Wikipedia

Search results

Friday, May 17, 2024

Important Actor in Economic Development-Article-452

 आर्थिक विकासका लागि व्यवस्था कि व्यवहार महत्वपूर्ण?

देशको आर्थिक विकास गर्नका लागि कस्तो किसिमको राजनीतिक व्यवस्था हुनुपर्छ भन्नेबारे वर्षौदेखि बहस चल्दै आएको छ। देशको आर्थिक विकासका लागि प्रजातान्त्रिक व्यवस्था उपयुक्त हुन्छ वा एकतन्त्रीय अथवा साम्यवादी राजनीतिक व्यवस्था हुन्छ भन्ने विषयक यो बहस चलि नै रहने छ। दुवै किसिमको राजनीति व्यवस्था प्रयोग गरेर अनेक देशले राष्ट्रको आर्थिक विकास गरेकाले वर्तमान समयमा यो बहसको महत्व झनै बढेको छ।

पूँजीवादी देशहरूले राष्ट्रको आर्थिक विकासका लागि प्रजातान्त्रिक राजनीतिक व्यवस्थालाई पूर्व शर्तको रूपमा लिएका छन्। कुनै पनि देशको राजनीतिक व्यवस्था प्रजातान्त्रिक नभएमा त्यस देशले आर्थिक विकास गर्न नसक्ने निक्र्योल पूँजीवादी देशका अर्थशास्त्री एवं राजनीतिज्ञहरूले गरेका छन्। र उनीहरू यस कुरामा अति प्रस्ट छन्। प्रजातान्त्रिक व्यवस्थाविना देशलाई धनी बनाउन नसकिनेबारे पूँजीवादी देशका अर्थशास्त्री एवं राजनीतिज्ञहरूलाई कुनै द्विविधा छैन।

अमेरिका र युरोपका अर्थशास्त्रीहरूले देश धनी बनाउने श्रेय प्रजातान्त्रिक राजनीतिक व्यवस्थालाई दिंदै आएका छन्। नियन्त्रित (साम्यवादी व्यवस्था) एवं एकतन्त्रीय शासन व्यवस्थाले देशलाई क्रमिकरूपमा गरीब पार्दै लाने उनीहरूको अडिग विश्वास रहेको पाइन्छ। व्यापार एवं व्यवसाय गर्न सजिलो पारी आर्थिक विकासको गति तीव्र पार्न अमेरिकामा अनियमन (Deregulation) को अभ्यास गर्ने चलनसमेत छ।

अनियमन के हो?

अनेक किसिमका कानूनी एवं प्रक्रियागत बाधा हटाएर वा भएका झन्झटिला नियम समाप्त गरेर विना कुनै बाधा व्यापार गर्न दिने अभ्यासलाई अनियमन भन्ने गरिन्छ। अनियमनको अवधारणा अनुसार नियम, कानून आदिको छेकबार जति बढी भयो, देशमा आर्थिक विकास त्यति नै सुस्त गतिमा हुन्छ। अनावश्यक नियम, कानून समाप्त पार्दै, केवल न्यून नियम कानूनको प्रयोगले देशको आर्थिक विकासको गतिमा तीव्रता ल्याउन सकिन्छ। नियम, कानूनका अनेक छेकबारले उद्यमी एवं व्यवसायीहरूलाई ब्यापार गर्न प्रोत्साहित होइन, उल्टो हतोत्साहित पार्छ। यही धारणा अनुसार अनियमनले कार्य गर्दछ। अमेरिकामा स्थानीय र सङ्घीय दुवै तहमा आर्थिक विकासका लागि अनियमन प्रयोग हुने गरेको पाइन्छ।

देशको आर्थिक विकासका लागि प्रजातान्त्रिक राजनीतिक व्यवस्था आवश्यक शर्त हो भन्ने विषयमा पश्चिमका एवं पूँजीवादी अर्थशास्त्रीहरूमा कुनै द्विविधा छैन। तर चीनको आर्थिक विकासले गर्दा पश्चिमा एवं पूँजीवादी अर्थशास्त्रीहरू आश्चर्यमा भने अवश्य परेका छन्।

