देश गरीब हुने कारण
अहिलेसम्म पनि स्वीकृति परम्परागत मान्यताले के
भन्छ भने धनी देशहरू गरीब देशहरूको शोषण गरेर धनी भएका हुन्छन्। अन्य विभिन्न
देशका स्रोत र साधनहरू प्रयोग गरेर धनी भएका हुन्छन्। अर्थात् धनी हुनका लागि धनी
देशहरूले गरीब देशहरूको आर्थिक शोषण गर्छन्।
धनी हुनका लागि नै विगतमा अनेक देशहरूले
उपनिवेश खडा गरेका थिए। विशाल बेलायती साम्राज्य अनेक देशहरूको साधन र स्रोतहरूको
दोहन गर्नका लागि नै स्थापना भएको थियो। रोमन, फ्रेन्च, स्पेनिस, पुर्चुगिजहरूले अन्य देशहरूको साधन र स्रोत
प्रयोग गरेर आफू धनी र बलियो हुन अनेक देशहरूलाई आफ्नो उपनिवेश बनाएका थिए। ब्रजील बाहेक,
दक्षिण अमेरिकाका लगभग सम्पूर्ण देशहरू कुनै
बेला स्पेनिस उपनिवेश थिए। यसैगरी अफ्रिकाका धेरै देशहरू पोर्जुगिज, फ्रेन्च र ब्रिटिशहरूको उपनिवेश थिए। कुनै समय
ब्रिटिशहरूको उपनिवेश उत्तर अमेरिका, अफ्रिका मात्र होइन एशियासम्म पनि विस्तार भएको थियो। हाम्रो छिमेकी राष्ट्र
भारतमा नै ब्रिटिशहरूले लामो समय प्रत्यक्ष शासन गरेका थिए।
धनी र बलियो हुनका लागि नै एउटा देशले अनेक
देशहरूको आर्थिक शोषण गर्दछ भन्ने धारणामा कम्युनिस्टहरूले बलियो विश्वास गर्छन्।
कम्युनिस्टहरूले यो भ्रम अहिले पनि छरिरहेका छन् र यै भ्रम छरेर अनेक देशहरूमा
शासन गर्न वा चुनावमा विजयी भएर सत्ता हातमा लिन सफल भएका छन्। कम्युनिस्टहरूले
धनी देशहरूलाई दिने एउटा प्रचलित नाम छ। त्यो हो पूँजीवादी देश। कम्युनिस्टहरूका
अनुसार धनी देशहरूले गरीब देशहरूको शोषण गरेर देशभित्र विशाल पूँजी निर्माण गरेका
हुन्छन् र त्यो पूँजीको प्रयोग आफ्नो देशलाई झनै र बढी धनी बनाउ प्रयोग गर्छन्।
त्यो पूँजीको प्रयोग अन्य राष्ट्रहरूलाई आप्mनो नियन्त्रणमा राख्नसमेत गर्छन्।
विभिन्न राष्ट्रमाथि उपनिवेश खडा गरेर केही
देशहरू धनी हुने जमाना अहिले छैन। अहिले संसारको कुनै पनि देशमा अर्का देशको
उपनिवेश छैन। अहिले विश्वमा उपनिवेश स्थापना गर्ने पद्धति समाप्त भए अनुसार देशहरू
गरीब हुने (धनी देशहरूले शोषण गरेको कारण) क्रम समाप्त हुनुपर्ने हो। होइन त?
कुनै बेलाका उपनिवेश राष्ट्रहरू भारत, बर्मा, मलेशिया, येमन, मोरक्को, सोमालिया, अल्जेरिया, मरूटानिया, चाड, अङ्गोला, लिबिया, रवान्डा आदि अहिले धनी हुनु पर्ने होइन र? उल्टो सोमालिया, येमन, रवान्डाजस्ता
देशहरूमा अनेक किसिमका सङ्घर्ष जारी छन्।
अहिले पनि विभिन्न देशहरू झनै गरीब हुने वा गरीबीको कुचक्रबाट बाहिर आउन नसक्नुको कारण के होला त?
