Friday, February 7, 2014

Role of Idle Hour in the Price Increase-Article-111

 मूल्य वृद्धी र प्रयोग नगरिएको समय

वस्तु वा सेवाको उत्पादन एवं वितरण लागत वृद्धि गराउनमा प्रयोग नगरिएको समय (Idle hour) ले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। यसै गरी महँगी बढाउनमा र गरिब जनताको क्रय शक्ति क्षिण गराउनमा पनि प्रयोग नगरिएको समयले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। धनी वा विकसित देशहरुले उत्पादन एवं वितरणका क्षेत्रहरुमा विज्ञान र प्रवधिको भरपूर उपयोग गरेर प्रयोग नगरिएको समयलाई कम वा केही अवस्थाहरुमा निर्मुल समेत पार्न सकेका छन। अनि उत्पादन एवं वितरण लागत कम पारि वस्तु तथा सेवाको मूल्य कम पार्न सफल भएका छन्। उपभोक्ताहरुलाई तुलनात्मक रुपमा सस्तोमा वस्तु तथा सेवाहरु गराउन सक्षम छन। तर विकासोन्मुक वा गरिब राष्ट्रहरुले साधन र स्रोतहरुको अभावमा प्रयोग नगरिएको समयलाई कम पार्न सकेका छैनन्। परिणामस्वरुप उत्पादन र वितरण लागतलाई ती राष्ट्रहरुले कम पार्न गार्हो भइ रहेको छ  अनि वस्तु र सेवाको मूल्य विकसित मुलुक भन्दा चर्को हुन पुगेको छ। यो कारणले गर्दा पनि विकासशील मुलुकहरुमा मुद्राको क्रयशक्ति विकसित मुलुकहरुको भन्दा कमजोर हुन गएको छ। विकसित मुलुकहरुका, जस्तै अमेरिका वा संयुक्त अधिराज्यका क्रमस: एक डलर वा एक पौण्डले पनि बजारमा बलियो विनियम (खरिद) क्षमता राख्दछन। अमेरिकाको सन्दर्भमा कुरा गर्ने हो भने यहाँ ठूलो संख्यामा डलर ट्री (एक किसिकमको खुद्रा बिक्री भण्डार) विभिन्न शहरहरुमा संचालति रहेको देख्न सकिन्छ। डलर ट्रिहरुले केवल एक डलरमा विभिन्न किसिमका घर घरायसीका सामानहरु बिक्री गर्छन। कम आय हुनेहरुले सस्तो मूल्यमा यस्ता भण्डारहरुबाट घर गृहस्थीका लागि आवस्यक पर्ने विभिन्न सामाग्रीहरु- साबुन, औषधी, टुथ ब्रस, टुथपेस्ट, कपी, किताब, गिफ्टकार्ड, भाँडा बर्तन, चकलेट, बिस्कुट, पाउरोटी आदि आदि खरिद गर्न सक्छन। एक डलर, अमेरिकी कागजी मुद्राको सबै भन्दा तल्लो इकाई हो। तैपनि एक डलरले धेरै कुराहरु विनिमय (खरिद) गर्ने क्षमता राख्दछ। अर्थात मुद्राको सबै भन्दा तल्लो इकाईको क्रयशक्ति पनि बलियो छ। नेपालमा कागजी मुद्राको सबै भन्दा तल्लो इकाइ, एक रुपैयाँले अति नै कम वस्तु विनियमय (खरिद) गर्ने क्षमता राख्दछ।
