Friday, November 2, 2018

Special Characteristics of American Economy 220-Affluent Land


अमेरिकी अर्थ व्यवस्थाका विशेषता

२. भूमिको प्रचुरता

    अमेरिकालाई आर्थिक र राजनैतिक रूपमा महाशक्ति तुल्याउनमा यस देशमा उपलब्ध राष्ट्रिय भूमिको फैलावट वा आकारले महत्वपूर्ण भूमिका खेलेको छ। ९८ लाख ३३ हजार ५२० वर्ग किलोमिटरमा फैलिएको अमेरिकाको जनसङ्ख्या केवल ३२ करोड ५७ लाख १९ हजार १७८ (सन् २०१७ को अनुमान अनुसार) मात्र छ। तर ३२ लाख ८७ हजार २६३ वर्ग किलोमिटरमा फैलिएको भारतको जनसङ्ख्या १ अर्ब ३२ करोड ४१ लाख ७१ हजार ३५४ (सन् २०१६ को अनुमान अनुसार) रहेको छ। अमेरिकाको तुलनामा भूमि कम भएको भारतको जनसङ्ख्या अमेरिकाको भन्दा चार गुणाभन्दा बढी छ।

    माथिको तथ्याङ्कले नै प्रष्ट पार्छ भारतमा प्रतिव्यक्ति कृषि भूमि (औसतमा) उपलब्धता ज्यादै न्यून छ। अर्थात् भारतमा भूमिको ठूलो भाग केवल बसोवासमा उपयोग भएर कृषिको लागि उपलब्ध भूमिको आकार ज्यादै न्यून छ। भारत, अमेरिकाको ५० राज्यहरूमध्येको एक टेक्सास, जुन अमेरिकाको दोस्रो ठूलो राज्य हो र जसको क्षेत्रफल ६ लाख ९६ हजार २४१ वर्ग किलोमिटर रहेको छ, भन्दा (क्षेत्रफल आधारमा) सात गुना पनि ठूलो छैन। यसैगरी क्षेत्रफलको आधारमा अमेरिकाको सर्वाधिक ठूलो राज्य अलास्का जसको क्षेत्रफल १७ लाख १७ हजार ८५६ वर्ग किलोमिटर छ, भारतको (क्षेत्रफलमा) आधाभन्दा ठूलो छ। कृषि भूमिको उपलब्धतामा अमेरिकाको स्थान विश्वमा नै अग्रणी छ।

    अब कुरा गरौ चीनको। चीनको क्षेत्रफल ९५ लाख ९६ हजार ९६१ वर्ग किलोमिटर छ। चीनको जनसङ्ख्या भने १ अर्ब ४१ करोड ६८ लाख १८ हजार ९६३ (सन् २०१८) छ। स्मरण रहोस्, चीन जनसङ्ख्याको आधारमा विश्वको सर्वाधिक ठूलो देश हो। क्षेत्रफलको आधारमा चीन अमेरिकाको हाराहारीमा भए तापनि चीनको जनसङ्ख्या भने अमेरिकाको तुलानामा ४ गुणाभन्दा बढी छ। चीनमा पनि भूमिमाथि जनसङ्ख्याको चाप अधिक भएर कृषि योग्य भूमिको उपलब्धता अमेरिकाको तुलनामा कम रहेको देखिन्छ। चीनमा उपलब्ध भूमिको मात्रा हेर्दा चीनले अमेरिका जति राष्ट्रिय भूमिको उपयोग कृषि कार्यमा गर्न सकेको छैन। कृषिमा चीन अमेरिकाभन्दा निकै पछाडि छ।

    अमेरिकामा भूमिको उपलब्धता प्रचुर त छ नै, अमेरिकाले उपलब्ध भूमिको उपयोग पनि अत्यधिक मात्रामा गरेको छ। कृषि क्षेत्रमा ट्याक्टर, मेशीन, उपकरण, औजार, अत्याधुनिक प्रविधि, उन्नत बीउ, मल, कृत्रिम वर्षा, सहज सिंचाइआदि प्रयोग गरेर कृषि उत्पादन बढाउन अमेरिका ज्यादै सफल देखिएको छ। अमेरिकाले कम मानवीय श्रम प्रयोग गरेर धेरै खाद्य वस्तु उत्पादन गर्छ। अमेरिकाले ठूलो मात्रामा कृषिजन्य वस्तुहरू विभिन्न राष्ट्रहरूमा निर्यात गर्छ पनि। गहुँ, मकै, भटमास अत्यधिक मात्रामा उत्पादन गर्छ, साथै जीवित पशु, रातो मासु र त्यसबाट निर्मित वस्तु, दुग्ध पदार्थ, अन्न तथा दाना, चामल, पशु आहारआदि पनि विभिन्न राष्ट्रहरूलाई ठूलो परिमाणमा बिक्री गर्छ।

