Friday, October 12, 2018

Economic Importance of Nepali Diaspora-Article-218


नेपाली डायसपोराको आर्थिक महत्व

भारतको आर्थिक अवस्थालाई बलियो तुल्याउनमा धेरै तŒवले काम गरेको छ। ती धेरै तत्वमध्ये एक भारतले ठूलो परिमाणमा विभिन्न किसिमका खाद्यपदार्थहरू निर्यात गर्नु पनि एक हो। भारतले विश्वभरिका अनेक राष्ट्रमा प्रतिवर्ष ठूलो परिमाणमा तयारी, अर्धतयारी र कच्चा खाद्यपदार्थ निर्यात गर्दछ। भारतीय खाद्यपदार्थहरू विश्वभरि ठूलो परिमाणमा निर्यात हुन सक्नुमा ‘भारतीय डाएसपोरा’ दिन प्रतिदिन ठूलो आकारको हुँदै जानु हो। संसारका विभिन्न राष्ट्रमा भारतीयहरूको ठूलो सङ्ख्यामा बसोबास छ। युरोप, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, मध्यपूर्व, अफ्रिकामा भारतीयहरूको ठूलो सङ्ख्यामा उपस्थिति छ नै, साथै मध्य एशिया, दक्षिण अमेरिका, करेबियन राष्ट्र (जमैका, हैटी, डोमिनिकन रिपब्लिक, बहमास, बारबाडोस आदि)हरूमा पनि उल्लेख्य सङ्ख्यामा बसोबास छ।

    भारतीय डाएसपोरा भन्नेले संसारका विभिन्न राष्ट्रमा बसोबास गरिरहेका भारतीय मूलका व्यक्तिहरूको समूह भन्ने बुझिन्छ। छोटकरीमा भन्नुपर्दा डाएसपोरा भनेको मूल पुर्ख्यौली थलोमा बस्न नपाएर वा नबसेर अन्यत्र बसिरहेका व्यक्तिहरूको समूह हो। डाएसपोरालाई भौतिक सीमा नभएको राष्ट्र पनि भन्ने गरिन्छ। डाएसपोरामा रहेकाहरूले मन आफ्नो मुलुक र संस्कृतिमा आफ्नो मौलिकता झल्काएका हुन्छन्।

    भारतीय खाद्यपदार्थ ठूलो परिमाणमा निर्यात गराउनमा एउटा अर्को तत्वले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। भारतमा जुन किसिमका खाद्यपदार्थको उपभोग हुन्छ, ती वा तीसँग मिल्दाजुल्दा खाद्यपदार्थ दक्षिण एशिया, मध्य एशिया, मध्यपूर्व, खाडी राष्ट्र, अफ्रिका आदिमा त्यहाँका नागरिकबाट पनि उपभोग हुन्छ। यो कारणले गर्दा पनि भारतीय खाद्यपदार्थको बजार विश्वभरि नै विस्तारित हुन पुगेको छ। भारतमा उत्पादित ‘बासमती’ चामल विश्वभरि ठूलो मागसहित बिक्री हुन्छ। बासमती चामलको स्वाद खास किसिमको भएकोले यसको माग बढ्दो छ। यसैगरी भारतमा उत्पादित भुजिया, चिया, दाल आदि पनि संसारभरि बिक्री हुन्छ। भारतीय रेस्टुरेन्टहरू चीनमा पनि सञ्चालित देख्न सकिन्छ।

    भारतीयहरूको जस्तो विशाल नभए तापनि नेपाली डाएसपोरा पनि ठूलो आकारको हुँदै गएको छ। नेपाली निर्यातकर्ताहरूको लागि यो एक ठूलो व्यापारिक अवसर हो। आम्दानीको राम्रो र भरपर्दो बाटो पनि हो। क्यानडा, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, मध्य पूर्व, खाडी राष्ट्र, मलेसिया आदिमा नेपालीहरूको बढ्दै गएको बसोबासले नेपाली डाएसपोरालाई ठूलो पार्दै लगेको छ। क्यानडा र अस्ट्रेलियाको पिआर व्यवस्था, संयुक्त राज्य अमेरिकाको डिभी र स्टुडेन्ट भिसाले नेपाली डाएसपोरा ठूलो पार्नमा महत्वपूर्ण भूमिका खेलेको छ। यसैगरी, माओवादी पीडितहरू पनि शरणार्थी भएर ठूलो सङ्ख्यामा युरोपका विभिन्न राष्ट्रमा फैलिएका छन्। संयुक्त अधिराज्य, बेल्जियम, जर्मनी, नेदरल्यान्ड्स, फ्रान्स, साइप्रस, पोर्चुगल, नर्वे, स्वीडेन, स्पेनमा धेरै नेपालीले शरणार्थी जीवन बिताइरहेका छन्। जापान, दक्षिण कोरिया, कतार, मलेसिया आदिमा काम गर्ने नेपालीहरूको सङ्ख्याले पनि नेपाली डाएसपोरालाई फराकिलो पार्नमा महत्वपूर्ण भूमिका खेलेको छ। यसैगरी, सन् २०१५ मा आएको ठूलो विनाशकारी भुइँचालोले पनि नेपालीहरूलाई विदेश डोर्याउनमा उल्लेख्य भूमिका खेल्यो। विभिन्न मुलुकमा पुगेका भुटानी शरणार्थीहरू पनि नेपाली (भाषी) डाएसपोरा विस्तार गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ।