चीनमा एकतन्त्रीय वा साम्यवादी राजनीतिक व्यवस्था छ। पश्चिमका अर्थशास्त्रीहरूको मान्यता अनुसार चीन गरीब हुनुपर्ने हो किनभने देशलाई धनी हुन सहयोग गर्ने प्रजातान्त्रिक व्यवस्थाको चीनमा सर्वथा अभाव छ। चीनमा एकतन्त्रीय राजनीतिक व्यवस्था भएर पनि द्रुततर गतिमा आर्थिक विकास भएको छ। यति मात्र होइन, चीन विश्वकै सर्वाधिक, दोस्रो ठूलो आर्थिक व्यवस्था हुन पुगेको छ। चीनको आर्थिक विकासले, देशको आर्थिक विकासका लागि राजनीतिक व्यवस्था प्रजातान्त्रिक हुनुपर्छ भन्ने पश्चिमी अर्थशास्त्रीहरूको मान्यतालाई हल्लाइदिएको छ। अबे आएर देशको आर्थिक विकासको लागि राजनीतिक व्यवस्था प्रजातान्त्रिक हुनुपर्छ भन्ने मान्यताप्रति पश्चिमा अर्थशास्त्रीहरू पुनर्विचार गर्न बाध्य भएका छन्।

अब मध्यमार्गी अवधारणामाथि विचार गरौं। पश्चिमा देशहरू र चीन, दुवैतर्फको आर्थिक विकास हेर्दा एउटा तेस्रो अवधारणा के निर्माण हुन्छ भने देशको आर्थिक विकासका लागि एकतन्त्रीय राजनीतिक व्यवस्था वा प्रजातान्त्रिक राजनीतिक व्यवस्थाभन्दा सर्वोपरि र अति आवश्यक, जनताको मनोविज्ञान रहेछ। देशको आर्थिक विकासको सन्दर्भमा जनताको मनोविज्ञानले ठूलो भूमिका खेल्ने रहेछ। अर्थात् कुनै एक देशको आर्थिक विकास हुनका लागि त्यस देशको जनताको मनोविज्ञान निर्विवादरूपमा, सकारात्मक हुनुपर्ने रहेछ। देशको आर्थिक विकासका लागि कुनै पनि राजनीतिक व्यवस्थाभन्दा जनताको मनोविज्ञानले महत्वपूर्ण भूमिका खेल्ने रहेछ।

कुनै देशको जनताको मनोविज्ञान सकारात्मक छ, अर्थात् त्यस देशको जनताको आर्थिक विकासप्रतिको इच्छाशक्ति बलियो छ, त्यहाँ सामाजिक द्वन्द्व छैन, धार्मिक कट्टरता छैन, वर्गीय शत्रुता छैन, श्रमिक र पूँजीपतिबीच कटुतापूर्ण सम्बन्ध छैन भने त्यो देशले तीव्र गतिमा आर्थिक विकास गर्ने रहेछ। राजनीतिक व्यवस्था त्यो देशको लागि गौण हुन पुग्छ। उदाहरणको लागि सिंगापुर। सिंगापुरमा माथि भनिएका तत्वहरूको उपस्थिति छ, अर्थात् कलह छैन।

अफ्रिकी महादेशका विभिन्न राष्ट्रहरू प्रजातन्त्र छ तर पनि ती देशहरूमा आर्थिक विकासको गति सुस्त छ। यस्तो किन भएको होला? यस्तो हुनुको कारण ती देशका जनताको आर्थिक विकासप्रति इच्छाशक्ति बलियो नहुनु हो। सोमालिया, इथिओपिया, यमन, रवान्डा, नाइजेरिया, माली आदि यस्ता देश हुन्, जहाँ अहिले पनि धार्मिक, जातीय कलह छ। बोकोहराम, अलकाइदाजस्ता कट्टर धार्मिक सङ्गठनहरूले विभिन्न अफ्रिकी देशहरूमा तीव्र गतिमा आर्थिक प्रगति हुन दिइरहेका छैनन्। केवल एक सय दिन मात्र चलेको जातीय सफायामा, अर्थात् रवान्डामा भएको दुई जातीय समूह– हुटु र टुट्सीबीच मच्चिएको जातीय सङ्घर्षमा, ८ लाख व्यक्तिको हत्या भएको थियो। ठूलो सङ्ख्यामा अल्पसङ्ख्यक हुटु जातिका मानिसको हत्या भएको थियो।