    कृषि क्षेत्रमा पनि अमेरिकाको स्थान विश्वमा नै अग्रणी छ। विश्व राजनीतिमा मात्र होइन, खाद्य उत्पादनमा पनि अमेरिका महाशक्तिको रूपमा रहेको छ। विश्वभरि अमेरिकाले सर्वाधिक ठूलो परिमाणमा खाद्य पदार्थ निर्यात गर्छ। विश्वमा नै कृषि कार्यमा अमेरिकाले जति कुनै पनि मुलुकले दक्षता प्राप्त गर्न सकेको छैन। चीनको तुलनामा अमेरिकासँग कृषि जनशक्ति कम भए तापनि अमेरिकाले ठूलो परिमाणमा खाद्य पदार्थ उत्पादन गर्छ। क्यालिफोर्निया, आएवा, टेक्सास, नेब्रास्का, इलिनोएजस्ता कृषि–अग्रणी राज्यहरूले ठूलो परिमाणमा खाद्य पदार्थ उत्पादन गर्छन्। प्रथम र दोस्रो विश्व युद्धपछि अमेरिकाको खाद्य उत्पादन ह्वात्तै बढेर गएको छ। र यस्तो हुनुमा अमेरिकामा उपलब्ध भूमिको ठूलो आकारले महत्वपूर्ण भूमिका खेलेको छ।

    विश्वमा कुनकुन राष्ट्रले बढी खाद्य वस्तु उत्पादन गर्छ भन्ने सूची बनाउने हो भने चीनको नाम एक नम्बरमा त्यस पछि भारत, अमेरिका र ब्रजीलको नाम क्रमशः आउँछ। तर चीन, भारत र ब्रजीलले अमेरिकाको जस्तो कृषिमा उच्च दक्षता प्राप्त गरि नसकेको र चीन र भारतले अधिक जनसङ्ख्या भएको कारण उत्पादन गरेको खाद्य वस्तुको ठूलो परिमाण आफैले उपभोग गर्नुपर्ने वा स्वउपभोगमा जाने स्थिति भएकोले चीन र भारत दुवैले ठूलो परिमाणमा खाद्य पदार्थ उत्पादन गर्दा पनि त्यो उत्पादनबाट राम्रो फाइदा (अमेरिका जस्तो) लिन सकेका छैनन्। अर्थात् अमेरिका जति यी ठूला राष्ट्रहरूले खाद्य निर्यात गर्न सकेका छैनन्।

    अमेरिकाले विश्वभरिमा नै सर्वाधिक मासु उत्पादन गर्छ। जर्जिया, आर्कान्सा, अलाबामा, मिनेसोटा, नोर्थ केरोलाइना, नेब्रास्का, क्यान्सस, टेक्सासजस्ता राज्यमा ठूलो परिमाणमा मासु उत्पादन हुन्छ। जापान, मेक्सिको, द कोरिया, कोलम्बिया, पेरू, ताइवान, साउदी अरेबिया, चीन, ग्वाटेमाला, युरोपियन युनियनका राष्ट्रहरूलाई अमेरिकाले ठूलो परिमाणमा मकै बिक्री गर्छ। यसैगरी चीन, युरोपियन युनियनका राष्ट्रहरू, मेक्सिको, इन्डोनेशिया, जापान, इजिप्ट, ताइवान, बङ्गलादेश, पाकिस्तान, थाइल्यान्डलाई ठूलो परिमाणमा भटमास बिक्री गर्दछ।

