Monday, June 11, 2018

The Formulas of Success Different Views


सफलताबारे विभिन्न व्यक्तिहरूको दृष्टिकोण

सफलता एक विषयगत धारणा हो। सफलताप्रति विभिन्न व्यक्तिहरूको धारणा फरक फरक हुन सक्छ। धेरै सम्पत्ति कमाउनुलाई कसैले सफलताको रुपमा लिन सक्छ भने कसैले धेरै ख्याति आर्जन गर्नुलाई। यसैगरी कसैले ज्यादै शक्तिसाली भएर जनतामाथि शासन गर्नुलाई सफलता मान्न सक्छ। कसैले नया नया किसिमका कुराहरू आविष्कार गर्नुलाई सफलता मान्न सक्छ। जोखिमपूर्ण काम गर्नु (अग्ला अग्ला पहाड चढ्नु, कार रेसिंगमा सहभागी हुनु, अन्तरिक्षमा जानु आदि) लाई पनि कसैले सफलता मान्न सक्छ। खेलकुदको संसारमा ख्याति कमाउनुलाई पनि कसैले सफलता मान्न सक्छ।
ज्यादै चर्चित हुन र सर्वाधिक व्यक्तिहरूद्वा रुचाइनुलाई पनि कसैले सफलताको रुपमा लिन सक्छ।
त्यसकारण प्रश्न यहाँ खडा हुन आउँछ कि खासमा सफलता के हो त? सफलता प्रति धेरै व्यक्तिहरुको दृष्टिकोण थाहा पाएमा सफलता के हो भन्ने कुरा थाहा पाउन वा सफलताबारे (आफ्नो) एक खास धारण बनाउन सजिलो हुने भएकोले सफलता बारे विभिन्न चर्चित एवं संघर्षशील व्यक्तिहरूको धारणा यहाँ प्रस्तुत गरेको छु।



(क)

मधु कोइराला

१ तपाइँ स्वयं नै एक सफल व्यक्ति हो। एक सफल व्यक्ति भएकोले अरूलाई जीवनमा सफल हुन के कस्तो सल्लाह दिनु हुन्छ? सफलताप्रतिको तपाइँको धारण के कस्तो छ?

सफलता संघर्षद्वारा प्राप्त हुने गर्दछ। सफल हुनका लागि संघर्ष गर्नुको विकल्प छैन। सफल हुनका लागि कठोर परिश्रम गर्नु पर्छ, यो मेरो सल्लाह हो।

२ सफलता केवल साहस, धैर्य र परिश्रमको परिणाम हो वा यसलाई व्यक्ति हुर्केको समय, समाज र परिवेसले पनि उत्तिकै असर पारेको हुन्छ?

दुबैको सम्मिश्रण हो। सफल हुनमा व्यक्तिको साहस, धैर्य र परिश्रमले त काम गरेको हुन्छ नै साथै व्यक्ति हुर्केको र उसले अन्तरक्रिया गर्ने समाजले उसको सफलता एवं असफलतालाई ज्यादै नजिकबाट प्रभाव पारेको छ। व्यक्तिलाई ऊ हुर्को समाजले कति बढी प्रभाव पार्छ भन्ने कुरा म स्वयंले नै पनि भोगेको छु। व्यक्तिको सफलतालाई समय, समाज र परिवेसले निकै प्रभाव पार्ने गर्दछ।

३ कुनै व्यक्ति सफल हुन उसको वौद्धिक क्षमताले बढी सघाउ पुर्याउँछ वा लक्ष्य प्राप्ति प्रतिको उसको अविचलित र कठोर परिश्रमले?

व्यक्तिलाई सफल पार्नमा उसको अविचलित र कठोर परिश्रमले प्रमुख भूमिका निर्वाह गरेको हुन्छ। र यो ध्रुव सत्य पनि हो। व्यक्तिलाई सफल तुल्याउनमा उसको बौद्धिक क्षमताले पनि उत्तिकै सहयोग गरेको हुन्छ।

४ नेपाली समाजले आफ्नो कठोर परिश्रममा भन्दा बढी भाग्यमा विश्वास गर्छ। ‘भाग्यमानीको भूतै कमारो’ भन्ने भनाईमा अटुट विश्वास राख्छ। के भाग्य भन्ने कुरा हुन्छ र?

भाग्य हुन्छ भन्ने कुरामा म विश्वास त गर्छु तर व्यक्तिलाई सफल पार्नमा केवल उसको भाग्यले मात्र काम गर्छ भन्ने कुरामा मलाई विश्वास छैन। यसैगरी, भाग्यमानीको भूतै कमारो भन्ने लोकोक्तिमा पनि मेरो विश्वास छैन। हाम्रो समाजले स्वयंले गर्ने कर्ममा भन्दा भगवान् (ऐश्वर्य चमत्कार) को कृपामा अत्यधिक विश्वास गर्छ भन्ने यथार्थलाई म स्वीकार्छु। भाग्यद्वारा कार्य गराउनमा आफ्नो पनि क्रिया हुने पर्ने कुरामा म बढी जोड दिन्छु।

५ ऐश्वर्यीय चमत्कारमा बढी विश्वास गर्ने नेपाली समाजले व्यक्तिलाई कठोर परिश्रम गरेर लक्ष्य प्राप्तिको दिशातर्फ अगाडी बढन प्रेरित गर्नुको साटो बढी मन्दिरतिर जान बाध्य पार्छ। यो भनाइमा विश्वास गर्नेहरू धेरै छन्। के यो भनाई सही हो?

