Friday, March 4, 2016

Why Are We Poor?-Article-103

हामी किन गरिब छौ?

एशियाली मुलुकहरू र खास गरी दक्षिण एशियाका मुलुकहरू रुपैयाँ, पैसा, धन, सम्पत्ति आदिको कारणले गरिब भएका होइन। यी देशहरूमा प्रचलित विभिन्न संस्कृति, जन विश्वास, परम्पराहरू आदिमा भएका केही दोषपूर्ण व्यवस्थाहरूले गर्दा गरिब भएका हुन्। दक्षिण एशियाको भूमि त संसारमा नै अति उर्वरा मान्ने गरिन्छ। फलफुल, अन्न उत्पादनका लागि अनुकूल हावापानी र मौसले गर्दा यहाँका भूमिहरूमा बार्ह महिना नै खेति गर्न सकिन्छ। उपयोग गर्न सकिन्छ। एउटै भूमिमा वर्षभरिमा अनेक किसिमका बालीहरू लगाउन सकिन्छ। तर कति ठूलो बिडम्वना! सर्वाधिक गरिबी यो क्षेत्रमा नै छ। यो क्षेत्रका व्यक्तिहरू ठूलो सङ्ख्यामा भोका, नाङ्गा र आश्रय विहीन छन्। किन यस्तो भएको होला?
युरोप, अमेरिका, क्यानाडा आदिमा जहाँ पनि उर्वारा भूमिहरु छैनन्। यी क्षेत्रका विभिन्न स्थानहरूमा अत्यधिक जाडो हुने भएकोले हिमपात हुने समयमा, अत्यधिक चिसो मौसममा, खेति त हुन सक्तैन नै साथै केही समयका लागि आवागमन समेत पनि अवरुध्द हुन्छ। तर यस क्षेत्रका बासिन्दाहरूको अथक परिश्रिम, उच्च प्रविधि, परिष्कृत ज्ञानले गर्दा प्रतिकूलमा मौसमा पनि यहाँका अनके क्षेत्रहरू राम्रो अन्न उत्पादन गर्न सक्षम भएका छन्। सर्वाधिक आश्चर्यको विषय त के छ भने यी क्षेत्रहरूमा ज्यादै हिमपात भएर सडक हिँऊले  पुरिएको अवस्थामा पनि लामो समयको लागि सडक वा आवागमन अवरुध्द हुँदैन। नून वा त्यस्तै हिँऊ पगाल्ने पदार्थ छरेर सडकहरूलाई छिट्टै सवारी चल्ने योग्य तुल्याइन्छ। आवागमनलाई सरल तुल्याइन्छ। प्रतिकूल स्थितिलाई पनि अनुकूल तुल्याउने कत्रो ठूलो साहस! लोक कल्याणका लागि उच्च प्रविधिको कति प्रभावकारी किसिमले उपयोग?
दक्षिण एशिया एवं भारतीय उपमहाद्विप केवल तर्कहरू दिएर धनी थियो भन्न खोजिएको होइन। यो क्षेत्र धनी थियो भन्ने अनेक बलिया प्रमाणहरू छन। तर यस क्षेत्रका गलत परम्परा, चलन, विश्वास आदिले यो क्षेत्रलाई क्रमिक रुपमा गरिब पार्दै लगे। जनतालाई धनी हुन दिएनन्।
तत्कालीन भारतवर्षका अनेक राष्ट्रहरू वा भारतीय उपमहाद्विपमा धेरै धन सम्पत्ति अर्थात सुन, चाँदी, हिरा,मोति भएकोले एशियाका अनेक मुलकहरू मात्र होइन, युरोपबाट पनि ती वहुमूल्य धन सम्पत्ति लुट्न अनेक लुटेराहरू भारत पसेको ऐतिहासिक प्रमाणहरू छन्। नदिर शाह, चंगेज खां, अलेक्जेन्डर, महम्द गोरी आदिले धन सम्पत्तिकै लागि यो क्षेत्रमा अनेक पटक हमला गरेका थिए। भनिन्छ, नेपोलियनले पनि यस क्षेत्रमा धन सम्पत्तिका लागि आँखा गाडेका थिए।
