Monday, April 17, 2017

Review of "Antim Nirnaya", A Collection of Short Stories by Bishwa R Adhikari

मधुपर्कमा प्रकाशित समीक्षा
“विदेशी परिवेशका लघुकथा”
समिक्षक: पुष्करराज भट्ट

                विश्वराज अधिकारी (२०१५) साठीको दशकदेखि नेपाली लघुकथाका क्षेत्रमा निरन्तर कलम चलाइरहेका प्रतिबद्ध लेखक हुन्। हाल संयुक्त राज्य अमेरिकाको बासिन्दा भइसकेका अधिकारीका सूर्य (लघुकथा, २०५४) एवम् अभिनय (लघुकथा, २०६०) कृति प्रकाशित भइसकेका छन्। हालसालै प्रतीक प्रकाशन प्रा.लि., विरगञ्जले उनको अर्को लघुकथा कृति अन्तिम निर्णय (२०७३) प्रकाशित गरेको छ। अधिकारीको अघिल्लो लघुकथा कृति सूर्यमा एकातिर मानिसका विवशताको चित्रण पाइन्छ भने अर्कोतिर साधनसम्पन्न एवम् चलाख वर्गले कसरी समाजमा आफ्नो प्रभुत्व स्थापना गर्दछन् र मुर्ख र अनपढ मानिसमाथि कसरी आफ्नो प्रभुत्व स्थापना गर्दछन् भन्ने विषयमा विश्लेषण गरिएको छ। यी लघुकथामा धर्म र राजनीतिको आड लिएर कसरी अन्धविश्वास एवम् अन्धआस्था फैलाइन्छ र सामूहिक रूपमा एक सिँगो समाजलाई कसरी अनुगामी बनाइन्छ भन्ने देखाइएको छ। उनको अभिनय लघुकथा कृतिमा वर्तमानको मानिसको स्वार्थपरायणताका साथै मानिसले आफू अघि सम्पूर्ण मर्यादा, आदर्श, नाता सम्बन्ध, मित्रता, स्वाभिमानको समापन गर्ने  र लाभका लागि दौडिने गरेको सन्दर्भको प्रस्तुति पाइन्छ। उनका यी लघुकथामा वर्तमानको उपभोक्तावादी समाजको प्रतिनिधि तस्वीर आएको छ।

                विश्वराज अधिकारीको अन्तिम निर्णय लघुकथा कृतिमा अघिल्ला दुई कृतिका तुलनामा फरक विषयवस्तु  एवम् परिवेशलाई प्रस्तुत गरिएको छ। यस कृतिमा रहेका अन्तिम निर्णय, जता गए पनि, सम अनुभूति, मेरो त्यो मित्र, दिदी अब यतै बस्ने होइन?, चित्राजी,  इजरायल–गाजा सङ्घर्ष, मारिया, आमार सोनार बाङ्गला, म गरिब मेरो देश धनी, म त फर्के फेरि विदेशमै, परिचय, बोल्न पनि भुलिसकेको थिएँ, आबी लघुकथामा विदेशी परिवेशलाई चित्रण गरिएको छ। यी कथामा विदेशी भूमिमा रहेका नेपाली नागरिकको निजी जीवन अनुभूतिका साथै अन्य देशबाट आएका नागरिकसँगको सम्बन्धलाई व्यक्त गरिएको छ। विदेशी भूमिमा रहेका नागरिक एकातिर त्यो ठाउँको सुख सुविधाप्रति मुग्ध छन् भने अर्कोतिर विदेशी भूमिमा रहँदा आफ्नो भूमि एवम् आफन्तजनबाट विछोड हुँदा पीडाको अनुभूति गरिरहेका छन। यी कृतिमा विदेशमा रहेका नेपाली नागरिक स्वदेश फर्कँदा आफन्तजनको दवाबमा फेरि विदेश फर्कनु परेको, आफ्नो देशमा बस्न चाहेपनि बस्न नपाएको, विदेशमा दुःख पाएर स्वदेश फर्केको जस्ता घटनाहरू वर्णनन् गरिएको छ। उनीहरू विदेशी भूमिमा अन्य देशबाट आएका नागरिकसँग आफ्ना अनुभूति एवम् सम्वेदनाको साटफेर गर्ने कार्यलाई विषयसन्दर्भका रूपमा अघि सारिएको छ। यी लघुकथामा संसारका विभिन्न ठाउँमा धर्म एवम् राजनीतिका नाममा भएका हिंसात्मक दङ्गाका कारण मानिसहरूले भय एवम् त्रासमा बाँच्नु परेको, देश छोडेर जानु परेको, परिवार एवम् आफन्तजनसँग बिछोडिनुपरेको देखाइएको छ। यसरी यी लघुकथामा सुखसुविधाको खोजमा विदेश पलायन भएका नागरिकको जीवनका पीडा, असन्तुष्टि एवम् आक्रोशलाई स्वर प्रदान गरिएको छ।

