Wikipedia

Search results

Sunday, August 18, 2024

Land Underutilization: Sever Economic Problem-Article-565

 भूमिको अल्प उपयोगः एक गम्भीर आर्थिक समस्या

नेपालमा भूमिको अल्प उपयोग एक गम्भीर समस्याको रूपमा देखिएको छ। हामीले देशभित्र उपलब्ध रहेको भूमिको उपयोग बढी मात्रामा गर्न सकेका छैनौं। अर्कोतिर, कृषि क्षेत्र युवाहरूका लागि आकर्षक हुन सकिरहेको छैन। रोजगारको लागि युवाहरू खाडी देशहरूलगायत सात समुद्र पार जान तयार छन्। खाडीको तातो हावा र मरुभूमिमा काम गर्न तयार छन्। युक्रेनको सेना भएर रूससँग र रूसको सेना भएर युक्रेनसँग युद्ध गर्न तयार छन् तर स्वदेशमा रहेर कृषि कार्यमा संलग्न हुन तयार छैनन्। कृषि क्षेत्रले युवाहरूलाई पटक्कै आकर्षित गर्न सकिरहेको छैन। अहिले कृषि क्षेत्र उपेक्षित हुन पुगेको छ। नेपालको इतिहासमा यस्तो कहिले पनि भएको थिएन।

भूमि उपयोगमा अहिले दुई किसिमका समस्या प्रमुखरूपमा देखिएका छन्। पहिलो, हामीले पहाडी र हिमाली क्षेत्रहरूलाई कृषिको लगि लाभदायक किसिमले उपयोग गर्न सकेका छैनौं। दोस्रो, कृषि क्षेत्र युवाहरूका लागि आकर्षक हुन सकेको छैन। यी दुई कारणले गर्दा उपलब्ध भूमिको उत्पादन क्षमताको पूर्ण उपयोग हुन सकिरहेको छैन। र यिनै कारणहरूले गर्दा नै रोजगारको क्षेत्र विस्तार हुन सकिरहेको छैन। ठूलो मात्रामा हामी अन्न, फलफूल, माछा, मासुजस्ता खाद्य पदार्थ भारतबाट आयात गर्न बाध्य भइरहेका छौं। विदेशबाट कमाएर ल्याएको विदेशी मुद्रा भारत पठाउन बाध्य भइरहेका छौं। यो अति नै दुःखदायी कुरा हो। नेपाली अर्थतन्त्रको लागि विषादको कुरा हो।

दैनिक उपभोग्य वस्तुहरू हामी ठूलो परिमाणमा भारतबाट आयात गर्छौं। भारतबाट अनेक सामग्री आयात गर्दा भारतलाई ठूलो परिमाणमा विदेशी मुद्रा भुक्तान गर्छौं। यसरी, हामीले एकातिर देशमा उपलब्ध भूमिको सदुपयोग कृषि कार्यमा गर्न सकेका छैनौ भने अर्कोतिर कृषि क्षेत्रको सदुपयोग नगरेको कारणले गर्दा विदेशमा दुःख गरी कमाएर ल्याएको विदेशी मुद्रा ठूलो परिमाणमा भारतलाई भुक्तान गरिरहेका छौं।

भूमि वितरणको हिसाबले हामी राम्रो स्थितिमा छौं। जस्तै, उदाहरणको लागि १,४८,४६० वर्ग किलोमिटर क्षेत्रफल रहेको बङ्गलादेशको जनसङ्ख्या १७ करोड ५० लाख रहेको छ जबकि १,४७, ५१६ वर्ग किलोमिटर क्षेत्रफल रहेको नेपालको जनसङ्ख्या केवल ३ करोड छ। नेपालको जनघनत्व प्रतिवर्ग किलोमिटरमा १८० रहेको छ भने बङ्गलादेशको जनघनत्व प्रतिवर्ग किलोमिटर १,१६५ छ। नेपाल, जनसङ्ख्याले थिचिएको देश होइन। भूमि वितरणको हिसाबले हेर्ने हो भने जनसङ्ख्याको तुलनामा नेपाल पर्याप्त भूमि भएको देश हो। प्रचुर मात्रामा कृषियोग्य भूमि भए तापनि हामीले यसको उपयोग गर्न सकेका छैनौं। रोजगारका लगि हामी विभिन्न देशका विषम भूमिहरूमा काम गर्छौ तर स्वदेशको भूमिको प्रयोग गर्दैनौं। यस्तो हुनुमा केवल सरकार मात्र दोषी छैन। हाम्रो सामाजिक मनोविज्ञान पनि दोषी छ। कृषिलाई तल्लो र सरकारी जागीरलाई माथिल्लो दर्जाको पेशा देख्ने हाम्रो सामाजिक मनोविज्ञान पनि दोषी छ। 

