Friday, July 17, 2015

What Made Nepal Different Than Greece's Situation?-Article-176

किन भएन नेपालको हालत ग्रिसजस्तो?

भनिन्छ ओलम्पिक खेलको शुरुवात ग्रिसबाट भएको थियो। ख्याति प्राप्त प्राचीनका वैज्ञानिक अर्केमेडिज पनि ग्रिसका नै थिए। उनले भौतिकशास्त्रको क्षेत्रमा मात्र होइन, गणित, इन्जिनियरिंग र खगोल विज्ञानमा पनि महत्वपूर्ण आविष्कार एवं कार्यहरु गरेका थिए। ज्ञान, विज्ञान,  अर्थ आदिमा प्रचीनकाल देखि नै सम्पन्न रहँदै आएको ग्रिस अहिले पनि धनी राष्ट्रको श्रेणीमा नै पर्दछ। यसको मानव विकास सूचकांक उच्च छ भने जीवनस्तर पनि उच्च छ। पर्यटन क्षेत्रमा निकै अगाडि रहेको ग्रीस विश्वका धेरै पर्यटकहरु भित्र्याउने राष्ट्रहरुको श्रेणीमा पर्दछ। सन् २००९ मा, यो मुलुक विश्वभरिबाट पर्यटक भित्र्याउने राष्ट्रहरुको श्रेणीमा सोर्हौ स्थानमा थियो। युरोपियन युनियनका राष्ट्रहरुमा भने सातौ स्थानमा थियो।
आर्थिक रुपमा यति सक्षम राष्ट्र, तीन चार वर्षदेखि भने संकटपूर्ण स्थितिमा छ। देशमा रोजगारी कम छ, महँगी बढेको छ, जनताको हातमा राम्रो आम्दानी  छैन्। केही व्यापारहरु समेत बन्द भएका छन्। जीवन ज्यादै संघर्षपूर्ण हुन पुगेकोले कतिपय नागरिकहरुले आत्महत्या समेत गरिसकेका छन्। जनता आर्थिक रुपमा सकसपूर्ण अवस्थामा त छ नै ग्रीस सरकारको आर्थिक स्थिति पनि अति नै दयनीय हुन पुगेको छ। मुलुकबाहिरबाट लिएको ऋण तिर्ने पैसा समेत अहिले ग्रिस सँग छैन।  अन्तरार्ष्ट्रिय मुद्रा कोषलाई २ बिलियन युरो भुक्तान गर्नु छ। यसै गरी युरोपियन सेन्ट्रल बैंकलाई तत्काल ३.५ बिलियन युरो भुक्तान गर्नु पर्नेछ। अन्तरार्ष्ट्रिय मुद्राकोषलाई पनि तत्काल अहिले नै ४५६ मिलियन युरो भुक्तान गर्नु पर्नेछ। ग्रिसका बैंकहरु सँग कारोबार गर्न पैसा छैन्। यो लेख तयार पार्दासम्म ग्रीसका बैकहरु दुई हप्तादेखि बन्द छन्। केवल बैकका ए टि यम (Cash machines) हरुले रासन प्रणाली झै जस्तो गरी दिनको मात्र ६० युरो जम्माकर्ताहरुलाई झिक्न दिएका छन्। अहिले ग्रिस एक किसिमले टाट पल्टिने स्थितिमा छ। यदि  अन्तरार्ष्ट्रिय दाताहरुले ग्रिसलाई ऋण नदिने हो भने ग्रिस टाट पल्टिन सक्छ। खास गरी युरोपियन युनियनले ऋण नदिने हो भने ग्रिस आर्थिक समस्याको दलदलमा नराम्रो गरी भास्सिन पुग्ने छ। वाह्य ऋण तिर्न र देश चलाउन ग्रिससँग पैसा छैन। तत्कालका लागि, अब ग्रिसले ठूलो  परिमाणमा ऋण लिनुको अर्को विकल्प छैन। यसै बीच युरोजोनले ग्रिसलाई तेस्रो पटक ५० बिलियन युरो ऋण ( Bailout) दिने घोषणा गरेको छ। तीन वर्ष भित्रमा युरोजोनले ८६ बिलियन युरो ऋण दिने सहमति समेत पनि जनाएको छ। यस्तो किसिमको ऋण तेस्रो पटक पाउन थालेको हो। यो भन्दा पहिले पनि ग्रिसले युरोजोनबाट दुई पटक ऋण लिइ सकेको छ। सन् २०१० देखि अहिलेसम्ममा २४० बिलियन युरो (European Common Currency) ऋण लिइसकेको छ।  
