Friday, October 20, 2023

Could Hamas-Israel Conflict Cause Global Economic Crisis?-Article- 428

 विश्व अर्थव्यवस्थामा नयाँ सङ्कटको सङ्केत

विश्व अर्थव्यवस्था पहिलेदेखि नै समस्याग्रस्त थियो, अब अर्को एउटा ठूलो र दीर्घकालसम्म प्रभावित गर्ने समस्या विश्व अर्थव्यवस्थामा थपिएको छ। इजराइल–हमास युद्धले विश्वलाई लामो समयसम्म शान्तिपूर्वक रहन नदिने सङ्केत दिइरहेको छ। कोभिड–१९ को असरबाट मुक्त हुन खोजिरहेको विश्व अर्थव्यवस्था पुनः अर्को समस्याले छोपिन थालेको छ। युक्रेन युद्धले विश्व अर्थव्यवस्थालाई, अर्कोतिर, उत्तिकै सताएको छ। 

आकारको दृष्टिकोणले इजराइल–हमास युद्ध सानो देखिए पनि प्रभावको हिसाबले भने यी दुईबीचको युद्ध ज्यादै ठूलो छ। यो युद्धलाई समयमैं शान्तिवार्ताद्वारा समाप्त नगर्ने हो भने यसले तेस्रो विश्वयुद्धको रूप लिन सक्छ। अहिले नै पनि यो युद्धमा प्रत्यक्षतः केवल दुई पक्ष इजराइल र हमास संलग्न देखिए तापनि अप्रत्यक्षरूपमा अनेक राष्ट्र संलग्न भइसकेका छन्। अप्रत्यक्षरूपमा अमेरिका, ब्रिटेन, फ्रान्स, बेल्जियम, क्यानडा, इरान, इजिप्ट, जोर्डन, सिरिया, लेबेनान, रूस, कतार, साउदी अरेबिया आदि संलग्न भइसकेका छन्।

मध्यपूर्वमा भएको यो युद्धबारे कुरा गर्नुपूर्व हमासबारे कुरा गर्नु उचित होला। अहिलेसम्म फिलिस्तिनीहरूले गाजा क्षेत्रमा मात्र प्रभावकारी किसिमले इजराइलविरुद्ध कारबाही गरिरहेका थिए। तर अचानक हमास गाजा क्षेत्रभित्र कसरी आयो र यति शक्तिशाली हुन पुग्यो? गत अक्टुबार ७ (२०२३) का दिन इजराइलभित्र पसेर कसरी १४०० भन्दा बढी व्यक्तिको हत्या गर्न सक्यो? कसरी २०० भन्दा बढी व्यक्तिलाई बन्दी बनाउन सफल भयो? फिलिस्तिनी क्षेत्रभित्र रहेर इजराइलविरुद्ध कार्य गरिरहेको यो सङ्गठन हमास कसरी यति शक्तिशाली हुन पुग्यो? कसले हमासलाई हातहतियार उपलब्ध गराइरहेको छ ? इजराइलविरुद्ध हमास कसरी इजराइलको भूमिमा पसेर हजारौंको हत्या गर्न सक्यो? सपनामा पनि नसोचिएको कुरा कसरी भयो?

माथिका प्रश्नहरूको उत्तर अति सजिलो छ। फिलिस्तिनी स्वतन्त्रताका लागि इजराइलविरुद्ध सङ्घर्ष आरम्भ गर्ने सङ्गठन हमासले पर्दा अगाडि फिलिस्तिनी स्वतन्त्रताको लागि सङ्घर्ष गरेको देखिए पनि पर्दापछाडि इरानको लागि कार्य गर्छ। अर्को शब्दमा हमासलाई इरानले प्रयोग गरिरहेको छ । हमास इरानको सेना हो। इजराइललाई कमजोर पार्न, विश्व मानचित्रबाट इजराइललाई हटाउन, इरानले हमास लडाकाहरू तयार पारेको हो।

