Saturday, November 3, 2018

"Khusi" Review-Article-221


विजय कुमारको “खुसी” पढेपछि मनमा लागेका केही कुराहरू



साहित्य (पुस्तक वार्ता)

सत्यलाई साहसका साथ इमान्दारीपूर्वक भन्न सक्ने मेधावी पत्रकारको रूपमा विजय कुमार जस्तो प्रतिभा आफ्नो देशले पाएकोमा नेपाली समाजले गर्व गर्नै पर्छ। म स्वयंले अति प्रजातन्त्रवादी देशका अनेक निष्पक्ष पत्रकारहरूलाई देखेको छु। तर उनीहरूको माझमा मैले विजय कुमारलाई कम देखिन, अब्बल नै देखे। जन रूचिका समाचार एवं विचारहरू सम्प्रेषण गर्दा उनको स्वार्थ त्यस भित्र पटक्कै लुकेको हुँदैन।
अब कुरा गरौ “खुसी” बारे।
विजय कुमारद्वारा रचित पुस्तकक “खुसीको अध्ययन पछि मेरो निष्कर्षले के भन्छ भने मदन पुरस्कार कृति (खुसी) ले पाएको होइन, कृतिकारले पाएको हो। अर्थात यो पुरस्कार पत्रकार विजय कुमारले पाएको हो।
उनीद्वारा कृतिको नाम खुसी राखिएता पनि जीवनमा सुखी (खुसी) कसरी रहने वा हुनेबारे यस कृतिमा यथेष्ट चर्चा छैन। खुसी कसरी रहने कला बारेमा स्पष्ट रूपमा भन्न यो कृति सक्षम भएको मैले देखिन। जबकि खुसी (जीवनलाई कसरी सुखमय तुल्याउने) लाई पुस्तकको केन्द्र बिन्दु मानिएको छ, जस्तो लाग्छ। बरू विजय कुमारले “ठूला”, “बडा”, “शक्तिसाली” कहलिएका विश्वका विभिन्न व्यक्तिहरूसँग सँघत गरेको, उठवस गरेको वा ती व्यक्तिहरूबाट विजय कुमारले निकै इज्जत पाएको चर्चा बढी छ। त्यस किसिमको चर्चा करिब करिब पुस्तक भरि नै छ। विजय कुमारले साना साना, कमजोर, निरही, निमुखा व्यक्तिहरूसँग उठबस गरेको चर्चा, जुन पाठकहरू ब्यग्रताका साथ पढ्न चाहन्छन्, ज्यादै कम छ।
“खुसी” पढिरहँदा लाग्छ विजय कुमार आफ्नो छेउमा नै उभिएर भन्दै छन्, आफ्ना मनका कुराहरू पोख्दै छन्। घटनाहरूको बयान गर्दै छन्। उनको यो शैली उत्कृष्ट छ। तर विजयका अनुभवहरू सुनिरहँदा लाग्छ, उनले जीवनलाई कसरी खुसी तुल्याउने कला सिकाउने, उल्लेख गर्ने भन्दा पनि आफ्नो आत्म वृतान्त पाठकहरूलाई भनि रहेका छन। यो तथ्यलाई मध्य नजर गर्दा उनले यस कृतिको नाम “खुसी” को साटो “मेरो कथा” वा यस्तै कुनै अन्य नाम राखेको भए बेस हुने थियो।
यस कृतिमा विजय भगवान् श्री कृष्ण झै गुरू रूपमा प्रस्तुत हुन्छन र अर्जुन (पाठक) लाई अर्ति उपदेश दिन थाल्छन। पुस्तक पढिरहँदा यो अनुभूतिको घेराबाट पाठक बाहिर आउन सक्तैन। लेखकको रूपमा म केवल एक प्रस्तोता हुँ, जे देखें, जे भोगें त्यही लेखें भन्ने कुरा अनुभूत गराउन विजय यस कृतिमा सफल भएको मैले पाइन। पुस्तक भरि उनी “भगवान् श्रीकृष्ण” को रूपमा नै केन्द्रीय भूमिका रहन यत्नशील रहेको प्रतीत हुन्छ।