ग्रिसका प्रधानमंत्री एलेसिक्स सिप्रासले युरोजोनबाट ऋण (Bailout) पाउने बलियो आश्वासन पाइसेकोले यो कठिन समस्याले किनारा लिन सम्भावना देखिएको छ तर यस्तो समस्याको यो समाधान भने बिरामी व्यक्तिलाई खतराबाट जोगाउन आई भी (Inter Venus Fluid) वा नरमल सेलाइन दिए सरह हुनेछ। पछि, रोगसंग लड्ने क्षमता बिरामीको शरीरबाट उत्पन्न हुनु पर्न झै मुलुकको बिग्रदो आर्थिक स्थितिको समाधान ग्रिस स्वयंले राष्ट्र भित्रबाट नै खोज्ने पर्नेछ। आफ्नै स्रोत एवं साधनहरुको कुसलतापूर्वक उपयोग गर्नु पर्नेछ। अन्तरार्ष्ट्रिय ऋणदाताहरुसँग ऋण लिएर ग्रिसको गहिरो आर्थिक समस्यमाको समाधान खोज्नु फलदायी हुनेछैन्।     
केही दिन पहिले ब्रसेल्समा बसेको यूरोजोनका अधिकारीहरुको मिटिंगमा ग्रिसलाई ऋण दिने सहमति भएको थियो। ऋणदाताहरुले ऋणका साथै ग्रिसले पूरा गर्नु पर्ने केही सर्तहरु पनि राखेका छन्। सो सर्त अनुरुप ग्रिस सरकारले विभिन्न आर्थिक सुधारका कार्यहरु गर्ने पर्नेछ, आर्थिक अनुशासन (Austerity) लाई कडाइका साथ लागु गर्ने पर्नेछ  । मुख्य गरी पेन्सन प्रणालीलाई चुस्त बनाउनु पर्नेछ, करको दर बढाएर कर आम्दानी बढाउनु पर्नेछ, श्रम बजारलाई अझै खुकुलो पार्नु पर्नैछ, सरकारी खर्चमा भारि कट्टौति गर्नु पर्नैछ। आदि आदि। अर्थात सर्तको रुपमा ग्रिसले अन्तरार्ष्ट्रिय ऋणदाताहरुका धेरै सर्त वा उनीहरुका हित हुने कुराहरु मान्नु पर्नेछ।
अर्कोतिर, ग्रिस भित्र वहुसंख्यक नागरिकहरु एवं सरकारमा सामेल दलहरुले नै पनि आर्थिक अनुशासन एवं बेल आउट (अन्तरार्ष्टिय ऋण) को विरोध गरिरहेका छन्। यस किसिमबाट ऋण लिने कार्यले ग्रिसलाई ऋण-उनिवेश (Debt colony) बनाउने संका व्यक्त गरिरहेका छन्। केहीले यो कार्यले ग्रिसले ज्ञ्लानी अनुभव गर्नु परेको त केहीले आत्मसमर्पण गर्नु परेको पनि भनेका छन्। केहीले भने यस (ऋण लिने) कार्यलाई कु (Coup) को संज्ञा समेत दिएका छन्। ग्रिसका धेरै नागरिकहरुलाई यो बले आउट र आर्थिक अनुशानले युरोपियन युनियनलाई बढी फाइदा पुग्ने विश्वास छ, खास गरी जर्मनी, फ्रान्स र स्पेनलाई। र यस मध्ये पनि बढी जर्मनीलाई।   
आर्थिक रुपमा यति सक्षम ग्रिस कसरी यति कमजोर हुनु पुग्यो? के कारणहरुले यो देशलाई दिवालिया हुने स्थितिमा पुर्याए? सामान्य जनताको जीवन कसरी यस्तो दुष्कर हुन पुग्यो? यी प्रश्नहरुको, सारांशमा तीन उत्तरहरु छन्। पहिलो, ग्रिसले आफ्ना स्रोत एवं साधनहरुको कुशल किसिमले उपयोग गर्नुको साटो अन्तरार्ष्टिय ऋणप्रतिको निर्भरता बढाउँदै लग्यो, आफ्नो बजार बलियो बनाउने पट्टि ध्यान दिएन। दोस्रो, यसका आर्थिक नीत एव कार्यक्रमहरु कमजोर हुनुका साथै व्यवस्थापन पक्ष अति नै कमजोर हुन पुग्यो। तेस्रो, अन्तरार्ष्ट्रिय ऋणदाताहरुले आर्थिक समस्याहरुको दलदलमा फंसेको ग्रिसको उद्दार गर्नुको साटो केवल आफ्नो आर्थिक फाइदामा बढी ध्यान दिए। ग्रिसलाई बलियो बनऔ भन्ने होइन,  ग्रिसबाट बढी नाफा कमाऔलाई महत्व दिए।
गलत नेतृत्व, गलत नीति, अकुशल व्यवस्थापन र समन्वयको अभावमा एक धनी राष्ट्र छोटो अवधिमा नै कसरी गरिब राष्ट्रमा परिणत हुन सक्छ भन्ने कुराको उदाहरण अहिले ग्रिस हुन पुगेको छ। यो तथ्य (अवस्था) सर्वसाधरणले पनि सजिलै बुझ्न सक्ने गरी प्रष्ट भएको छ।
