Friday, August 7, 2015

Social Awareness Comes First-Article-179

किन भएन सामाजिक चेतना?

अनेक किसिमका मतभेद, कलह, स्वार्थ आदिले गर्दा पहिलो संविधान सभाको निर्वाचन भएको दस वर्ष हुन थालिसक्दा पनि नयाँ संविधान निर्माण हुन सकेको छैन्। उल्टो संविधान बन्न नदिन वा बन्ने कार्यलाई  अझै ढिलो पार्न एक पछि अर्को गरी अनेक किसिमका समस्याहरु थपिने क्रम जारी छ। कहिले शासकीय स्वरुप, कहिले प्रदेश विभाजन यस्ता अनके किसिमका विवादमा सम्पूर्ण राष्ट्रको जनशक्ति अल्झेर एवं ठूलो रकम (विधायकहरुको पारिश्रमि र विभिन्न सुविधा) लगानी गरेर पनि संविधान निर्माण हुन सको छैन। मुलुक अनिश्चितताको दीर्घकालीय खाडलबाट बाहिर आउन सकिरहेको छैन्। अहिले आएर दुई विवादहरुले भने सम्पूर्ण नेपालीहरुको ध्यान विपरित दिशातिर तानेका छन् र संविधान निर्माणमा अझै ढिला हुने स्थित सृजना गरिदिएका छन्। नयाँ सम्बिधानमा नेपाललाई हिन्दु वा धर्म निरपेक्ष राष्ट्र घोषणा गर्ने र नेपाली महिला वा पुरुषले विदेशी नागरिकसँग विवाह गरेमा त्यसरी वैवाहिक सम्बन्धबाट नेपाली हुन पुगेको व्यक्तिलाई कुन किसिमको नागरिकता दिने भन्ने विषयहरुले अहिले सर्वाधिक चर्चा पाइरहेका छन्।  
मुलुकमा माथिका विषयहरुले प्राथमिकताका साथ चर्चा पाइहेको अवस्थामा एक अर्को एक यस्तो हास्यास्पद र अमानवीय समाचार आएको छ कि त्यो समाचारलाई अति गहिराइका साथ लिने हो भने त्यो समाचारले माथिका दुई मुद्दाहरु हल्का गराउने स्थिति  छ। आधुनिक मानव सभ्यतामा विरलै देखिने अति क्रुर समस्या एका एक चर्चामा आएको छ। घटना हो, सर्लाही जिल्लाको धनगढी गाविसको वडा नम्बर ३ स्थित नयनपुरको। माथि उल्लेखित स्थानमा रहेका दुई डोम परिवारलाई वर्षौ देखि त्यहाँ रहेको इनाइमा पानी लिन कथित उपल्लो जातिहरुले रोक लगाएका रहेछन् र ती दुई डोम परिवारहरुले पानीको दैनिक आवश्यकताका लागि कथित उच्च जातिको निगाहमा भर पर्नु पर्ने रहेछ। कुनै उच्च जातिले निगाह गरेर पानी दिए पानी पाउने पाउने नदिए नपाउने। कति ठूलो विभेद! कति ठूलो अपराध? कति ठूलो संवेदनाहीनता? कति ठूलो अमानवीयता? जातिपातिको नाममा कति ठूलो हृदयहीनता? यो आधुनीक युगमा यस्तो घटना यूरोप, अमेरिका तिर देख्न त परै जाओस सुन्न पनि पाइँदैन। जातीविहीन पश्चिमी समाजमा यस्तो घटना कतै भएको छ भनेर कसैलाई सुनाउने हो भने उसले पत्याउने पनि छैन। राजनैतिक अस्थिरता, गरिबी, भोकमरि, अज्ञानता, अशिक्षाले जिर्ण जिर्ण पारेको अफ्रिका केही मुलुकहरुमा पनि यस्तो अमानवीय घटना देखिंदैन, सुनिंदैन।
समाचारहरुमा जनाइए अनुसार घटना भएको दिन ( शनिवार, श्रावण १६ गते २०७२) नेपाली चलचित्रका चर्चित कलाकार राजेश हमाल त्यस स्थानमा रहेको इनारमा तथाकथित उच्च जातिका व्यक्तिहरुले डोम परिवारहरुलाई इनार छुन नदिएको खबर पाएर डोमहरुले पनि त्यस इनारबाट अरु गाउँलेहरुले जस्तै पानी  खान सक्ने वातावरण श्रृजना गर्न त्यहाँ गएका थिए। राजेश हमालले स्थनीय डोम युवक दीपक मलिकलाइ साथमा लिएर त्यस इनारबाट पानी लिन लग्दा त्यस गाउँका तथाकथित उपल्लो जतिहरु महिला पुरुष गरी ठूलो संख्यामा उपस्थित भएर दीपक मलिकलाई तल्लो जातको भन्दै, उसले