Friday, May 29, 2020

Unregulated Open Border Causing Economic Development Slow-Article-279


खुला सीमाना आर्थिक विकासको बाधक

नेपालको आर्थिक विकास सुस्त हुनुको अनेक कारणहरू छन। ती अनेक कारणहरू मध्ये एक नेपालको भारतसँगको सीमाना खुला, अनियन्त्रित र अव्यवस्थित हुनु हो। र यो कारण अति नै महत्वपूर्ण प्रकृतिको छ।
सम्भवत: संसारभरिमा, नेपाल मात्र एक यस्तो देश हो जसको सीमाना कुनै छिमेकी देश (भारत) सँग पूर्ण रुपमा खुला छ। नेपालबाट छिमेकी देश भारतमा जान भीसा त परको कुरा हो पासपोर्टसम्म पनि चाहिंदैन। पासपोर्ट मात्र होइन कुनै किसिमको परिचय पत्र पनि चाहिँदैन। छिमेकी देशमा कतिदिन सम्म बस्यो? के काम गर्यो? के प्रयोजनका लागि गएको थियो? यस्ता कुनै पनि किसिमको अभिलेख राखिंदैन। यस्तै स्थिति भारतबाट नेपाल आउने सन्दर्भमा पनि छ। आर्थात भारतबाट नेपाल प्रवेश गर्नेहरूले नेपाल सरकारबाट भीसा लिनु पर्दैन। पासपोर्ट लिनु पर्दैन। यति मात्र होइन, कुनै पनि किसिमको परिचय पत्र समेत देखाउनु पर्दैन। के कति कारणले नेपाल पसेको हो, कहिले सम्म बस्ने हो, आदि पनि खुलाउन पर्दैन। यस्तो पनि अनौठो किसिमको व्यवस्था हुन्छ? यस्तो अनौठो किसिमको व्यवस्था संसारको अन्य कुनै मुलुकमा छैन। केवल नेपाल र भारत बीच मात्र छ।
खुला सीमाना भएको कारणले गर्दा १ अरब ३८ करोड जनसंख्या भएको भारतलाई अनियन्त्रित र अव्यवस्थित रुपमा नेपालीहरूको आफ्नो देशमा प्रवेशले आर्थिक रुपमा ठूलो असर पर्दैन तर केवल ३ करोड जनसंख्या भएको नेपालमा अनियन्त्रित र अव्यवस्थित किसिमकले आफ्नो देशमा भारतीयहरूको प्रवेशले ठूलो नकारात्मक आर्थिक असर पार्छ। यो असर यस्तो हुन्छ, जस्तो कि हात्ति र खरायोलाई एउटै थालमा खान दिइएको होस। हात्ति र खरायोलाई एउटै भाँडोमा खान दिए भने स्थिति कस्तो हुन्छ पाठकहरूले आफैले थाहा पाउनु पर्ने कुरा हो। कसले कत्ति खान पाउँछ र को भोको हुन पुग्छ आफैले बुझ्ने कुरा हो।
यो आलेखमा नेपालको आर्थिक विकास सुस्त हुनुमा कसरी नेपाल र भारत बीचको अनियन्त्रित एवं अव्यवस्थित खुला सीमाना महत्वपूर्ण कारण हुन पुगेको छ त्यसबारे चर्चा गरिने छ। दृश्य र अदृश्य तथ्यहरूको खोजी गरिने छ। र प्रस्तुत गरिने छ।  