    यसरी विस्तारित हुँदै गएको नेपाली डाएसपोराले विदेशमा नेपाली खाद्य बजार विस्तार हुने सम्भावनालाई निकै बढाएको छ। विदेशका खाद्य बजारहरूमा नेपाली खाद्यपदार्थ बिक्री हुने सम्भावना बढेर गएको छ। नेपाली मौलिक खाद्यवस्तुहरू जस्तै चिया, चकलेट (लप्सीको क्यान्डी), गुँदपाक, पुस्टकारी, लाखमरी, अचार (अदुवा, खुर्सानी, लप्सीको) चाउमिन, बिस्कुट, चामल (मार्सी), पाउँ आदि विदेशी बजारहरूमा ठूलो परिमाणमा बिक्री हुने सम्भावनालाई नकार्न सकिंदैन। यो एक ठूलो व्यापारिक अवसर हो। यो अवसर ‘इमिग्रेसन’को कारणले सृजना भएको हो।

    नेपाली डाएसपोरामा केवल खाद्यवस्तुहरू मात्र होइन, गैरखाद्यवस्तुहरू जस्तै कपडा (ढाका), काष्ठकला, धातुका मूर्तिहरू, कागज एवं कागजनिर्मित सामग्रीहरू, मौलिक पहिरन आदि पनि बिक्री हुने ठूलो सम्भावना छ। नेपाली खाद्य र गैरखाद्य वस्तुहरू नेपाली डाएसपोरामा बिक्री हुने वा कुन परिमाणमा बिक्री हुन सक्नेबारे एक व्यवस्थित किसिमको अनुसन्धान हुन आवश्यक छ। तर वर्तमान अवस्थामा नै पनि, नेपाली खाद्य एवं गैरखाद्य वस्तुहरू संसारका विभिन्न राष्ट्रमा बिक्री हुने सम्भावना ह्वात्तै बढेर गएको छ। विदेशमा नेपालीहरूको ठूलो सङ्ख्यामा भएको बसोबासले यो स्थिति सृजना गरेको हो।
    धनी देशमा बसोबास गर्ने नेपालीहरूको क्रयशक्ति तुलानात्मकरूपमा बलियो हुने भएकोले उनीहरूबाट नेपाली वस्तुहरू ठूलो परिमाणमा खरिद हुन सक्छ। यसैगरी, भारतीय खाद्यवस्तुहरूको तुलनामा नेपाली खाद्यवस्तुहरूलाई सस्तो पार्न सके भारतीय वस्तुहरूसँग तीव्र प्रतिस्पर्धा गर्दै नेपाली वस्तुहरू उच्च परिमाणमा बिक्री हुने सम्भावना सृजना हुन सक्छ। 

    बजार सृजना गर्न र माग सृजना गर्न, दुवै कार्यमा हामी निकै पछाडि छौं। खासमा भन्ने हो भने बजार व्यवस्थापनको क्षेत्रमा नै हामी निकै पछाडि छौं। हामीसँग पर्याप्त स्रोत र साधनहरू भए तापनि हामीले तिनको उपयोग अत्यधिक किसिमले गर्न सकेका छैनौं।

    हाम्रो शिक्षा र संस्कृतिमा परिमार्जन गरेर, आर्थिक समृद्धि हासिल गर्नका लागि हामीले हाम्रो शिक्षालाई केवल ज्ञानमुखी मात्र होइन, रोजगारमुखी तुल्याउन आवश्यक छ। उच्च शिक्षा (जस्तैः बिए, एमए, पिएचडी) लाई मात्र ज्ञानमुखी तुल्याएर माध्यमिक तहको शिक्षालाई रोजगारमुखी तुल्याउन आवश्यक छ। यस्तो गरेमा मात्र हामीले बेरोजगारहरूको सङ्ख्या कम पर्दै गरीबहरूको क्रयशक्ति पनि वृद्धि गर्न सक्छौं।

    नेपाली डाएसपोरालाई लाभदायक किसिमले उपयोग गर्न सकिने अर्को तरिका हो, विदेशमा रहेका नेपालीहरूको बचत नेपालमा लगानी हुने वातावरण सृजना गर्नु। नेपालको वर्तमानका ऐन, कानून, नियमहरू संशोधन गरेर वा नयाँ (अनुकूल) ऐन, कानून, नियमहरू निर्माण गरेर विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी गर्ने वातावरण सृजना गर्न सकिन्छ। विदेशमा रहेका नेपालीहरूको बचत नेपालमा लगानी हुने वातावरण सृजना गर्ने हो भने पर्यटन पूर्वाधार विकास लागि चाहिने विद्युत्, सडक, रेल, रोपवे आदि निर्माण गर्न सकिन्छ। उनीहरूको बचतबाट राम्रो लगानी हुन सक्छ। यतिमात्र होइन, विदेशमा बसेका नेपालीहरूको बचत नेपालको लागि एक दीर्घकालीन पूँजी पनि हुन सक्छ।

    सत्ताको खेलमा नअल्झेर नेताहरूले यसतर्फ ध्यान दिए नेपाल र नेपालीहरूको आर्थिक कल्याण हुने थियो। सत्ताको खेलमा मग्न हुन रुचाउने, सत्ता हस्तगत गर्नेजस्तो नाटक पनि मञ्चन गर्न नहिचकिचाउने नेताहरूबाट विकास अपेक्षा गर्नु एक किसिमको मृग मरिचिका नै हो कि? सन्दर्भ निकट भविष्यमा वामदेव गौतम काठमाडौंबाट संसदीय चुनाव लड्ने।

    वामदेव गौतमको लागि भनेर नै गराइने चुनावसँग गाँसिएको एक अर्को यक्ष प्रश्न। वामदेवको लागि गर्न थालिएको चुनावको खर्च कसले बेहोर्ने? राज्यले? राज्यले त एकपटक चुनाव खर्च बेहोरिसकेको होइन र?

Bishwa R Adhikari
प्रतीक दैनिकमा प्रकाशित Friday, October 12, 2018

No comments:

Post a Comment