्रथालाई त परिवर्तन गर्न समेत चाहँदैनौ र तिनलाई बिना कुनै संकोच निरन्तरता दिन चाहन्छौ। ती कुप्रथामाथि उल्टो सन्तुष्टिका साथ गर्व गर्छौ। एउटा गतिलो आम्दानी (पेशा, व्यवसाय वा अन्य स्रोतबाट अर्जित आय) ले व्यक्ति, परिवार र सम्पूर्ण समाजको आर्थिक अवस्था सुधार गर्नमा जति ठूलो योगदान पुर्याएको हुन्छ त्यो भन्दा हजारौं गुणा बढी प्रभाव मात्र एक कुप्रथाले पारेको हुन्छ। र त्यो कुप्रथाले व्यक्ति र परिवारलाई गरिबी र कुसंस्कारको दलदलबाट बाहिर निस्कन दिंदैन। अनि हाम्रो आरण्य-रोदन सुरु हुन्छ। हामी गरिब भएर अवसरहरु गुमायौ, दु:ख पायौ भन्ने क्रन्दनहरु निस्कन थाल्छन। कुप्रथा, पटक्कै पोषण नभएको त्यस्तो माटो हो जसबाट राम्रो बिरुवा (व्यक्ति वा परिवार) ले जन्म लिने शून्य सम्भावना हुन्छ।
तिलक, दहेज, भोज भतेर, विवाहमा भडकिलो खर्च (सम्पूर्ण गाउँ वा सहरले सुन्ने गरी बैण्ड बाजाको ध्वनी) खर्चिलो चाडवाड आदि आदिले नेपालीहरुलाई गरिब तुल्याउनमा विषेश भूमिका खेलेका छन्। नेपाली समाजमा कुप्रथाहरुले जरा गाडेका विभिन्न उदाहरणहरु प्रस्तुत गर्ने हो भने एउटा पुस्तक नै बन्छ होला। त्यसकारण यो छोटो लेखमा केवल केही प्रतिनिधि उदाहरणहरु मात्र प्रस्तुत गर्न प्रयास गरेको छु।
सभ्यता विकासको क्रम सँगै नेपाली समाजमा विद्यमान कुप्रथाहरुले व्यक्ति वा परिवारहरुलाई परिश्रमी, धैर्यवान र आशावादी होइन बरु घमण्डि, अधर्यवान र विद्रोही हुन सिकाए। हरेक समस्याको समाधान असन्तोष, वल एवं हिसाले खोज्न उक्साए। व्यक्तिहरुलाई परिश्रम होइन, फुस्रो गर्व गर्न सिकाए। फोस्रो आदर्श एवं प्रदर्शनमा बाँच्ने परम्पराको विकास गर्न लगाए। माथिको कुरालाई पुष्टि गर्न एउटा सानो तर समाजमा आकास जत्तिकै फैलिएर कुप्रभाव पार्ने एउटा उदाहरण पेश गरौ। नेपालमा यस. यल. सी. को रिजल्ट आए पछि लाग्छ दूर्गापूर्जा वा फागु जस्तो कुनै एक महान चाड, पर्व आए जस्तो। यो चाडलाई स्कूल, शिक्षक, पास हुने विद्यार्थी र उक्त विद्यार्थीको परिवार वा नातागोत एवं परिचितहरुले धुमधामका साथ मनाउँछन्। फूल, अविरको सिजन शुरु हुन्छ।
हाम्रा यति जना विद्यार्थीले फर्स्ट डिभिजनमा यस. यल. सी. परीक्षा पास गरे। पास हुने विद्यार्थीहरुलाई हार्दिक बधाइ। हामीलाई हाम्रो विद्यार्थीहरुको सफलतामा ठूलो गर्व छ। विभिन्न स्कूलहरुका यस किसिमका विज्ञापनहरु अनेक पत्र पत्रिकाहरुमा देखा पर्न थाल्छन्। यस किसिमका विज्ञापनहरुले पत्र पत्रिकाहरु भरिन थाल्छन्।
