युवाहरू किन अति निराश ?
अहिले हाम्रा युवा (युवक र युवती) हरू ज्यादै
निराश छन्। उनीहरूले स्वदेशमा आफ्नो भविष्य सुरक्षित देखिरहेका छैनन्। अहिले
स्वदेश छाड्ने युवाहरूको सङ्ख्या ज्यादै ठूलो छ। युवाहरू किन यति बढी निराश भएका
होलान् र किन यसरी ठूलो सङ्ख्यामा उनीहरूले नेपाल छाडेका होलान् भनी थाहा पाउन
कुनै व्यवस्थित अनुसन्धान गरिएको छैन। केवल सजिलो अनुमान लगाउने गरिएको छ कि
विदेशमा राम्रो आम्दनी गरेर सुविधायुक्त जीवनयापन गर्न स्वदेश छाडिरहेका छन्।
सुविधायुक्त जीवन यापन गर्न, अर्थात् आर्थिक
कारणले गर्दा, युवाहरू विदेशतिर
लागेका हुन् भन्ने अनुमान आंशिकरूपमा सत्य हो तर पूर्ण सत्य भने होइन।
नेपालको कर्मचारीतन्त्र र शासन व्यवस्थाले युवाहरूलाई अति नै निराश
पारेको छ। यसैगरी नेपालको शिक्षा व्यवस्थाले नेपाली युवाहरूलाई अति निराश पारेको
छ। र युवाहरूलाई सर्वाधिकरूपमा नेपालका नेताहरूको व्यवहारले निराश पारेको छ। माथि
उल्लेख गरिएका स्थितिहरूले नेपालमा अहिले युवाहरूको लागि ठूलो निराशा निर्माण
गर्ने कार्य गरिरहेका छन्। अनि युवाहरू अति नै निराश भएर भविष्य सरल र सुरक्षित
बनाउन विदेशतिर पलायन भइहरेका छन्। अर्थात् स्वेच्छाले होइन, बाध्यताको जाँतोमा पिसिएर विदेश पलायन
रोजिरहेका छन्।
२०४६ सालको राजनीतिक परिवर्तनले राजनीतिक
व्यवस्थामा परिवर्तन ल्यायो तर कर्मचारीहरूको व्यवहार र मनोविज्ञानमा परिवर्तन
ल्याएन। आफू राज्यको सेवक हुँ र सेवाग्राहीको सेवा गर्नु आफ्नो प्रमुख उद्देश्य र
कर्तव्य हो भन्ने भावना राखेर काम गर्नुको सट्टा कर्मचारीहरू अहिले पनि आफूलाई
स्वामी देख्छन् र तत्परताका साथ जनता (सेवाग्राहीहरू) को काम गर्दैनन्। आफूले
पाएको तलब सेवाग्राहीहरूले भुक्तान गरेको करको एक अंश हो भनी हेक्का राख्दैनन्।
समयमा सेवाग्राहीको काम नगरिदिने र एउटै कामको
लागि सेवाग्राहीहरूलाई दशौपटक कार्यालय धाउने स्थिति सृजना गर्ने कर्मचारीहरूको
बानी परिसकेको छ। कर्मचारीहरूले सेवाग्राहीलाई एउटै कामको लागि दसपटक दौडाउँदा
सेवाग्राहीलाई कति मानिसक कष्ट हुन्छ ? कति बढी आर्थिक क्षति हुन्छ ? यस्ता कुराहरूको
विचार कर्मचारीहरूले गर्दैनन्। यति मात्र होइन, कतिपय स्थान वा कार्यालयमा काम गराउन जाँदा सेवाग्राहीले
कर्मचारीलाई घूस दिनुपर्ने हुन्छ। घूस नदिई कामै हुँदैन। कर्मचारीहरूको यस किसिमको
व्यवहारले युवाहरूलाई अति निराश पारेको छ। विदेश पलायन हुन बाध्य पारेको छ।
विदेश पुगेपछि नेपाली युवाहरू आफू पुगेको देशमा