पानी लिएमा इनार छोइनै तर्क गर्दै पानी लिन दिएनन्। घटनाको विवरण लामो छ। संक्षेप के हो भने जातीयताको भेदभावको कारण तल्लो जातीले कुनै इनारबाट पानी स्वयंले झिकेर खान नपाउने। मानव समाजलाई नै लज्जित गर्ने यो घटना धेरै नै अर्थपूर्ण छ। अर्थपूर्ण यस हुनाले छ कि त्यस गाउँको कुनै एक वा दुई परिवारले त्यस्तो गरेको भए त्यसलाई सामान्य अज्ञानता भनेर बिर्सन मिल्थ्यो। तर लगभग सम्पूर्ण गाउलेहरु नै इनार छुन नदिने कार्यमा उत्रेको देखेर जातीय शोषण संस्थागत रुपमा भइरहेको कुराको पुष्टि हुन्छ।
दीपक मलिक प्रकरणले सर्वाधिक लाज नेताहरुलाई लाग्नु पर्ने स्थिति सृजना गरिदिएको छ। न्याय र समानताको वकालत गर्ने, विभिन्न जाति, वर्ग, लिंगको आदिको अधिकारको रक्षा गर्न तराइलाई अलग राज्य बनाउनु पर्दछ भनी माग गर्ने नेताहरुले त्यस क्षेत्रमा यति  ठूलो परिमाणमा, क्रुर किसिमले जातीय शोषण भइहरेको छ भन्ने कुरा किन देखेनन्? देखे भने किन चुपचाप टुलुटुलु हेरेर बसे? राजनैतिक मुद्दाहरुलाई व्यक्तिगत विकासको भर्यांग बनाउने नेताहरुले केवल राजनैतिक मुद्दाहरु मात्र किन लिएर हिंडे? सामाजिक जागरणका लागि किन केही पनि उल्लेखनीय कार्यहरु गरेनन? देश र परिवारहरुलाई गरिब तुल्याउने कार्ममा अत्यधिक  ठूलो भूमिका खेल्ने सामाजिक कुरुतिहरु समाप्त पार्न किन लागेनन? यो प्रश्न ने का, एमाले, एमावादी एवं मधेश केन्द्रित सवै राजनैतिक दलहरुलाई सोध्नु पर्ने हुन्छ। मधेसको मुद्दालाई केन्द्रमा राखेर मदेश केन्द्रित राजनीत गर्ने राजनैतिक दलहरु त झन यी प्रश्नहरुको उत्तर दिनबाट पन्छिन मिल्दैन्। होइन त?
नेताजीहरु आउनुहोस पहिले सामाजिक विकासका कुरा गरौ। सामाजिक विकासका साथै आर्थिक विकासको कुरा गरौ। सामाजिक र आर्थिक विकास गरे पछि त्यो विकासले नै राजनैतिक विकास गरिदिन्छ। यस्तो भयो भने प्रत्येक नागरिकले आफूलाई राष्ट्रिय विकासको एउटा खम्बा ठान्ने  छ। होइन, केवल राजनीति मुद्दाहरुमा मात्र अल्झिने हो भने देश त कंगाल हुन्छ नै नागरिकहरु पनि कंगाल भएर राजनीति र नेता दुबैको भविष्य समाप्त हुन सक्छ। जस्तो कि अहिले बुरुण्डि, यमन, दक्षिणी सुडान आदिमा देखिएको छ। अहिले यमनमा के भइरहेको छ, सबैलाई भलिभांति थाहा छ।
नेपालको सामाजिक बनावटमा यति विकाराल समस्याहरु छन् कि तिनलाई कुनै ठूलो बाढीले भीषण फोहर ल्याइ दिए पछि सफा गर्नु परेझै गरी सफा गर्नु पर्ने देखिन्छ। नेपाली समाजमा अहिले पनि फगत आफ्नो मनोरथ पुरा गर्न पशु दिने चलन त छ नै मान्छेलाई नै पनि वली दिएको सुनिएको छ। डाइन, जोगिन, धामी आदिको आरोपमा कतिपय कमजोर व्यक्तिहरुलाई मानवीय मल मुत्र खोआउने गरिन्छ। सुत्केरी भए पनि गोठमा राखिन्छ। छोरी भएकोमा आमा बाबुले कुनै ठूलो अपराध गरे झै गरेर छोरीहरुका लागि वर किन्नु (दहेज दिनु) पर्दछ। केवल सान सौकत देखाउनका लागि नै पनि सारा गाउँको कान थर्काउने गरी अंग्रेजी बाजा बजारए, ठूलो जन्ति निकालेर विवाह गर्नु पर्ने चलन छ। धनीले त आफ्नो आर्थिक हैसियतले भ्याएर यस्तो गर्लान तर गरिबहरुले, ऋण लिएर भए पनि यो गर्नु पर्ने न त जग हँसाइ हुने। किन यस्तो?  अर्को, कत्रो अचम्म! अंग्रेजहरु भारत छाडेर गइसके तर नेपाल र भारतबाट अंग्रेजीबाजा गएको छैन। यहाँ बाजा बजाउने कार्यको विरोध गरेको होइन, विरोध आर्थिक स्थिति कमजोर हुनेले ऋण लिएर यस्तो गर्ने र सहर वा गाउँ थकार्उने गरी अंग्रेजी बाजा बजाइने खर्चिलो परम्पराको बिरोध गरिएको हो।