 विकासोन्मुख राष्ट्रहरुलाई साधन र स्रोतहरुले भन्दा पनि ज्ञानको अभावले गर्दा प्रयोग नगरिएको समय नियन्त्र गर्न कठिनाइ परिरहेको देखिन्छ।  ज्ञान भन्नाले यहाँ अध्ययन एव अन्वेषण गरेर प्राप्त गरिएको जानकारीलाई मुख्य रुपमा उल्लेख गर्न खोजिएको हो। यसै गरी, ज्ञान भन्नाले नया नया अध्ययन एवं अनुसन्धानहरु द्वारा विभिन्न किसिमका प्रविधिहरुको विकास तथा प्रयोग गरेर उत्पादन एवं वितरण लागत कम पार्न गरिएका प्रयासहरुको बारेमा भन्न खोजिएको हो।
प्रयोग नगरिएको समयले कसरी उत्पादन एवं बिक्री लागत बढाउँछ र बिक्री मूल्य पनि महँगो पार्छ भन्ने बारे चर्चा गर्नु भन्दा पहिले प्रयोग नगरिएको समय के हो त्यसबारे छोटो चर्चा गरौ।  
प्रयोग नगरिएको समय भन्नाले कार्यको निरन्तरता रोकिनु वा कार्य नहुनु हो। यसै गरी छोटो समयमा सम्पन्न हुने कार्यलाई बढी समय लगाएर सम्पन्न गर्नु वा एक घण्टामा हुने कार्यलाई पाँच घण्टा लगाएर सम्पन्न गर्नु हो। थोरै व्यक्ति र साधनबाट सम्पन्न हुने कार्यका लागि धेरै व्यक्ति र साधन खर्च गर्नु हो। अर्थ व्यवस्थाम प्रयोग नगरिएको समयले ठूलो महत्व राख्दछ।
अब प्रयोग नगरिएको समयले कसरी वस्तु वा सेवाको उत्पादन एव वितरण लागत बढाउँछ वा वस्तु तथा सेवालाई कसरी महँगो बनाउँछ भन्ने बारे छोटो चर्चा गरौ।
नेपालमा प्रयोग नगरिएको समयलाई कम पारेर वस्तु वा सेवाको मूल्य कसरी कम पार्न सकिन्छ भन्ने सन्दर्भमा यो चर्चा गर्न थालिएको हो।
नेपालमा प्रयोग नगरिएको समयले वस्तु वा सेवाको मूल्य वृद्धि गराउन सक्ने उदाहरणहरु धेरै छन। ती मध्ये केही प्रतिनिधि उदाहरणहरु लियौ।
उदाहरण शुरु गरौ कपडाको पसलबाट। कपडाको पसल मध्ये पनि मुख्य गरी साडी, ब्लाउज, सुरवाल कुर्ता आदि बिक्री हुने कपडा पसलको कुरा गरौ, खास गरी बीरगंज, जनकपुर, हेटाडा जस्ता शहरहरुको सन्दर्भमा। यस किसिमिका कपडाहरु बिक्री हुने पसलबाट कुनै एक महिला (केवल उदाहरणका लागि, कुनै पुरुष पनि ग्राहक हुन सक्छ) ले पन्द्र ओटा साडी खरिद गर्न चार घण्टा लगाउन सक्छिन। उनलाई खरिद निर्णयमा पुग्न सहयोग गर्नका लागि एउटा बिक्रेताले विभिन्न रंग, डिजाइन, मूल्य, फैसन, आकारका साडीहरु प्रदर्शन गर्ने सन्दर्भमा चार घण्टा लगाउनु स्वभाविक पनि हुन जान्छ। अर्थात चार घण्टा खर्च गरेर उक्त ग्राहक खरिद निर्णयमा पुग्छ। अर्कोतिर पन्द्र ओटा साडी बिक्री गर्न बिक्रेताले चार घण्टा खर्च गर्नु पर्दछ। केवल पन्द्र ओटा साडी बिक्री गर्न (एक दिनको कार्य समय आठ घण्टा मान्ने हो भने) एउटा बिक्रेताको आधा दिनको कार्य समय खर्च हुन्छ। अर्थात एउटा पसल धनीले तीस ओटा साडी बिक्री गर्न एक बिक्रेतालाई पूरा दिन काममा लगाउनु पर्दछ र उक्त बिक्रेताको दैनिक ज्याला रु चार सय हो भने रु उसलाई चार सय भुक्तान गर्नु पर्दछ।
