Thursday, May 7, 2020

Gradual Release in Lock Down Is Necessary-Article-275


क्रमिक र व्यवस्थितरूपमा बन्द खोल्नुपर्छ

चारवटा तत्व (प्राकृतिक स्रोत–भूमि, श्रम, पूँजी र सङ्गठन (उद्यमी) लाई कुनै पनि अर्थव्यवस्थामा उत्पादनका साधनको रूपमा लिने गरिन्छ। वस्तु वा सेवा, कुनै पनि कुरा उत्पादन गर्नका लागि यी चारवटा वा यीमध्ये केही तत्वको आवश्यकता पर्दछ। यी तत्वको अभावमा कुनै पनि देशको अर्थव्यवस्थाले गति पाउन सक्तैन। स्थिर हुन पुग्छ।
    प्राकृतिक स्रोत, श्रम, पूँजी र सङ्गठनमध्ये उत्पादनको कुन साधन महत्वपूर्ण होला त? यो प्रश्नको उत्तर दिने सन्दर्भमा धेरै विवाद पाइन्छ। कसैकसैले पूँजीलाई ज्यादै महत्वपूर्ण मान्ने गर्छन्। उनीहरूको तर्क अनुसार पूँजी नभएमा श्रमको उपयोग कुनै पनि हालतमा गर्न सकिंदैन। श्रमले मात्र पूँजीको उपयोग गर्दछ। तर कसैकसैले भने श्रमलाई सर्वाधिक महत्वपूर्ण मानेको पाइन्छ। उनीहरूको तर्क अनुसार श्रमले नै पूँजी निर्माण गर्दछ किनभने पूँजीको निर्माण आयको असमान वितरणले गर्दा हुन्छ। अर्थात् असमान आय वितरण पूँजीको जनक हो। कुनै व्यक्ति वा संस्था असमान आय वितरण गरेर पूँजीपति हुन पुगेको हुन्छ। यस्तो विश्वास गर्नेहरू धेरै छन्।
    श्रमलाई उत्पादन व्यवस्थाको प्रमुख साधन (केहीको मतानुसार) मानिए तापनि श्रम आफैमा भने अति नै कमजोर हुन्छ। अति नै नाशवान् हुन्छ।
श्रम कसरी कमजोर हुन्छ?
    उपलब्ध तत्व (उत्पादनका साधन) हरूमध्ये श्रम सर्वाधिक शीघ्र नाशवान् तत्व (वस्तु) हो। फलफूल, मासु, तरकारी, साग, दूध, दही आदिलाई शीघ्र नाशवान् वस्तु मानिन्छ। किनभने यिनको उपभोग छोटो वा तोकिएको समयभित्र गरिसक्नुपर्छ नत्र यी वस्तु नष्ट भएर जान्छ। यिनीहरूलाई लामो समयसम्म भण्डार गर्न सकिंदैन। श्रमलाई त झन् छोटोभन्दा छोटो समयको लागि पनि भण्डार गर्न सकिंदैन। अहिले, आज प्रयोग गर्न नसकिएको श्रमको पुनः प्रयोग हुन सक्दैन। प्रयोग नगरेर खेर गएको त्यो श्रम पुनः कहिले पनि, जीवनकालभरि प्रयोग गर्न सकिंदैन। यस कारणले गर्दा श्रम अति नै शीघ्र नाश हुने वस्तु हो र यसलाई तत्काल उपयोग गर्नुपर्छ।
    मानवीय श्रमलाई भण्डार गर्न सकिंदैन। मानवीय श्रमलाई भण्डार गर्न नसकिने भएको हुनाले नै यसको उपयोग वा उपभोग तत्काल गर्नुपर्छ। किनभने गुमेको श्रमको मूल्य (ज्याला, तलब, पारिश्रमिक) लाई कुनै हालतमा, कहिले पनि फर्काउन सकिंदैन। त्यो सदाको लागि नाश भएर जान्छ। क्षति भएर जान्छ। कुनै पनि श्रमिकको गुमेको श्रम सधैंको लागि घाटा हो। यो कारणले गर्दा उत्पादन व्यवस्थामा श्रमलाई ज्यादै कमजोर वस्तु मान्ने गरिन्छ र यो कारणले गर्दा नै श्रमिकहरूलाई श्रम सङ्गठन खोल्ने अनुमति दिइएको हुन्छ। प्रजातान्त्रिक मात्र होइन, कम्युनिस्ट शासन व्यवस्था भएको मुलुकमा पनि, आफ्नो हितको रक्षा गर्न, श्रमिकहरूलाई श्रम सङ्गठन स्थापना र सञ्चालन गर्न छुट दिइएको हुन्छ। श्रमको यो पक्ष निकै दुखान्त छ। त्यस कारण श्रमबारे कुनै पनि निर्णय गर्दा ज्यादै सोचविचार गरेर कुनै किसिमको निर्णय लिनुपर्छ। दैनिकरूपमा श्रम बेचेर जीवन गुजारा गर्नेहरूबारे निर्णय गर्दा झनै गम्भीर भएर निर्णय गर्नुपर्छ।
    श्रमको तत्काल उपयोग गर्नुपर्छ। खेर गएको श्रम कुनै पनि समाज वा देशको लागि ठूलो क्षति हो। श्रमिकहरूको लागि झन् ठूलो क्षति हो। गरीब वा नेपाल जस्तो विकासशील मुलुकको लागि त श्रमको क्षति ठूलो आर्थिक क्षति हो । अपूरणीय क्षति हो। तर अफसोच! नेपालमा अहिले श्रमको ठूलो भाग उपयोग हुन सकिरहेको छैन। राष्ट्रिय श्रम कोठा र घरमा थुनिएको छ। स्थिर छ। नेपालमा हरेक दिन श्रमको ठूलो मात्रामा क्षति भइरहेको छ। यो क्षति कहिले पूर्ति गर्न सकिंदैन। यो यथार्थ हो, कल्पना होइन । कोरोना–सङ्कटभित्र रहेर पनि यो विषयलाई गम्भीरतापूर्वक सोच्नुपर्छ।