मैले वा हामीले पढाएको विद्यार्थीहरुले यस. यस. ली. मा यस्तो (उच्च) नतिजा प्राप्त गरे। यति जनाले प्रथम श्रेणी प्राप्त गरे। यति जनाले यस्तो गरे, यति जनाले उस्तो गरे। यस किसिमले शिक्षकहरुले पनि, मौखिम रुपमा नै भए पनि, आफ्नो विज्ञापन गर्न थाल्छन।
यसपछि विज्ञापन गर्ने पालो आउँछ विद्यार्थीको अविभावक, नाता गोता वा शुभ चिन्तकहरुको। विद्यार्थीका अभिभावक एवं सम्बन्धितहरुले हाम्रो फलानो, हाम्रो चिलानो, हाम्रो यो वा ऊ ले यस. यस. सी. परीक्षामा उच्च नतिजा पाएकोमा हामी खुसी छौ। सफल हुने फलानोलाई शुभ कामना। यस. यल. सी. को रिज्ल्ट निस्के पछि यस किसिमका विज्ञापनहरु पत्र पत्रिकाहरुमा च्याउ झै उम्रिन थाल्छन्।  
कुनै एक विद्यार्थी उच्च प्रथम वा अति राम्रो श्रेणीमा पास हुनुको “जस” स्कूल, शिक्षक र अभिभावकले लिने क्रम शुरु हुन्छ। यसरी जस लिनुलाई पूर्णतया नराम्रो मान्न सकिंदैन। तर त्यो जस लिने कार्य गर्व वा घमण्डमा रुपान्तरित हुन्छ। कुनै एक विद्यार्थी पास हुनुलाई स्कूल एव अभिभावकहरुले आफ्नो गर्व (घमण्ड) को विषय बनाउँछन्। अति फूलेर गर्व गर्छन् र विद्यार्थिलाई पनि गर्व गर्न सिकाउँछन्। आफ्नो गर्वलाई पत्र पत्रिका मार्फत प्रदर्शन गर्छन्। परिणाम के हुन्छ भने पास हुने विद्यार्थीले परीक्षामा पास हुनलाई आफ्नो परिश्रम सँग जोडेर हेर्नुको साटो आफ्नो मेधा सक्तिसँग जोड्छ र ऊ मा शुरु हुन् थाल्छ घमण्ड गर्ने बानी। अनि यस किसिमको विद्यार्थीले अध्ययन समाप्त गरेर व्यवहारिक जीवनमा प्रवेश गरे पछि आफ्नो व्यवहारमा घमण्ड देखाउन थाल्छ-केही अपवाद बाहेक। उसले आफूलाई एक सामान्य व्यक्ति होइन विषेश व्यक्ति देख्न थाल्छ र समाजबाट विषेश व्यक्तिको व्यवहार पाउने अप्रत्यक्ष माग गर्न थाल्छ। म एक अस्पतालको प्रशासनमा कार्यरत हुँदा प्रशासनमा आउने धेरै किसिमका गुनासाहरु मध्ये एक, डाक्टर साहेबले मसँग राम्रो व्यवहार गर्नु भएन, मेरो कुरा पूरा सुन्नु भएन, जाँच्नका लागि नाडीसम्म पनि समात्नु भएन अरु कुराको परिक्षण त परको कुरा भयो? यसरी हामी आफैले, प्रारम्भमा नै गर्व गर्न सिकाएको व्यक्तिहरुबाट पछि कसरी नम्रताको अपेक्षा गर्ने? नेपालको सन्दर्भमा, परीक्षामा राम्रो नतिजा ल्याउनेहरु इन्जिनिएर, डाक्टर बन्ने सबैलाई ज्ञात भएको कुरा हो।
