Monday, June 11, 2018

The Formulas of Success Part 8

प्रेरक व्यक्तिहरूबाट सिक्नु

सुत्र ८

कुनै पनि व्यक्ति सफल हुनका लागि असल व्यक्तिहरूको संघतमा रहन जति आवश्यक छ त्यतिकै उसले प्रेरक व्यक्तिहरूबाट सिक्न आवश्यक छ। प्रेरक व्यक्तिहरूका सफलताका कथाहरू अध्ययन गरेर, मनन गरेर अनि चिन्तन गरेर धेरै कुरा सिक्न सकिन्छ। एक सफल व्यक्तिले सफल हुनका लागि के कस्ता रणनीतिहरू तयार पार्यो, त्यो रणनीतिको प्रयोग कसरी गर्यो त्यो रणनीति प्रयोग गर्दा उसले के कस्ता व्यवधानहरूको सामना गर्यो आदि जस्ता कुराहरू थाहा पाउनु राम्रो हुन्छ। कुनै एक सफल व्यक्ति सफल हुनका लागि वर्षौसम्मको संघर्ष गरेको हुन्छ, विभिन्न सोंचहरूको विकास गरेको हुन्छ। तर ती कुराहरू अध्ययन गरेर छोटो समयमा नै धेरे कुरा थाहा पाउन सक्छौ। यसरी सफल व्यक्तिहरू आफै स्वयंमा नै उत्प्रेरक हुन। केही सफल व्यक्तिहरू बारे छोटो चर्चा यस प्रकार गरिएको छ।

(क) चन्द्रकिसोर
(जन्म २०२३ साल)