धनी देशहरू विभिन्न राष्ट्रहरूको र खासगरी गरिब
राष्ट्रहरूको आर्थिक शोषण गरेर धनी हुन्छन् वा भएका हुन् भन्ने मान्यता सर्वकालीन
सत्य होइन। र पूर्ण सत्य पनि होइन। यो मान्यता कुनै समय सही थियो। तर अहिले भने
छैन। अहिले केवल न्यूनरूपमा मात्र सही छ।
अहिलेको वर्तमान विश्वमा कुनै पनि देशलाई गरीब
पार्ने एउटा बलियो कारण अति सक्रिय रहेको देखिएको छ। त्यो बलियो कारण सामाजिक
मनोविज्ञान हो। अहिले विभिन्न राष्ट्रहरूलाई त्यस देशभित्र प्रचलित रहेको सामाजिक
मनोविज्ञानले गरीब बनाउन प्रभावकारी भूमिका खेलिरहेको छ। अफगानिस्तान, नेपाल, सुडान, इथियोपिया, नाइजेरिया, सोमालिया, माली, हाइटीलगायत एशिया, अफ्रिका र दक्षिण
अमेरिकाका विभिन्न राष्ट्रहरू सामाजिक मनोविज्ञानको कारण गरीब हुन पुगेका छन्।
तुलनात्मकरूपमा झन्झन् गरीब हुँदै गएका छन्।
कमजोर र रोगी सामाजिक मनोविज्ञानका कारण
विभिन्न देशहरू गरीबीको अवस्थामा रहन बाध्य भएका छन्। त्यति मात्र होइन, विभिन्न राष्ट्रहरूको कमजोर र रोगी सामाजिक
मनोविज्ञानले अन्य विभिन्न राष्ट्रहरूलाई धनी हुन सहयोगसमेत पुर्याइरहेको छ।
धार्मिक कट्टरता, लैङ्किक असमानता, छुवाछूत, जातपात, आर्थिक भ्रष्टाचार, नैतिक भ्रष्टाचार, पदीय भ्रष्ट्राचार,
कमजोर नैतिकता, बेइमानी, स्वार्थ
सर्वाेच्चता आदि यस्ता तत्व हुन् जसले एक
विशेष किसिमको सामाजिक मनोविज्ञान निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ। कुनै पनि सामाजिक मनोविज्ञानमा
माथिका तत्वहरू अति सक्रिय भएमा सामाजिक मनोविज्ञान कमजोर एवं रोगी हुन पुग्छ। र
कमजोर मनोविज्ञानले देशको आर्थिक विकास हुन दिंदैन। कसरी? उत्तर सजिलो छ। र यस प्रश्नको उत्तर खोज्न धेरै पर पनि
पुग्नुपर्दैन। केही पर रहेको हाम्रो छिमेकी राष्ट्र अफगानिस्तानलाई हेरे पुग्छ।
अफगानिस्तानको कमजोर सामाजिक मनोविज्ञानले
पुरुष र महिला बीच ठूलो विभेद गर्छ। महिलाहरूलाई पुरुष सरह अधिकार र सुविधा
दिंदैन। अफगानिस्तान लैङ्गिक असमानताको ठूलो पक्षधर हो। अफगानिस्तानको रोगी र
कमजोर सामाजिक मनोविज्ञानले महिलाहरूलाई स्कूल, कलेज र कार्यस्थलमा जान बन्देज गर्छ। उच्च शिक्षाबाट र
सरकारी सेवाबाट वञ्चित गर्छ। अफगानिस्तानको सामाजिक मनोविज्ञानले देशको आधा आकाश
बोक्ने महिलाहरूलाई शिक्षाबाट वञ्चित गरेपछि कसरी देशको आर्थिक विकास सम्भव हुन
सक्छ ? देश झन् गरीब हुन्छ। देशभित्र उत्पादन गतिविधि
कम हुन्छ र अन्य विभिन्न देशबाट आयात गर्ने स्थितिमा पुग्छ। अन्य देशलाई धनी
पार्ने स्थिति आफैंले सृजना गर्छ, अफगानिस्तानले
गरेजस्तै।
दक्षिण अमेरिकाका अनेक राष्ट्रहरूलाई
भ्रष्टाचार र अपराधले अति नै सताएको छ। दक्षिण अमेरिकाका केही देशहरूमा सरकार र
अपराधी सङ्गठन (लागू औषधीका तस्कर) हरूले समानान्तर सरकार चलाएको सुनिएको छ। केही
देशहरूमा सरकार कमजोर छ, अपराधी सङ्गठनहरू
