Friday, April 13, 2018

Will Petroleum Pipeline Benefit Nepal?-Article 190


के पाइपलाइनको निर्माण नेपालको हितमा छ?

हाल आफूले उत्पादन गर्न सक्ने अवस्था नरहेको र भविष्यमा पनि उत्पादन लागतको हिसाबले नेपालमा पेट्रोलियम पदार्थ उत्पादन गर्न ज्यादै खर्चिलो हुने भएकोले ऊर्जाको लागि नेपाल पेट्रोलियम पदार्थमा अति नै भर पर्नु कुनै पनि दृष्टिकोणबाट उपयुक्त देखिंदैन। यो त भयो विश्लेषणको एउटा पाटो। विश्लेषणको अर्को पाटोले के भन्छ भने भौगोलिक विकटताको कारण चीनबाट पेट्रोलियम पदार्थ आयात गर्न असम्भव नभए पनि यातायात लागतको दृष्टिकोणबाट पटक्कै व्यवहारिक नहुने र  भारतबाट अटुट र नियमित पेट्रोलियम पदार्थ आयात गर्न नसकिने स्थितिले गर्दा ऊर्जाका लागि नेपाल पेट्रोलियम पदार्थमा पटक्कै भर पर्ने स्थिति छैन। हुन पनि नेपाल र भारतमा सरकार परिवर्तन भएसँगै नेपालप्रतिको भारतको रवैया ३६० डिग्रीले परिवर्तन हुने गरेको छ। कुनै समयमा त नेपाल र भारतको सम्बन्ध अति नै खराब पनि भएको छ। उदाहरणका लागि  नेपालमथि राजनैतिक दबाब दिन विगतमा भारतले कतिपटक नाकाबन्दी समेत गरिसकेको छ। नेपालप्रति भारतको दृष्टिकोण इमानदारी भन्दा पनि रणनीतिक किसिमको छ। चीनलाई ‘साइजमा राख्न’ तथा नेपाली राजनीतिमा आफ्नो नियन्त्रण निरन्तर वृद्धि गर्दै लग्न भारतले नेपाललाई आफ्नो ‘सुरक्षा छाता’ भित्र राख्न खोज्दैछ। नेपालमा प्रधानमन्त्री नियुक्त हुनासाथ भारतले आफूकहाँ आउन आमन्त्रित गर्नु त्यही रणनीतिको एउटा पाटो हो। भुटानलाई भारतले जसरी हेर्छ, नेपाललाई पनि त्यसैगरी हेर्छ। भारतको यो ‘दाजु दृष्टिकोण’ मा परिवर्तन आउन सकेको छैन्, त्यहाँ मोदी या गाँधी जो भए पनि। र अर्को उल्लेख गर्नैपर्ने कुरा के भने भारत आफैंले पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ उत्पादन गर्दैन।
    माथि वर्णित यथार्थको आलोकमा हेर्दा नेपालले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न पेट्रोलियम पाइपलाइन निर्माण गर्नु र त्यो पनि भारतीय सरकारको लगानीमा, कुनै पनि दृष्टिकोणबाट उपयुक्त देखिंदैन। भारतको लगानीमा नेपालमा पेट्रोलियम पाइपलाइन निर्माण गर्न दिनु नेपालमा भारतीय हस्तक्षेप वृद्धि गर्न आमान्त्रित गर्नु हो। कुन सरकारले भारतसँग यो सम्झौता गर्यो, त्यो सरकारले ऐतिहासिक गलती गरेको हो। यो ऐतिहासिक गलतिको उसले पूर्ण जिम्मेवारी लिनुपर्छ।