चन्द्रकिशोर एउटा नाम होइन, विशेषण बनेको छ।
सडक सुविधाबाट बञ्चित रहेको र आफ्नै स्वदेशका पर पर रहेका विभिन्न स्थानहरूमा जान भारतको बिहार राज्यको सीमावर्ती ढेंग स्टेशन बाट रेल मार्ग प्रयोग गर्न बाध्य रहेको गाउँ बलरा (सर्लाही जिल्ला) बाट जीवन धान्न सहयोग गर्ने  किसिमको सामान्य रोजगारीका लागि वीरगंज सहर पुगेका नव युवक चन्द्रकिशोर जो अवसरका फराकिलो समथर मैदानबाट संघर्षका पहाडहरू चढ्दै उच्च सफलताको शिखरमा पुगे, नेपालको एक प्रख्यात पत्रकार भए, आफैमा सफलताको एक उदाहरणीय कथा हुन पुगे।
सर्लाहीको एक सामान्य गाउँको अति निर्धन परिवारमा जन्म लिएका चन्द्रकिशोरलाई अहिले नेपाल मात्र होइन, विदेशमा रहेक पाठकहरूले पनि रुचिका साथ पढछन। पत्रकारितामा उनको आफ्नै विशिष्ट एवं मौलिक पहिचान छ। तराइको सामाजिक, आर्थिक एवं राजनैतिक स्थितिको बारेमा कसैले विस्तृत रुपमा जान्नु परे चन्द्रकिशोर कहाँ जाने गरेका छन्। अर्थात उनी तराई मामिलाका विशेष जानकार हुन। त्यसैगरी उनी नेपाल भारत सीमाञ्चल सम्बन्धका वारे विशेष दखल राख्छन्। नेपाली भाषा लेखनमा तराईको शब्द र संस्कृति भित्र्याउने सीपमा उनी अब्बल देखिन्छन्।
नेपालमा सर्वाधिक विक्री हुने राष्ट्रिय दैनिक कान्तिपुरमा उनको नियमित स्तम्भ छ। साताको प्रत्येक विहिवार डेटलाईन तराईस्तम्भ उनी लेख्छन्। त्यसैगरी बेलाबखत बिबिसी नेपाली सेवाका लागि टिप्पणी पनि प्रस्तुत गर्छन। पत्रिकाहरूमा प्रकाशित उनका सामाग्रीहरूले कुनै गुरुत्वाकर्षणझै पाठकहरूलाई तान्ने गर्छन। मध्यमार्गीधार सम्प्रेषण कलामा उनी पोख्त मानिन्छन्। नेपाली भाषाका साथै मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीमा पनि उनी लेखि रहन्छन्। उनी हतारको पत्रकार हुन भने फुर्सदको साहित्यकार हुन।
चन्द्रकिशोर एक डुलुवा पत्रकार हुन् जो घुम्नुलाई पत्रकारिताको अनिवार्य अंग मान्दछन्। कतिपयले उनलाई जनताको स्वर चन्द्रकिशोरको विशेषण समेत दिने गरेका छन्।
उनको पत्रकारिताले नेपालमा मधेस र पहाडलाई जोडने एक बलियो सेतुको काम गरि रहेको छ। निरन्तर परिश्रम, आत्म विश्वास, उद्देश्यप्रतिको अटल आस्था लिएर हिंड्ने हो भने व्यक्ति निश्चित रूपमा सफल हुन्छ भन्ने कुरा चन्द्रकिशोरले प्राप्त गरेको उपलब्धिबाट प्रस्टिन्छ।
उनी पत्रकारिताको उद्देश्य नागरिकलाई मजबूत बनाउने र समाजलाई जोड्ने हुनुपर्छ भन्ने मान्यता राख्दछन्। उनी आवाजहरुको कोलाहलमा संवादको खोजी गर्दै हिडिरहने एक कलमधर्मी हुन्।
उनी मुलुक र वाहिरका संचार माध्यमहरुमा आफ्ना कुराहरु लेखिरहन्छन्। यसरी लेखि राख्दा उनी भन्छन् पनि पत्रकारले आफुलाई जहिले पनि एउटा विश्व नागरिकको रुपमा उपस्थिति राखिराख्नु पर्छवौद्धिक र पत्रकारिता जगतका एक चम्किलो तारा हुन चन्द्रकिशोर। नेपालमा संघीयता अहिले आएको छ, तर जतिखेर उनीले पत्रकारिता शुरु गरे त्यतिखेर आमप्रवृति नै थियो- अवसरको लागि राजधानी काठमाण्डौ जाने तर उनले आफुलाई सीमान्त सहर वीरगंजमा नै राखे। वीरगंजमा नै तपस्या गरे। आफ्नो पत्रकारिताबाट वीरगंजलाई झनै परिचित गराए। उनका संघर्ष र सफलता आफैमा सफलताका कथाहरू हुन सत्य र मर्यादाका लागि पत्रकारिता गरेर व्यापारिक सहरमा पनि सामाजिक ख्याति आर्जन गर्न सकिन्छ भन्ने यथार्थ चन्द्रकिशोरले कोरेको गोरेटोहरुले नै बोल्दछन्
(ख) विजय झा
(जन्म २०२२ साल)

सफलता प्राप्त गर्ने व्यक्तिहरूका अनेक कथाहरू छन।
एउटा यस्तै अर्को सफलताको कथा विजय झाको छ। जीवनमा केही गर्नु पर्छ र सफलता, कल्पना गरेर होइन संघर्ष गरेर पाइन्छ भन्ने मान्यतामा पूर्ण विश्वास राख्नु हुने झाको संघर्षको कथा हालको सर्लाही जिल्लाको सिमरा भन्ने गाउँबाट २०२२ सालमा प्रारम्भ हुन्छ। विजय कुमार झाको जन्म २०२२ सालमा सर्लाहीको सिमरा भन्ने गाउँमा भएको थियो।
यसै सिमरा गाउँको एक गरिब परिवारमा जन्म लिएका झा आफ्नो गाउँमा मिडिल स्कूल समेत पनि नभएको कारण निम्न माध्यमिक शिक्षाका लागि सर्लाहीको दुल्बा-बत्रौल पुगेका थिए भने माध्यमिक शिक्षाका लागि सर्लाही जिल्लाकै गोडैता पुगेका थिए, शिक्षाको भोक मेट्न, सफलताको सिखर चुम्नका लागि एक खुडकिला चढन।

