गरीब र धनीबीचको अन्तर झनै फराकिलो हुने
समय गतिशील छ। संसार गतिशील छ। विचार गतिशील छ।
हरेक कुरा गतिशील छ। स्थिर कुनै कुरा पनि छैन। गतिशीलता अपरिहार्य छ। परिवर्तन
अपरिहार्य छ। तर महत्वपूर्ण कुरा के छ भने त्यसरी हुने परिवर्तनहरू मानव समाजको
लागि हितकर हुन सकेका छन् कि छैनन् भन्ने प्रश्नतिर हाम्रो ध्यान जानु। त्यसप्रति
हामी गम्भीर हुनु।
कृषियुगमा मानिसको जीवन कृषिमा आधारित थियो।
बहुसङ्ख्यक व्यक्ति कृषिमा लागेको हुनाले र उत्पादन व्यवस्थामा बहुसङ्ख्यक
व्यक्तिको संलग्नता भएको हुनाले खाद्यान्नको लागि अहिलेजस्तो बहुसङ्ख्यक व्यक्ति
बजारमा आश्रित हुने स्थिति थिएन। बहुसङ्ख्यक व्यक्तिले आफूलाई आवश्यक पर्ने धेरै
वस्तु स्वयं उत्पादन गर्दथे। आफ्नो लागि फलफूल, तरकारी, अन्न, माछ, मासु आदि स्वयं उत्पादन गर्थे। तर अहिले बहुसङ्ख्यक व्यक्ति केवल श्रम उत्पादन
गर्छन् र त्यही श्रम बिक्री गरेर जीवन निर्वाहका लागि आवश्यक खाद्यान्नलगायत वस्तु
खरीद गर्छन। कृषिप्रतिको हाम्रो निर्भरता अहिले अभूतपूर्व किसिमले घटेर गएको छ।
अर्कोतिर श्रम बिक्री गर्न श्रम बजारमाथि हाम्रो निर्भरता अभूतपूर्व किसिमले बढेको
छ। अहिले हामी श्रम बिक्री गर्न नपाए भोकै बस्नुपर्ने स्थितिमा पुगेका छौं। कृषि
क्षेत्रबाट ठूलो सङ्ख्यामा व्यक्ति विमुख भएकाले यस्तो स्थिति सृजना भएको हो। यो
स्थितिले गरीबी वृद्धि गर्नेछ। साथै गरीब र धनीबीचको खाडल झनै फराकिलो पार्नेछ।
हेर्दा सामान्य देखिए पनि यो गम्भीर समस्या हो।
कृषि युगमा केही सीमित व्यक्तिहरू छोटो समयमा
नै अत्यधिक धनी हुन सम्भव थिएन। छोटो समयमा धेरै धन सृजना गर्न सजिलो थिएन। एउटा
बाली तयार पारेर बिक्री गर्न सकिने अवस्थामा पुर्यउन कम्तिमा चार वा पाँच महीना कुर्नुपर्ने हुन्थ्यो। अर्थात्
धनी हुन पनि केही समय कुर्नुपर्दथ्यो। धनी हुने गति मन्द थियो। यस कारणले गर्दा
पनि धनी र गरीबीच खाडल ठूलो थिएन। आय वितरण अहिलेजस्तो अति असामान्य थिएन।
मानव सभ्यता जब उद्योग युगमा प्रवेश गर्यो उत्पादन व्यवस्था सरल भयो। मानव जीवन पनि सरल
भयो। तर दुःखद कुरा के भयो भने उद्योग युगले मानिसलाई छोटो समयमा धनी हुन सरल
पारिदियो। आज उत्पादन गरेको वस्तु आजै बिक्री गर्न पाइने भयो। कृषि युगमा जस्तो
कुर्नुपर्ने भएन। उद्योग युगले छोटो समयमैं मानिसलाई धनी हुन सजिलो त पार्यो तर
सीमित व्यक्तिलाई मात्र धनी बन्न सजिलो भयो। जो बुद्धिले तीव्र र धन, सम्पत्तिले भरिपूर्ण थिए, त्यस्तालाई धनी हुन झनै सजिलो भयो। तर
