Saturday, March 30, 2024

Inefficiency Costs and Price Increase in Nepal-Article-446

 अकुशलता लागत र मूल्यवृद्धिको बोझ

हाम्रा बजारहरूमा उपभोक्ता वस्तुहरूको मूल्य कसरी कम पार्ने भन्ने विषयमा उत्पादकहरूले सोचेको पाइँदैन। उल्टो, उत्पादकद्वारा बढी मूल्य निर्धारण गरेर कम सयममैं धेरै मुनाफा कमाउने लक्ष्य राखिएको हुन्छ। यस कारणले गर्दा पनि हाम्रा बजारहरू प्रतिस्पार्धात्मक हुन सकेका छैनन्। उपभोक्ताहरूले उचित वा सस्तो मूल्यमा उपभोग्य वस्तु खरीद गर्न पाएका छैनन्। अर्कोतिर उत्पादकहरूले खोजेजस्तो वा ठूलो परिमाणमा बिक्री गर्न सकेका छैनन्। बजारमा वस्तु महँगो भएको कारण उपभोक्ताहरूको आम्दानीको ठूलो अंश केवल आवश्यक वस्तु खरीद गर्न खर्च भइरहेको छ। अर्ध एवं पूर्ण विलासी वस्तुहरू कम आय भएका उपभोक्ताहरूले खरीद गर्न सकिरहेका छैनन्। अर्ध विलासी एवं विलासी वस्तुहरू कम आय भएका उपभोक्ताहरूको आयको तुलनामा ज्यादै महँगा पनि छन्।

हुनत नेपाली बजारहरूमा बिक्री हुने वा हामीले उपभोग गर्ने वस्तुहरू ठूलो परिमाणमा भारत तथा चीनमा उत्पादन भएका हुन्छन्। हामी ज्यादै कम उत्पादन गर्छौं र क्रमिकरूपमा हाम्रो अर्थतन्त्र आयातमुखी हुन पुगेको छ। फलफूल, तरकारी, माछा, मासुसम्म पनि हामी आयात गर्छौं। यो ज्यादै दुःखद स्थिति हो।

तर पनि जे जति वस्तु नेपालमा उत्पादन हुन्छ, तिनको मूल्य सस्तो पार्न उत्पादकहरूद्वारा ठोस प्रयास गरिएको पाइँदैन। यसबारे अध्ययन एवं अनुसन्धान भएको पाइँदैन। यसतर्फ स्थानीय एवं केन्द्रीय सरकारले पनि पटक्कै ध्यान दिएको पाइँदैन। कुनै एक प्रधानमन्त्रीले एक वर्षसम्म पनि काम गर्न नपाउने वा एउटा सरकार एक वर्षसम्म पनि टिक्न नसक्ने स्थितिमा उत्पादन लागत कसरी कम पार्ने, वस्तुहरूको बिक्री मूल्य कसरी कम पार्नेतर्फ सरकारको ध्यान जाने अपेक्षा गर्नु मरुभूमिमा पानी खोज्नु सरह हो। तर पनि यो विषयमा चर्चा भने अवश्य हुनुपर्छ। सम्बन्धित पक्षले यस विषयमा गम्भीरतापूर्वक सोच्नुपर्छ। सबै तहका सरकारले यसतर्फ सम्बन्धित पक्षहरूले ध्यान दिने वातावरण सृजना गर्नुपर्छ।

कच्चा सामग्री सस्तोमा खरीद गर्ने, श्रम लागत कम पार्ने, ऊर्जाको उपयोग कुशलतापूर्वक गर्ने, उत्पादन प्रक्रिया छोटो एवं प्रभावकारी तुल्याउने, उत्पादन प्रणालीमा आधुनिक प्रविधि प्रयोग गर्ने, खेर हुने कुरा (waste) कम पार्ने र यस्ता अनेक कार्य गरेर उत्पादन लागत कम पार्नेतर्फ उत्पादकहरूले सोच्नु आवश्यक छ। र तत्काल सोच्नु आवश्यक छ। उत्पादन लागत कम पार्दा क्रेतालाई मात्र फाइदा हुँदैन, स्वयं उत्पादकहरूलाई नै पनि फाइदा हुन्छ। दीर्घकालमा त झन् उत्पादकहरूलाई बढी नै फाइदा हुन्छ।