लेबनानलाई कमजोर पार्ने इरानले त्यहाँ ‘हिजबुल्ला’ नामक विद्रोही सङ्गठनको स्थापना र सञ्चालन गरेझैं फिलिस्तिनी क्षेत्रमा पनि हमास नामक विद्रोही सङ्गठन स्थापना एवं सञ्चालन गरेको छ। इरान यो क्षेत्रमा ‘महाशक्ति’ बन्न चाहन्छ। 

अर्कोतिर चारैतिरबाट आर्थिक घेराबन्दी वा नाकाबन्दीमा परेको इरान अचानक बलियो भएको छ। कसरी भएको होला? इरान अहिले रूसको साथ पाएर बलियो हुन पुगेको हो। रूसले अहिले इरानलाई अमेरिकाविरुद्ध प्रयोग गरिरहेको छ। मध्यपूर्वलगायत अरबजगत्मा अमेरिकालाई राजनीतिक र आर्थिकरूपमा कमजोर पार्न इरान रूसको बलियो मोहरा हुन पुगेको छ। यो कारणले गर्दा अहिले रूसले इरानलाई अनेक किसिमका सहयोग गरेर यो क्षेत्रमा बलियो बनाउन खोजिरहेको छ। सामान्य किसिमले हेर्दा हमासले आफ्नो शक्तिले काम गरेको देखिए तापनि भित्री तवरले हेर्ने हो भने हमासलाई इरान र रूसको साथ र सहयोग छ।

अति महत्वाकाङ्क्षी वर्तमान रूसी राष्ट्रपति सदासर्वदा रूसको नेता र सर्वोच्च स्थानमा रहन चाहन्छन्। शक्ति र सत्ताबाहिर जान चाहँदैनन्। उनको यो महत्वाकाङ्क्षा पूरा गर्नका लागि उनी रूसी जनतालाई आफू राष्ट्रवादी हुँ भनी देखाउन चाहन्छन्। रूसको प्रमुख शत्रु अमेरिका हो भनी आफ्ना देशवासीलाई देखाउन चाहन्छन्। आफूले मात्र अमेरिकासँग टक्कर लिन सक्ने आफ्ना देशवासीलाई भन्नु उनको रणनीति हो।

साथै अमेरिका आर्थिकरूपमा कमजोर भए मात्र आफू सधैं रूसको गद्दीमा बस्न सक्ने कुरा पुटिनलाई राम्ररी थाहा छ। यो कारणले गर्दा पुटिन अमेरिकालाई नियोजित किसिमले आर्थिकरूपमा कमजोर पार्न खोजिरहेका छन्।

अमेरिकालाई आर्थिकरूपमा कमजोर पार्न पुटिन अमेरिकालाई निरन्तर युद्धमा संलग्न गराउन चाहन्छन्। पुटिनको यो योजना अनुसार नै उनले रूस–युक्रेन युद्धमा अमेरिकालाई संलग्न गराएका हुन्। अमेरिकाले युक्रेनलाई अर्बौं डलर आर्थिक सहयोग गरेको जगजाहेर छ।

अमेरिकालाई कमजोर बनाउन नै पुटिनले हमासलाई उचालेका हुन्। हमासले इजराइलमाथि हमला गरेमा इजराइल अशान्त र कमजोर हुन्छ। इजराइललाई यस्तो सङ्कटको घडीमा मित्र अमेरिकाको सहयोग आवश्यक पर्छ। र यस्तो स्थितिमा अमेरिकाले इजराइललाई ठूलो आर्थिक सहयोग गरेमा, वा गर्नुपरेमा, अमेरिका पनि प्रभावित हुन्छ। अमेरिका आर्थिकरूपमा कमजोर हुन थप बल पुग्छ।

पुटिनको अमेरिकालाई कमजोर पार्ने रणनीतिमा पुटिनलाई इरानले खुलेर सहयोग गरेको छ। तर चीनले भने खुलेर सहयोग गरेको छैन। चीन–अमेरिका व्यापार प्रभावित हुने भयले चीनले खुलेर रूसलाई सहयोग गरेको त छैन, तर रूसले अमेरिकाप्रति गरेको कार्यमा पुटिनलाई चीनको पूर्ण सहयोग प्राप्त छ।