अव्यवहारिक नीतिहरुले गर्दा छोटो समयमा नै एक धनी राष्ट्र निर्धन हुन पुगेको छ। ग्रिसको जनतामा अहिले भारि निराशा र अनिश्चितता छ भने भोलि के हुने हो भन्ने गहिरो चिंताले बेस्सरी सताएको छ। बचत र हातमा केही रकम हुनेहरु पनि भोलि के हुने हो भन्ने चिंताले  गर्दा बजारमा पुगेर पैसा गर्न डराएका छन्। यसरी राष्ट्रिय अर्थतन्त्र नै एक किसिमले गतिहीन पुगेको छ।
नेपालको आर्थिक स्थिति पनि ग्रिसको जस्तो उहिले नै भइसक्थ्यो। २०६३ साल पछि देशमा मौलाएको बेथिति एवं राजनैतिक दलहरु भित्रको खिंचातानी र घात, अन्तरघातले नेपाललाई ग्रिसको स्थितिमा पुर्याउथ्यो। हालै गएको भूकम्पले पनि त्यो स्थितिमा पुर्याउन मदद गर्थ्यो होला। लगभग दस वर्ष भित्रसम्ममा पनि संविधान निर्माण हुन नसक्ने परिस्थितिले नेपाललाई दिवालिया बनाउने स्थिति श्रृजना गर्थ्यो होला। दस वर्षे माओवादी संघर्षले त्यो स्थितिमा, घ्युमा आगो थपथ्यो होला। तर तीन प्रमुख कारणहरुले गर्दा नेपालका राजनैतिक दलहरु अशक्षम, अदूरदर्शी एवं राष्ट्रिहितवादी कम व्यक्तिवादी बढी भएता पनि यो देश ग्रिस जस्तो हुन पाएको छैन। दिवालिया हुने स्थितिमा पुगेको छैन। ती तीन कारणहरु हुन: १. संसार भरि छरिएर रहेका करिब ४० लाख नेपालीहरुले भूगोलका अनेक कुनाहरुबाट विदेशी मुद्रा (आम्दानी) नेपालमा पठाउनु अर्थात नेपालले ठूलो परिमाणमा रेमिट्यान्स प्राप्त गर्नु। २. नेपालका पर्यटकीय क्षेत्रहरुले, सरकारी नीतिहरु होइन, आफ्ना विषेशताहरुका कारणहरुले ठूलो संख्यामा नेपालमा पर्यटकहरु भित्र्याउन सक्नु। ३. नेपालको ज्यादै नजिकको छिमेकी भारतले खुला एवं उदार अर्थतन्त्र अपनाउनु एवं नेपाली श्रमिकहरुले भारतको श्रम बजारमा सजिलै गरी प्रवेश पाउनु। यी तीन कारणहरुले  प्रत्यक्ष र सक्रिय भूमिका खेलेको हुनाले नेपाललाई ग्रिसको जस्तो हालत हुनबाट जोगाइ रहेका छन्, नेता वा राजनैतिक दलहरुको कार्य कुशलता वा उनीहरुका प्रभावकारी आर्थिक नीति तथा कार्यक्रमहरुले भने होइन।
नेपालको आर्थिक विकासमा नेता वा राजनैतिक दलहरुको उल्लेखनीय भूमिका दैखिएको छैन। आफूलाई फाइदा पुग्ने अवस्था आएमा दिल्ली दौडाहा गर्ने र फाइद पुग्ने स्थिति छैन भने भारत र दिल्लीको आलोचन गर्न नेताहरुको व्यवहारले गर्दा नेपालले भारतबाट पाउने जति आर्थिक फाइदा पाउन सकेको छैन। नेताहरुको यस्तो व्यवहारले गर्दा भारतले नेपाल प्रति एक स्थाइ दृष्टिकोण बनाउन सकेको छैन। नेताहरुको पटके व्यवहार अनुसार भारतले पनि नेपाल प्रति पटके व्यवहार देखाउँदै आएको छ।
नेपालमा एकथरि यस्ता पनि स्व घोषित अति राष्ट्रवादी हरु छन् जसले भारतको कटु आलोचना गर्नुलाई नै आफू बढी राष्ट्रवादी भएको विश्वास गर्छन्। उनीहरुले भारतको आलोचना गर्नमा सयम खर्च गर्नु भन्दा पनि नेपाललाई आर्थिक रुपमा कसरी सक्षम बनाउने, नेपालको पर निर्भरतालाई कसरी कम पार्नेतिर चिन्तन गरे हुन्थ्यो। नेपाल आर्थिक रुपमा सक्षम भएमा न त चीनले न त भारतले नै माइक्रो मैनेजमेन्ट गर्न थालेको आरोप नेपालले लगाउनु पर्थ्यो होला।


विश्वराज अधिकारी

No comments:

Post a Comment