Friday, April 29, 2016

After Returning From Toronto-Article-111

टोरन्टोबाट फर्केपछि

केही दिन पहिले मैले गरेको टोरन्टोको भ्रमण जानकारीको हिसाबले धेरै नै महत्वपूर्ण रह्यो। त्यहाँ पुगेर, क्यानाडा देखेर बुझेर मैले एउटा निष्कर्ष झिंके- आर्थिक अवस्था मात्र होइन, ज्ञान, विज्ञान, समझ र संस्कृतिको क्षेत्रमा पनि दक्षिण एशियाका राष्ट्रहरू अमेरिका, क्यानाडा, जर्मनी, फ्रान्स जस्ता विकसित राष्ट्रहरुभन्दा धेरै पछाडि रहेछन्।

अमेरिका, क्यानाडा, जर्मनी, फ्रान्स, ब्रिटेन जस्ता धनी मुलुकहरूमा जीवनलाई सरल पार्ने उपायहरूको खोजी गरिन्छ, तिनलाई व्यवहारमा लागु गरिन्छ अनि जीवन यापनलाई सरल तुल्याइन्छ। तर दक्षिण एशियाका मुलुकहरू जस्तै नेपाल, भारत, पाकिस्तान, बङ्गादेश आदिमा ठीक विपरित हुन्छ। यी मुलुकहरूमा जीवनलाई जटिल तुल्याउने उपायहरूको खोजी हुन्छ। तिनलाई व्यवहारमा लागु गरिन्छ। अनि जीवनलाई कष्टकर तुल्याइन्छ। माथि उल्लेख गरिएका धनी राष्ट्रहरू प्रणाली (systems) हरुले चलेका छन्। यी राष्ट्रहरुले प्रणालीलाई महत्व दिन्छन र जीवन यापनका प्रत्येक कार्यहरू प्रणाली द्वारा सम्पादन गर्छन्। तर दक्षिण एशियाका राष्ट्रहरूमा नियम कानूनको पालना त उचित किसिमले हुँदैन प्रणालीको पालना त झन के हुनु? उदाहरणका लागि विकसित देशहरूमा हवाइ जहाज, बस, रेल चढ्दा वा रेष्टुरेन्ट भित्र पस्दा ग्राहकहरूलाई पंक्तिवद्ध हुन कसैले भन्नु नै पर्दैन। स्वत: उनीहरू पक्तिवद्ध हुन्छन्। त्यसरी पंक्तिवद्ध हुन उनीहरूलाई प्रचलित प्रणालीले निर्देशित गर्दछ। र प्रत्येक व्यकतिले निर्देशनको पालना गर्दछ। तर मैले स्वयं अनुभव गरेको कुरा हो- भारतमा रेल चढ्दा ढोकामा भएको भीडमा थिचिएर कतिपटक मेरो सर्ट च्यातिएको छ। एकपटक कोलकाताबाट रेलब चढेर रक्सौल आउँदा हावरा स्टेसनमा स्वयं रेलभित्र पस्न नसकेर, कुल्लीलाई पैसा दिएर, उसको बलको सहरामा रेलको कम्पार्टमेन्टमा पस्न सफल भएको थिएँ। कुल्लीले बलपूर्वक मलाई रेल भित्र नपसाएको भए मेरो यात्रा स्थगित हुन्थ्यो। त्यो बखत त्यस्तो किन भयो? किन भयो भने रेल चढ्ने कुनै राम्रो प्रणाली नै थिएन, त्यहाँ। प्रणाली बनाएर त्यसको पालना मानव हितमा गर्नुपर्छ भन्ने सोंचको विकास भएको थिएन। यस्तै स्थिति थियो बस र ट्राम चढ्दा पनि। तर यो घटना चार दशक पहिलेको हो।
दक्षिण एशिया वा विकासशील राष्ट्रहरूमा नागरिकहरूले आफ्नो वहुमूल्य शक्ति, श्रृजनशील ऊर्जा र औसरको उपयोग केवल कलह, द्वन्द र संघर्षमा बिताउँछन्। तिनलाई विकास र निर्माणमा खर्च गर्दैन्। विकास र निर्माणको कार्य केवल सरकारले गर्ने हो भनेर जिम्मेबारीबाट पन्छिन्छन्। हामी पूर्वीयहरूको मनोविज्ञान कस्तो छ भने आफ्नो घरभित्रको फोहर सडकमा फालेपछि घर सफा  भएको मान्ने। तर विकसित देशका नागरिकहरूले भने त्यसरी सोंचदैन। आफ्नो घरको फोहर सडकमा फालेपछि त्यो पुन: आफ्नो घर भित्र आइ पुग्छ त्यसकारण त्यो  फोहरको दीर्घकालिन व्यवस्थापन गर्नु पर्छ  भनी सोंच्छन्। यो सत्य कुरा हो। सन्दा अप्रिय लागे पनि।

दक्षिण एशियाका राष्ट्रहरुमा नागरिकहरु बीच कलह हुनका लागि मुद्दाहरूको कुनै पनि बेला कमी रहँदैन्। कुनै पनि बेला, कुनै एउटा मुद्दा उचालेर नाकरिकहरू बीच संघर्ष गराउन सकिन्छ। झगडा, लडाइ, र युद्ध नै गराउन सकिन्छ। स्वार्थी नेताहरु यस्तो गराउने मौकाको ताकमा बसेका हुन्छन्। जातीयता, क्षेत्रीयता, साम्प्रदायिकता, भाषा, भेष, विश्वास, धर्म, संस्कृति आदिमा विभिन्न काल्पनिक मुद्दाहरू निर्माण गरेर जुनबेला पनि नागरिकहरू बीच कलह गराउन सकिन्छ। र त्यस्तो भइरहेको छ पनि। 

