ऊर्जा रूपान्तरणः समस्या र समाधान
कुनै पनि देशको आर्थिक विकास ऊर्जामा नै निर्भर
रहेको हुन्छ। अहिलेको यो वैश्य युगमा ऊर्जाको प्रयोगविना कुनै पनि देशको आर्थिक
विकास सम्भव छैन। देश धनी हुनका लागि ऊर्जा, नभइ नहुने तत्व हुन पुगेको छ। यो कारणले गर्दा पनि कुनै पनि
देशले ऊर्जा उत्पादन र प्रयोगमा ध्यान दिन आवश्यक छ। नेपाल ऊर्जा उत्पादन र प्रयोग
दुवै क्षेत्रमा निकै पछाडि छ। ऊर्जा उत्पादन र प्रयोग, दुवै क्षेत्रमा नेपाल निकै पछाडि रहेकोले पनि नेपालको
आर्थिक विकासको गति सुस्त हुन पुगेको हो। हुनत नेपालका प्रशासकहरूले ऊर्जा
उत्पादनमा ध्यान दिन खोजेको भने हो।
श्री ३ महाराज चन्द्र शम्शेरले सन् १९११ मा ब्रिटिश सरकारको सहयोगमा फर्पिङमा
‘चन्द्रज्योति हाइड्रो–इलेक्ट्रिक पावर स्टेशन’ स्थापना गराएका थिए। काठमाडौलाई
झलल्ल पार्ने प्रयास गरेका थिए। चन्द्र शम्शेरले स्थापना गराएका यो पावर स्टेशन
दक्षिण एशियामा नै पहिलो जलविद्युत् योजना थियो। तर यो कार्यले राम्ररी निरन्तरता
पाउन सकेन। जल विद्युत् उत्पादन कार्यले नेपालमा महत्व पाउन सकेन। उल्टो ऊर्जाका
लागि भारतमाथि निर्भरता बढेर गयो।
ऊर्जा अहिले उद्योग, व्यापार एवं
व्यवसाय सञ्चालन गर्न नभइ नहुने अत्यावश्यक तत्व हुन पुगेको छ। हाम्रो दैनिक
जीवनको लागि पनि ठूलो परिमाणमा ऊर्जा चाहिन्छ। हाम्रो घरको भन्साकोठा, बैठक एवं सुत्ने कोठासम्म ऊर्जामा आश्रित रहेको
पाइन्छ। निष्कर्षमा भन्ने हो भने अहिले मानव सभ्यता ऊर्जाको जगमा उभिएको छ। ऊर्जा
नहुने हो भने मानव सभ्यता ढल्न पुग्छ। स्थिर हुन पुग्छ। यति हुँदाहुँदै पनि
नेपालले ऊर्जा उत्पादनका लागि खास नीति एवं योजना निर्माण गरेको पाइँदैन। ऊर्जा
उत्पादन एवं वितरणसम्बन्धी नेपालसँग न गतिलो किसिमको अल्पकालीन योजना छ, न दीर्घकालीन कुनै योजना बनाउने कसैलाई फुर्सत
छ। ऊर्जाका लागि नेपाल ठूलो मात्रामा भारतमाथि निर्भर हुनुपर्ने स्थिति छ। भारतले
एक हप्ता पनि नेपाललाई ऊर्जा दिने कार्य बन्द गरिदिने हो भने नेपालको उद्योग एवं
व्यापार मात्र होइन, दैनिक जीवन नै
गतिहीन हुने स्थिति छ।
अहिले वर्तमान विश्वमा परम्परागत वा जैविक अवशेष–ऊर्जा (Fossil Fuel) ठूलो परिमाणमा उत्पादन एवं उपयोग हुन्छ।
कोइला, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्याँस आदिलाई जैविक अवशेष ऊर्जा भन्ने गरिन्छ।
विकासशील राष्ट्रहरू मात्र होइन, धनी देशहरूले पनि
अहिले ठूलो परिमाणमा जैविक अवशेष ऊर्जा प्रयोग गरिरहेका छन्। तर धनी राष्ट्रहरूले
क्रमिकरूपमा जैविक अवशेष ऊर्जा उत्पादन एवं प्रयोग बन्द गर्दै जाने घोषणा गरेका
छन्। जैविक अवशेष ऊर्जाको प्रयोगले डरलाग्दो गरी पृथ्वीको तापक्रम वृद्धि गरेको र
त्यो वृद्धिले गर्दा संसारका अनेक देशमा बाढी, पैरो, खडेरी जस्ता
समस्याहरू गम्भीर किसिमले देखिएका हुनाले धनी देशहरूले क्रमिकरूपमा जैविक अवशेष
ऊर्जा उत्पादन र प्रयोग कम गर्ने र एउटा निश्चित अवधिपछि यो ऊर्जा उत्पादन एवं
प्रयोग पूर्णरूपले बन्द गर्ने घोषणा गरेका छन्।
अमेरिकी राज्य क्यालिफोर्नियाले जैविक अवशेष ऊर्जाको प्रयोग क्रमिक रूपमा कम
पार्दै लग्ने र सन् २०३५ पछि क्यालिफोर्नियामा बिक्री हुने कारहरूले शून्य बराबर
कार्बन विसर्जन गर्नुपर्ने कार्यकारी आदेश नै जारी गरिसकेको छ। फ्रान्सले उपयोग
गर्ने कुल ऊर्जामध्ये ६० प्रतिशत जैविक अवशेष ऊर्जा रहेको छ। तर सन् २०३५ सम्म
फ्रान्सले जैविक अवशेष ऊर्जाको प्रयोग ६० प्रतिशतबाट घटाएर ४० प्रतिशत पार्ने