गौडैताको हाइस्कूलबाट झाले २०३९ सालमा ‘यसयलसी’ पास गरे। उक्त यसयलसी परीक्षामा उनले प्राप्त गरेको कुल अंक सर्लाही जिल्लाभरिका परीक्षार्थीहरूको भन्दा अधिक थियो। अर्थात झा जिल्ला ‘टपर’ भए।
 
त्यसपछि झा विज्ञान अध्ययनका लागि २०३९ सालमा जनकपुर पुगे। जनकपुर स्थित रामश्वरूप रामसागर बहुमुखी क्याम्पसमा अध्ययन गरि रहेको क्रममा नै २०४२ सालमा इन्जिनियरिंग पढ्न काठमाडौको पुलचोक स्थित इन्जिनियरिंग कलेज पुगे। सफलता र ज्ञानको भोकले उनलाई २०४५ सालमा तत्कालिन सोभियत रूसको मास्को पुर्यायो, जहाँको विश्वविद्यालयबाट उनले सिभिल इन्जिनियरिंगमा मास्टर्स र पियचडी समेत पनि गरे। उच्च शिक्षाको उच्च बिन्दु हासिल गरे।
करिब एक दशको रूसको बसाईमा उनले  त्यहाँबाट औपचारिक शिक्षा मात्र हासिल गरेनन्, साथै रसियन, बेलरुसन र युक्रेनियन रहन सहन र संस्कृतिको उच्च एवं शूक्ष्म अध्यय पनि गरे। रुसी भाषाहरू- बेलरुसन, रसियन, युक्रेनियन का साथै झाले भारतीय उपमहाद्विपमा बोलिने बंगाली, हिन्दी, उर्दु, मैथली, भोजपुरी, बज्जिका एवम् नेपाली खरर बोल्ने गरेका छन्।

सफलताको सिखरसम्म पुर्याउने सम्भावनाका सिंढीहरू चढ्दै सन् १९९८ मा संयुक्त राज्य अमेरिका आइ पुगेका विजय झाले यस मुलुकको ओक्लहोमा राज्यको ओक्लहोमा सिटी स्थिति ‘ओक्लहोमा सिटी युनिभर्सिटी’ बाट कम्प्युटर साइन्समा मास्टर्स (Masters in Computer Science) गरे। आफ्नो कठोर परिश्रमलाई आफैलै पुरस्कृत गरे। सन्तुष्ट हुने किसिमबाट शिक्षाको भोक मेटे। सर्लाहीको एक निर्धन परिवारमा जन्म लिएका झाले यति बढी शैक्षिक योग्यताका प्रमाण पत्रहरू पाउनु सामान्य कुरा मानिंदैन।

 हाल टेक्सास राज्यको ह्युस्टनमा बसोबास गरिरेका झा अमेरिकाका विभिन्न संघ संस्थाहरू सँग आवद्ध छन्। पिई (Professional Engineer-PE) देखि  पिएमपी (Project Management Professional-PMP) सम्म गरी उनले अनेक किसमका व्यवसायिक प्रमाण पत्रहरू प्राप्त गरेका छन्। उनी एक कुसल पेशेवर व्यक्ति (Successful Professional) पनि हुन्। प्राज्ञ पनि हुन।