एउटा शक्तिशाली राष्ट्रको रूपमा रूसको उदय र चीनको बलियो बन्दै गएको आर्थिक स्थितिले विश्वको राजनीतिक सन्तुलन फेरिएको छ। पहिले अमेरिका एक्लो शक्तिशाली राष्ट्र रहेकोमा अहिले रूस पनि शक्तिशाली बन्न पुगेको छ तर चीनको सहयोगमा। यसरी चीन र रूसको मिलेमतोमा निर्माण भएको मोर्चाले अमेरिकासँग अप्रत्यक्षरूपमा टक्कर लिन खोजिरहेको छ। अमेरिकालाई आर्थिकरूपमा कमजोर पार्न खोजिरहेको छ। 

रूस–युक्रेन युद्ध र इजराइल–हमास युद्धमा अप्रत्यक्षरूपमा अमेरिका र रूसको संलग्नताले निश्चय नै यो विश्व अशान्त बन्छ। र त्यो अशान्तिको असर विश्व व्यापारमा पर्नेछ, विश्व अर्थव्यवस्थामा पर्नेछ।

संसारकै आर्थिक ‘पावरहाउस’को रूपमा रहेको अमेरिको आर्थिक स्थिति कमजोर हुनु अमेरिकी नागरिकहरूका लागि नराम्रो त हो नै, विश्वका अन्य राष्ट्रहरूका लागि पनि नराम्रो हो। अमेरिकासँग ५०औं राष्ट्रको दोहोरो व्यापार छ। अमेरिका आर्थिकरूपमा कमजोर हुनुको अर्थ हो विश्व अर्थव्यवस्था कमजोर हुनु।

यो नयाँ परिस्थिति, हमास–इजराइली युद्धले इजराइलको अर्थव्यवस्था त प्रभावित हुन्छ नै, यसरी हमासलाई प्रत्यक्ष सहयोग गर्ने इरानको अर्थव्यवस्था पनि प्रभावित हुन्छ। रूसको अर्थव्यवस्था पनि अप्रत्यक्षरूपमा प्रभावित हुन्छ। रूस–युक्रेन युद्धले गर्दा रूसको अर्थतन्त्र पहिलेदेखि नै कमजोर छ। रूसको अर्थव्यवस्था कमजोर पारेर भएपनि शक्ति र सत्तामा रहने पुटिनको कुटिलताले गर्दा रूसको अर्थव्यवस्था कमजोर हुँदै गएको छ। रूसमा बलियो प्रजातन्त्र भएको भए पुटिन उहिल्यै सत्ताबाट बाहिर गइसकेका हुन्थे।

इरानका धर्मगुरुहरू आफू राज्यसत्ता एवं शक्तिमा रहनका लागि अरबजगत् र मध्यपूर्वलाई जहिले पनि अशान्त राख्न चाहन्छन्। यी क्षेत्र अशान्त रहेमा मात्र सत्ता र शक्तिमाथि आफ्नो पकड बलियो हुने इरानका धर्मगुरुहरूलाई राम्ररी थाहा छ। यस कारणले गर्दा नै पनि इरानले मध्यपूर्वलाई अशान्त राखेर इरानी जनताको ध्यान अन्त केन्द्रित गराएर आफ्नो उद्देश्यपूर्तिको बाटो फराकिलो पारिरहेको छ। मध्यपूर्वलाई अशान्त पार्न इरानले हमास र हिजबुल्ला जस्ता लडाकूहरूको उपयोग गरिरहेको छ। 

माथि बयान गरिएका परिस्थितिहरूले गर्दा विश्व अर्थव्यवस्थामा ठूलो सङ्कट आउने देखिएको छ। यदि तेस्रो विश्वयुद्ध भएमा विश्व अर्थव्यवस्था ध्वस्त पनि हुन सक्छ। कामना गरौं, तेस्रो विश्व युद्ध नहोस्। इजराइल–हमास युद्ध र रूस–युक्रेन युद्ध सदाको लागि समाप्त होस्।



विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, October 20, 2023

https://eprateekdaily.com/2023/10/20/57791/

No comments:

Post a Comment