    स्वास्थ्य सुरक्षाका तरीकाहरू अँगालेर भएपनि, कोरोना भाइरसको सङ्क्रमणबाट जोगिएर भएपनि यो खेर गइरहेको राष्ट्रिय श्रमको उपयोग गरिनु पर्ने हो। तर उपयोग हुन सकिरहेको छैन। खासमा भन्ने हो भने यो खेर गइरहेको श्रमलाई कसरी उपयोग गर्नेबारे सम्बन्धित पक्ष–सरकार र निजी क्षेत्रले गम्भीरतापूर्वक सोचिरहेका छैनन्। र कसरी सोच्ने भन्ने अनुभवको कमी पनि देखिएको छ। ज्ञानको पनि कमी देखिएको छ।
    भौतिक दूरी राखेर, सुरक्षाका अनेक उपाय अवलम्बन गरेर खेर गइरहेको यो राष्ट्रिय श्रमलाई जोगाउन, उपयोग गर्न भने सकिन्छ। हरेक समस्याले आफै समाधान लिएर आएको हुन्छ। समाधान पत्ता लगाउने विज्ञहरूलाई समस्या पत्ता लगाउने अवसर दिनुपर्यो। उनीहरूलाई जिम्मेवारी दिनु पर्यो।
    संसारका विभिन्न देशका सरकारहरूले क्रमिकरूपमा ‘लकडाउन’ खोलिरहेका छन्। जीवन सामान्य बनाउने ठोस प्रयास गरिरहेका छन्। संयुक्त राज्य अमेरिकाको कुरा गर्ने हो भने सम्पूर्णरूपमा अमेरिकी जनजीवन कहिले बन्द भएन, यो कोरोना सङ्कटमा। बैंक, कार्यालय, स्वास्थ्य संस्था, पसल, रेस्टुराँ आदि व्यवस्थित एवं नियन्त्रितरूपमा सञ्चालित भइ नै रहे। रेस्टुराँहरूमा ‘टेक आउट’, ‘ड्राइभ थ्रु’ विधि अपनाएर उपभोक्ताहरूलाई सेवा दिने कार्य जारी नै रह्यो। सवारीका साधनहरू सडकमा गुडि नै रहे। युरोपका कतिपय देशहरू ‘लकडाउन’ केही खुकुलो पार्दै जीवन सामान्य पार्नेतर्फ क्रियाशील छन्। नेपालमा जनजीवन सामान्य तुल्याउन हामीले अनेक उपाय खोजी गर्न आवश्यक छ। खोजे पाइने हो, नखोजी के पाइन्छ?
    त्यस्ता धेरै काम छन्, जुन समूहगतरूपमा, धेरै व्यक्तिहरू मिलेर गर्नुपर्दैन । सानो समूहमा बसेर वा एकै व्यक्तिले पनि सञ्चालन गर्ने कार्यहरू धेरै छन् । त्यसरी सुरक्षाका विधि अँगालेर गरिने कार्य पनि अनेक छन्। त्यस कारण श्रमिकहरूले काम गर्न सक्ने उपायको खोजी गर्न आवश्यक छ।
    यो ‘लकडाउन’मा पनि श्रमिकहरूले कार्य गर्न सक्ने वातावरण सृजना गर्न एवं अनेक विधि प्रयोग गरेर राष्ट्रिय श्रम कसरी उपयोग गर्न सकिन्छ भन्नेतर्फ लाग्न सरकारले यथेष्ट ध्यान दिएको पाइँदैन। सरकार सत्ता राजनीतिमा मात्र केन्द्रित भएको देखिएको छ भने हामी राजनीतिका अनेक नाटक हेर्नमा।
    हामी अनेक किसिमका राजनीतिक नाटक हेरिरहेका छौं। राष्ट्रिय राजनीतिमा देखाइने ती नाटकमाथि हामी विश्वास पनि गरिरहेका छौं। नाटकका पात्रहरूको पछिपछि दौडेका पनि छौं।
    सांसदजस्तो उच्च पदमा रहेको व्यक्तिको अपहरण भएको पत्यार गर्ने हामी कस्तो? शक्तिको नजीक रहेको र आफै शक्ति–केन्द्र व्यक्ति, सांसदको पनि अपहरण हुन्छ? यदि अपहरण भएकै हो भने, अपहरित व्यक्तिले किन सम्बन्धित सुरक्षा निकायहरूमा ‘मेरो अपहरण भयो’ भनेर खबर गरेन? किन मौन बस्यो? अपहरण भयो भनेर कराउने ठूला नेताहरू पनि कस्ता? यी सबै किसिमका क्रियाकलापहरूले के देखाउँछ भने पक्ष, विपक्षमा रहेका राजनीतिक दलहरू, सरकार, निजी क्षेत्र, जनता, कोही पनि यो स्थिति (खेर गइरहेको श्रमको प्रयोग)प्रति गम्भीर छैनन्। एक पक्षले अर्को पक्षमाथि केवल दोष लगाउने कार्य मात्र गरिरहेको छ। तर सर्वाधिक घाटामा भने दैनिक श्रम बेचेर गुजारा गर्नेहरू परेका छन्।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, May 1, 2020

No comments:

Post a Comment