बहुसङ्ख्यक मानिसलाई त्यो अवसर प्राप्त हुन सम्भव भएन।
उद्योग युगले गरीब र धनीबीचको दूरी झन फराकिलो
पारिदियो। केही व्यक्ति मात्र, देश वा संसारमा
सर्वाधिक धनी हुन सक्ने स्थिति उत्पन्न गरिदियो। उद्योग क्षेत्रमा भएको अभूतपूर्व
विकासले त्यति मात्र गरेन, साथै देश वा
संसारको अर्थ व्यवस्था नै केही सीमित व्यक्तिको नियन्त्रणमा हुने अवस्था सृजना
गरिदियो। तर पनि उद्योग युगमा एउटा गुण थियो वा छ, भन्नुपर्ने हुन्छ। त्यो के भने उद्योग युग वा वस्तु उत्पादन
व्यवस्थामा मजदूर वा कामदारहरू पनि ठूलो सङ्ख्यामा संलग्न हुनुपर्ने भएकोले
उत्पादन व्यवस्थाबाट हुने आम्दानी केवल उद्योगपतिहरूको हातमा मात्र रहने अवस्था
रहेन वा छैन। उत्पादन व्यवस्थाबाट हुने आम्दानी कामदार तथा श्रमिकहरूको हात,
पारिश्रमिक वा ज्यालाको रूपमा, न्यून मात्रमा नै भए पनि, जाने अनिवार्यता रह्यो वा छ।
अहिले हामी सेवा युगमा प्रवेश गरेका छौं। यो
युगमा सर्वाधिक सङ्ख्यामा सेवा उत्पादन हुने गरेको छ। अन लाइन वा नयाँ तरीकाले
वस्तु बिक्री गर्ने, अनलाइन (टिकटक,
युट्युब, फेसबूक आदि) मनोरञ्जनका सामग्री उत्पादन गर्ने, नयाँनयाँ सफ्टवेयर (च्याट जिपिटी, आर्टिफिसिएल इन्टेलिजेन्स आदि) उत्पादन गर्ने
जस्ता अनेक कार्यहरू यस युगमा भइरहेका छन्। सेवा युगले वस्तु होइन, सेवा उत्पादन गर्नमा बढी जोड दिइरहेको छ ।
ज्ञान, बुद्धि वा चलाकी बिक्री गर्न जोड दिइरहेको छ।
अहिले यो सेवा युगमा, कुनै एक व्यक्ति वा थोरै व्यक्तिहरूको एक समूहले अनेक
किसिमका सेवा (प्रविधि, ज्ञान, पद्धति आदि) बिक्री गरेर करोडौ कमाउन सक्ने
स्थिति सृजना भएको छ। अहिले, यो सेवा युगमा अति
धन आर्जन गर्न कृषि युगमा जस्तो हजारौं बिघा जमीनमा खेती गर्नुपर्ने स्थिति छैन।
अहिले, यो सेवा युगमा अति धन आर्जन गर्न अनेक कारखाना
सञ्चालन गरेर ठूलो मात्रामा वस्तु उत्पादन गर्नुपर्ने स्थिति छैन। यो सेवा युगमा
फेसबूक, युट्युबल, अमेजन आदिले प्रविधि वा सेवा मात्र बिक्री गरेर करोडौं
रुपियाँ कमाउन सकिने स्थिति सृजना गरिदिएको छ। यो युग ‘स्मार्ट थिंकिड्ढो युग हो,
परिश्रमको युग होइन।
यो सेवा युगको सर्वाधिक ठूलो दुर्गुण के
देखिएको छ भने बिक्रीका लागि बजारमा आउने वस्तुहरू उपभोक्ताहरूको आवश्यकता अनुसार
कम, बिक्रेतालाई मुनाफा अत्यधिक हुनेगरी आइरहेका
छन्। अर्को शब्दमा यस सेवा युगमा उत्पादकहरू त्यस्ता वस्तु उत्पादन गर्न बढी जोड
