Saturday, April 2, 2016

A Crime Never Goes Unpunished-Article-107

काराजिकको नियति:पाप धुरीबाट कराउँछ

कुनै पनि अपराध भएपछि त्यो अपराधको लागि कुनै व्यक्ति वा पक्ष अनिवार्य रुपमा जिम्मेवार हुनु पर्दछ र अपराध कर्म गरेवापत अपराध गर्ने व्यक्तिले अनिवार्य रुपमा सजाएँको भागेदार हुनु पर्दछ। र त्यसै गरी उक्त अपराध कर्मको लागि उसले उचित सजाए पाउनु पर्दछ पनि। अर्थात अपराध गर्ने व्यक्ति वा पक्षले न्यायिक समाजमा उन्मुक्ति पाउँदैन र उन्मुक्ति पाएको देखिएको छैन पनि। प्राकृतिक कारण बाहेक कुनै व्यक्ति, संस्था वा राजनैतिक दलबाट ठूलो संख्यामा व्यक्तिहरूको हत्या हुनु ठूलो एवं अक्षम्य अपराध हो। हत्यामा प्रत्यक्ष सहभागी हुनु, हत्या हुने किसिमको आदेश दिनु, हत्या हुने वातावरण तयार पार्नु र साथै आफ्नो नियन्त्रणमा रहेको शक्तिलाई नियन्त्रित गर्न नसकेर त्यस शक्ति दवारा हत्या हुनु, यी सबै अपराध कर्महरू हुन, अपराध कर्म गर्नेहरूले उन्मुक्ति पाउन जस्तो सुकै जिकिर गरेता पनि। राजनैतिक परिवर्तन ल्याउनका लागि जनताको हितमा आन्दोन गर्ने पक्ष र विरोधी पक्ष, जुनबाट पनि ठूलो संख्यामा हताहति हुनु वा हताहति हुने वातावरण सृजना हुनु समेत पनि अपराध कर्म नै हो। त्यसकारण कुनै पनि कारणबाट, कुनै पनि नाम दिएर, कसैले पनि, ठूलो संख्यामा हताहति गर्न निश्चित रुपमा नै पाउँदैन।

यस्तै किसिमको आम हत्या गरेकोमा अहिले सजाएको भागेदार भएका छन्, रादोवान काराजिक हजारौ व्यक्तिहरूको हत्या हुने अवस्था सृजना गरेको एवं आफ्नो मातहतमा रहेका व्यक्तिहरूलाई आम हत्यामा संलग्न हुन आदेश दिएर अप्रत्यक्ष रुपमा हत्यामा संलग्न भएको अपराध गरे वापत ७० वर्षीय पूर्व बोस्नियाली सर्व नेता काराजिकलाई निदरलैण्डको द हेग स्थित राष्ट्रसंघीय ट्राव्युनल  (Tribunal) का न्यायधीशले हालै (मार्च २०१६) चालिस वर्षको कारावास सजाए सुनाएका छन्।
काराजिकले आफ्नो राजनैतिक महत्वाकांक्षा पूरा गर्नका लागि जातिवादी राष्ट्रवादको नारा उचालेर सन् १९९२-९५ को बोस्नियाली युद्धमा लगभग आठ हजार जति मुस्लिमहरूको हत्या हुने अवस्था सृजना गरेका थिए। यसैगरी उनको अप्रत्यक्ष नेतृत्वमा हजारौं क्रोएट्सहरूको पनि ज्यान गएको थियो। मुस्लिम र क्रोएट्हरू गरेर सारायावो सहरमा १२ हजार भन्दा बढी व्यक्तिहरूको “जातीय सफाया” काराजिकको इशारमा नै भएको थियो। सन् १९९२-९५ भएको बोस्नियाली युद्धमा एक लाख भन्दा बढी व्यक्तिहरूको ज्यान गएको थियो। २२ लाख व्यक्तिहरू विस्थापित भएका थिए भने लगभग २० हजार महिलाहरू क्रुर किसिमबाट बलत्कारको शिकार भएका थिए।
 
हत्या गर्दा काराजिकले आफूलाई कुनै शक्तिले दण्डित गर्न सक्ने छ भनी सोंचेका थिएनन्। त्यसकारण उनी जातीय सफायामा निर्धक्क भएर संलग्न भए। उग्र राष्ट्रवादको नाममा हजारौ निर्दोष नागरिकहरूको हत्यामा सक्रिए रहे। एक किसिमको मनोमानी गरे। तर पछि उनलाई आफ्नो करतुतको छानबिन हुने र आफू अपराधी ठहर हुने भयले सताउन थाले। एक दिन काराजिक आफू बसेको स्थानबाट एकाएक गाएब भए। 
  