मेरो विचारमा झा एक सफल व्यक्ति हुन र यो सफलता उनले मन्दिरहरूमा लड्डु चढाएर, पैत्रिक सम्मपत्ति प्रयोग गरेर, नेताहरूलाई भनसुन गरेर, राजनैतिक दलहरूको झण्डा बोकेर, जिन्दावाद, मुर्दावाद गरेर नभइ आफ्नो द्रढ इक्षा शक्ति र कठोर प्ररिश्रमले प्राप्त गरेका हुन। आफैले आफ्नो जीवनको कथालाई एक सुन्नै पर्ने उत्कृष्ट कथा तुल्याएका हुन्। झाको सफलताको कथा अनुकरणीय मात्र छैन साथै जीवनमा सफल हुने इच्छा राख्नेहरूका लागि सन्देश पनि हो। अध्ययन सामाग्री पनि हो। झा सफलताका स्रष्टा हुन। द्रष्टा हुन। उनको प्रगतिबाट धेरै सिक्न सकिन्छ। मुख्य रूपमा उनको सफलताको कथाबाट ‘अटुट विश्वासको तेल भरेर परिश्रमको गाडिमा सबार भएर हिंड्ने हो भने गन्तव्य (सफलताको गाउँ) मा अवस्य पनि पुगिन्छ’ भन्ने कुरा नबिर्सिने गरी सिक्न सकिन्छ।
आफू मात्र होइन, व्यक्ति र समाजको पनि प्रगति होस भनी कामना गर्ने झा समाज सेवामा पनि उत्तिकै सक्रिय छन्। उनले सर्लाहीको सिमरामा ‘सर्लाही समाज कल्याण प्रतिष्ठान’ (SarlahI Social Welfare Foundation-SSWF)  नामक एक गैर मुनाफमूलक सामाजिक सङ्गठनको स्थापना गरेका छन्। यो प्रतिष्ठान र झाका पिता महानन्द झाको सक्रिय सहभागितामा सिमरामा सुबुद्धि महानन्द विद्याश्रम नामक एक प्राथमिक विद्यालय र सुबुद्धि महानन्द प्राज्ञिक पुस्तकालय नामक एक पुस्तकालयको स्थापना भएको छ। यी संस्थाहरूको उद्देश्य समाजका विपन्न मध्ये पनि अति विपन्न व्यक्तिहरूलाई असल शिक्षा प्राप्त गर्न सहयोग गर्नु रहेको छ।

सर्लाही समाज कल्याण प्रतिष्ठानले निर्धन परिवारका र मुख्य गरी वृद्ध, महिला, बालबालिकहरूलाई स्वास्थ्य परीक्षण र मोतिबिन्दुको अपरेशन गर्न सहयोग पुर्याउँदै आएको छ। दु:खमा परेकाहरूलाई सहयोग गर्न एवं सामाजिक विकासका लागि ज्ञान बाँड्न सदा तत्पर रहने विजय झा तलका दुई पङ्गतिहरूलाई सदा स्मरण गर्दछन।

