Friday, June 5, 2020

South Asian Market Under Black Shadow of Indo-Park Relations-Article-280


भारत–पाकिस्तान कटुताको छायामा दक्षिण एशियाली बजार



बजारको दृष्टिकोणले दक्षिण एशिया संसारकै बृहत् बजार हो। विश्वको कुल जनसङ्ख्याको लगभग २५ प्रतिशतको आश्रयस्थल दक्षिण एशिया हो। जनसङ्ख्याको आधारमा संसारको दोस्रो ठूलो देश भारत, दक्षिण एशियामा पर्छ। यसैगरी, जनसङ्ख्याको आधारमा विश्वको पाँचौं र आठौं ठूलो देश क्रमशः पाकिस्तान र बङ्गलादेश पनि दक्षिण एशियामा नै पर्छ। यति ठूलो जनसङ्ख्या भएको दक्षिण एशियाली क्षेत्र किन एक भरपर्दो एवं लाभदायक बजार क्षेत्र हुन सकेको छैन? दक्षिण एशियाका यी राष्ट्रहरूले एकअर्कालाई आर्थिक सहयोग गरेर किन उच्चतम व्यापार लाभ लिन सकिरहेका छैनन्? यी दुवै प्रश्नको उत्तर भारतसँग सम्बन्धित हुन पुग्छ। भारतले गर्दा नै दक्षिण एशिया सङ्गठित, भरपर्दो एवं लाभदायक बजार हुन सकेको छैन। छिमेकी मुलुकसँग भारतको कटुतापूर्ण व्यवहारले गर्दा पर्याप्त सम्भावना बोकेको, ठूलो सङ्ख्यामा उपभोक्ताको बसोवास रहेको, दक्षिण एशियाली क्षेत्र लाभदायक बजार हुन सकेको छैन। उल्टो यो क्षेत्र गरीबीको कुचक्रबाट बाहिर आउन सकिरहेको छैन।
    भारत र पाकिस्तानबीच शत्रुतापूर्ण व्यवहारले गर्दा त झन् दक्षिण एशिया अस्थिर बजार हुन पुगेको छ। भारत र पाकिस्तानबीचको व्यवहार कटुतापूर्ण मात्र छैन, यी दुई देशबीच विगतमा कैयौं  युद्ध भइसकेको छ। र भविष्यमा पनि युद्ध हुने सम्भावना उत्तिकै छ। कश्मीरको समस्याले गर्दा भारत र पाकिस्तानबीच सुमधुर सम्बन्ध हुने सम्भावना टाढा–टाढासम्म देखिंदैन। अर्थात् भारत र पाकिस्तानबीच कायम शत्रुता दीर्घकालीन छ। यी दुई देशबीच सुमधुर सम्बन्ध बनाउने महत्वपूर्ण कडीको रूपमा रहेको ‘काश्मीर समस्या’ पचासौं वर्षसम्म समाधान हुने छाँटकाँट छैन। र यो स्थितिले दक्षिण एशियाली बजारलाई लामो समयसम्म सताइरहने देखिन्छ।
    भारतको श्रीलङ्कासँग पनि राम्रो सम्बन्ध छैन। एक समय (5 May 1976–18 May 2009) मा श्रीलङ्कामा स्थानीय तमिल विद्रोहीहरू (LTTE- Liberation Tigers of Tamil Eelam) ले गरेको अति नै रक्तपातपूर्ण सङ्घर्षमा विद्रोही तमिलहरूलाई भारतले सहयोग गरेको थियो भन्नेहरू धेरै छन्। भारतीय मूलका विद्रोही तमिलहरूले श्रीलङ्कामा एउटा अलग तमिल राज्यको माग गरेका थिए। र तमिल विद्रोहीहरूको नेतृत्व भिलुपिलाई प्रभाकरणले गरेका थिए। उक्त सङ्घर्षमा विद्रोही र राज्य पक्षका गरेर लाखौं नागरिकको