यस. यल. सी.  परिक्षाको सार्वजनिक रुपमा नतिजा प्रकाशनको अर्को अति दु:खद पाटो न केलाउने हो भने यो चर्चा नै अधुरो रहन जान्छ। सबैलाई ज्ञात भएको कुरा हो यस. यल. सी. परीक्षाको नतिजा प्रकाशित भए पछि परीक्षा दिनेहरु मध्ये आधा जति असफल हुन्छन। एक लाख विद्यार्थीले परिक्षा दिएका छन् भने करिब तिस देखि चालिस हजार विद्यार्थी त फेल हुन्छन् नै। सर्वप्रथम फेल हुने विद्यार्थीहरुको मनोविज्ञानको चर्चा गरौ। पास हुने विद्यार्थीहरुको भने माला र अविरलले भव्य स्वागत हुने, पत्र पत्रिकाहरुमा नाम मात्र हो, चित्र समेत प्रकाशित हुने  र पासहुनेहरुका लागि स्कूल, शिक्षक, अभिभावक, समुदाय, क्षेत्र, जिल्ला र देशले नै प्रतिष्ठित भएको गर्व गर्ने तर फेल हुने विद्यार्थीहरुको हैसियत भने कम पढ्ने, पढाइमा ठग्ने, अभागी, भुसकौल विद्यार्थीमा गणना हुने। कति ठूलो विडम्बना र कत्रो विकराल कुसंस्कार! यो, वहुसंख्यकले प्रत्येक वर्ष देखेको तथ्य हो। हो कि होइन? यस किसिमको फरक व्यवहारको ती फेल हुने कलिला मष्तिष्कमा विद्यार्थीहरुले कसरी झेल्ने? समाजले दिएको त्यो भेदभावपूर्ण व्यवहारको पीडा कसरी बर्दास्त गर्ने? ती बिचराहरुले जीवनको सही किसिमले अनुभव समेत गर्न पाएका हुँदैनन् यस्तो अवस्थामा त्यत्रो ठूलो मानसिक आघात कसरी व्योहोर्ने? कतिपय फेल हुने विद्यार्थीहरुले यस्तो स्थिति झेल्न सक्दैनन् र गलत निर्यण गर्दै आत्म हत्या गर्न पुग्छन। परिक्षाको नतिजा प्रकाशित भए पछि कतिपय असफल हुने विद्यार्थीहरुले आत्महत्या गरेको हामीले सुनेकै र देखेकै नै पनि हो। अर्कोतिर, केही  अपवादहरुलाई छाडेर कुरा गर्ने हो भने त्यसरी फेल हुनुमा विद्यार्थीको दोष पटक्कै हुँदैन। गलत शिक्षा नीति, असक्षम शिक्षक, अकुसल अध्यापन पद्धति, अभिभावकहरुको कमजोर आर्थिक स्थिति वा रेखदेखमा कमि, देशको राजनैतिक र सामाजिक स्थिति (बन्द, हडताल, जुलुस, राजनैतिक दलहरु द्वार विद्यार्थीको उपयोग, चाड पर्व आदि), अव्यवहारीक परीक्षा (कपी जाँच) पद्धति आदिले विद्यार्थीहरुलाई असफल गराउनमा ठूलो भूमिका खेलेका हुन्छन। तर बिडम्बना! अरुहरुले गरेका कमजोरीहरुलाई असफल विद्यार्थीको कमजोरी ठहर्याएर हाम्रो गलत सामाजिक मान्यताले उनीहरुलाई हीन मनोविज्ञान ( Humiliated Psychology) लिएर बाँच्न बाध्य गराइ दिन्छ। विद्यार्थीहरुले पनि अरुहरुको कमजोरीलाई आफ्नो कमजोरी सम्झेर हीन भावना पाल्न सुरु गर्छन्। अनि अर्कोतिर, आफैले हीन मनोविज्ञान निर्माण गरिदिएको व्यक्तिहरुबाट समाजले अति राम्रो व्यवहारको अपेक्षा गर्दछ। असफल भएका विद्यार्थीहरु सजिलै अपारधिक कार्यहरुतिर लाग्छ सक्छन किनभने उनीहरुको हीन मनोविज्ञानले उनीहरुलाई त्यस्तो कार्य गर्न उक्साउँछ। नेपालमा वहुसंख्य व्यक्तिहरु यस. यल. सी. मा पास हुने हो र उनीहरुले सजिलै रोजगारी पाउने हो भने नेताहरुलाई जुलुस निकाल्न र पुलिसमाथि ढुगां प्रहार गर्ने मान्छे पाउन अवश्य पनि मुस्किल पर्नेछ।