बेलायतीहरू व्यापार गर्न शुरूमा बर्मा आएका हुन्, भारतीय क्षेत्रमा होइन। उनीहरूलाई भारतको सम्पन्नता बारेमा त्यति ज्ञान थिएन। तर जब बर्माको बसाइमा उनीहरूले भारतमाको बारेमा, यस क्षेत्रको वैभवताको बारे थाहा पाए, अग्रेजहरूले भारतमा चढाइ गरे, बर्मामा कम ध्यान दिन थाले। उनीहरूले भारतलाई उपनिवेश बनाउने कार्य कलकत्ता (कोलकाता) बाट आरम्भ गरे। कलकत्तालाई भारतको राजधानी पनि बनाए। पछि, सन् १९११ मा भारतको राजधानी कलकत्ताबाट दिल्ली सरेको हो। अंग्रेजहरू भारतक्षेत्र (एकीकरणपूर्व भारत क्षेत्रमा अनेक राष्ट्रहरू थिए) केवल धन सम्पत्ति कमाउने उद्देश्यका साथ पसेका थिए। भारतको धन, सम्पत्तिले अंग्रेजहरूलाई तानेर यो क्षेत्रमा ल्याएको हो।
महमद गोरी, जसलाई “घोरको महमद” पनि भन्ने गरिन्छ, धन सम्पत्तिको लागि भनेर नै भारत क्षेत्रमा पसेका थिए। गोरी सन् ११९० तिर भारतीय क्षेत्र ( अहिलेको पञ्जाब र गुजरात) मा पसेका हुन्। गोरीले निकै लुटपाट मच्चाएका थिए। अर्थात गोरीलाई पनि भारतीय क्षेत्रको सम्पन्नताले तानेको थियो।
भारतीय क्षेत्रमा पसरे ठूलो मात्रामा समत्ति  लुटपाट मच्चाउनेहरूमा नदिर शाहको नाम अग्रपक्तिमा आउँछ। परसिया वा इरानका शाह (राजा वा शासक) नदिर समपत्ति लुट्ने उद्देश्यका साथ सन् १७३९ दिल्ली कब्जा गर्न पुगेका थिए। दिल्लीमा कब्जा जमाउँदा यिनले सम्पत्ति मात्र लुटेनन हजारौंको हत्या समेत गरे। नदिरको आदेशमा नै परसियन सेनाले ३० हजार भन्दा बढी दिल्ली एवं यस वरपरका व्यक्तिहरूको हत्या गरेको थियो। भनिन्छ त्यो बेलामा अर्थात युध्दको समयमा दिल्लाका नालाहरुमा पानी होइन, रगत बगेका थिए। नदिरले दिल्लीका तत्कालीन शासक महम्मद शाहबाट “शाही खजाना” को साँचो खोसेका थिए। त्यति मात्र होइन, नदिरले तत्कालीन दिल्ली दरबारमा राखिएको प्रख्यात “मयूरी सिंहासन” समेत लुटेर इरान पुर्याएका थिए। नदिर शाहले भारतीय क्षेत्रको सम्पन्नताबारे सुनेर नै यहाँ धन सम्पत्ति लुट्ने योजना बनाएका थिए। स्मरण रहोस, त्येतिखेर भारत भन्ने क्षेत्र थियो र यस भित्र विभिन्न राष्ट्रहरु थिए। भारतको एकीकरण आफ्नो शासन सञ्चालनको क्रममा अंग्रेज-शासकहरूले गरेका हुन्।
भारतीय क्षेत्रमा अपार धन सम्पत्ति थियो भन्ने कुरा गर्दा “लखनऊ लुट” को प्रसङ्ग छुटाउन हो भने यो चर्चा अपुरो हुनेछ। भारतमा उपनिवेश खडा गरेर बसेका अंग्रेजहरूले लखनऊमा पुन: कब्जा जमाउन एवं त्यहाँ भइरहेको विद्रोह दबाउन सन् १८५७ मा त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा सेना परिचालन गरेका थिए। ती सेनाहरूले लखनऊ भित्र पसेर केही को हत्या साथै भारि लुटपाट पनि मच्याए का थिए। लखनऊका नवावहरूको महलहरूमा पसरे धन सम्पत्ति लुटेका थिए। त्यसबेला अंग्रेजहरूलाई भारतमा शासन गर्न सघाउ पुर्याउने उद्देश्यका साथ नेपालका राणा शासकहरूले नेपालबाट धेरै नेपाली सेनाहरू भारतपर्फ पठाएका थिए। तिनै सेनाहरू मध्येबाट अंग्रेजहरूले ९००० जति नेपाली सेनाहरू ब्रिगेडिएर फ्रेंकको नेतृत्वमा “लखनऊ कबज्जा” गर्न पठाएका थिए। नेपाली सेनाहरू बाहेक अंग्रेजका आफ्ना (भारतीय सहित) सेनाहरू पनि थिए। जब लखनऊका नवावहरूको महलहरूमा पसरे अंग्रेज सेना सहति नेपाली सेनाहरू पनि लुटपाटमा संलग्न भए, त्यतिबेला नेपाली सेनाहरूले हिरा, मोति आदि नचिनेको हुनाले वा पहिले कहिले पनि नदेखेको हुनाले उनीहरूले सुन चाँदीको तारमा उनिएको हिरा, मोति को महत्व नथाहा पाएर केवल सुन चाँदी का तारहरू मात्र लुटे, हिरा मोति भने त्येही फालिदिए। अहिले पनि नेपालको पहाडतिर, जसको घरबाट नेपालीहरू सेना बनेर लखनऊ लुटमा पुगेका थिए, लखनऊ लुटको चर्चा हुन्छ रे।