घोषणा गरेको छ। जर्मनीले सन् २०४५ देखि जैविक अवशेष ऊर्जाको प्रयोग पूर्णरूपमा
बन्द गर्ने घोषणा गरेको छ। वर्तमानमा उसले कार्बन विसर्जनलाई ६५ प्रतिशतले कम
पार्ने उद्देश्यसमेत राखेको छ।
चीन र भारतलगायत अन्य केही राष्ट्र अहिले पनि ठूलो परिमाणमा जैविक अवशेष ऊर्जा
उत्पादन एवं प्रयोग गर्छन्। कतार, साउदी अरेबिया,
इरान, इराक, कुवेतजस्ता राष्ट्र त ठूलो परिमाणमा जैविक
अवशेष ऊर्जा उत्पादन गर्छन्। यी राष्ट्रहरूको अर्थ व्यवस्था नै जैविक ऊर्जा
उत्पादनमा निर्भर छ। ठूलो परिमाणमा पेट्रोलियम पदार्थ उत्पादन गर्ने यी
राष्ट्रहरूले पनि निकट भविष्यमैं जैविक उत्पादन कार्य बन्द गर्ने सम्भव देखिंदैन।
भविष्यमा कहिले बन्द गर्ने हुन् भन्न सकिने स्थिति छैन। तर क्रमिकरूपमा यी
राष्ट्रहरूले पनि जैविक अवशेष ऊर्जा उत्पादन कम पार्दै लग्नुपर्छ र कालान्तरमा
बन्दसमेत गर्नुपर्ने हुन सक्छ।
जैविक ऊर्जाको अत्यधिक प्रयोगले विश्व वातारण खराब पार्ने मात्र नभएर जुन
देशले जैविक ऊर्जा बढी प्रयोग गर्ने हो त्यस देशको पर्यावरणसमेत खराब हुने हुनाले
यो मुद्दालाई हरेक राष्ट्रले महत्व दिनुपर्ने भएको छ। र कसरी जैविक ऊर्जा उत्पादन
र प्रयोग कम पार्नेबारे गम्भीर भएर सोच्नुपरेको छ।
अहिले संसारभरिबाट नै सफा ऊर्जा उत्पादन र प्रयोग गर्नुपर्ने आवाज उठिरहेको छ।
सफा ऊर्जा भन्नाले मुख्य गरी तीनथरीका ऊर्जा – सौर्य ऊर्जा, वायु ऊर्जा र जल विद्युत् पर्दछन्। संसारका अनेक देशले सफा
ऊर्जा उत्पादन गर्ने अनेक योजना घोषणासमेत गरेका छन्। अमेरिका र युरोपका अनेक
देशले परम्परागत ऊर्जा वा जैविक ऊर्जा उत्पादन र प्रयोग क्रमिकरूपमा कम पार्दै
जाने र कार्बन विसर्जन उल्लेखनीय परिमाणमा कम पार्ने अनेक योजना तथा कार्यक्रमहरू
ल्याएका छन्।
नेपालले अहिले पनि ठूलो परिमाणमा जैविक अवशेष ऊर्जा उपयोग गरिरहेको छ। हाम्रो
यातायात व्यवस्था पूर्णरूपमा जैविक अवशेष ऊर्जा (प्रेट्रोलियम पदार्थ) मा निर्भर
छ। ज्यादै न्यून मात्रामा मात्र हामीले सफा ऊर्जा– जल विद्युत् उत्पादन गरिरहेका
छौं। विश्वमा आएको यो परिवर्तन–सफा ऊर्जा प्रयोग गर्ने अभियानबाट नेपाल प्रभावित
भएको देखिंदैन।
हामीले पनि देशमा कसरी जैविक ऊर्जाको प्रयोग कम पार्दै जाने र सफा ऊर्जा
उत्पादन कसरी वृद्धि गर्नेबारे गम्भीर भएर सोच्न आवश्यक छ। यस सम्बन्धमा नयाँनयाँ
नीति, योजना र कार्यक्रम निर्माण गर्न आवश्यक छ।
ऊर्जा कुनै पनि देशको आर्थिक विकासको मेरुदण्ड भएको हुनाले हामीले ऊर्जा उत्पादन
विषयलाई गम्भीरतापूर्वक लिन आवश्यक छ। सफा ऊर्जाका तीन मुख्य स्रोतहरू – वायु
ऊर्जा, सौर्य ऊर्ज र जलविद्युत्को नेपालमा ठूलो
मात्रामा उपलब्धता छ। सफा ऊर्जाका यी तीनै स्रोतको हामी अति नै फाइदजनक किसिमले
उत्पादन गरेर उपयोग गर्न सक्छौं।
हामीले सफा ऊर्जा उत्पादनमा जोड दिने हो र यसका लागि अनेक योजना तथा कार्यक्रम
निर्माण गर्ने हो भने ठूलो परिमाणमा सफा ऊर्जा उत्पादन गर्न सक्छौं। ऊर्जाका लागि
भारतप्रति हाम्रो अति निर्भरता उल्लेखनीय किसिमले कम पार्न सक्छौं।
नेपालमा कसरी ठूलो परिमाणमा सफा ऊर्जा उत्पादन गर्न सकिन्छ भन्नेबारे छलफल
गर्न, योजना तथा कार्यक्रमहरू निर्माण गर्न एवं यो
विषयलाई प्राथमिकता दिन हामीले अब ढिलो गर्नुहुँदैन। हामीले ऊर्जा रूपान्तरणमा
तत्काल ध्यान दिनुपर्छ। जैविक ऊर्जा प्रयोगबाट सफा ऊर्जा प्रयोगतिर लाग्नुपर्छ।
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: Friday, June 14, 2024
https://eprateekdaily.com/2024/06/13/69610/
No comments:
Post a Comment