तर व्यापार, सरल जीवन एवं अन्वेषणका लागि विश्वमा नै दोस्रो नम्बरमा पर्ने क्यानाडाको सर्वाधिक ठूलो सहर टोरन्टोमा भने स्थिति फरक देख्न पाइन्छ। करिब ५२ लाख जन आवादी भएको यो सहर एउटा सानो संसार जस्तो नै छ। एउटा अर्को विश्व जस्तो छ। शान्त छ, स्थिर छ। यो सहरमा संसारका लगभग सबै देशका नागरिकहरुको बसोबास रहेको देख्न सकिन्छ। सडकहरूमा चाइनिज, भारतीय, पाकिस्तानी, नेपाली, अफगानीहरू हिँडेको देख्न सकिन्छ। यसैगरी अफ्रिका एवं पूर्वीय युरोपका विभिन्न राष्ट्रका नागरिकहरूलाई देख्न सकिन्छ। सबै आफ्नो भाषा बोलिरहेका हुन्छन। आफ्नै धर्म र संस्कृति अनुसारको पहिरन लगाएका हुन्छन। सबैलाई आ-आफ्नो धर्म अनुसारको पूजापाठ गर्न र पहिरन लगाउन स्वतन्त्रता छ। यो विशेषताले गर्दा नै टोरन्टोका सडक वा मलहरुमा खुट्टादेखि टाउको सम्म कपडाले छोपेको एवं आँखा पनि जालिदार कपडाले ढाकेको महिलाहरू देख्न सकिन्छ भने केवल हाफपैन्ट र टिसर्ट लगाएका महिलाहरू पनि देख्न सकिन्छ। त्यसकारण टोरन्टोलाई दोस्रो संयुक्त राष्ट्रसंघ भन्ने गरिएको होला। अनेक देशका नागरिकहरूको बसोबास भएता पनि सबै मिलेर, शान्तिसँग बसेका छन्। संसारभरिका नागरिकहरू यस टोरन्टो सहरमा बसेर उनीहरुले घरभित्र आफ्नो धर्म र संस्कृतिको पालना गरेता पनि समग्रमा भने सबै टोरन्टोबासीहरू “क्यानेडियन संस्कृतिमा” घुलमिल भएका छन्, विलय भएका छन्। न त यहाँ जातीय कलह छ, न त खलबलिएको सामाजिक सद्भाव। न त धर्मको नाममा विवाद। न त क्षेत्रीय विवाद। सबै केवल आ-आफ्नो उन्नति प्रगतिमा केन्द्रित छन्। सरल र शान्तिपूर्वक जीवनयापनमा समर्पित छन्।

तर हाम्रो सानो देश नेपालमा भने भए भरका मुद्दाहरु छन्। सम्पूर्ण जनता जातीयता, साम्प्रदायिकता, क्षेत्रीयता आदि आदिको को आधारमा विभाजित छ। सामाजिक सद्भाव खल्बलिएको छ। नेपाली समाज दुध फाटे झै फाटेको छ। एउटा जातीय समूहले अर्को जातीय समूहलाई शोषकको रुपमा देख्छ र आफ्नो गरिबी, शोषणको र पछैउटेपन जिम्मेवार पनि उसैलाई मान्छ। तथाकथिक जातीय समूहहरूले पनि समस्याको समाधान विचार आदान प्रदान र छलफलमा देख्दैनन्। समाधान केलव द्वन्द र संघर्षमा देख्नछन्।

जुन स्थान वा सहर जति बढी समावेसी हुन्छ, त्यहाँ शान्ति हुन्छ। त्यहाँ सोही अनुसार वा तिब्र गतिमा विकास पनि हुने रहेछ। यो तथ्यको प्रमाण मैले आफ्नै आँखाले टोरन्टो सहरमा देखें।
एक अर्को रोचक प्रशंग। टोरन्टो सहरको भ्रमणको क्रममा मैल उबर (एक किसिमको टेक्सी) प्रयोग गर्दा सवारीको चालक लगभग प्रत्येक पटक पाकिस्तानी (नागरिक) पाएँ। यस्तो संयोग हो वा टोरन्टोमा पाकिस्तानीहरूले बढीमा मात्रा उबर चालउँछन्, म यकिनका साथ भन्न सक्तिन। यात्राको क्रममा, हेमखेम बढेको हुनाले, एक पटक एक पाकिस्तानी सबारी चालकसँग मैले प्रश्न गरे- नेपाल, भारत, पाकिस्तान यस्ता मुलुकहरू हुन जहाँ प्रकृतिले सबै किसिमका स्रोतहरू दिएको छ। यो क्षेत्र धनी भएको हुनाले नै अंग्रेजहरू यहाँको स्रोतमा कब्जा जमाउन आएका थिए। यूरोप र पर्सियाका लुटेराहरू धन सम्मप्त्ति लुट्न भनेर नै यो क्षेत्रमा आउने गर्थ्ये। त्यैपनि दक्षिण एशियाका नागरिकहरू किन विदेशतिर लाग्छन्? तिमीले किन आफ्नो देश (पाकिस्तान) छाड्यौ? ती पाकिस्तानी चालकले भने “सर, हाम्रो तिर (पाकिस्तानमा) सबै थोक छ, केवल शान्ति छैन। र त्यो आशान्ति पनि हामी आफैले ल्याएका हौ।





A statue (above) and a welcome sign board (below) in a Toronto's street. 




विश्वराज  अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, April 29, 2019



No comments:

Post a Comment