भारतीय क्षेत्रमा कति समृदधि थियो भन्ने कुरा यो छोटो चर्चाबाट पनि पुष्टि हुन आउँछ। तर प्रश्न उठ्छ किन यो क्षेत्र गरिबीको खाडलमा झन् झन् भास्सिदै गयो त? उत्तर सजिलो छ। यो क्षेत्रमा प्रचलित विश्वास, परम्परा, चलन, संस्कृति आदि ठूलो मात्रामा जिम्मेबार छ, यस क्षेत्रलाई गरिब तुल्याउनमा।
पश्चिमका नागरिकहरूले हरेक त्यो कार्यको खोजी गरे, हरेक त्यो प्रचलन वा परम्पराको विकास एवं संरक्षण गरे जसले उनीहरुको जीवन पद्धतिलाई सजिलो पार्यो। उनीहरूलाई धनी र खुसी तुल्यायो। यस क्रममा उनीहरूले कुप्रथा, कुचल, अन्धविश्वास आदिलाई त्यागे। पूर्वका नागरिकहरूले भने मानव जीवनलाई सरल र समृद्ध पार्ने उपायहरूको खोजी त गरेनन् गरेनन्, उल्टो तिलक, दहेज, अन्धविश्वास आदिको बलियो गरी संरक्षण समेत गरे। जीवनलाई कठिन बनाउने तत्वहरूको विकास गरे।
एउटा सानो उदाहरण। हाम्रो पोशाकको अनादर गर्ने मेरो अभिप्राय भने होइन। अभिप्राय केवल यसलाई समय सुहाउँदो तुल्याउने, परिमार्जन गर्ने कार्य गरौ भन्ने मात्र हो। पुरुष वा महिला, दुबै थरीले, हामी १२ वा १४ हातको धोती वा साडी लगाउने गर्छौ। तर यो लामो पहिरनले न त शरीरलाई पूर्ण किसिमले ढाक्छ न त जाडोमा यसले शरीरलाई न्यानो नै पार्छ। न त यसलाई सजिलो गरी धुन सकिन्छ। धोए भने पनि पानी बढि लाग्छ। यो पोशाक आकारमा ठूलो भएकोले खरिद गर्दा पनि महँगो पर्न आउँछ। यसलाई व्यवस्थित किसिमले राखौ भन्दा पनि पट्याउन समय लाग्छ। तर यही पोशाक (धोती वा साडी) लाई दुई टुक्रा पारेर (गरम स्थानमा - हाफ पैन्ट र सर्ट बनाएर) लगाउने हो भने यसले धेरै किसिमका समस्याहरू समाधान गरिदिन्छ। धोती र साडी केवल एक प्रतिनिधि उदाहरण मात्र हो। ल त यो पोशाक (धोती, साडी) लाई कामय नै राखौ रे। आफ्नो पहिचान कायम गरौ। तर पहिचान राखेर पनि त यस (धोती, साडी) मा परिमार्जन गर्न सकिन्छ। कि सकिंदैन?
निष्कर्षमा के भन्न चाहन्छु भने हाम्रा त्यस्ता धेरै प्रचलन, परम्परा, विश्वास, संस्कृतिहरू छन् जसले हामीलाई गरिब तुल्याइ रहेका छन्। हामी धनी भएता पनि गरिब हुन बाध्य छौ। हामीले अब धन पाएर धनी वा सुखी हुने होइन, हामीले कुप्रथा, कुचलन, कुपरम्परा, कुसंस्कृति समाप्त पारेर मात्र धनी हुने हो, सुखी हुने हो। भारतीय उपमहाद्विप वा दक्षिण एशियाका मुलुकहरू जस्तै बंगलादेश, भारत, पाकिस्तान, नेपाल आदि प्रकृति प्रदत्त अनेक सम्पदाहरू पाएर पनि गरिब भएका हुन र गरिब हुने मुल कारण नै धन सम्पत्तिको कमी होइन, संस्कृतिमा, परम्परा आदिमा रहेका विसङ्गतिहरू हुन।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, March 04, 2016

No comments:

Post a Comment