सम्झौता ऐतिहासिक गलती कसरी भयो?
    माथि वर्णन गरिएको तथ्यहरूलाई एकातिर पन्छ्याएर कुरा गर्ने हो र नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिलाई नियमित र भरपर्दो पार्न नेपालमा पाइपलाइन निर्माण गर्ने अठोट गर्ने हो भने पनि, यो अर्को अवस्थमा, नेपालले पाइपलाइन आफैंले निर्माण गर्नुपथ्र्यो। सम्झौताको स्वरूप नितान्त ‘व्यापारिक’ किसिमको हुनुपथ्र्यो, राजनैतिक किसिमको होइन। भारतको मोतिहारीदेखि रक्सौल (नेपाली सीमा) सम्म पाइपलाइनको निर्माण भारतको पेट्रोलियम निर्यातक कम्पनीले गर्नुपथ्र्यो। अर्कोतिर वीरगंज (भारतीय सीमा) देखि अमलेखगंजसम्म पेट्रोलियम पाइपलाइनको निर्माण नेपाल सरकारले होइन, पूर्णरूपमा नेपाल आयल निगमले गर्नुपथ्र्यो। यी दुई पक्ष (नेपाल र भारत) हरूको सम्बन्ध विशुद्धरूपमा ‘क्रेता र बिक्रेता’ झै हुनुपथ्र्यो। यी दुई पक्षको सम्बन्ध पूर्णरूपमा व्यापारमा आधारित हुनुपथ्र्यो, दयामा आधारित होइन, जुन अहिले देखिएको छ। अहिले नेपालले आफ्नो भूमिमा भारतीय स्वामित्वको र त्यो पनि भारत सरकारको प्रत्यक्ष लगानीमा पाइपलाइन निर्माण गर्न दिएर नेपाल सरकारले आफ्नै राष्ट्रिय सार्वभौमिकतामाथि खेलबाड गरेको छ।  पाइपलाइन निर्माण गर्न भारतलाई गुहार्ने जुन निर्णय तत्कालीन सरकारले गर्यो त्यो त्रुटिपूर्ण त थियो नै, आफ्नो भारतीय भ्रमण (केही हप्ता पूर्व) को समयमा प्रधानमन्त्री केपीले त्यो पाइपलाइनको शिलान्यास मोदीको साथ दिल्लीमा गरे त्यो पनि उत्तिकै त्रुटिपूर्ण थियो। निर्माण कार्यलाई केही समयको लागि स्थगित गरेर, निर्माण सम्झौतामा परिमार्जन गरेर शिलान्यास (निर्माण कार्यलाई अगाडि बढाउने कार्य) गरेको भए हुन्थ्यो। केही गृह कार्य गरेर मात्र शिलान्यास गरेको भए हुन्थ्यो। नेपाली नेताहरूमा शिक्षा र अध्ययनको कमीले गर्दा ‘परराष्ट्र मामिला’, त्यो पनि भारतजस्तो चतुर राजनैतिक खेलाडीसँग चुक्नु कुनै ठूलो कुरा होइन।
    समय अहिले पनि बितिसकेको छैन। नेपाल सरकारले भारत सरकारलाई पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा परिमार्जन गर्न भन्न सक्छ। वीरगंजदेखि अमलेखगंजसम्म पाइपलाइन निर्माण नेपाल सरकारको लगानीमा हुनु राष्ट्रिय हितको दृष्टिकोणले अति उपयुक्त देखिन्छ। यदि नेपाल सरकार आर्थिक रूपमा सक्षम छैन भने स्वदेशी निजी क्षेत्रलाई निर्माणका लागि आह्वान गरे हुन्छ। नेपालको निजी क्षेत्रले राम्रो लगानी नीति पाएमा पाइपलाइन निर्माण गर्न सक्ने क्षमता राख्दछ। यस्तो पनि हुन नसकेमा नेपाल सरकारले जनताबाट ऋण लिएर पाइप लाइन निर्माण गर्न सक्छ। यस्तो पनि हुन नसकेमा विदेशमा बसोवास गरिरहेका नेपालीहरूलाई पाइपलाइन निर्णाणमा लगानी गर्न अनुरोध गर्न सक्छ। र यो पनि सम्भव नभएमा विश्व बैंक, एसियाली विकास बैंक वा अन्तर्राष्ट्रिय मुद्राकोषलाई अनुरोध गर्न सक्छ। विकल्पहरू धेरै छन्। हरेक समस्याले समाधान साथमैं लिएर आउने गर्दछ, केही अपवादबाहेक।