    अमेरिकासँग प्रशस्त भूमि रहेकोले त्यो भूमिलाई प्रभावकारी किसिमले कृषिमा उपयोग गरेको त छ नै, साथै कृषि कार्य उच्च दक्षताका साथ गरेकोले कृषि उत्पादन पनि बढाउँदै लगेको छ। अमेरिकाले प्रचुर मात्रामा स्वदेशमा नै खाद्य पदार्थ उत्पादन गर्न सकेको हुनाले नै संसारभरि खाद्य पदार्थ सस्तो छ। खाद्य पदार्थ यतिसम्म सस्तो छ कि डलरको सबैभन्दा सानो एकाइ (एक डलर) को पनि विनिमय क्षमता बलियो छ। अर्थात् एक डलरले नै पनि एक व्यक्तिले एक छाक पुग्ने वा पेट भर्ने खाद्य सामग्री बजारबाट सहजै खरिद गर्न सक्छ। खाद्य पदार्थमा आम अमेरिकीले थोरै खर्च गर्नुपरेकोले सामान्य आम्दानी हुने अमेरिकीले पनि आफ्नो मासिक आम्दानीबाट बचत गर्न सक्छ।

    जमिनको प्रचुरता अमेरिकाको आर्थिक विकासको मेरुदण्ड हुन पुगेको छ।
    यातायात व्यवस्थालाई सरल र सस्तो तुल्याउन अमेरिकामा उपलब्ध भूमिको मात्राले ठूलो योगदान पु¥याएको छ। पर्याप्त मात्रामा भूमि भएको कारण नै अमेरिकाले राजमार्ग र शहर–सडकमा ठूलो परिमाणमा जमीनको उपयोग गर्न पाएको छ।
 
    अमेरिका विश्वमा नै सर्वाधिक ठूलो सडक सञ्जाल भएको देश हो। अमेरिकाका सबै सडकहरूको लम्बाइ जोड्ने हो भने ६ करोड ५८ लाख किलोमिटर हुन आउँछ। द्रुततर गतिमा गाडीहरू गुड्ने ‘हाइवे’ हरूको मात्र पनि कुल लम्बाइ ७६ हजार ३३४ किलोमिटर छ। विश्वका ठूला–ठूला हाइवेमध्ये धेरै जसो अमेरिकामा पर्दछन्। ’अन्तर्राज्य इन्टरस्टेट ९०’ अमेरिकाको सर्वाधिक लामो अन्तर्राज्य राजमार्ग हो। यसको लम्बाइ ४ हजार ९९० किलोमिटर छ। यसले अमेरिकी राज्यहरू मासाचुसेट्स र वाशिंगटनलाई जोड्छ र जोड्ने क्रममा अन्य १३ राज्यहरूका विभिन्न भाग पनि छुन्छ। यो राजमार्ग विश्वको नवौं ठूलो राजमार्ग पनि हो।

    पूर्व र पश्चिममा फैलिएको ‘युएस रूट २०’ अमेरिकाको सर्वाधिक लामो र संसारको सातौं सर्वाधिक लामो सडक हो। ठूलो सडक सञ्जाल भएका दस राष्ट्रहरूमध्ये अमेरिकको स्थान अग्रणी छ र त्यसपछि मात्र चीन, भारत, ब्रजील, रूस, जापान, क्यानाडा, फ्रान्स, अस्ट्रेलिया, स्पेनको स्थान क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैठौं, सातौं, आठौं, नवौं र दसौंमा पर्दछ।

    हुनत अमेरिकामा उपनिवेश खडा गर्न युरोपबाट ‘सेटलर्स’ आउँदा अमेरिकामा उपलब्ध ठूलो परिमाण वा आकारको भूमिले नै उनीहरूलाई बढी आकर्षित गरेको थियो। बढी जनसङ्ख्याको तुलनामा युरोपको भूमि साँघुरिंदै गइरहेको थियो। युरोपियनहरू कुनै त्यस्तो नयाँ भूमिको खोजीमा थिए जुन ज्यादै फैलिएको होस् र कृषिका लागि पर्याप्त होस्। सोही खोज अनुसार उनीहरूले नयाँ भूमि (हालको अमेरिका) फेला पारे। पछि यही भूमिको पर्याप्तता अमेरिकाको आर्थिक विकासको ठूलो आधारशिला बन्न पुग्यो। यसरी कुनै समयमा केवल हिंडिरहेको अमेरिकी अर्थ व्यवस्थालाई दौडाउन (तीव्र गतिमा विकास गर्न) अमेरिकामा उपलब्ध ठूलो आकारको भूमिले निर्णायक भूमिका खेलेको छ। क्रमशः

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, November 02, 2018

No comments:

Post a Comment