Friday, April 15, 2016

UBER: The Emergence of a A New Business-Article-109

उबर: नया ब्यापार प्रारम्भ

संयुक्त राज्य अमेरिका संसारभरिमै केवल एक मात्र यस्तो देश हो जहाँ नयाँ नयाँ किसिमका व्यापारहरूको विकास गर्न सरकारले नै व्यापारी एवं उद्यमीहरूलाई प्रोत्साहित गर्दछ र नयाँ नयाँ किसिमका व्यापारहरूको विकास हुन्छ पनि। विभिन्न किसिमका प्रशासनिक झन्झटहरू कम पारेर जन उपयोगी एवं थप आर्थिक स्रोतहरू सृजना गर्ने, व्यापारिक वातावरण सृजना गर्ने कार्य सरकारले नै गर्दछ। उदार र बजार अर्थतन्त्रको अभ्यास जनहितमा गरेर जनता र देश दुवैलाई धनी बनाउने उद्देश्य राख्दछ। निष्कर्षमा भन्ने हो भने पूँजीवादको अभ्यास देशवासी र देशको हितमा अति लाभदायक किसिमले गर्दछ।

पूँजीवादी आर्थिक सिद्धान्त अवलम्बन गरेर राष्ट्रिय अर्थव्यवस्थालाई उदार र बजारमुखी बनाएको कारण नै अमेरिकामा स्काइप, युटुब, फेसबूक, भाइबर, अमेजन, इबेजस्ता अत्याआधुनिक जनोपयोगी व्यापार पद्धति विकास भएको हो। यी आधुनिक व्यापारिक पद्धतिहरूले जनताको जीवन सरल मात्र पारेका छैनन्, रोजगार सृजना गरेर, जनताको आयमा वृद्धि गरेर, जनता र राष्ट्रलाई धनी तुल्याउन ठोस योगदान पुर्‍याएका छन्। तर अमेरिकामा हुने विभिन्न नयाँनयाँ किसिमका व्यापार पद्धतिहरूको विकासको श्रेय सरकारलाई मात्र छैन, यहाँको जनतालाई पनि छ किनभने व्यापरिक जगतमा हुने नयाँनयाँ व्यापारिक पद्धतिहरूको जनताले स्वागत गर्दछ, अनेक किसिमका बाधाव्यवधान पुर्‍याएर उद्यमी एवं सरकार दुवैलालई हतोत्साहित पार्ने प्रयास गर्दैन। जनताले त त्यस किसिमबाट भएका नयाँनयाँ व्यापारिक पद्धतिहरूको विकास एवं प्रयोगमा सक्रिय भाग लिएर उद्यमीहरूको हौसला बढाउने कार्यसमेत गर्दछ। यस किसिमका नयाँनयाँ व्यापार पद्धतिहरूको विकासले विभिन्न किसिमका रोजगारको अवसर सृजना गरेर जनताको जीवनमा सकारात्मक असर पर्ने कुरा नागरिकहरूलाई राम्ररी थाहा छ।

अमेरिकामा विकसित विभिन्न नयाँ नयाँ व्यापारिक पद्धतिहरूमध्ये एउटा  ‘उबरपनि हो, जुन अहिले निकै चर्चामा छ र प्रयोगमा पनि छ। उबर (UBER) एउटा यस्तो व्यापारिक संस्था हो जसले इन्टरनेटको माध्यमबाट खास किसिमको सफ्टवेयर प्रयोग गरेर यातायात सुविधा प्रदानकर्ता र यातायात सुविधा प्रयोगकर्ता दुवैबीच सेतुको कार्य गर्दछ। अर्थात् यी दुई पक्षबीच सम्पर्क गराउने कार्य गर्दछ।

सामान्य किसिमले भन्नुपर्दा उबर भनेको एउटा यातायात (टेक्सी) सेवा प्रदायक संस्था हो, तर यो एउटा माध्यमको रूपमा रहेर मात्र कार्य गर्दछ। न यसले टेक्सी चालकझैं यात्रुलाई गन्तव्यमा पुर्‍याउने कार्य गर्दछ, न यात्रु खोज्ने कार्य गर्दछ। न योसँग ठूलो सङ्ख्यामा कार नै छ। यो एउटा सम्पर्क सूत्र मात्र हो। यस अर्थमा यो परम्परागत टेक्सीभन्दा पूर्णतया भिन्न किसिमको छ।