कृषिलाई मर्यादित पेशा नदेख्ने हाम्रो सामाजिक मनोविज्ञानमा हामीले परिर्वतन ल्याउन आवश्यक छ। हामीले हाम्रो यो सामाजिक मनोविज्ञानमा परिवर्तन ल्याउने हो, कृषिलाई अति मर्यादित पेशाको रूपमा स्थापित गर्ने हो भने रोजगारका लागि अनेकौं देश भौतांरिनु नै पर्दैन। आफ्नै देशभित्र रोजगार पाएर स्वदेशमा नै आनन्दपूर्वक बस्न पाउँछौं। आफ्नो देश भित्र जति आनन्द र सुरक्षा पाउन सकिन्छ त्यति विदेशको बसाइमा पाउन सकिंदैन। यो भावना होइन, भोगिएको कुरा हो। सत्यापनको लागि प्रवासमा रहेका नेपालीहरूसँ सोधे हुन्छ।

नेपालको सन्दर्भमा, भूमिको बढी उपयोगमा हामीले बढी जोड दिनुपर्ने अर्को पनि कारण छ। हामी अहिले उद्योग र व्यापारप्रति ज्यादै आश्रित हुन पुगेका छौं। उद्योग र व्यापारप्रतिको हाम्रो अति निर्भरता कम पार्न पनि हामीले भूमिको उपयोगमा जोड दिन आवश्यक छ। कृषि क्षेत्रलाई महत्व दिन आवश्यक छ।

वर्तमान वैश्य युगको ठूलो दुर्गुण के रहेको छ भने अहिले हामी केवल एक चीज मात्र उत्पादन गर्छौ। त्यो हो श्रम। उपभोग भने हजारौं चीज गर्छौं। हजारौं चीज उपभोग गरे तापनि उपभोग गर्ने चीजहरूमध्ये कुनै एउटा पनि उत्पादन गर्दैनौं। भान्सामा प्रयोग हुने मसला (जीरा, धनिया, तोरी आदि) सम्म पनि उत्पादन गर्दैनौं। यी कुराहरू बारीमा सम्म पनि उत्पादन गर्न सकिन्छ, तर गर्दैनौं। केवल मात्र एक चीज– श्रम उत्पादन गर्ने र त्यो श्रम बिक्री गरेर हजारौ वस्तु खरीद गर्ने, अहिले हामी यही स्थितिमा छौं। अहिले हामी श्रमबाहेक केही उत्पादन गरिहेका छैनौं। यो कारणले गर्दा उद्योग र व्यापार क्षेत्रप्रतिको हाम्रो निर्भरता अभूतपूर्व किसिमले बढेको छ। दुःखदायी किसिमले बढेको छ।

उद्योग र व्यापारप्रति हाम्रो निर्भरता अभूतपूर्व किसिमले बढेकोले हामी अहिले रोजगार नपाएमा बाँच्न नै नसक्ने स्थितिमा पुगेका छौं। भूमि हामी उपयोग गर्न मन पराउँदैनौं। स्वयं केही उत्पादन गर्न चाहँदैनौं। उद्योगपति एवं व्यापारीहरूले पनि यस स्थितिको फाइदा उठाउँदै, कम ज्याला वा तलब दिएर कामदारहरूको श्रम उपयोग गर्न पाएका छन्। बजारमा श्रमको आपूर्ति ठूलो मात्रामा छ। अर्थात् बजारमा श्रमिक वा कामदारहरूको कुनै कमी छैन। यही कारणले हो, थोरै मानिस धनी हुने अनि बहुसङ्ख्यक व्यक्ति गरीब हुने स्थिति सृजना भएको छ। यो समस्या अहिले, नेपालमा मात्र होइन, संसारभरि नै देखिएको छ।

