Friday, March 11, 2016

A Nationalism Without the Contribution!-Article-104

कहिलेसम्म धान्ने खोक्रो राष्ट्रवाद!

नेपालीहरूको राष्ट्रवाद खोक्रो छ भन्दा धेरै व्यक्तिहरूको चित्त दु:ख्न सक्छ। तर चित्त द:खे पनि यो यथार्थलाई सुन्नु र मनन गर्नुको विकल्प छैन। नेपालीहरूले खोक्रो राष्ट्रवाद धान्दै आएको नया कुरा भने होइन। यसको इतिहास ज्यादै पुरानो छ। तर कहिलेसम्म, यसरी, यो खोक्रो राष्ट्वाद धान्ने? अनि यो खोक्रो राष्ट्रवाद कहिले सम्म आउने पुस्ताहरूलाई हस्तान्तरण गर्दैजाने?
नेपालको राष्ट्रवादलाई खोक्रो किन भनियो यसबारे छोटो चर्चा गरौ।

नेपालमा एउटा छिमेकीको खुब प्रशंसा गर्ने र अर्को छिमेकीलाई ससंकित भएर हेर्ने अनि उप्री उप्री उसलाई गाली गर्ने व्यवहारलाई राष्ट्रियताको रुपमा हेर्द आइएको छ। मुख्य गरी काठमाडौ केन्द्रित र कम्युनिष्टहरूदवारा बढी प्रयोग भएको यो खोक्रो राष्ट्रवादले नेपाललाई न कहिले समृद्ध पार्यो न त भविष्यमा नै पार्न सक्ने छ। यो खोक्रो राष्ट्रवाद केवल अन्य राष्ट्रहरूलाई गाली गर्नसम्ममा मात्र सिमित छ। यो राष्ट्रवादले नेपाललाई न त कहिले आत्मनिर्भर हुन सिकायो न त सच्चा राष्ट्रवाद बोली होइन व्यवहारद्वारा प्रदर्शित हुनु पर्दछ भन्ने सन्देश दियो। यसरी नेपालीहरूको राष्ट्रवाद केवल बोलीमा मात्र सीमित हुन पुग्यो। इजरायलीहरू जस्तो उत्पादनमा आत्म निर्भर भएर तथा व्यवहारद्वारा प्रदर्शित भएर हुन सकेन।

नेपालमा राणा कालको राष्ट्रवाद पनि खोक्रो राष्ट्रवाद थियो। राणाहरूले राष्ट्रलाई धनी तुल्याएर यस देशको राष्ट्रियतालाई बलियो बनाउनेतिर पटक्कै ध्यान दिएनन्। केवल अंग्रजहरूलाई खुसी तुल्याएर आफ्नो शासनको आयु लामो पार्नेतिर मात्र ध्यान दिए। सामान्य नेपालीको धन सम्पत्तिमा अपार मौज मस्ति गरे। अनेक किसिमका विलासी दरबारहरू, महलहरू, निर्माण मात्र गरे। सत्ताको लागि जहिले पनि नेपाल-दरबार भित्र षडयन्त्र गरेर उल्टो यिनीहरूले नेपालको राष्ट्रवादलाई अति कमजोर र परनिर्भर तुल्याए। यिनीहरूले अंग्रेजहरूलाई खुसी तुल्याउन नेपाली (सेना) हरूलाई भारत मात्र होइन, बर्मा, मलेसिया, सिंगापुर सम्म पुर्याए। त्यति मात्र होइन, सोझा सोझा नेपालीहरूलाई सेनाको रुपमा युरोपका विभिन्न देशहरूसम्म पनि पुर्याएर। युरोप पुग्दासम्म पनि सोझा नेपालीहरू भारतको भूमिमा  नै रहेको भ्रममा परिरहे।

नेपालका लागि होइन, अंग्रेजका लागि विभिन्न मुलुकहरूमा गएर युद्ध गर्दा नेपालीहरूले “वीर गोर्खा” को नाममा खुब ख्याति आर्जित गरे। तर केवल कुसल सेनाको वा योद्धाको रुपमा ख्याति आर्जन गरे। तर एक विलियो राष्ट्रको सेनाको रुपमा भने कहिले पनि ख्याति आर्जन गर्न सकेनन्। त्यसकारण यो कालमा पनि नेपालको राष्ट्रियता अति नै कमजोर नै रह्यो।