भारत अहिले विप्रेषण (Remittance) ल्याउने राष्ट्रहरूमा विश्वमा नै पहिलो रहेको छ। संसारका अनेक राष्ट्रमा छरिएर रहेका भारतीय श्रमिकहरुले आफू रोगजार रहेको देशबाट ठूलो मात्रमा विप्रेषण स्वदेश (भारत) पठाउँछन। तर विप्रेषण पठाउने राष्ट्रहरूको श्रेणीमा भारतको स्थान पाँचौ छ। विप्रेषण सर्वाधिक पठाउने राष्ट्रहरूमा एक, दुई, तिन र चार नम्बरमा क्रमश: मलेशिया, अमेरिका, कतार र जापान रहेका छन। अर्थात भारतले विदेशबाट कमाएर ल्याएको आयको ठूलो हिस्सा स्वदेशमा राख्न सकेको छ। यसैगरी भारतमा अनेक किसिमका जनशक्ति भएकोले उसले अनेक देशबाट कमाएर, आय भित्र्याउने क्षमता प्राप्त गरेको छ। तर नेपालको स्थिति पृथक छ। नेपालले जति (विदेशबाट आय आर्जन गरेर) विप्रेषण विश्वका अनेक मुलुकहरूबाट प्राप्त गर्दछ त्यसको कैयौ गुणा बढी विप्रेषण भारत पठाउँछ। नेपालले ठूलो परिमाणमा विप्रेषण भारत पठाउनुको प्रमुख कारण हो नेपालको श्रम बजारमा ठूलो संख्यामा भारतीय श्रमिहरूको उपस्थिति। र नेपालको श्रम बजारमा भारतीय श्रमिकहरूको ठूलो संख्यामा उपस्थिति हुनुको कारण नेपालमा कुसल वा आवश्यक जन शक्तिको अभाव हो। हामीले सजिलो र अज्ञानताले गर्दा मुलुक (नेपाल) लाई चहिने अनेक किसिमका जनशक्ति नेपालमा उत्पादन गरेनौ र गरिरहेका पनि छैनौ। र आवश्यक जन शक्तिको लागि भारतीय श्रमिकहरूलाई उपयोग गरि रह्यौ, अहिले पनि गरि रहेका छौ। अर्थात आफूले विदेशबाट कमाएर ल्याएको विप्रेषण वा गार्यहस्थ उत्पादनको ठूलो भाग भारत पठाइनै रह्यो, अहिले पनि पठाइ रहेका छौ। भारतीय श्रमिकहरू अनियन्त्रित र अव्यवस्थित किसिमले नेपाली श्रम बजारमा प्रवेश गर्न सक्ने स्थिति नेपाल-भारत बीचको खुला सीमानाले गर्दा उत्पन्न पनि हो।    
भारतको श्रम बजारमा नेपाली श्रमिकहरूको उपस्थिति पनि ठूलो संख्यामा छ। र यो स्थिति पनि अनियन्त्रित र अव्यवस्थित खुला सीमानाले गर्दा भएको हो। तर यहाँ बुझ्नु पर्ने महत्वपूर्ण तथ्य के छ भने भारतीय श्रम बजारमा अकुसल नेपाली श्रमिकहरूको उपस्थिति रहने भएकोले उनीहरूले राम्रो आम्दानी प्राप्त गर्न सक्तैनन र विप्रेषण पनि ठूलो परिमाणमा पठाउन सक्तैनन। तर भारतीय श्रमिकहरूले सक्छन। यसरी खुला सीमानाको कारणले गर्दा नेपाली श्रमिकहरू भन्दा भारतीय श्रमिकहरू बढी लाभ प्राप्त गरि रहेका छन। अर्थात खुला सीमानाको बढी फाइद भारतले उठाइ रहेको छ भने नेपाल ठगिएको छ।
खुला सीमाना भएको  कारणले गर्दा नेपालको पश्चिमी क्षेत्र जस्तै बाँके, बर्दिया, कैलाली, कन्चनपुर, दार्चुला, बैतडी, आछाम, सल्यान, प्युठान, रोल्पा, दांग, रुकुम, मुगु आदिबाट नेपाली श्रमिकहरू ठूलो संख्यामा भारत कामको खोजीमा जान्छन। नेपालको केही पूर्वी क्षेत्रवाट पनि यस्तो हुन्छ। यस्तो किन भएको होला? यस्तो किन भएको हो भने मान्छेले जहिले पनि उपलब्ध विकल्पहरू