कर्मचारीहरूको व्यवहार नेपालभन्दा ठीक उल्टो पाउँछन्। सेवाग्राहीप्रति
कर्मचारीहरूको भावना सकारात्मक र अति सहयोगात्मक पाउँछन्। कर्मचारीहरूको यस्तो
व्यवहारले पनि नेपाली युवाहरूलाई विदेश पलायन हुन बाध्य पारिरहेको छ।
नेपालको हालको शासन व्यवस्थाले पनि नेपाली
युवाहरूलाई निराश पार्ने कार्य गरिरहेको छ। छोटोछोटो समयमा सरकार परिर्वतन हुने,
प्रधानमन्त्री हुनका लागि नेताहरूले अनेक
किसिमका प्रपञ्च रच्ने र राजनीतिक दलहरूको ध्यान केवल जनताको समस्यामा केन्द्रित
हुनुको साटो सत्ता र शक्ति प्राप्तिमा मात्र हुने जस्ता कार्यले नेपाली युवाहरूलाई
अति नै निराश पारेको छ। हालको यो शासन व्यवस्थामा युवाहरूले आप्mनो भविष्य अति असुरक्षित देखिरहेका छन्।
नेपालको वर्तमान शिक्षा व्यवस्थाले युवाहरूमा
आशा जाग्रत गराउन पटक्कै सकेको छैन। कसरी ? हाम्रो शिक्षा व्यवस्थाले दुईवटा काम गरेर युवाहरूमा घोर
निराशा उत्पन्न गरिरहेको छ। नेपालका शिक्षालय (कलेज र विश्व विद्यालय) हरूले अहिले
केवल ज्ञान दिने शिक्षा दिइरहेका छन्, सीप दिने शिक्षा दिइरहेका छैनन्। नेपालका शिक्षालयहरूबाट शिक्षा प्राप्त गर्ने
युवाहरू आफैंले आफ्नो लागि रोजगार सृजना गर्न सकिरहेका छैनन्। अर्थात् हाम्रो
शिक्षाले विद्यार्थीहरूलाई रोजगार सृजना गर्न सिकाउँदैन। रोजगारका लागि अनेक
संस्थाहरूमा पुग्न बाध्य पारिरहेको छ।
शिक्षालयहरूमा अध्ययन र अनुसन्धान हुनुपर्छ।
सीप र कला सिकाउने नयाँनयाँ तरीकाहरूको खोजी हुनुपर्छ। तर हाम्रो शिक्षालयहरूमा
हुन्छ ठीक उल्टो। हाम्रा शिक्षालयहरू नेता र कार्यकर्ता उत्पादन गर्ने कारखाना
बन्न पुगेका छन्। राजनीति गर्ने अङ्ग हुन पुगेका छन्। हाम्रा शिक्षालयहरूले
शैक्षिक गतिविधि कम, राजनीतिक
गतिविधिहरू अति गर्छन्। छोटकरीमा भन्ने हो भने हाम्रा शैक्षिक संस्थाहरू राजनीतिक
दलहरूका लागि कार्यकर्ता उत्पादन गर्ने कारखाना बन्न पुगेका छन्। नेताहरूको लागि
‘झोले’ र ‘हनुमान’ उत्पादन गर्ने कारखाना बन्न पुगेका छन्। शैक्षिक संस्थाहरूको यो
स्थितिले नेपाली युवाहरूलाई चरम निराश पार्ने कार्य गरिरहेको छ। अनि नेपाली
युवाहरूले स्वदेशमा आफ्नो भविष्य सुरक्षित नदेखेर विदेशमा देखिरहेका छन्। विदेशी
शिक्षालय र उनीहरूको शिक्षा पद्धतिलाई महत्व दिइरहेका छन्।
नेपालका शैक्षिक संस्थाहरूमा हालको जस्तै
राजनीति हुने हो भने भविष्यमा अझै ठूलो सङ्ख्यामा युवाहरू नेपाल छाड्ने छन्।
नेपालमा युवा जनशक्तिको ठूलो खाँचो हुनेछ। आर्थिक विकासको गति अवरुद्ध हुनेछ।