जात जातिको आधारमा नेपाली समाज यति धेरै टुक्रामा विभक्त छ कि ती टुक्राहरुलाई गणना गर्न पनि कठिन छ। कथित उच्च जातिले सानो जातिलाई हेप्ने चलन त छ नै एउटा जातिले आफूलाई अर्को भन्दा ठूलो देखाउन प्रथा पनि अहिलेसम्म कायम नै छ। विभिन्न जातिहरुलाई भनिने (कु) कहाबत समाजमा अहिले पनि विद्यमान छ। एउटा सानो उदाहरण पेश गरौ। एउटा कहावत (उदाहरण) छ “बड जात ............।” यो कहाबत म पूरा लेख्न सक्तिन र त्यसरी लेख्न मेरो नैतिकता दिंदैन पनि। वरु आग्रह के गर्छु भने यस्ता (कु) कहाबतहरु बन्द गरौ। जातीय भेदभाव समाप्त पारौ। समाजलाई यूरोप, अमेरिका जस्तै जातियता विहीन समाज बनाउँ। जातियता बिहिन समाज भयो भने आप से आप आर्थिक विकास हुन्छ। हिन्दु धर्मले जातपात, छुवाछुतको कुरा गर्दैन। जातपात, छुवाछुत, ठूलो जात सानो जात, पछि आएका हुन परम्परा हुन। राजा, राजौटा, सामन्त, जमिन्दारहरुले जातपातको प्रथा ल्याएका हुन। हिन्दुहरुको अति पवित्र एवं आदरणीय धर्म ग्रन्थ, गीतामा कतै पनि जन्मको आधारमा यो व्यक्ति, यो जातको हुन्छ भनी लेखिएको छैन।
यो आलेखमा नेपाली समाजको भरपुर आलोचना गर्न भने खोजिएको होइन केवल यसमा भएका कमजोरीहरु देखाउन, हटाउन खोजिएको हो। समाजलाई मानवतामुखि तुल्याउन समाजमा भएका कमजोरीहरु हटाउन आवश्यक छ पनि।
नेपाली समाजमा विद्यमान रहेको एउटा अर्को भेदभावको प्रशंग उठाऔ। साला, ससुरा अति पवित्र र मर्यादित नाताहरु हुन। पत्नीको भाइलाई साला र पितालाई ससुरा भन्ने गरिन्छ। तर यी दुई नाताहरुलाई किन गालि गर्नमा प्रयोग गरिन्छ? कसैले, कसैलाई गाली गर्दा “साला, पख्लास तँलाई देखाउँला।” “ए ससुर, तेरो दिमाग छैन? ठीकसँग किन सोच्दैनस।” “मलाई धेरै रीस नउठा, ससुरको नाति।” समाजमा यसरी किन भनिएको होला? मैले बुझे अनुसार, यी कुराहरुले खास किसिमका नाता देखाएर हेप्ने चलन रहेको पृष्टि गर्दछ। यसै गरी यस किसिमका भनाइहरुले समाजमा मर्यादित नाता, अर्यादित नाता रहेको पनि पुष्टि गर्दछन्।
मैले आफ्नै आँखाले देखेको घटना हो। गाउँहरुमा विवाह, प्रतवन्ध, सत्यनारायणको पूजा, अठजाम आदि हुँद आयोजना गरिएको भोजहरुमा कथित माथिल्लो जातीहरुले खाएर छोडेको जुठो डोमहरुलाई खान दिने गरिन्थ्यो। डोमहरु माथिल्लो जातिले खाएर फालेको जुठो खान घर बाहिर निकै पर कुरेर बस्थ्ये। अहिले यो चलन छ छैन थाहा भएन। तर मैले वाल्य कालमा देखेको घटना, अहिले मैले भोगिरहेको पाश्चात्य जीवन शैलीसंग तुलना गर्दा आफू घोर अमानवीय कार्यमा त्यसबेला संलन्न भएको बोध हुन्छ। ठूलो कुकर्म गरेको हुनाले पश्चाताप गर्नु पर्ने जस्तो लाग्छ। 
त्यसकारण, नेताजीहरु, पहिले समाजमा देखिएका यस्ता अनेक कुरुतिहरु फाल्नतिर लागौ। राजनैतिक मुद्दाहरुको समाधान पछि पनि निकाल्न सकिन्छ। कि कसो?

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, August 07, 2015

No comments:

Post a Comment