माथिको उदाहरणलाई अर्को किसमले हेरौ। यदि पसल धनीले केवल एक बिक्रेता मात्र राखेको छ र बिक्री गर्नका लागि व्यक्तिगत रुपमा कपडाहरु ग्राहकहरुलाई देखाउनुको साटो बिक्री गरिने कपडाहरु उसले प्रदर्शन गरेर राखेको छ, ग्राहकहरुले पनि आफैले कपडाको बारेमा लेखिएको विवरण पढेर, छानेर खरिद गर्छन। ग्राहकहरुले कपडा छाने पछि, आफैले, काउण्टरमा रहेको बिक्रेतालाई कपडाको मूल्य भुक्तान गरेर कपडा र बिल लिन्छन। पसल धनीले यस्तो किसिमको (ग्राहकले नै सामान रोजेर एवं खोजेर ल्याउनु पर्ने) बिक्रीको प्रवन्ध मिलाएको हुनाले एउटा मात्र बिक्रेता पनि (अनुमान गरौ) एक दिनको आफ्नो कार्य समयमा दुई सय ओटा साडी बिक्री गर्न सक्छ। यो स्थितिमा पनि पसल धनीले बिक्रेतालाई केवल चार सय दिए पुग्छ जुन माथिको स्थितिमा दिएको थियो। यसरी, यो दोस्रो स्थिति- ग्राहक आफैले सामान छानेर खरिद गर्ने व्यवस्थाले गर्दा पसल धनीले बिक्रेताको ज्यालामा बचत गर्छ। अर्थात थोरै समयमा तुलनात्मक रुपमा थोरै ज्याला दिएर धेरै बिक्री गर्न सक्छ। र यसरी पसल धनीले बिक्रेतालाई दिनु पर्ने ज्यालामा हुन आएको बचत रकमलाई कपडाहरुको मूल्य कम पार्न प्रयोग गर्न सक्छ। र माथिको उदाहरणमा भन्दा कम मूल्य राखेर कपडा बिक्री गर्न सक्छ। परिणामस्वरुप ग्राहकले कम मूल्यमा कपडा खरिद गर्न पाउने स्थिति सृजना हुन्छ। अर्कोतिर ग्राहकको क्रयशक्तिमा पनि बढोत्तरी हुन्छ।
अर्को उदाहरण लियौ, सैलुनको। एउटा हजामले आफ्नो सेवा एक समयमा केवल एक जनालाई मात्र बिक्री गर्न सक्छ, कुनै खुद्रा बिक्रताले एक समयमा पचासौ किसिमका सामान बिक्री  गर्न सके झै सक्तैन। यसै गरी न त उसले आफ्नो श्रम कुनै खुद्रा बिक्रेताले जस्तो अहिले बिक्री नभएको सामान पछि बिक्री गर्न सके झै पछि बिक्री गर्न सक्छ। श्रम अति नै नाशवान वस्तु हो। अहिले, यो क्षणमा प्रयोग गर्न नसकिएको श्रम फेरि कहिले प्रयोग गर्न सकिंदैन। नेपालको सन्दर्भमा, कुनै एक सैलुनमा, कुनै एक तोकिएको समयमा, केवल एक मात्र हजाम कार्यरत छ भने त्यस्तो स्थितिमा त्यो सैलुनमा एकै पटकमा आठ जना कपाल काट्न पुगेमा त्यो सैलुनको हजामले छ जनलाई फर्काउनु पर्ने हुन्छ, सेवा दिन नसकेर, यदि एउटा ग्राहक कुर्न तयार हुन्छ भनी अनुमान गर्ने हो भने। यदि एक जनाको कपाल काट्न त्यो हजामले एक घण्टा लगाउँछ भने पहिलो र दोस्रो ग्राहकको कपाल काटिसके पछि ऊ काम नभएर बस्नु पर्ने हुन्छ किनभने छ ओटा ग्राहकहरु सेवा नपाएर फर्की सकेका हुन्छन। अब मानौ त्यो