देशमा चरम आर्थिक सङ्कट आउन सक्छ। यो तथ्य नेपालका नेताहरूले गम्भीरतापूर्वक मनन
गर्न आवश्यक छ।
नेताहरूको व्यवहारले पनि नेपाली युवाहरूलाई चरम
निराश पार्ने कार्य गरिरहेको छ। नेताहरूमा इमानदारीको कमी र आर्थिक विकासका लागि
विभिन्न दलहरूसँग मिलेर काम गर्ने सोचको अभावले गर्दा नेपालको राजनीति अति
प्रदूषित हुन पुगेको छ। र वर्तमानको यो प्रदूषित राजनीतिले युवाहरूलाई ज्यादै
निराश पार्ने कार्य गरिरहेको छ। नेताहरूले
अहिले केवल आप्mनो राजनीतिक फाइदा
देखिरहेका छन्। पद र शक्ति नै उनीहरूको राजनीतिक उद्देश्य हुन पुगेको छ। युवाहरूको
भविष्यका लागि नेताहरू त्याग गर्न तयार छैनन्। अर्थात् नेताहरूमा इमानदारीको ठूलो
सङ्कट देखिएको छ। नेताहरूमा देखिएको इमानदारीको सङ्कटले युवाहरूमा चरम निराशा उत्पन्न
गराएको छ। त्याग गर्न तत्पर नहुने। आप्mनो मात्र फाइदा देख्ने नेताहरूबाट देशको विकास हुन नसक्ने विचार गर्दै युवाहरू
अहिले ठूलो सङ्ख्यामा विदेशतिर लागिरहेका छन्। नेपालमा अहिले ‘उदाहरणीय नेता’ को
ठूलो खाँचो छ।
नेपाली युवाहरूमा देखिएको निराशा कम पार्न र
उनीहरू स्वदेशमैं रहने वातावरण सृजना गर्न माथि उल्लेख गरिएका क्षेत्रहरूमा
देखिएका अनेक गम्भीर समस्या समाधान गर्न आवश्यक छ।
अब केही कुरा विदेशमा बसेका नेपाली युवाहरूको
अवस्थाबारे कुरा गरौं– अमेरिका, क्यानाडा, अस्ट्रेलिया, ग्रेट ब्रिटेनतिर अध्ययन र आर्जनका लागि आएका नेपाली
युवाहरूको कुरा गरौं। अध्ययन अनि अध्ययनपछि आर्जनका लागि माथि उल्लेख गरिएका देशमा
आएका युवाहरूको स्थिति, केही अपवाद बाहेक,
त्यति सुखद छैन। काम गरेर पढ्नुपर्ने, कलेज र बसाइ खर्च भुक्तान गर्न आफैंले
कमाउनुपर्ने भएकोले उनीहरूको स्थिति सुखद छैन। अति नै सङ्घर्षपूर्ण छ। कतिपय देश र
स्थानमा उनीहरूलाई काम पाउन पनि कठिन छ। नेपालमा सुनिएझैं वा शैक्षिक परामर्श
संस्थाहरूले प्रचार गरेझंै, नेपाली युवाहरूको
विदेश बसाइ सुखद छैन। यो स्तम्भकारले विभिन्न देशको भ्रमण गर्दा त्यहाँ भेटिएका
नेपाली युवाहरूसँग भेट गर्दा थाहा पाएको तथ्य हो। कल्पना वा अनुमान होइन।
युवाहरूको लागि नेपालमैं राम्रो शिक्षा र
रोजगारको व्यवस्था भए कलिलै उमेरमा विदेशतिर भास्सिने समस्याको अन्त्य हुने थियो।
यसबारे नेताहरूले गम्भीरतापूर्वक सोच्न आवश्यक छ। युवाहरूको भविष्यप्रति नेताहरू
चिन्तित हुन अति आवश्यक छ।
विश्वराज अधिकारी
Friday,
June 21, 2024
No comments:
Post a Comment