हामीकहाँ उत्पादकहरूद्वारा उत्पादन लागत कम पार्न नसकेर वस्तु वा सेवाको मूल्य चर्को हुन गएको र चर्को मूल्यमा त्यस्ता वस्तु वा सेवा खरीद गर्नुपरेकोले क्रेताको क्रयशक्ति नराम्ररी प्रभावित भएको एउटा मात्र घटना यहाँ प्रस्तुत गर्दछु। हामीकहाँ अहिले पनि पैन्ट, सर्ट, कोट आदि सिलाइ गर्दा कारीगरद्वारा मेशीनको कम प्रयोग हुन्छ। कारिगरहरूले त्यही परम्परागत सिलाइ मेशीन प्रयोग गर्छन्। कपडा सिलाइ गर्न हात (कैंची) र परम्परागत सिलाइ मेशीनको प्रोयोग गरिएकोले सिलाइ शुल्क वा ज्याला अति महँगो छ। कतिपय अवस्थामा, उदाहरणको लागि, कुनै पैन्ट सिलाइ गराउँदा कपडाभन्दा सिलाइ शुल्क महँगो हुने स्थिति छ।

यदि पैन्ट वा यस्तै अन्य पोशाक परम्परागत किसिमले सिलाइ नगरेर एकैपटक हजारौं पैन्ट, एकै दिनमा उन्नत मेशीन प्रयोग गरेर उत्पादन गर्ने हो भने पैन्टको सिलाइ शुल्क ज्यादै कम पर्न जान्छ। नेपालमैं कपडा उत्पादन नभएको स्थितिमा पनि, भारत वा चीनबाट कपडा आयात गरेर, नेपालमा नै उन्नत मेशीन द्वारा पैन्ट वा विभिन्न पोशाक उत्पादन गर्ने हो भने पैन्टको सिलाइ लागत र समग्रमा एउटा पैन्टको बिक्री मूल्य कम पार्न सकिन्छ। उत्पादन लागत कम पारेर वस्तुको बिक्री मूल्य यसरी पनि कम पार्न सकिन्छ भन्नेबारे यो एउटा प्रतिनिधि उदाहरण मात्र हो। नेपालमा हामी उन्नत प्रविधि, कुशल व्यवस्थापन, स्मार्ट उत्पादन प्रक्रिया आदि प्रयोग गरेर धेरै वस्तु एवं सेवाको मूल्य कम पार्न सक्छौं।

हाम्रो बिक्री र वितरण व्यवस्था पनि अति परम्परागत छ। प्रभावकारी छैन। एउटा काम दुईदेखि चार पटकसम्म गर्ने, वितरण प्रक्रिया लामो हुने, बिक्रीका लागि गरिने कार्य आंशिकरूपमा पहिले नै सम्पादन नभएको हुने, यस्ता अनेक समस्याले पनि हाम्रो बिक्री र वितरण प्रक्रिया बढी खर्चिलो हुन पुगेको छ। बिक्री र वितरण प्रक्रिया खर्चिलो भएको कारण वस्तुहरूको मूल्य महँगो हुन पुगेको छ। यस्ता विभिन्न कारणले गर्दा हामी उपभोक्ताले बढी मूल्य भुक्तान गरिरहेका छौं। हाम्रो क्रय शक्ति कमजोर भइरहेको छ।

बिक्री प्रक्रिया सुस्त भएर वस्तुको मूल्य वृद्धि भएको उदाहरण एउटा यस्तो पनि हुन सक्छ। धेरै सामान, अहिले पनि बिक्री गर्दा, तौल एक तराजुको माध्यबाट लिने परम्परा अहिले पनि हाम्रा बजारहरूमा व्याप्त छ। यस्तो गर्दा एउटा बिक्रेताले छोटो समयमा धेरै सामान बिक्री गर्न सक्तैन। उसको कार्य–समयको ठूलो भाग केवल बिक्री गरिने वस्तुको तौल गर्दैमा जान्छ।

यसैगरी बजारहरूमा, बिक्री गरिएको सामानको मूल्य गणना र जोड गर्दा मेशीन प्रयोग हुँदैन, स्मरण वा कागजको प्रयोग गर्ने गरिन्छ। यस्तो गर्दा बिक्री लागत बढ्न जान्छ। कुनै सामान, जुन तौल गरेर बिक्री गर्नुपर्ने हो, पहिलेदेखि तौलको आधारमा पैकिङ गरेर राख्ने हो भने छोटो समयमा धेरै बिक्री गर्न सकिन्छ। यसैगरी बिक्रीका लागि ‘कैस रजिस्टर’ प्रयोग गर्ने हो भने भुक्तानी लिने व्यवस्था प्रभावकारी तुल्याउन सकिन्छ। यी कार्यहरू गरेर बिक्री लागत कम पार्न सकिन्छ। यस्तो गरेर बिक्री मूल्य कम पार्न सकिन्छ।