ज्यान गएको थियो र सोही सङ्ख्यामा अनेकौं बेपत्ता भएका थिए। त्यसबेला श्रीलङ्कामा भारतविरोधी भावना यति उग्र भएको थियो कि भारतका तत्कालीन प्रधानमन्त्री राजीव गाँधी राजकीय भ्रमणमा श्रीलङ्का गएको बेला कोलम्बोस्थित राष्ट्रपति निवासअगाडि श्रीलङ्काका एक सैनिकले उनको हत्या गर्ने उद्देश्यले बन्दूकले प्रहार गरेका थिए। त्यसरी बन्दूकले प्रहार गर्ने व्यक्ति श्रीलङ्काका सिहांली समुदायका विजिता रोहना थिए। भारत सरकारले श्रीलङ्काको अन्तरिक मामिलामा हस्तक्षेप ग–यो भनेर रोहना अति क्रुद्ध भएका थिए। यो घटना 30 July 1987 मा घटेको थियो। र घटनाले विश्वभरि नै चर्चा पाएको थियो।
    हालैमा नेपालसँग भारतले गरेको सीमासम्बन्धी व्यवहारले पनि यो क्षेत्रको आपसी व्यापारलाई अझै बढी नकारात्मक प्रभाव पार्ने सम्भावना बढेर गएको छ।
    नेपालसँगको सीमा विवादमा भारतले यस किसिमको अडान लिएको छ कि यो समस्या सहजै समाधान हुने सम्भावना देखिंदैन। एकातिर भारतले यो विवाद समाधान गर्न लचकता देखाएको छैन भने अर्कोतिर उसले नेपालको भूमि मिचेर सडक निर्माणसमेत गरिसकेको छ। यस्तो अवस्थामा भारतको नेपालसँगको सीमा विवाद लामो समयसम्म चल्ने र सहजै समाधान ननिस्किने किसिमको हुँदै गएको छ। यो कारणले गर्दा नेपाल–भारत व्यापारिक सम्बन्ध सुमधुर एवं लाभदायक हुने कुराको प्रत्याभूति गर्न सकिंदैन। उल्टो नेपाल र भारतबीचको व्यापारिक सम्बन्ध अस्थिर, अनिश्चित एवं अलाभदायक हुन पुग्छ। र यो स्थिति दुवैतिर हुन्छ। भारतलाई पनि घाटा लाग्नेछ। भारतले किन छिमेकी राष्ट्रहरूसँग राम्रो सम्बन्ध कायम गर्न सकेको छैन? र त्यस्तो प्रयास पनि किन गरिरहेको छैन? यस प्रश्नको उत्तर खोज्नु आवश्यक छ।
    वर्तमान भारतमा तीन शक्ति छन्–पहिलो शक्ति हो, भारतको जनता। तर भारतीय जनता नेपाल–भारत सम्बन्ध सुमधुर  बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्तैन। जनस्तरमा नेपाल–भारत सम्बन्ध अति मैत्रीपूर्ण भए तापनि त्यसले दुई देशको राजनीतिक सम्बन्धलाई सकारात्मक प्रभाव पार्न सकेको छैन। यहाँ नेपाल र भारतबीच जनस्तरमा अति मैत्रीपूर्ण सम्बन्ध रहेको तथ्य राख्नु सान्दर्भिक होला। पहिलो, भारतको ‘आजादी की लडाइँ’ वा ‘स्वतन्त्रता सङ्ग्राम’मा अङ्ग्रेजहरूको विरोधमा र भारतीयहरूको समर्थनमा सङ्घर्ष गर्न नेपालबाट अनेकौं व्यक्ति भारत गएका थिए। दोस्रो, भारतका अनेक ख्यातिप्राप्त व्यक्तिहरूको नेपालका अनेक परिवारसँग सुमधुर सम्बन्ध थियो र अहिले पनि छ। भारतका ख्यातिप्राप्त साहित्यकार ‘फणीश्वरनाथ रेणु’ विराटनगरस्थित कोइराला निवासमा लामो समय बसेका थिए। नेपाल र विपी कोइरालाप्रति उनको अगाध प्रेम र सम्मान थियो। जनस्तरमा नेपाल र भारतबीच अति नै सुमधुर सम्बन्ध छ र कुनै पनि किसिमको समस्या छैन।