                विश्वराजका लघुकथामा राजनीतिक विषयसँग सम्बन्धित रचनाको साथै व्यक्तिगत जीवन अनुभूति एवम् सामाजिक घटनालाई पनि विषय बनाइएको छ। उनका परिवर्तन, दङ्गा राजनीति, नेताको आत्मा, मलाई रिस उठेन, तानाशाही जस्ता कथामा राजनीतिक विषय सन्दर्भको उठान गरिएको पाइन्छ। त्यस्तै दुःखदायी सफलता, दोष, त्यो तस्वीर, पीरको भारी, बिचरा प्रोफेसर यादव, म त माइती नै पुगेँ दाइ लगायतका लघुकथामा व्यत्तिगत जीवनका घटनाको प्रस्तुति छ भने कस्तो स्वार्थी?, स्वाभिमान, प्रवृत्तिहरू लगायतका लघुकथामा सामाजिक विषय सन्दर्भ आएको छ। उनका लघुकथामा एकातिर नेपालको राजनीतिक अस्थिरता, नेताहरूको गलत व्यवहार एवम् स्वार्थी प्रवृत्तिको चर्चा पाइन्छ भने अर्कोतिर संसारका विभिन्न देशमा भएका राजनीतिक दङ्गा एवम् जातीय विभेदका कारण समाजको विघटन एवम् नागरिकको जीवनमा आएको सङ्कटलाई व्यक्त गरिएको छ। अधिकारीका लघुकथामा व्यक्तिको महत्वाकांक्षाले उसको जीवनमा पार्ने असरलाई देखाइएको छ। व्यक्ति स्वयं सफलताको नाममा पारिवारिक बिछोड एवम् बिघटनको जाँदा पीडाको अनुभूति गरिरहेको छ भने अर्कोतिर विदेशी भूमिमा आफन्तको खोजीमा भौँतरिरहेको घटनाको प्रस्तुति पाइन्छ। यसरी नै उनका लघुकथामा समाजमा भएको उत्पीडनजन्य घटना, भावनात्मक सम्बन्ध, सुविधाभन्दा परिवारलाई प्रिय ठान्ने प्रवृत्ति आदिलाई समेत विषय बनाइएको पाइन्छ।

                विश्वराज अधिकारीको यस लघुकथा कृतिमा विषयवस्तुको छनौट जति सशक्त छ, प्रस्तुति सबल बन्न सकेको छैन। कुनै पनि रचना विषयवस्तुको सपाट प्रस्तुतिले मात्र सबल बन्न सक्दैन। उनका लघुकथा शिल्पका दृष्टिले कमजोर बन्दै गएका छन्। कुनै पनि लघुकथामा पाठकमा नवीन जिज्ञासा उत्पन्न गर्ने सामर्थ्य हुनैपर्दछ। यदि यसो भएन भने त्यो घटना वर्णनमा सिमित रहन्छ। लघुकथाको अन्त्य प्रभावकारी एवम् सन्देशमूलक हुनु आवश्यक मानिन्छ। नेपाली लघुकथाको लेखनमा लामो समयदेखि लागिरहेका स्रष्टा अधिकारीले कृति निकाल्ने हतारो भन्दा कृतिको गुणस्तर एवम् प्रभावकारिता तर्फ ध्यान दिएर प्रकाशनमा गएको खण्डमा कृतिको प्रभावकारितामा वृद्धि हुने देखिन्छ।


मधुपर्क २०७३ फाल्गुण



No comments:

Post a Comment