कार्य अकुशलताका कारण हामी चर्को मूल्य भुक्तान गर्न बाध्य छौं। यो स्थिति उपभोक्ताको लागि त प्रतिकूल छ नै, बिक्रेताको लागि पनि प्रतिकूल छ। यो अकुशलताको कारणले गर्दा बिक्रेताहरूले छोटो समयमा बढी बिक्री गरेर राम्रो मुनाफा हात पार्न सकेका छैनन्।

उत्पादन, वितरण र बिक्री व्यवस्थामा विद्यमान अनेक किसिमका कार्य अकुशलताले गर्दा हाम्रा बजारहरूमा वस्तु एवं सेवाका मूल्य बढी हुन पुगेका छन्। यी कारणहरूले गर्दा हामी चर्को मूल्य भुक्तान गर्न बाध्य छौं। वास्तविक मूल्यभन्दा बढी भुक्तान गरिरहेका छौं। 

हाम्रा बजारहरूमा एउटा समस्या वर्षौंदेखि विद्यमान छ। त्यो समस्या हो, उत्पादक एवं बिक्रेताहरूबाट वस्तु एवं सेवाका मूल्य कम पार्ने ठोस प्रयास नहुनु। यो विषय उनीहरूको लागि गम्भीर नबन्नु। विकसित देशहरूमा भने सस्तोमा सामान बिक्री गर्न बिक्रेता (कम्पनी) हरूबीच प्रतिस्पर्धा हुन्छ। त्यस्तै प्रतिस्पर्धा गर्ने अर्थात् सस्तोमा सामान बिक्री गर्ने अनेक उपयाको खोजी गर्ने कम्पनीहरूमध्ये एक हो आइकिया (IKEA) कम्पनी।

युरोपको स्वीडेनमा अवस्थित आइकिया कम्पनीले संसारभरिमा फर्निचर सस्तोमा उत्पादन एवं बिक्री गर्न ख्याति आर्जन गरेको छ। यसले पूर्ण तयारी अवस्थाको फर्निचर कमै सङ्ख्यामा बिक्री गर्छ। आइकियाले अर्ध तयारी फर्निचरहरू आफ्ना पसलहरूमा राखेको हुन्छ। क्रेताले अर्ध तयारी फनिर्चर खरीद गरी घरमा लगेर, त्यसलाई पूर्ण तयारी अवस्थामा रूपान्तरित गर्छ। अर्थात् क्रेताले आइकियाबाट खरीद गरेको फर्निचर जुन अनेक भागमा विभक्त हुन्छ, घरमा पुगेर जोडिन्छ। अर्थात् एसेम्बल गरिन्छ। यसरी अर्ध तयारी अवस्थामा रहेको फर्निचर बिक्री गरेर, आइकियाले अभूतपूर्व किसिमले अनेकौं उत्पादन सस्तो पारिरहेको छ। आइकियाले एसेम्बल गर्दा लाग्ने खर्च कटौती गर्न एसेम्बल गर्ने काम क्रेतालाई दिन्छ र क्रेता आफैंले एसेम्बल गरेर पैसा बचत गर्छ। यसरी फर्निचरको बिक्री मूल्य कम हुन्छ वा पारिन्छ।

अमेरिकामा वालमार्ट, अल्डी, डलर जेनरल, फेमिली डलर, क्रोगर, कास्ट को, डलर ट्री यस्ता बिक्री भण्डार हुन् जो बिक्री गरिने सामानको मूल्य कम पार्न प्रतिस्पर्धा गर्छन्। सकेजति तल्लो बिन्दुमा मूल्य झारेर ग्राहकलाई सस्तोमा वस्तु बिक्री गर्न प्रतिस्पर्धा गर्छन। सामानको बिक्री मूल्य कम पार्न आजभोलि ‘भेन्डिङ मेशीन’ पनि निकै प्रयोग हुन थालेको छ।





विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, March 29, 2024

https://eprateekdaily.com/2024/03/28/65471/ 

No comments:

Post a Comment