मध्ये सजिलो विकल्प रोज्छ र त्यसरी रोज्नु स्वभाविक पनि हो। अर्थात नेपाली (श्रमिक) हरूले आफ्नो स्थानीय स्रोत र साधनको खोजी र उपयोग गर्नुको साटो भारतीय श्रम बजारमा पस्नु सजिलो ठान्छन, त्यो विकल्प रोज्छन र भारतीय श्रम बजारमा प्रवेश गर्छन। र अर्कोतिर खुला सीमानाले गर्दा नेपालीहरु भारतीय श्रम बजारमा प्रवेश गर्ने सहज स्थिति पहिले देखि विद्यमान रहेको छ। यो कारणले गर्दा पचासौं वर्षदेखि, खास गरी, पश्चिम नेपालका व्यक्तिहरूले आफ्नो स्थानीय स्रोत र साधनहरूको उपयोग गर्नुको सट्टा रोजगारका लागि भारतीय श्रम बजार रोजिरहेका छन। अर्कोतिर नेपालमा नै पर्याप्त मात्रमा जल, जमिन, जंगल, जडीबुटी, जनशक्ति, जनावर, जराजुरी तथा उपयुक्त जलवायु (अष्ट ज) भएता पनि त्यसको उपयोग हुन सकेको छैन। अष्ट ज (थप जानकारीका लागि https://astajardcnepal.org/ हेर्नु होला) लाई भरपर्दो स्रोतहरूको रुपमा उपयोग गर्न सकिएको छैन। हामीले उल्टो भारतप्रतिको आर्थिक निर्भरता बढाएर लगेका छौ। यसरी निर्भरता वृद्धि हुनुमा सरकार भन्दा हामी जनता नै बढी दोषी छौ। हामी अनजानमा भारतलाई आर्थिक रुपमा सबल तुल्याइ रहेका छौ। यसै गरी रोजगारीका लागि भारतीय सेनामा भर्ना भएर रणनैतिक हिसाबले बलियो हुन हामीले भारतलाई सहयोग पुर्याइ रहेका छौ पनि। हाम्रो गरिबी साधन र स्रोतको कमीको उपज होइन, अज्ञानताको उपज हो। र यो अकाट्य सत्य हो। प्रमाणित यथार्थ पनि हो।
भारत सङ्गको खुला सीमानाले गर्दा नेपालका सीमाना नजिकका शहरहरू- विराटनगर, जनकपुर, भैरहवा, नेपालगंज, राजविराज आदिको आर्थिक उन्नति हुन कठिन भयो। उदाहरणका लागि वीरगञ्जको आर्थिक विकास तिब्र गतिमा हुन सकेन जबकी आर्थिक विकासका लागि चहिने पूर्वाधारहरू अन्य सहरको तुलनाम वीरञ्जमा अझ बढी पर्याप्त मात्रामा थियो, र अहिले पनि छ। भारतीय शहर रक्सौल नजिक भएकोले यातायात (रेल र समुन्द्री मार्गबाट समान ल्याउन) को सुविधा वीरगञ्जले राम्रो प्राप्त गरेको छ। कच्चा पदार्थ प्राप्त गर्न र उत्पादित समाग्री देश भित्र वा बाहिर पठाउन वीरगञ्जलाई सजिलो छ। वीरगञ्जको जलवायु अनुकूल छ। वीरगञ्जले उद्योग र व्यापारको लगि चाहिने जन शक्ति सजिलै प्राप्त गर्न सक्छ। इन्धन वीरगञ्जलाई सजिलै प्राप्त हुन सक्छ। तर यति हुँदा हुँदै पनि वीरगञ्जको तिब्र आर्थिक विकास किन हुन सकेन? वीरगञ्जको तुलनामा किन काठमाडौको आर्थिक विकास तिब्र गतिमा भयो? जबकी काठमाडौ, रक्सौल (व्यापार बिन्दू) देखि धेरै पर छ। उत्तर सरल छ। ग्रेटर वीरगञ्ज, भारतीय