शाहकालमा पनि नेपालको राष्ट्रियता मजबुत तुल्याउनका लागि ठोस प्रयासहरू भएनन्। पटक्कै प्रयास भने नभएका होइन। राजा महेन्द्रले मुलुकको तराइ क्षेत्रमा यहाँको जनताको आर्थिक स्तरमा सुधार ल्याउन  विभिन्न उद्योगहरूको स्थापना गरे। पूर्व-पश्चिम राजमार्गको निर्माण गरे। तर कस्तो विडम्वना! तराइका केही नेताहरू तराइलाई महेन्द्रले वेवास्ता गरे भन्ने गम्भिर आरोप लगाउँछन्। खासमा, महेन्द्र एवं बीरेन्द्रकालीन दरबारियाहरूले नेपालको राष्ट्रियतालाई सबल तुल्याउन नदिएका हुन, राजाहरूले भने होइन। दरबार भित्र रहेका शक्तिहरूले, यी राजाहरूले नेपालको राष्ट्रियतालाई बलियो तुल्यान खोज्दा पनि बलियो बनाउन न दिएका हुन्। दरबारियाहरूले नेपाल भनेको केवल काठमाडौ हो भन्ने तुच्छ सोंचको राजनैतिक अभ्यास गरे। मधेसबासीहरूलाई उनीहरूको पहिरन, भाषा एवं व्यवहारको आधारमा होच्याउने, “मर्स्या” र “भैया” भन्ने संस्कृतिको विकास गरे। यिनीहरूको यस्तो व्यवहारले गर्दा नै मुख्य गरी काठमाडौबासीहरू मधेसीहरुलाई द्रोसो दर्जाको नागरिक सरह व्यवहार प्रदर्शित गर्न अति प्रोत्साहित भए। त्यस्तो गरे पनि।

प्रजातान्त्र काल (२०४७-२०५२) र गणतन्त्र काल (अहिले) नेपालको राष्ट्रवाद कमजोर तुल्याउने सर्वाधिक दोषी कालहरू हुन। यी कालहरूमा सत्ता केन्द्रित नेताहरूले केवल आफ्नो र पार्टीको हितका लागि एकातिर नेपाल सरकार र मुलुकलाई कमजोर तुल्याए भने अर्कोतिर नेपालको राजनीतिमा भारतलाई हस्तक्षेप गर्न लगाए। त्यस्तो गर्न उकासे पनि। उकासिएर, यहाँसम्म, भारतले काठमाडौ स्थित दूताबासबाट नेपालको आन्तरीक मामिलामा “माइक्रो मेनमेन्ट” गर्न आरम्भ गर्यो।

नेपालको आन्तरिक मामिलामा भारतीयहरूको चाँसो बढाउने वा उनीहरू प्रत्यक्ष रुपमा सङ्लग्न हुने वातावरण सृजना गर्ने कार्य बढी भने पुष्पकमल दहालले गरे। भारत भित्र रहेर, भारतीय सहयोगमा नै, माओवादी शस्त्र बिद्रोहताका, उनको नेतृत्वमा नै नेपालमा नरसंहार कार्य भयो। एक शान्ति सम्भौता मार्फत उनले अति रक्तपातपूर्ण बिद्रोह परित्याग गर्दा पनि उनलाई त्यस्तो गर्न दबाब दिने वा सघाउने भारत नै थियो। अहिले भने उनै पुष्पकमल दहाल भारतले नेपालमा हस्तक्षेप गर्यो भन्दै छन्। र “भारतले नाकाबन्दी लगाउनु पर्ने किसिमको नेपालले के गल्ति गर्यो” भनी भारतीय नेताहरूलाई प्रश्न गर्दैछन्।

आफ्नो माग पूरा गराउने उद्देश्यले, नेपाल सरकारमाथि दबाब बढाउन भारत सरकारलाई अनुरोध गरेर मधेसी मोर्चाले पनि नेपालको राष्ट्रियता कमजोर तुल्याउनमा उल्लेखनीय भूमिका निर्वाह गर्यो। बिहारका विवादित नेता लालुप्रसाद यादवको अगाडि विद्यार्थी शैलीमा पक्तिवद्ध किसिमले बसरे मंत्री र उप प्रधानमन्त्रीसम्म भइसकेका मधेसी नेताहरूले आफ्नो राजनैतिक गरिमा मात्र होइन मुलुको पनि राजनैतिक वजनलाई कम पारे। क्षेत्रफल र जनसंख्याको आधारमा कुनै देश सानो, कुनै ठूलो हुन फरक कुरा हो, तर प्रोटोकलको हिसाबले हेर्ने हो भने लालुप्रसाद यादव र उपेन्द्र यादव बीच त्यति पर र फरक किसिमले बस्नु पर्ने स्थिति थिएन।

आफ्नो राजनैतिक स्वार्थ पूरा गर्नका लागि नेपाली कांग्रेस र एमाले जस्ता ठूला दलहरूले पनि भारत एवं अन्य मुलुकहरूको नेपालको राजनीतिमा हस्तक्षेप गराउने कार्य गरेका छन्। यस मामिलामा नेपाली कांग्रेस भने एमाले भन्दा धेरै नै गाडि नै छ।

नेपालको राष्ट्रियतालाई सबल तुल्यान यस किसिमका खोक्रो राष्ट्रवादहरू भने काम लाग्दैन्। भारतले करिब छ महिना जति मात्र अघोषित किसिमको नाकाबन्दी गर्दा नेपालको खोक्रो राष्ट्रवादले काम नगरेको प्रष्ट हुन पुगेको थियो। छ महिना जति मात्र भारतले केवल यातायात मात्र अवरुद्ध पार्दा नेपाल जीवन-मृत्युको स्थितिमा पुगेको थियो। नेपाली बजारहरूमा वस्तु एवं सेवाहरूको हाहाकार हुन पुगेको थोत। नेपाली जीवन गतीहीन हुन पुगेको थियो। चीनको सहयोग “आकाशको फल” हुन पुगेको थियो। 