(१)
अष्टादश पुराणेषु व्यासस्य वचन द्वयं ||
परोपकाराय पुण्याय पापाय परपीडनं ||

(२)
विद्यां ददाति विनयं, विनयाद् याति पात्रताम्।

पात्रत्वात् धनमाप्नोति, धनात् धर्मं ततः सुखम्॥

(ग) रमेश कुमार भट्टराई
(जन्म २०१५ साल)
मरूभूमिमा ठूलो रूख झै उम्रेर, सून्यबाट करोड भएर तथा न त कसैको खुट्टा तानेर न त कसैको हात समातेर सफलताको सगरमाथा पुगेका रमेश कुमार भट्टराई पनि आफैमा सफलताको एक पठनीय उत्कृष्ट कथा हुन। उनी आफैमा एक यस्तो कथा हुन जुन पढेर कुनै पनि व्यक्ति आफ्नो क्षमताको मूल्यांकन, विश्लेषण र प्रयोग गर्न स्वयं द्वारा उत्प्रेरित हुन्छ। सफलताको पथमा अग्रसर हुन्छ।
वीरगंजको एक अति सामान्य परिवार, जसले अनेक आर्थिक समस्याहरू निरन्तर रूपमा झेलि रहेको थियो, मा जन्मेका रमेश कुमार भट्टराई स्कूले जीवनमा पढ्नमा सामान्य भए पनि केही नौलो कार्य (उद्यम) कार्य गर्नु पर्छ भने विचारका पक्षपाती थिए। सामान्य आर्थिक हैसियत भएको उनको परिवारले वीरगंजसम्मको अध्ययनको खर्च जेनतेन बेहोर्न सकेता पनि काठमाडौमा बसेर एमकम पढने खर्च बेहोर्न सकेन र उनले काठमाडौमा बसेर एमकम पढ्नका लागि होटल सोल्टीको क्यासिनो नेपालमा र पछि तथ्यांक विभागमा अस्थाइ खरिदार पदमा जागिर खानु पर्यो। २०३७/३८  सालमा एमकम सक्याएर उनले नेपाल बैंक लिमिटेडमा अधिकृतको जागिर खाए। बैंकमा जागिर खाएका भट्टरार्इ बैंकको शाखा नाफामा लैजाने र समस्या परेको बैंक शाखामा समाधानको माध्यम बन्दै गए। ११/१२ वर्षको बैंकिग क्यारियरमा छिटो छिटो प्रमोशन लिंदै नयां नयां अनुभव लिंदै गए। त्यसै क्रममा  आफू स्वयंले नै केही गर्नु पर्छ भन्ने विचारका प्रवर्तक भट्टराई वीरगंजका केही उद्योगपति एवं व्यापारीहरूलाई आफ्नो योजनामा सहमति गराएर वीरगंजमा पहिलो पटक २०५२ सालमा  महालक्ष्मी फाइनान्स को स्थापना गर्न सफल भए।
भट्टराईको सक्रियतामा महालक्ष्मी फाइनान्सले धेरै प्रगति गर्यो।  काठमाण्डौ लगायत महालक्ष्मी फाइनान्सका शाखाहरू अन्य सहरहरूमा पनि विस्तार भए। जुन बेला फितलो व्यवस्थापनका कारण विभिन्न फाइनान्स कम्पनीहरू बन्द भइ रहेका थिए ठीक त्यही समयमा महालक्ष्मी फाइनान्स कम्पनीले सामाजिक प्रतिष्ठाका साथै आर्थिक प्रगति पनि हासिल गरिरहेको थियो र आर्थिक रूपमा झन झन सबल भइ रहेको थियो। आर्थिक रूपमा महालक्ष्मी फाइनान्सलाई सफल र सबल बनाउने श्रेय रमेश भट्टराईमा नै जान्छ। महालक्ष्मी फार्इनान्समा लगातार १० वर्ष प्रवन्ध संचालक रहेका  भट्टरार्इले महालक्ष्मीको सफलताको ख्याती र विश्वासलार्इ अझै क्रियाशिल सदुपयोग गर्ने क्रममा वीरगंजकै ६३ जनाको सहभागितामा ५० शैयाको एएमसी हस्पिटल स्थापना र संचालन गरे। त्यतीमा सिमित नभएर उनले वीरगंजमा व्यवसायीक रेडियो रेडियो वीरगंज  र सामुदायिक प्रकृतीको रेडीयो नारायणी एफ एम पनि आफ्नै नेतृत्वमा संचालन गरे ।
रमेश भट्टरार्इले दश वर्षको अवधिमा फार्इनान्स, हस्पिटल र रेडियो स्टेशनको सफल संचालन पछि अब राजधानी काठमाण्डौंमा केहि गर्ने सोचले महालक्ष्मी फार्इनान्सको कार्यकारी प्रमुखबाट राजीनामा गरी नेपाल लार्इफ इन्सुरेन्स कम्पनी लिमिटेडको कार्यकारी प्रमुखको जिम्मेवारी लिन पुगे। बीमाको कुनै जानकारी नभएका भट्टरार्इले व्यवस्थापकिय कुशलताले २ वर्षमा नेपाल लार्इफलार्इ सफलताको उचार्इमा पुर्याइ नेपालकै नं. १ जीवन बीमा कम्पनी बनाए।