तर पाप धुरी बाट कराउँछ भन्ने तथ्य चरितार्थ भयो। काराजिक पक्राउ परे। १३ वर्षपछि अर्थात २१ जुलाई २००८ मा काराजिक गिरफ्तार हुँदा उनी बेलग्रेडमा नाम र रुप दुबै परिवर्तन गरेर एक आरोग्यकर्ताको कार्य गरिरहेको अवस्थमा फेला परे। उनलाई “युद्ध अपराध अदालत” मा उपस्थित हुन निदरलैण्ड्स पुर्याइयो। काराजिक पक्राउ पर्दा उनलाई परिचित व्यक्तिले पनि पहिचान गर्न नसक्ने गरी लामो दारी पालेको र ठूलो चस्मा लगाएको- भेष बदलेको अवस्थामा देखियो। जे होस पाप धूरीबाट कराउँछ भन्ने तथ्य असत्य साबित भएन, काराजिक पक्राउ परे, उनले सजाए पाए। काराजिको महत्वांकाक्षाको सिकार हुने, ज्यान गुमाउनेका प्रिय एवं आफन्तहरूले सन्तोषको अनुभूति गरे।

काराजिकको थिए र के अपराध गरे?

काराजिकको थिए र के अपराध गरे भन्ने बारे विस्तृतमा लेख्ने हो भने अर्को थप दुई चार लेख तयार हुन्छ। त्यसकारण छोटकरीमा के हो भने, पूर्व युगोस्लाभिया, जो एक कम्युनिष्ट राष्ट्र थियो, टुक्रिएर अनेक राष्ट्रहरूमा परिणत भए पछि युगोस्लाभिया भित्रको क्षेत्र बोस्निया- हर्जगोवनाले सन् १९९२ मा एक स्वतन्त्र राष्ट्रको मान्यता पायो। त्यसरी मान्यता पाउने बित्तिकै  बोसनियाको सर्व नेताको रुपमा काराजिकको उदय भएको थियो। काराजिक बोस्निया-हर्जगोविनाको राष्ट्रपति निर्वाचित पनि भए। बोस्निया-हर्जगोविनाले स्वतन्त्र राष्ट्रको मान्यता पाएको दुई वर्ष नबित्दै काराजिकले  त्यसलाई “सर्बियन रिपब्लिक अफ बोस्निया हर्जगोविना” को नामबाट नया देशको सृजना गरिएको घोषणा गरे। र त्यस नया देशको नाम पुन: परिवर्तन गरेर “रिपब्लिक सर्पस्का” राखे र साथै आफूलाई त्यस राष्टको प्रमुख पनि घोषणा गरे। त्यहाँको राजनीतिमा केवल बोस्नियाली सर्वहरूको शक्ति बढाउन खोजे। राजनीतिमा आउनु पूर्व उनी एको मनोचिकित्सक थिए। काराजिक शक्तिमा रहेको बेला बोस्निया-हर्जगोविना भित्र रहेका अल्प संख्यक मुस्लिम र क्रोएटहरूको जातीय सफाया हुने वातावरण उनले सृजना गरेका थिए। काराजिकले बोस्नियाली सर्वहरूको पक्ष लिएर मुस्लिम र क्रोएट्समाथि अत्याचार गरेका थिए। यही नै उनको मुख्य अपराध थियो। मुख्य रुपमा, सन् १९९५ मा सर्वेनिचामा भएको आम हत्या (massacre ) वा जातिय सफाया (genocide), जसमा हजारौ अल्प संख्यक मुस्लिमहरूको हत्या भएको थियो, ले काराजिकलाई तानेर युद्ध अपराध अदालतसम्म पुर्यायो। उनी माथि युद्ध अपराध एवं जातिय सफाया गरेको अभियोग लगाइयो।