पेट्रोलियम पदार्थको विकल्प खोज्न किन आवश्यक छ ?
    वातावरण प्रदूषणमा ठूलो हिस्सेदारी राख्ने एवं उत्पादन र वितरण पनि खर्चिलो हुने भएकोले विभिन्न राष्ट्रहरूले पेट्रोलियम पदार्थको निर्भरता कम पार्ने एवं  ‘सफा ऊर्जा’ उत्पादन गर्ने निर्णय गरेका छन्। कतिपय राष्ट्रहरूले सन् २०२० सम्म परम्परागत ऊर्जाका स्रोतहरू (कोइला, पेट्रोलियम पदार्थ आदि) लाई सफा ऊर्जाद्वारा विस्थापित गर्ने निर्णय गरेका छन्। सौर्य ऊर्जा, वायु ऊर्जा तथा जियोथर्मल ऊर्जा आदिलाई सफा एवं पुनर्नवीरणीय ऊर्जा मान्ने गरिन्छ। यो हिसाबले पनि नेपालले पेट्रोलियम पदार्थको विकल्प खोज्नु र यसप्रतिको अति निर्भरता कम पार्न आवश्यक छ।
    नेपालले सौर्य ऊर्जा र वायु ऊर्जा उत्पादनमा जोड दिन आवश्यक छ। यसैगरी जल विद्युत्को उत्पादनमा जोड दिन आवश्यक छ।
    नेपालमा उत्पादन लागत कम पारेर, सस्तोमा वस्तुहरू उत्पादन गरेर, गरिबहरूले पनि विभिन्न आधारभूत आवश्यकताका वस्तुहरू खरिद गर्न सक्ने स्थिति पारेर मुलुकमा गरिबी कम गर्न ऊर्जाको आपूर्ति र उत्पादन लागत सस्तो पार्न नितान्त आवश्यक छ।
    नेपालमा जल ऊर्जा उत्पादनमा साना साना कम्पनीहरूलाई संलग्न गराउनु उपयुक्त देखिन्छ। यदि पहाडी क्षेत्रहरूमा जल ऊर्जा र तराई क्षेत्रमा सौर्य ऊर्जा सस्तोमा उत्पादन गरेर वितरण सुलभ पार्न सकियो भने उत्पादन लागत अहिलेको भन्दा तीस वा चालीस प्रतिशतले कम पार्न सकिन्छ।
    हुनत नेपालमा सौर्य ऊर्जाको उत्पादन प्रारम्भ भइसकेको छ। तर पनि यसलाई व्यापारिक किसिमले उत्पादन गर्न सकिएको छैन र ठूलो परिमाणमा पनि उत्पादन गर्न सकिएको छैन। यसैगरी यातायातको क्षेत्रमा पनि सौर्य ऊर्जाको प्रयोग हुन सकेको छ। तर नेपालमा जल ऊर्जा मात्र होइन, सौर्य ऊर्जाको पनि पर्याप्त सम्भावना छ।
    हालै प्रकाशित एक समाचार अनुसार सिहंदरबारमा अबदेखि सौर्य ऊर्जा प्रयोग हुनेछ। चिनियाँ सरकारको सहयोगमा निर्माण भएको यो सौर्य ऊर्जा उत्पादन केन्द्रले १.३ मेगावाट विद्युत् उत्पादन गर्ने छ। हिजोदेखि (ब्उचष् िज्ञज्ञ, द्दण्ज्ञड) यस परियोजनाले उत्पादन प्रारम्भसमेत पनि भइसकेको छ।
    हो, यसै किसिमले नेपालमा वैकल्पिक ऊर्जाका स्रोतहरूको पहिचान एवं प्रयोग गर्न आवश्यक छ। हामीले क्रमिकरूपमा पेट्रोलियम पदार्थमाथि अति निर्भरता घटाउन आवश्यक छ। पेट्रोलियम पदार्थमाथि हाम्रो अति निर्भरताले हामीलाई भारतमाथि अतिआश्रित मात्र होइन, भारतका अन्य किसिमका राजनैतिक एवं आर्थिक दबाबहरू मान्न बाध्य पारेको छ। विभिन्न किसिमका भारतीय हस्तक्षेप सहन विवश गरेको छ। समग्रमा आर्थिकरूपमा (विभिन्न वस्तुहरू आयात गर्न) हामी भारतप्रति अति आश्रित हुने भएकोले नै नेपालमा को प्रधानमन्त्री हुने भनेर लाजिम्पाटमा मिटिंग हुने गर्दछ। भारतमाथि अति निर्भरताको यो भन्दा बलियो अर्को कुन उदाहरण हुन सक्ला?
    भारतीय प्रभावबाट नेपाललाई मुक्त पार्न र भारत–नेपाल सम्बन्धलाई ‘दाजुभाइ’ होइन ‘मित्रवत्’ पार्न हामी आर्थिकरूपमा बलियो हुन आवश्यक छ। तर भारतमाथिको अति निर्भरता घटाउनुको अर्थ भारतसँग सम्बन्ध खराब पार्नु होइन। हामीले यो पनि बिर्सन्न हुन्न कि हामी पितृलाई तर्पण (श्राद्ध गर्न) दिन गया, हरिद्वार, वा केदारनाथ जान्छौ, बेजिंग, संघाई, वा ग्वान्जाव जाँदैनौं। भारतसँग हाम्रो सम्बन्ध पुराणहरूद्वारा जोडिएको छ।


Bishwa Raj Adhikari
Published in Prateekdaily on Friday, April 13, 2018

No comments:

Post a Comment