सैलुनमा, पछि, दिन भरिमा एउटा पनि ग्राहक आएन भने त्यो हजाम दिनभरि काम नपाएर बस्नु पर्ने हुन्छ। जबकी पहिलेको स्थितिमा उसको सैलुनमा ग्राहक नआएको भने होइन, सेवा नपाएर ग्राहकहरु फर्केको स्थिति हो। अब पछिको स्थितिमा, र स्थिति यस्तै रहने हो भने, उसले ग्राहकहरुको आउने निश्चितता  नभएको र आफ्नो श्रम पछि पनि प्रयोग गर्न नसकिने भएकोले उसले आफ्नो श्रम शुल्क बढाउनु पर्ने हुन्छ किनभने उसले काम नपाएता पनि घर भाडा, बिजुली, सरसफाइ आदिको खर्च बेहोर्नु पर्नै हुन्छ। र हजामले बढाएको सेवा शुल्क पछि उपभोक्ताले नै तिर्नु पर्ने हुन्छ। अब मानौ, यदि उक्त सैलुनमा त्यो हजामले फोन राखेको छ,  फोनबाट ग्राहकहरुको सेवा आदेश लिने गर्दछ भने उसले सबै ग्राहक (आठ जना) लाई क्रमै संग समय दिन सक्छ र हरेकलाई दिएको समय अनुसार सेवा प्रदान गर्छ। माथिको अवस्थामा झै ग्राहक फर्काउनु पर्दैन किनभने फोनले गर्दा उसले ग्राहकलाई समयको बाँडफाँड गरेर सबैलाई सेवा दिन सक्षम छ। यसरी यो दोस्रो अवस्थामा हजामले दिन भरि, कार्यको समयमा, निरन्तर काम पाएको हुनाले राम्रो आम्दानी गर्छ र राम्रो आम्दानी भएकोले, पहिलो उदाहरणको तुलनामा, ग्राहकलाई केही मूल्य घटाएर सेवा दिन सक्छ। किनभने पहिलेको उदाहरणको तुलनामा उसले राम्रो आम्दानी गरेको छ।
यस्ता प्रतिनिधि उदाहरण धेरै छन। अब अन्तिम उदाहरण। नेपालमा कुनै व्यक्तिले घर (पक्की) बनाउँदा आफैले बनाउने चलन छ, बनीबनाउ घर खरिद गर्ने प्रचलन कम छ। होम बिल्डरहरुको प्रयोग नगन्य मात्रामा हुन्छ। घर बनाउन आवस्यक पर्ने सहयोगी सामानहरु (साबेल, बाँस आदि ) निर्माणकर्ताले नै खरिद गर्ने चलन छ। जबकी यी सहयोगी सामानहरु घर निर्माण भइ सके पछि निर्माणकर्ताले फेरि प्रयोगमा ल्याउँदैन। तर यी सहयोगी समानहरुले घर निर्माणको खर्चमा बढोत्तरी गरि दिन्छन। यदि बिल्डरहरुबाट घर बनाउन लगाउने हो वा सहयोगी सामानहरु भाडामा लिने हो भने घर निर्माण खर्च कम पार्न सकिन्छ।
नेपाल वा विकासशील मुलुकहरुको सन्दर्भमा यस्ता धेरै उदाहरणहरु प्रस्तुत  गर्न सकिन्छ जसले उत्पादन एव बितरण लागत चर्को पारेर वस्तु एवं सेवाको मूल्य बढाउनमा महत्वपूर्ण भूमिका खेलेका छन्। उपभोक्ताहरुको क्रयशक्ति घटाएका छन। तर ज्ञान एवं प्रवधिहरुको प्रयोग गरेर प्रयोग नभएको समय नियन्त्र गरी वस्तु वा सेवाको मूल्य घटाउन सकिन्छ। सम्बन्धित निकाएहरुले यस तर्फ गंभिरतापूर्व सोंच्न आवश्यक छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 07, 2014

No comments:

Post a Comment