रादोवान काराजिकको सन्दर्भलाई नेपालको राजनीति सँग जोडौ। नेपालमा पनि नेताहरूले आफ्नो  महत्वकांक्षा पूरा गर्न जनताको उपयोग गरेका छन्। पटक पटक गरेका छन्। हजारौ व्यक्तिहरूलाई उत्प्रेरित गरेर, हतियार बोक्न लगाएर, उनीहरूलाई हत्यामा संलग्न हुन निर्देशन दिएका छन्। नेताहरूको इशारा वा निर्दैशन पाएर नै नेपालीहरूले अस्त्र शस्त्र बोकेर, एक आपसमा नै युद्ध गरेर, हजारौको ज्यान लिएका छन्। आफ्नै देशवासी उपर भाला, बन्चरो, कुखुरी आदि प्रहार गरेका छन्। गोली बर्साएका छन्। नेताहरूको महत्वाकांक्षाको कारण नै माओवादी खुनी संघर्षमा परेर करिब १७ हजार नेपालीहरूको ज्यान गयो। दुई पटक भएको मधेश आन्दोलनले पनि सयौ नेपालीहरूको ज्यान लियो।

तर यसरी हत्या हुने वातावरण सृजना गर्ने नेताहरूले के सजाएबाट उन्मुक्ति पाउने छन्? नेपालमा दण्डहीनताको स्थिति सँधै रहने छ, यसैगरी?
सयौं, हजारौं व्यक्तिहरूको हत्या हुने अपराध गरे बापत कुनै एक पक्ष (विद्रोही वा सरकार, आन्दोलनकारी वा सरकार) ले उक्त हत्याको जिम्मेवारी त लिनै पर्छ किनभने यी दुई पक्षहरू मध्ये एउटा त अवश्य रुपमा पनि दोषी त हुन्छ नै। कुनै पनि अपराध कर्म दोषी वा अपराधकर्ता रहित हुँदैन। त्यसकारण कुनै एक पक्षलाई दोषी त ठहर गर्न पर्छ नै। यस्तो नगरेमा नेता वा सरकारबाट निर्दोष नागरिकहरू मारिने क्रम जारिनै रहनेछ, कहिले पनि टुट्ने छैन्। यो तथ्यलाई महसुस गरेर नै पश्चिमी राष्ट्रहरूले “न्यायिक अदालत”, “युद्ध अपराध अदालत”, अन्तरार्ष्ट्रिय न्यायिक अदालत” आदिको व्यवस्था गरेका हुन। कुनै देशको सरकार वा जनता अपराधीलाई सजाए दिन कमजोर, असक्षम, वा पक्षपाति भएमा यस्ता अदालतहरूले अपराधीहरूलाई सजाए दिन्छन। यही व्यवस्था अनुरुप नै रादोवान काराजिकले चालिस वर्षको कारावास सजाए पाएका हुन।

यो महाभारतको युग होइन। महाभारतको युगमा मात्र राजा, महाराजा, सेनापति आदिले आफ्नो नितान्त व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न, आफूलाई शक्तिसाली प्रदर्शित गर्न, राज्यको सीमा विस्तार गर्न,  अनावश्यक रुपमा जनतालाई रणभूमिमा धकेल्ने काम गर्थ्ये। लाखौ जनताको ज्यानलाई तुच्छ र आफ्नो महत्वाकांक्षालाई महान देख्ने गर्थ्ये। महाभारत वा प्रथम र दोस्रो विश्वयुद्धमा किन हजरौ निर्दोष सिपाही वा सेनाहरूको हत्या भयो? आउने पीढीले यसबारे अझै गहन मूल्यांकन गर्नछ।
यो युगको जनता दुर्योधन जस्तो घमण्डि नेता (तत्कालीन राजा) को पछाडि लागेर उसको महत्वाकांक्षा पूरा गर्न ज्यान दिन तयार छैन। यो युगको जनता शान्तिसँग बस्न चाहन्छ। तर अफसोच केही देशहरूमा भने अहिले पनि नेताहरूले जनतालाई आफ्नो महत्वाकांक्षाको घोडा बनाइ रहेका छन्। जतनता पनि राजिखुसी घोडा बनेको छ। नेपालीहरू पनि नेताहरूको घोडा बन्न सदैव तयार नै देखिएका छन्।

तर यो सिलासिला एक दिन अवश्य टुटने छ। यो सिलसिला तब टुटने छ जब नेता वा सरकारले अपराध कर्म गरे बापत सजाए पाउने सिलसिला सुरु हुनेछ, काराजिकले पाए झैं। नेपालका नेताहरूका लागि पनि “पाप धूरिबाट कराउँछ भन्ने यथार्थ चरितार्थ हुनेछ।


विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Saturday, April 02, 2016

No comments:

Post a Comment