बलिया छन्। देशभित्र सुरक्षा व्यवस्था अति कमजोर भएर, आफ्नो र परिवारको ज्यान हर घडी असुरक्षित हुने देखेर,
ज्यान जोगाउनैका लागि भए पनि, लाखौं मानिस बलपूर्वक, गैरकानूनीरूपमा, संयुक्त राज्य अमेरिका प्रवेश गर्न खोजेको समाचारहरू जति पनि सुन्न पाइन्छ।
अर्थात् बढ्दो अपराधका कारण दक्षिण अमेरिकाका केही राष्ट्रहरूमा सामान्य
नागरिकहरूलाई बाँच्न कठिन छ। दक्षिण अमेरिकाका केही राष्ट्रमा व्याप्त सामाजिक
मनोविज्ञानले ती देश र तिनका जनतालाई गरीब पार्न महŒवपूर्ण भूमिका खेलिरहेको छ।
दक्षिण अमेरिकाका देशहरूमा अफ्रिकाका देशहरूमा
जस्तो जातीय हिंसा ठूलो समस्याको रूपमा देखिएको त छैन तर लागू पदार्थका
तस्करहरूद्वारा मचाइएका अनेक किसिमका हिंसाहरू भने ठूलो समस्याको रूपमा देखिएको छ।
र ती हिंसाहरूले दक्षिण अमेरिकी देशहरूलाई धनी हुन दिइरहेको छैन। उल्टो गरीब
पारिरहेको छ। र ती देशहरू राष्ट्रिय सुरक्षाका लगि संयुक्त राज्य अमेरिकाको शरणमा
जान बाध्य भएका छन्।
नेपालको सामाजिक मनोविज्ञान पनि बिरामी छ।
हाम्रो सामाजिक मनोविज्ञान बिरामी भएकोले नै हामी आर्थिक विकासको बाटोमा पछाडि
परेका हौं। देश साधन र स्रोतले भरिपूर्ण छ। तर आर्थिक विकास हुन सकिरहेको छैन।
देशभित्र रोजगार नभएर हामी केवल रोजगारका लागि विश्वका अनेक देश पुगिरहेका छौं।
हाम्रो रोगी सामाजिक मनोविज्ञानले त्यागी,
इमानदार र कर्मठ नेताहरूको जन्म हुन दिइरहेको
छैन। नेपालको आर्थिक विकासको लागि नेताहरूबीच समझदारी र सहकार्य हुन सकिरहेको छैन।
देश आर्थिक विकास गर्न कुनै पनि दल र नेता त्याग गर्न तयार छैन। हरेक दलले सत्तामा
पुग्न षड्यन्त्र गर्छ। हरेक नेता मन्त्री, प्रधानमन्त्री हुन बेइमानी र जालझेलमा सक्रिय हुन्छ। नेपालको आर्थिक विकास
गर्न कुनै पनि नेता पद, शक्ति र सत्ता
परित्याग गर्न तयार छैन। यस्तो गरेर पनि हुन्छ आर्थिक विकास? यस्तो गरेर आर्थिक विकास झनै अवरुद्ध हुन्छ।
हाम्रो सामाजिक मनोविज्ञान भविष्यमा पनि
अहिलेको जस्तै रोगी हुने होस इमानदार, त्यागी र कर्मठ नेताहरूको जन्म नहुने हो भने नेपालमा गरीबी मात्र वृद्धि हुने
होइन देशको सार्वभौम सत्ता पनि सङ्कटमा पर्न सक्छ।
नेपालजस्तो स्रोत र साधनहरूले भरिएको देशमा आर्थिक विकस गर्न धेरै काम गर्नुपर्दैन। केवल एउटा कुरा मात्र गरिदिए हुन्छ। नेताहरूले एउटा कुरा गरिदिए हुन्छ। नेताहरू इमानदार, त्यागी र कर्मठ भइदिए पुग्छ। वर्तमानका नेताहरू इमानदार, त्यागी र कर्मठ भइदिए आर्थिक विकासको गतिले तीव्रता लिने थियो। त्यति मात्र होइन, आउने पुस्ताका नेताहरू पनि पाठ सिक्दै, इमानदार, त्यागी र कर्मठ हुने थिए। देशभित्र इमानदार, त्यागी र कर्मठ नेता जन्म लिने संस्कारको सूत्रपात हुने थियो।
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: Friday, December 27, 2024
No comments:
Post a Comment