    भारतको दोस्रो शक्ति हो– कर्मचारीतन्त्र। यो कर्मचारीतन्त्र जहिले पनि नेपाल र भारतबीच सम्बन्ध खराब पार्न सक्रिय रहन्छ। कर्मचारीतन्त्रले नेपाललाई ‘सानो भाइ’को रूपमा देख्छ र सानो भाइलाई ‘साइजमा राख्न’ नीति राख्छ। यो कर्मचारीतन्त्रको एउटा निर्धारित नीति छ र यो नीति अन्तर्गत रहेर नै यसले भारतका छिमेकी राष्ट्रहरूसँग (कटुतापूर्ण) व्यवहार गर्न भारत सरकारलाई हरदम निर्देशित गर्छ। भारतमा जुनसुकै दलको सरकार आए पनि कर्मचारीतन्त्रको इशारामा चलेको उदाहरण धेरै छ। भारतको यो कर्मचारीतन्त्रले नै नेपालमाथि विगतमा चारपटक आर्थिक नाकाबन्दी गर्न सरकारलाई निर्देशित गरेको थियो। स्मरण रहोस्, भारतले पहिलोपटक २०१९ (नेहरू), दोस्रोपटक २०२७ (इन्दिरा गाँधी), तेस्रो २०४५ (राजीव गाँधी) र चौथो २०७२ (मोदी) सालमा गरी चारपटक आर्थिक नाकाबन्दी गरिसकेको छ। छिमेकीहरूका लागि मात्र होइन, भारतको आर्थिक विकासको लागि पनि त्यै कर्मचारीतन्त्र बाधक हुन पुगेको छ। यो कर्मचारीतन्त्रले भारत–पाकिस्तान सम्बन्ध झन् कटुतापूर्ण तुल्याउन विशेष भूमिका खेलेको छ।
    भारतको तेस्रो शक्ति हो– प्रभावशाली भारतीय नेताहरूको समूह। केही नेताहरूको यो समूहले एउटा अनुदारवादी धारको प्रतिनिधित्व गर्छ र छिमेकीहरूलाई ‘साइज’मा राख्नुपर्छ भन्ने धारणामा बलियो गरी विश्वास गर्छ। छिमेकीहरूलाई धनी एवं शक्तिशाली हुन दिनुहुँदैन भन्ने कुरालाई सिद्धान्त मानेर तदनुरूप व्यवहार गर्छ र दक्षिण एशिया मात्र होइन, विश्वकै नेतृत्व भारतले गर्नुपर्छ भन्ने सपना देख्छ र त्यो सपनालाई व्यवहारमा उतार्न छिमेकीहरूमाथि थिचोमिचो गर्न सरकारलाई निर्देशित गर्छ र आफू वा आफ्नो दल सरकारमा रहेको बेला त्यस किसिमको व्यवहार गर्छ। नेहरू परिवारले छिमेकी राष्ट्रहरूसँग यस्तो व्यवहार गर्नुपर्छ भन्ने धारणाको प्रतिनिधित्व गर्छ। स्मरण रहोस्, भारतकी प्रम इन्दिरा गाँधीको पालामा नै पाकिस्तान विभाजित भएर (पूर्वी पाकिस्तान छुट्टिएर) बङ्गलादेश निर्माण भएको थियो। इन्दिरा गाँधीले बङ्गलादेशलाई सहयोग गर्न भारतीय सेना नै पठाएकी थिइन्। पछिल्लो समयमा तत्कालीन राजा वीरेन्द्र शाहलाई तत्कालीन भारतीय प्रम राजीव गाँधीले दिल्लीको एउटा होटलमा अशोभनीय व्यवहार