उबर केवल माध्यम हो, जसले यातायात सेवा प्रदान गर्ने व्यक्ति र यातायात सेवा उपभोग गर्ने व्यक्तिबीच इन्टरनेटको माध्यमद्वारा संसारको कुनै पनि क्षेत्रमा रहेका यी दुई पक्षबीच सम्पर्क, टेलिफोनको प्रयगद्वारा सजिलै गराउँछ। उबर, अर्थात् अमेरिकी बहुराष्ट्रिय अनलाइन यातायात सञ्जाल कम्पनीको हेडक्वाटर क्यालिफोर्निया राज्यको सान फ्रान्सिसको शहरमा छ। र यहाँबाट उबरले, ‘उबर मोबाइल एप्लिकेसन’ (Uber Mobile Application) को विकास, बजार व्यवस्थापन तथा सञ्चालन गर्दछ। अप्रिल १२, २०१६ सम्म उबरको सेवा ६० मुलुकको ४०४ शहरहरूमा उपलब्ध भइसकेको थियो।

उबरको स्थापना उबरक्याब (UberCab) नामबाट ट्राभिस केलेनिक तथा गेरेट क्याम्पबाट सन् २००९ मा भएको थियो। र यसको एप्लिकेसनसन् २०१२ मा बजारमा ल्याइएको थियो। उबरको अन्तराष्ट्रियकरण भने सन् २०१४ देखि भएको हो। उबरको प्रयोग अहिले संसारका विभिन्न शहरहरू जस्तै पेरिस, टोरन्टो, लन्डन, सिडनी, सिंगापुर, जोहानेसबर्ग, केप टाउन, सिउल, तिजुआना, बेइजिङ, बेंगलोर, नयाँ दिल्ली, हैदराबाद, चेन्नई, मुम्बई, कोची, पुने, वार्सा, मोन्ट्रिएल, कोपेनहेगेन, लागोस, नैरोबी, लाहोर, इस्लामाबाद, अबुजामा भइरहेको छ। अमेरिकाका विभिन्न शहरहरूमा उबर सेवा सजिलै उपलब्ध छ नै।

उबर प्रयोगमा हुने सहजताले गर्दा यसको प्रयोगमा निकै व्यापकता आएको छ। छोटो समयमा यसले निकै लोकप्रियता पाएको छ। यो लोकप्रियताले गर्दा परम्परागतरूपमा यातायात सेवा प्रदान गर्दै आएका कैव (Cab) वा टेक्सीका धनीहरू मारमा परेका छन्। परम्परागत रूपमा सञ्चालित टेक्सीका मालिकहरूले उबरसँग प्रतिस्पर्धा गर्नुपरेको छ भने उबरले उनीहरूको आम्दानी पनि कम पारिदिएको छ। उबर प्रयोगमा आउनुभन्दा पहिले छोटो दूरीको प्रभावकारी यातायात व्यवस्थामा केवल टेक्सी (धनी) हरूको एकाधिपत्य थियो। तर उबरको जन्मले उनीहरूको त्यो एकाधिपत्य समाप्त भएको छ र प्रयोगकर्ताहरू पनि टेक्सीभन्दा निकै सस्तो र सजिलो भएकोले टेक्सी बिर्सेर उबरतिर आकर्षित भएका छन्।

संसारको जुनसुकै शहर, जहाँ उबरको सञ्जाल (Network) फैलिएको छ वा त्यो शहर उबरद्वारा जोडिएको छ, त्यहाँ उपभोक्ताले यातायात सेवा सजिलै प्राप्त गर्न सक्छ भने यातायात सेवा दिन खोज्ने जुनसुकै व्यक्तिले आफ्नो निजी कार वा वाहनद्वारा सेवा प्रदान गर्न सक्छ। उबरको सबैभन्दा ठूलो विषेशता के हो भने कुनै पनि व्यक्तिले, कुनै पनि शहरमा रहेर आफ्नो निजी सवारी साधनद्वारा यातायात सेवा प्रदान गर्न अर्थात् यातायात सेवा बिक्री गर्न सक्छ। यस अर्थमा कुनै व्यक्तिसँग निजी सवारी साधन (कार, ट्रक, जिप, भ्यान) छ भने उसले आफ्नो मुख्य जागिरको अलावा उक्त सवारी साधन प्रयोग गरेर थप आय सृजना गर्न सक्तछ।