दिइरहेका छन्, जसमा उनीहरूलाई बढी
मुनाफा हुन्छ। बिक्रेताहरू पनि त्यस्ता वस्तु बिक्री गर्न बढी जोड दिइरहेका छन्
जसको बिक्रीले बढी फाइदा हुन्छ। उपभोक्ता हितकारी वस्तु उत्पादन गर्ने कुरा गौण र
उत्पादक तथा बिक्रेतालाई मुनाफा बढी हुने वस्तु उत्पादन गर्नु प्रमुख हुन पुगेको छ।
सामान्य वाच (घडी) बिक्री गरेर उत्पादकहरूलाई धेरै फाइदा हुँदैन। तर ‘स्मार्ट वाच’
उत्पादन गरेर धेरै फाइदा हुने भएकोले अहिले ठूलो मात्रामा स्मार्ट वाच उत्पादन एवं
बिक्री भइरहेको छ। स्मार्ट वाच के उपभोक्ताहरूको माग अनुसार बजारमा आएको हो,
पक्कै होइन। स्मार्ट वाच नहुँदा पनि मानिसको
समय हेर्ने आवश्यकता पूरा भएकै थियो। स्मार्ट वाच उत्पादकको फाइदाको लागि बजारमा
आएको हो।
सेवा युगले केवल सीमित व्यक्ति, छोटो समयमा बुद्धि मात्रको भरमा, अत्यधिक धनी हुने अवस्था सृजना गरिदिएको छ।
त्यति मात्र होइन, मुनाफालाई सर्वाधिक
महत्व दिने गरेको छ। मानव कल्याणलाई महत्वहीन ठानेको छ। अहिले कुनै पनि कम्पनी वा
व्यावसायिक संस्थाको सफलता त्यस संस्थाले गर्ने मुनाफाको आधारमा मापन गरिन्छ। कुनै
कम्पनी वा व्यावसायिक संस्थाले मानव कल्याण अभिवृद्धि गर्न के कस्तो भूमिका खेल्यो
भन्ने कुरा चासो वा जनसरोकारको विषय हुने गरेको छैन।
सेवा युगले छोटो समयमा अत्यधिक धन सृजना गर्न
सजिलो र केही व्यक्तिहरू मात्र अत्यधिक धनी हुने स्थिति सृजना गर्ने भएकोले यस
युगले कुनै एक देश मात्र होइन, संसारभरिका देशमा
नै गरीब र धनीबीचको फरकलाई झनै ठूलो पार्ने स्थिति देखिएको छ। यो युगले गरीब वा
विकासशील राष्ट्रहरूलाई मात्र होइन, धनी देशहरूलाई पनि सताउने छ। धनी देशहरूमा पनि यो सेवा युगले गरीब र धनीबीचको
दूरी झन् फराकिलो पार्नेछ।
बाहिरबाट हेर्दा सेवा युग उन्नत युगको रूपमा
देखिएको छ। ज्ञान, विज्ञान र
प्रविधिको उच्च विकास भएको युगको रूपमा देखिएको छ। यस युगले मानव जीवनलाई अनेक
सेवा र सुविधाले युक्त पारिदिएको देखिएको छ। तर भित्रबाट हेर्दा भने यो युगले ठूलो
चुनौति वा समस्या खडा गरिदिएको छ। यस युगले निश्चय पनि गरीब र धनीबीचको दूरी झनै
ठूलो पार्नेछ। बहुसङ्ख्यक व्यक्ति तुलनात्मक रूपमा झनै गरीब हुनेछन्। मानिसमा
असन्तोष झनै बढ्ने छ।
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: Friday, December 20, 2024
https://eprateekdaily.com/2024/12/20/77872/
No comments:
Post a Comment