संधै केहि नयां गर्ने र चुनौती लिने चाहनाले  भट्टरार्इले २०६४ सालमा नेपाल लार्इफ इन्स्योरेन्सको कर्षक र प्रभावशाली कार्यकारी प्रमुख पदबाट राजिनामा गरी सोही वर्षको चैत्रबाट नयां कम्पनी एशियन लार्इफ इन्स्योरेन्सको स्थापना र संचालनमा संस्थापक कार्यकारी प्रमुखको जिम्मेवारी लिए र ४ वर्षमा यो बीमा कम्पनीलार्इ पनि सफलताको उचार्इमा  पुर्याए। यसरी ५ वर्ष एशियन लार्इफ चलाए पछि पुन: राजिनामा गरि महालक्ष्मी फार्इनान्सलार्इ देशको सफल र ठूलो बैंक बनाउने जीम्मेवारी लिर्इ पुन:  महालक्ष्मी फार्इनान्सको कार्यकारी प्रमुख पदमा फर्किए। यसरी भट्टराईको योजना र अग्रसरतामा महालक्ष्मी फाइनान्स कम्पनी महालक्ष्मी बिकास वैंकमा २०७३ सालमा परिणत भयो। ६ वटा फार्इनान्स र बिकास बैंकहरू महालक्ष्मी विकास बैंकमा मर्ज (Merge) भए र भट्टराई महालक्ष्मी विकास बैकका सिइओ  (प्रमुख कार्यकारी अधिकृत) पनि नियुक्त भए।
यसरी, उच्च शिक्षा हासिल गरेर र जीवनमा कुनै नौलो कार्यको थालनी गरौं, याँ नयाँ सोचलाई कार्यमा परिणत गरौ, अरू माथि भर परेर होइन, आफ्नै सिप र जाँगरको प्रयोग गरौं, अरूले दिएको रोजगारीमा रमाउनु भन्दा स्वयंले रोजगारी सृजना गरौ भन्ने जस्ता विचाहरूका धनी रमेश भट्टराई एक सामान्य जागिरेबाट फार्इनान्स , बैंक, बीमा, हस्पिटल र रेडीयो कम्पनीको प्रमुख समेत बने। यसरी सफलताको कथा बने ।
लगनशील भएर कार्य गर्ने, आफूमाथि अटुट विश्वास राख्ने, जति सुकै पनि परिश्रम गर्न पछाडि न हट्ने जस्ता उनका आफ्नै विशेषताहरूले भट्टराईलाई जीवनमा सफलता नै सफलता दिए। नेपाल बैंकको जागिर पछि भट्टराईले जागिर खान वा रोजगारी पाउन कतै निवेदन हाल्नु परेन। बरू आफ्ना सोच र योजनाहरूको प्रयोग गरेर सयौंलाई रोजगारी दिए। सफलतापूर्वक यति धेरै काम कम गर्दै गर्दा ६० वर्षे उमेरमा पुगेका भट्टराई थकार्इ मार्ने सोचमा अहिले पनि छैनन। उनी अहिले पनि नयां बीमा कम्पनी, क्लियरिंग हाउस, स्टक एक्सचेन्ज , एसेट्स म्यानेजमेन्ट कम्पनी, बिल्डिंग म्यानेजमेन्ट कम्पनी र ट्रेनिंग इन्सिच्युट कम्पनी ल्याउन कम्मर कसेर लागेका छन। सकारात्मक सोच र इमान्दार भर्इ कर्म गरेमा अवश्य सफल भइन्छ भन्ने उनको सोच रहेको छ ।  
नेपालमा बीमा र बैकिंग क्षेत्रका जानकारहरूमा रमेश कुमार भट्टराइको नाम अग्र पङ्क्तिमा आउँछ।
संत कबीर भन्छन,

गुरु गोविंद दोऊ खडे काके लागूं पाय।
बलिहारी गुरु आपने, गोविंद दियो मिलाय।।

(गुरुको दर्जा भगवान् बराबर छ किनभने गुरुले दिएको ज्ञानले गर्दा नै भगवानको पहिचान गर्न सकिन्छ। गरु अर्थात ज्ञान सबै धनहरू भन्दा उत्तम छ।)

जात न पूछो साधु कि, पूछि लीजिये ज्ञान।
मोल करो तलवार का, पडी रहन दो म्यान।।

(कुनै व्यक्ति समान्य वा खराब भएता पनि उसले दिएको ज्ञान असल छ भने त्यो ज्ञान ग्रहण गर्नु पर्छ।)

No comments:

Post a Comment