उबरको माध्यमद्वारा सवारी सेवा उपलब्ध गराउने पक्षले उबर एकाउन्टखोल्नुपर्छ। यसै एकाउन्टमा उबर प्रयोगकर्ताले, यातायात सेवा उपलब्ध गराउनेले पाउनुपर्ने भाडाजम्मा गरिदिन्छ। भाडा जम्मा गर्ने कार्य स्वचालित हुन्छ। स्वचालितरूपमा कसरी हुन्छ भने उबर सेवा चाहने व्यक्तिले उबर एकाउन्टमा लग इनहुने बित्तिकै उबरले उसको एकाउन्टमा सम्पर्क गर्छ र यातायात सेवा प्राप्त गरिसकेपछि कति भाडा भयो त्यो प्रयोगकर्ताको खातामा चार्ज गर्छ।
यातायात सेवा प्रयोगकर्ता वा उबर सेवा उपभोगकर्ताले पनि उबर एकाउन्टखोल्नुपर्दछ। प्रयोगकर्ताको उबर एकाउन्टबाट नै उसले तिर्नुपर्ने भाडा, सेवा उपलब्ध गराउनेको उबर एकाउन्टमा जम्मा हुन्छ। यसैगरी उबर प्रयोगकर्ताले यातायात सेवा प्रदान गर्ने व्यक्तिलाई आफ्नो क्रेडिट कार्ड प्रयोग गरेर उबरको माध्यमद्वारा भुक्तान गर्छ। उबरको माध्यमद्वारा यातायात सेवा उपभोग गर्न भने इन्टरनेट सेवा सहितको मोबाइल हुनु आवश्यक छ वा यो पूर्व शर्त पनि हो। किनभने सेलफोनद्वारा नै आफू नजिक रहेको उबरमा आबद्ध सवारीचालकलाई बोलाउनुपर्ने हुन्छ।

परम्परागत टेक्सीभन्दा उबर किन सजिलो र प्रभावकारी छ भने सवारी साधनलाई फोनद्वारा आफूले खोजेको स्थानमा जुन बेला पनि बोलाउन सकिन्छ र सोही अनुसार आफू नजिक रहेको सवारी साधन, सेवा प्रदान गर्न आइपुग्छ। उबरसञ्जालमा कुन सवारी, कुन स्थानमा छ भन्ने कुरा प्रस्टसँग उबर एप्लिकेसनको माध्यमबाट आफ्नो मोबाइल फोनमा देख्न सकिन्छ।

 उबरको अर्को ठूलो विशेषता होप्रयोगकर्ता र सेवा उपलब्ध गराउने व्यक्ति (सवारी चालक) दुवै पक्षलाई एक अर्कोको नामलगायत अन्य विवरण थाहा हुन्छ, किनभने यी दुवै पक्षको विवरण उबरको एकाउन्ट वा एप्लिकेसनमा स्पष्ट देखिन्छ। विवरणहरू इलेक्ट्रोनिकली रेकर्डेड हुन्छन्। यसले गर्दा उबर ज्यादै सुरक्षित हुन पुगेको छ। ठगी, चोरी, वा लुटपाटको डर हुँदैन। यसैगरी सवारी चालक र सेवा उपभोगकर्ताले एक अर्काको व्यवहारको मुल्याङ्कन (Ratting) गर्ने हुनाले दुवै पक्ष एक अर्काप्रति राम्रो व्यवहार देखाउन बाध्य हुन्छन्।

उबर प्रयोग गर्दा नगदको कारोबार गर्नुपर्दैन, किनभने भुक्तानी पाउने र भुक्तानी गर्ने दुवै काम उबरको माध्यमद्वारा हुन्छ। भुक्तान गर्नेले क्रेडिट कार्डबाट सेवाशुल्क वा भाडा भुक्तान गर्छ भने सेवा प्रदान गर्नेले पाउने पैसा उसको उबर एकाउन्टमा जम्मा हुन्छ, जुन उसले आफूले चाहेको माध्यमबाट उबर एकाउन्टबाट प्राप्त गर्छ ।    क्रमश:

विश्वराज अधिकारी
प्रतीक दैनिककमा प्रकाशित Friday, April 15, 2016

No comments:

Post a Comment