उद्योग र व्यापारप्रतिको हाम्रो अति निर्भरताले गर्दा अहिले केवल केही व्यक्तिलाई धनी हुन, अति धनी हुन ज्यादै सजिलो भएको छ। उद्योग र व्यापार प्रति हामी अति निर्भर रहेको कारणले नै उद्योग र व्यापारको क्षेत्रमा बाध्य भएर हामीले काम गर्न जानुपरेको छ। कृषि क्षेत्रको हामीले समुचित विकास गरेको भए यस्तो स्थिति आउने थिएन। 

नेपालमा उपलब्ध भूमिलाई तीन किसिमबाट व्यवस्थित र प्रभावकारी किसिमले उपयोग गर्न सक्छौं। एकल खेती, सामूहिक खेती र भाडा–खेती गरी हामी तीन किसिमले उपलब्ध भूमिको प्रभावकारी उपयोग गर्न सक्छौं। कृषि क्षेत्रमा लाखौंलाई रोजगार दिन सक्छौं।

एकल खेती: कुनै एक व्यक्ति वा परिवारले आफूसँग उपलब्ध भूमिको अनेक किसिमका फलफूल, तरकारी, जटिबुटी आदि उत्पादन गर्न प्रयोग गर्न सक्छ। एकल स्वामित्व, लगानी, व्यवस्थापन एवं नियन्त्रणमा त्यस किसिमको कार्य गर्न सक्छ। यस्तो गर्न सरकार र समाजले व्यक्ति एवं परिवारहरूलाई प्रोत्साहित गर्नुपर्छ।

सामूहिक खेती : खास किसिमको तरकारी, फलफूल वा अन्य उत्पादन गर्न ठूलो क्षेत्र आवश्यक वा अति उपयोगी हुने भएमा विभिन्न परिवार वा कृषकहरू मिलेर सामूहिक खेति गर्न सक्छन्। सामूहिक लगानी, स्वामित्व, व्यवस्थापन एवं नियन्त्रणमा पनि यस किसिमले सामूहिक खेती गर्न सकिन्छ। सामूहिक खेतीलाई सजिलो पार्न स्थानीय सरकारहरूले प्रभावकारी नियम एवं ऐन निर्माण गर्नुपर्छ।

भाडा खेती : आफूसँग रहेको भूमि अन्य व्यक्ति वा व्यापारिक संस्थाहरूलाई भाडामा दिएर पनि आफ्नो भूमिको प्रयोग गर्न सकिन्छ। ठूलो क्षेत्रफल उपयोग गरेर कुनै किसिमको कृषि–व्यापार गर्नका लागि भाडा–खेती निकै उपयोगी रहेको देखिएको छ। भाडा–खेतीलाई प्रोत्साहित गर्न सरकारले अनेक किसिमका योजनाहरू ल्याउनुपर्छ। अनेक किसिमका ऐन, कानूनको व्यवस्था गर्नुपर्छ।

नेपालमा रोजगारको क्षेत्र विस्तार गर्न हामीले कृषि क्षेत्रलाई महत्व दिनुको विकल्प छैन। देशमा उपलब्ध भूमिको उपयोग कसरी अत्यधिक लाभदायक किसिमले गर्न सकिन्छ भनेर नयाँनयाँ सोच, योजना, तरीकाहरूको विकास हामीले गर्न आवश्यक छ।

हामी धन भएर पनि गरीब छौं। सीप भएर पनि बेरोजगार छौं। बल भएर निर्बल छौं। यो स्थिति हामी आफैंले ल्याएको हो। हामीले देशमा उपलब्ध स्रोत र साधनको समुचित उपयोग गर्न सकिरहेका छैनौं। हामीसँग अपार स्रोत र साधन छन् तर तिनको उपयोग गर्न सकिरहेका छैनौं। हरेक कुरामा सरकारलाई दोषी देख्छौं। नेताहरूले देशलाई बर्बाद गरे भन्छौं।

अक्षम, बेइमान, भ्रष्टाचारी नेता हामीले नै निर्वाचित गरेको हो। पटकपटक तिनै नेताहरूलाई सत्तामा हामीले नै पुर्याएको हो। हामी यस्तो गर्छौ तर दोष सरकारलाई दिन्छौं। यस्तो व्यवहारमा कहिले परिवर्तन ल्याउने?


विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, August 16, 2024

https://eprateekdaily.com/2024/08/16/73479/

No comments:

Post a Comment