बुझ्नु पर्ने कुरा के हो भने, एक वा दुई वर्षसम्म निर्धारित विषय नियमित रुपमा पढ्ने विद्यार्थीले त्यो विषय राम्रो गरी बुझेको छ र राम्रो गरी बुझ्नु त्यो विषममा त्यो व्यक्ति पास भए सरह हो। यो पद्धति यस. यल. सी. मा लागु गरेर धरै जना फेल हुन परिपाटिलाई निरुत्साहित गर्न सकिन्छ। यस यल सी माध्यमिक शिक्षा हो, उच्च शिक्षा होइन।
त्यस किसिमले परिक्षा फल प्रकाशित गरेर विद्यार्थीमा हीन मनोविज्ञान निर्माण गराउने परिपारटि समाप्त गरियोस। यस. यल. सी. को नतीजा सम्बन्धित विद्यालयले सम्बन्धित विद्यार्थीलाई मात्र गोप्य रुपमा दिने व्यवस्था होस। यस्तो गरिएमा असफल भएका विद्यार्थीहरु हीन भावनाको सिकार हुन पाउँदैनन्। समाजमा उच्च मनोविज्ञान लिएर हिंड्न सक्छन्। देशले सक्षम नागरिकहरु पाउँछ।
विकसित राष्ट्रहरुका विश्व विद्यालयहरुमा सम्बन्धित विद्यार्थीलाई बाहेक अरु कसैलाई पनि उक्त विद्यार्थीको परीक्षाको नतिजा दिंइदैन। यहाँसम्म कि विद्यार्थीका बाबु  आमा समेतलाई पनि दिंइदैन। विद्यार्थीको बाबु आमाले लिन खोजे भने विद्यार्थीको लिखित सहमतिमा मात्र लिन पाउँछन। एउटा विद्यार्थीले अर्को विद्यार्थीको परीक्षाको नतिजा हेर्न पाउँदैन। परीक्षाको नतिजा सार्वजनिक रुपमा प्रकाशित हुँदैन पनि। यसरी गोप्यता कामय गरेर विकासित देशहरुमा पास नहुने विद्यार्थीहरुको मनोवल उच्च राख्ने कार्य गरिन्छ। त्यसकारण नेपालमा पनि विद्यार्थीहरुको मनोवल बढाउने कार्य होस। यसका लागि नीतिहरु बनुन र कार्यान्वयन होस। तर सार्वजनिक रुपमा परिक्षाको नतिजा प्रकाशित गरेर कलिला युवा युवतीहरुको मनोविज्ञान भत्काउने कार्य नगरियोस।
तर अफसोच! सार्वजनिक रुपमा परिक्षाको नतिजा प्रकाशित गरेर, पासहुनेहरुको मात्र वाह वाही गरेर, अति राम्रो श्रेणीमा पास हुनेहरुलाई फूल माला लगाइ दिएर, उसको सार्वजनिक रुपमा जय जयकार गरेर, तर अर्कोतिर फेल हुनेहरुलाई अप्रत्यक्ष रुपमा तिरष्कार गरेर हामी असक्षम, घमण्डी, निरासावादी, विद्रोही, हिंसक, अपराधी नागरिकहरु आफ्नै व्यवहारका (नीति, पद्धति) कारण उत्पादन गरिहरेका छौ। हो कि होइन?  


विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, July 31, 2015

No comments:

Post a Comment