गरेका थिए। भारतमा त्यस्ता अन्य थुप्रै प्रभावशाली नेताहरू छन्, जो नेपाललाई भारतको सुरक्षा छाताभित्र राख्न खोज्छन्। नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र मान्दैनन्। नेपाल र चीनबीच राम्रो व्यापार वा आवतजावत हुनेबित्तिकै भारतको लागि खतरा देख्छन्। सिक्किमको भारतमा विलय गाँधी परिवार शासनमा रहेको बेला नै भएको थियो।
    भारत प्राकृतिक सम्पदाले भरिएको एक समृद्ध राष्ट्र हो। भारतमा आर्थिक विकासका अनेक सम्भावनाहरू छन्, आर्थिक अवसरहरू छन्। यिनको प्रयोग गर्ने हो भने भारतले तीव्र गतिमा आर्थिक प्रगति मात्र गर्दैन, गरीबीको रेखामुनि रहेका करोडौं परिवारको आर्थिकरूपमा उद्धार गर्न सक्छ। तर यसका लागि भारतले उदार विदेश र अन्तर्राष्ट्रिय व्यापार नीति अवलम्बन गर्न आवश्यक छ। आफ्ना छिमेकीसँग समानतामा आधारित सुमधुर सम्बन्ध कायम गर्न आवश्यक छ। छिमेकी राष्ट्रहरूको सार्वभौमसत्ताको सम्मान गर्न आवश्यक छ।
    छिमेकीहरूलाई बलपूर्वक दबाउनुपर्छ भन्ने नीतिमा भारतले सुधार ल्याउनुपर्छ, यदि भारतको आर्थिक विकास तीव्र गतिमा गर्ने इच्छा छ भने। भारतले यस्तो गर्ने हो भने दक्षिण एशिया विश्वको नै बलियो र लाभदायक बजार हुन पुग्छ। भारतले यो कुरा बुझ्न जरुरी छ कि ग्राहक (छिमेकी मुलुक) हरू आर्थिकरूपमा बलियो भए मात्र उसको पसल चल्छ। अर्थात् भारतको निर्यात बढ्छ। भारतमा अहिले पनि झोपडपट्टीमा बस्नेहरूको सङ्ख्या ठूलो छ। उनीहरूको जीवनस्तरमा सुधार आउन सक्छ।
    दक्षिण एशियालाई भरपर्दो एवं लाभदायक बजार बनाउन भारतले विशेष भूमिका खेल्न सक्छ। तर भारतले वर्तमान नीतिलाई नै निरन्तरता दिने हो, छिमेकीहरूसँग राम्रो सम्बन्ध नराख्ने हो भने छिमेकीहरूको मात्र होइन भारतको पनि आर्थिक विकास तीव्र गतिमा हुन मुश्किल हुनेछ। दक्षिण एशिया एउटा कमजोर बजारमा रूपान्तरित हुनेछ।
    जसरी नाटा, बेनेल्कस, आशियान, ओपेक, युरोपियन युनियनजस्ता सङ्गठनहरूले आफ्ना सदस्य राष्ट्रबीच राम्रो सम्बन्ध स्थापित गरेर आर्थिक लाभ प्राप्त गरिरहेका छन्। त्यसैगरी, सार्कको उपयोग गरेर यस सङ्गठनका सदस्य राष्ट्रहरूले बढी आर्थिक लाभ प्राप्त गर्न सक्छन्। तर सार्कलाई बढी भरपर्दो र लाभदायक बनाउने जिम्मेवारी भारतले लिनुपर्छ। निष्कर्षमा दक्षिण एशियाको आर्थिक भविष्य भारतले आफ्ना छिमेकी राष्ट्रहरूसँग कसरी व्यवहार गर्छ, त्यसमा निर्भर गर्छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, June 5, 2020

No comments:

Post a Comment