नेपालकै कुरा गरौं, न! नेपालले २०४६ सालदेखि नै प्रजातान्त्रिक राजनीतिक व्यवस्थाको अभ्यास गर्दै आएको छ। पञ्चायती व्यवस्था निरङ्कुश भयो। यसले नेपालको आर्थिक विकास गर्न दिएन भनेर हामीले २०४६ सालमा पञ्चायती व्यवस्था फाल्यौं। राजा र राजसंस्था देशको आर्थिक विकासको लगि बाधक भयो भन्दै राजा र राजसंस्था फाल्यौं। नेपालमा गणतन्त्र स्थापना ग–यौ। थप राजनीतिक र आर्थिक स्वतन्त्रताको अभ्यास गर्न देशमा सङ्घीयता लागू ग–यौं। यति गर्दागर्दै पनि किन नेपालमा आर्थिक विकास हुन सकेन? किन अहिले देशमा ठूलो निराशा छाएको छ? किन लाखौंको सङ्ख्यामा नेपाली युवाहरू विदेशतिर पलायन भइरहेका छन्?

नेपालको स्थितिले पनि यस कुराको पुष्टि हुन्छ कि देशको आर्थिक विकासको लागि पूर्व शर्त भनेको जनताको सकारात्मक मनोविज्ञान हो, राजनीतिक व्यवस्था होइन। हाम्रो मनोविज्ञान सकारात्मक नभएकोले नै हामीले आर्थिक विकास गर्न नसकेको हो। बेइमानी, फरेब र कुर्सीमुखी नेताको पछि लाग्ने हामी जनता र जहिले पनि सत्ता र शक्तिमा बस्न खोज्ने हाम्रा नेता, यी दुई तत्वको मनोविज्ञान वा व्यवहारले गर्दा हाम्रो देशको, नेपालको, आर्थिक विकास हुन सकिरहेको छैन।

आर्थिक विकासप्रतिको हाम्रो इच्छ शक्ति बलियो छैन। हामी अनावश्यक द्वन्द्व र सङ्घर्ष गर्न मन पराउँछौं। आर्थिक विकासभन्दा पनि व्यक्तिगत वा समूहगत दुश्मनीलाई महत्व दिन्छौं। उदाहरण खोज्न पर जानुपर्दैन। गृहमन्त्री रवि लामिछानेलाई संसद्मा नेपाली काङ्ग्रेसले आफ्नो धारणा राख्न नदिएको घटनाबाट हामी सङ्घर्ष मन पराउँछौ भन्ने कुरा पुष्ट हुन्छ।

नेपालको आर्थिक विकासभन्दा पनि रवि लामिछाने र गगन थापाबीचको द्वन्द्व अहिले हाम्रो लागि महत्वपूर्ण हुन पुगेको छ। संसद्को लागि महत्वपूर्ण हुन पुगेको छ। यस्तो किसिमको व्यवाहरले देशको आर्थिक विकास हुन्छ? यस्तो किसिमको मनोविज्ञानले देशको अर्थतन्त्रमा सुधार आउँछ?

कुनै पनि देशको आर्थिक विकासका लागि, यो व्यवस्था, त्यो व्यवस्थाभन्दा ठूलो कुरा त्यहाँको जनताको मनोविज्ञान हो, व्यवहार हो। जनताको मनोविज्ञान सकारात्मक भए मात्र कुनै पनि देशले आर्थिक विकास गर्न सक्छ। त्यसकारण नेपालको आर्थिक विकास तीव्र गतिमा होस् भन्ने हामी चाहन्छौ भने सर्वप्रथम हाम्रो मनोविज्ञान सकारात्मक पारौं। आर्थिक विकासप्रति हाम्रो इच्छाशक्ति बलियो बनाऔं। अनावश्यक द्वन्द्व र कलहलाई नजीक आउन नदिउँ। दलहरू बीच सम्बन्ध सुमधुर पार्न नेताहरूलाई बाध्य पारौं। आफ्ननो मनोविज्ञान पनि परिवर्तन गरौं। सङ्घर्षवादी होइन, विकासवादी बनौं।





विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, May 17, 2024

https://eprateekdaily.com/2024/05/16/67818/ 

No comments:

Post a Comment