पुस्तक पढि रहँदा लाग्छ उनी आफ्नै विचारप्रति स्पष्ट छैनन्। द्विधायुक्त (Confused) छन्। उनले पुस्तकको विभिन्न ठाउँमा आफू भ्रम मुक्त भएको उदघोष गरेता पनि उनी द्विविधायुक्त रहको सहजै वोध हुन्छ। पुस्तकको विभिन्न अनुच्छेदहरूमा उनले प्रस्ट गरि के भनेका छ भने पद, पैशा, र शक्ति केही होइन। यी कुराहरूद्वारा व्यक्तिको सफलता मापन गर्नु सही होइन। तर आफ्नो पुस्तकको एक स्थानमा उनी भन्छन् “यो नठानियोस् कि प्रसिद्ध हुनु, धनी हुनु, शक्तिवान हुनु वा रूपवान हुनु आफैमा कुनै नराम्रो अनुभव हो। बेनाम हुनु, गरिब हुनु, कमजोर हुनु वा थोरै रूपवान हुनु भन्दा अघिल्लो विकल्प धेरै श्रेयकर हो। अर्को जुनीमा पनि कुनै गुमनाम, बेनाम मानिस हुनु भन्दा म धेरथोर नाम चलेको मानिस नै हुन रूचाउँछु।” उनको यो भनाईले उनी भौतिक सुख (नाम, दाम र शक्ति) को लालसा रुपि बन्धनबाट अझै मुक्त हुन सकेका छैनन्। जगडिएका छन्। अर्थात उनी आफै अहिलेसम्म पनि “कन्फ्युज्ड” छन्।
मदन पुरस्कार प्रदान गरिने पद्धति प्रति नै मेरो असन्तुष्टि छ। कृतिकारहरूले मदन पुरस्कार पाउनका लागि निवेदन हाल्नु पर्ने पद्धति आफैमा न्यायोचित छैन। रचनाकारले मेरो कृतिलाई मदन पुरस्कार प्रदान गरियोस भनेर याचना गर्ने होइन। कृतिकारहरूलाई “याचक” बनाउनु राम्रो पनि होइन। बजारम रहेका प्रकाशित पुस्तकहरूप्रति पाठकहरूको दृष्टिकोण कस्तो छ? कुनै खास कृतिबारे जनमतले के भन्छ त्यसलाई आधार मानेर मदन पुरस्कार दिनु न्यायसंगत हुन्छ। केवल केही व्यक्तिहरू (निर्णायक समिति) ले यो पुस्तकलाई मदन पुरस्कार दिन उचित हो भनेको आधारमा पुरस्कार दिनु उचित हो? यो पुस्तक, विभिन्न पुस्तकहरूको माझ उत्कृष्ट हो भन्ने कुरा “जनमत” (Opinion Poll) बाट निर्धारण हुनु पर्द्छ। पुरस्कार दिने संस्थाहरूले जनमतको आधारमा पुरस्कार दिन आवश्यक छ। अहिलेको स्थितिमा केवल केही व्यक्तिहरूले यो पुस्तक उत्कृष्ट छ (पुरस्कृत गरेर) भनेको आधारमा बाँकि सम्पूर्ण पाठकहरूले यो पुस्तक उत्कृष्ट छ भनेर पढ्नु पर्ने रिति छ।
माथि भनिएका कुराहरू केवल एक पाठकको पाठकीय दृष्टिकोण हो। विजय कुमार प्रति मेरो न अति प्रेम छ, न त पूर्वाग्रह नै। “कवीरा खडा बाजार मे सब के मागे खैर, ना किसि से दोस्ती ना किसी से बैर”, म यो विचारप्रति पूर्ण विश्वास राख्ने मात्र होइन, साहित्यमा यो विचारको अनुपालन पनि गर्दछु।
विजय कुमार- रचित ३२६ पृष्ठको “खुसी” नामक कृतिले २०७१ सालको  लागि मदन पुरस्कार पाएको थियो।

प्रतीक दैनिकमा प्रकाशित Saturday, November 03, 2018
विश्वराज अधिकारी                                                 

No comments:

Post a Comment