बजारहरूबाट ज्यादै नजिक भएकोले यस सहर वरपरका क्रेताहरूलाई वीरगञ्जमा उत्पादि सामान खरिद गर्नु भन्दा रक्सौलमा सामान खरिद गर्नु सस्तो भएकोले उनीहरूले वीरञ्जमा उत्पादित सामाग्रीहरू खरिद गर्नुको सट्टा भारतीय सामानहरू खरिद गरे, अहिले पनि गरि रहेका छन। र वीरगञ्ज वरिपरिका क्रेताहरूलाई त्यस्तो गर्न खुला सीमानाले सजिलो पारिदियो। काठमाडौको स्थिति भने फरक भयो किनभने काठमाडौका क्रेताहरू काठमाडौमा उत्पादित सामाग्रीहरू खरिद गर्न बाध्य भए किनभने काठमाडौबाट भारतीय बजारहरू नजिक छैनन्।
नेपाली अर्थतन्त्रको विश्लेषण शूक्ष्म किसिमले गर्ने हो भने खुला सीमानाको कारणले गर्दा नेपालका भारतीय सीमा नजिक रहेका शहरहरूको आर्थिक विकास हुन सकेन र अहिले पनि हुन सकिरहेको छैन भन्ने तथ्य प्रष्ट हुन आउँछ। यो विचार भारतप्रतिको नकारात्मक धारणले उत्पन्न भएको होइन। यो धारणा नेपालको आर्थिक स्थितिको यथार्थ विश्लेषणबाट उत्पन्न भएको हो। गहिरो अध्ययन र अनुसन्धानबाट उत्पन्न भएको हो। जहिलेसम्म नेपाल र भारत बीच अव्यवस्थित र अनियन्त्रित खुला सीमाना रही रहन्छ तबसम्म नेपालको आर्थिक विकास तिब्र गतिमा हुन सक्तैन बरू भारतप्रतिको आर्थिक निर्भरता बढेर जान्छ।
भारतसङ्गको खुला सीमानाले गर्दा आर्थिक विकासका ठूला ठूला औसरहरू मधेस-तराईले गुमाइ रहेको छ। यो क्षेत्र तुलनात्मक रुपमा गरिब हुँदै पनि गएको छ। यो क्षेत्रवाट युवाहरू ठूलो संख्यामा रोजगारका लागि अहिले खाडीका देशहरूमा प्रवेश गर्नुले पनि यस कुराको पुष्टि हुन्छ। कुनै बेला तराइ-मधेसलाई अन्नको भण्डार मान्ने गरिन्थ्यो। यहाँको समतल भूमिले अन्न उत्पादनमा ‘रेकर्ड’ कायम गरेको थियो। सरल जीवन यापनका लागि पहाडबाट मानिसहरू तराइ-मधेस झर्थे। अहिले स्थिति यस्तो छ कि तराइ-मधेसका व्यक्तिहरू रोजगारका लागि तराइबाट बाहिर (नेपालका पहाडी सहरहरू लगायत खाडी मुलुकहरू) पुगि रहेका छन।
ठूलो रूख मुनी साना बिरुवाहरू उम्रिन र हुर्किन सक्तैन। यो यथार्थ अर्थतन्त्रमा पनि लागू हुन्छ। भारत जस्तो विशाल अर्थतन्त्रको छायामा, खुला सीमानाको कारणले गर्दा, नेपाल जस्तो सानो अर्थ तन्त्रले विकास गर्न सक्तैन। नेपाल-भारत बीचको सीमानालाई जहिले सम्म व्यवस्थित र नियन्त्रित गरिंदैन, जहिले सम्म बिना पासपोर्ट एवं भिस भारतीयहरू लाई नेपालमा प्रवेश गर्न दिइन्छ, नेपालको आर्थिक विकास तिब्र गतिमा हुन असम्भव नै छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Wednesday, May 27, 2020    

No comments:

Post a Comment