मन्दिर जाने कार्य ईश्वरप्रति आस्था र प्रेमको कारणले हुनु पर्ने हो। हरेक कुरा माग्नका लागि भगवान् लाइ गुहार्नु प्रति मेरो सहमति छैन। भगवान् आस्था र विश्वासको केन्द्र हुनु पर्छ, जे माग्यो त्यो दिने कल्पवृक्ष होइन।
 
६ गाडीलाई गुडाउन ‘पेट्रोल’ वा इन्धनले सर्वाधिक ठूलो भूमिका खेलेझै के व्यक्तिलाई सफल हुन उसको उच्च महत्वाकांक्षाले अग्रसर गराउँछ? वा के सफल हुनका लागि उच्च महत्वाकांक्षा राख्न आवश्यक छ?

हो, यो कुरालाई म पूर्ण रूपमा स्वीकार गर्दछु। महत्वाकांक्षा ले व्यक्तिलाई कठोर र अविरल परिश्रम गरेर लक्ष्य प्राप्त गर्न प्रतिफल प्रेरित गर्दछ। महत्वांक्षा पूरा हुनु नै व्यक्ति सफल हुनु हो। तर व्यक्तिको महत्वाकांक्षा भने समाजको हित विपरित हुनु हुँदैन भन्ने म चाहना पनि राख्छु। महत्वाकांक्षा एक यस्तो उत्प्रेरक हो जसले व्यक्तिलाई सफल हुन प्रेरित गर्दछ।

७ सफलता नियन्त्रित नियमित एवं अनियन्त्रित आकष्मिक घटनाहरूको एकमुष्ट परिणाम हो वा लक्षित एवं नियोजित कार्यहरूको एकमुष्ट पारिणाम हो?

दुबै हो। तर उत्तिकै मात्रामा होइन। मेरो विचारमा सफलता लक्षित एवं नियोजित कार्यहरूको एक मुष्ट परिणाम हो। यो पक्षले भने बढी कार्य गरेको हुन्छ। सफल हुने व्यक्तिले खास लक्ष्यहरू राखेर ती लक्ष्यहरू प्राप्त गर्न नियोजित रूपमा कार्यहरू गर्न आवश्यक छ।

८ एक व्यक्तिलाई सफल पार्न के उसको व्यक्तित्वले असर पारेको हुन्छ? अर्थात सफल व्यक्ति नम्र र शिष्ट हुन आवश्यक छ?

हो, व्यक्ति सफल हुनका लागि शिष्ट र नम्र हुन आवश्यक छ। घमण्डी र अशिष्ट व्यक्ति जति सुकै प्रतिभावान् भए पनि सफल हुन सक्तैन। यो मेरो मान्यता हो। व्यक्ति सफल हुन ऊ असल व्यक्तित्वको हुन आवश्यक छ।

९ तपाइँको व्यक्तिगत धारणा अनुरूप कस्तो व्यक्तिलाई सफल मान्ने? अथवा सफलताका घोषित आधारहरू के हुन? वा सफलताको मापदण्ड के समाजले निर्धारण गरेको हुन्छ?

कुन व्यक्तिलाई सफल मान्ने र सफलताका घोषित आधारहरू के के हुन, यी दुवै विषयहरू ज्यादै विशाल र गहन हुन। यी दुवै बारे व्यक्तिहरूको फरक फरक धारणा हुन सक्छ। यी दुबै विषयलाई छोटकरीमा परिभाषित गर्न कठिन छ। तैपनि यी दुवै विषयहरूलाई सजिलो पार्ने किसिमले के भन्न सकिन्छ भने सन्तुष्ट छु भन्ने विश्वास राख्दै सरल जीवन बिताउने व्यक्ति सफल व्यक्ति हो। त्यस अर्थमा, एक जोगी पनि सफल व्यक्ति हो किनभने ऊ जीवनदेखि सन्तुष्ट छ। करोडौं सम्पत्ति र अत्यधिक चर्चा कमाउने कुनै व्यक्ति पनि सफल हो। यसैगरी सम्पूर्ण जीवन विज्ञान-प्रयोगशालामा बिताएर मानव जीवन उपयोगी कुनै औषधि पत्ता लगाउने एक वैज्ञानिक पनि सफल व्यक्ति हो। उच्च अध्यन र अत्यधिक सम्पत्ति भएको व्यक्तिलाई मात्र सफल मान्न सकिंदैन। ज्यादै वा कम चर्चा पाउनु पनि सफलताको आधार होइन। सफलता भन्ने विषय व्यक्तिको सन्तुष्टिमा निर्भर गर्ने कुरा हो। 

लेखनको क्रममा रहेको “सफलताका सत्र सुत्रहरू” नामक पुस्तक लागि सो पुस्तकका लेखक विश्वराज अधिकारीदवारा तयार परिएको प्रश्नावली। सहभागी: मधु कोइराला Saturday, April 14, 2018

No comments:

Post a Comment