त्यसकारण नेपालीहरूले राष्ट्रवादलाई सबल तुल्याउने हो भने यी निम्म तिन आधारभूत तत्वहरूमाथि गंभिरतापूर्वक ध्यान दिन आवश्यक छ केवल बोलीद्वारा राष्ट्रवाद प्रदर्शित गर्नु भन्दा:
1.       सस्तोमा ऊर्जा उत्पादन एवं वितरण: भारतप्रतिको अति निर्भरता कम पार्न नेपालले सस्तोमा ऊर्जा उत्पादन गर्न आवश्यक छ। स्वदेशका लागि चाहिने घरेलु एवं औधोगिक आवश्यकता पूरा गर्न नेपालले “विन्ड मिल”, “सोलार पावर”, “हाइड्रो इलेक्ट्रिसिटी”, “नेचुरल ग्यास”, “कोल पावर” आदिको विस्तारमा तुरुन्त ध्यान दिन आवश्यक छ।
2.       सस्तोमा खाद्य उत्पादन, प्रसोधन, भण्डार, एवं वितरण: खाद्यान्नका लागि भारतको अति नै निर्भरता रहेको यो स्थितिको अन्त गर्न नेपालले सस्तोमा आधारभूत खाद्यान्न (चामल, मकै, गहुँ, कोदो, दाल ) तरकारी ( आलु, मुला, कोभी, गोलभेडा, तेल आदि) एवं विभिन्न फलफुलको उत्पादन गर्न विभिन्न दीर्घकालीन एवं लघुकालीन नीतिहरू तयार पार्न र तिनको कार्यान्वयन गर्न नितान्त आवश्यक छ।
3.       सस्तोमा औषधिहरूको उत्पादन एवं स्वास्थ्य सेवाको विस्तार: औषधि र स्वास्थ्य सेवाका लागि पनि नेपालीहरूले ठूलो मात्रामा भारतप्रति निर्भर रहनु परेको छ। हुनत औषधि जस्तो हल्ला वस्तु अन्य मुलुकहरूबाट पनि आयात गर्न सकिन्छ। तर नेपाली मुद्राको विनिमय क्षमता निकै कमजोर भएकोले विदेशबाट आयाय गर्दा निकै नै महँगो हुन आउँछ। त्यसकारण नेपालले सस्तोमा उत्पादन गरेर, स्वदेशी आवश्यक्ता पूरा गर्दे विश्वका अन्य राष्ट्रहरूमा पनि निर्यात गर्ने लक्ष्य राख्नु पर्दछ।
4.       राष्ट्रियता सबल पार्न नेताहरूमा एकता एवँ सहकार्य: नेपालको राष्ट्रियता नेपाली नेताहरुको स्वार्थी व्यवहारले गर्दा कमजोर भएको हो, छिमेकी वा अन्य राष्ट्रहरूको हस्तक्षेपकारी नीति भन्दा। त्यसकारण नेपालको राष्ट्रियतालाई सबल पार्न सर्वप्रथम नेपालका सम्पूर्ण नेताहरूमा एकता हुनु आवश्यक छ। नेताहरू राजनैतिक दर्शन वा सिध्दान्त फरक फरक भएता पनि उनीहरू राष्ट्रियताको सबालमा एक हुन आवश्यक छ, जसरी भारतका राजनैतिक दलका नेताहरू हुने गर्दछन्।

माथिका कुराहरू गरिएमा भारत, चीन मात्र होइन विश्वका अन्य मुलुकहरूले समेत पनि नाकाबन्दी गरेमा त्यस्तो नाकाबन्दीको सामना नेपालले गर्न सक्छ। अर्थात नाकाबन्दीको सामना गर्न वा राष्ट्रवादको संरक्षण गर्ने सर्वप्रथम नेपाल माथि उल्लेख गरिएका क्षेत्रहरूमा आत्मनिर्भर हुन आवश्यकछ। तर माथिका कुराहरु तर्फ ध्यान नदिएसम्म भने नेपालको राष्ट्रियता कमजोर रही नै रहने छ। नेपालको राष्ट्रवाद बोलीमा मात्र सीमित रहने छ। यस मुलुकको भौगोलिक स्थिति (भूपरिवेष्ठित) ले पनि नेपाल विभिन्न कुराहरूको उत्पदनमा आत्मनिर्भर हुनु पर्ने कुराको जोडदार किसिमले माग गर्दछ। नेपालको जस्तो नाकाबन्दीको स्थिति इरानले पनि कुनै समयमा भोगेको थियो, र केही अंशमा अहिले पनि भोगिरहेको छ। तर इरान धेरै कुराहरूमा आत्मनिर्भर भएकोले त्यस्तो नाकाबन्दीले इरानको जन-जीवन भने नेपालको जस्तो रोकिएन।

विश्वराज अधिकारी
Friday, March 11, 2016


No comments:

Post a Comment