Friday, January 31, 2014

Is Nepal Going To Be a Failed Nation?-Article-110

के नेपाल असफल राष्ट्र बन्दै छ?

के नेपाल असफल राष्ट्र बन्दै छ? आज भोलि यो प्रश्न नेपालका राजनीतिकर्मी, बुद्धिजीवि मात्र होइन,  सर्व साधारणहरुको मनमा पनि उब्जिन थालेको छ। दोस्रो संविधान सभाको निर्वाचन भएको दुई महिना बितिसक्दा पनि चुनावी सरकारको विदाइ र नया सरकारको स्थापना हुन नसक्नुले त्यस किसिमको प्रश्न उब्जिनु स्वभाविक देखिन्छ पनि। तर यस बाहेक  अन्य पनि थुप्रै कारणहरु छन यस किसिमको प्रश्न उब्जिनका लागि।
नेपालका नेताहरुमा बढ्दो सत्ता मोह र शक्ति प्राप्तिका लागि तल्लो भन्दा पनि तल्लो स्तरको सौदाबाजी गर्न सक्ने संस्कृति मौलाएको हुनाले आफ्नै दल भित्र पनि नेताहरुमा राम्रो समझदारी र समन्वय  कायम हुन सकेको देखिंदैन। एउटा दलका नेता तथा कार्यकर्ताहरुको अर्को दलका नेता तथा कार्यकर्ताहरु बीच जहिले पनि बैरीको जस्तो सम्बन्ध हुनु त जग जाहेर कुरा नै हो। यी दुई मुल समस्याहरुले गर्दा २०४७ सालको राजनैतिक परिवर्तनको समय देखि नै एकातिर न त कुनै पनि सरकार स्थिर हुन सकेको छ न त शक्तिसाली नै। अर्कोतिर, सरकार स्थिर र शक्तिसाली हुन नसकेको कारणले गर्दा राज्य माथि सरकारको नियन्त्र खुकुलो हुँदै गएको छ। राज्यमाथि सरकारको नियन्त्र कमजोर हुँदै गएको हुनाले नै मुलुकले अनेक किसिमका समस्याहरु भोग्नु परेको छ। जस्तै; राज्य शक्ति केन्द्रमा बलियो हुनुको साटो राजनैतिक दलका नेता र तिनका कार्यालयहरुमा छरिन पुगेको छ। सरकार बलियो हुनु भन्दा पनि दल र तिनका नेता वा नेताहरुद्वारा संरक्षित व्यक्ति वा समूहहरु बलियो हुन पुगेका छन्। कानून व्यवस्था क्रमिक रुपमा कमजोर हुँदै गएको छ। कानूनलाई आफ्नो हातमा लिएर आफ्नो मनोमानी गर्ने समूहरुको विकास एवं विस्तारमा तिब्रता आएको छ। न्याय र कानून गरिब एवं सामान्य जनताको पहुँच भन्दा टाढा पुग्दै गएको छ। महंगीमा सरकारको कुनै पनि किसिमको नियन्त्रण छैन। महँगीले गर्दा कमजोर आय हुनेहरुको जिवन यापन कठिन एवं पीडादायी हुँदै गएको छ। गरिब जनताको क्रय शक्ति वृद्धि गर्न सरकार संग कुनै किसिमको न त लघु कालिन न त दीर्घकालिन योजना नै छ। जनता महँगीको जंजिरमा जकडिएको छ। रोजगारीका औसरहरु खुम्चिएर जनता दैनिक गुजाराका लागि पनि, कामको खोजिमा विदेशिन बाध्य छ। राष्ट्रिय राजनीतिमा विदेशीहरुको हस्तक्षेप बढ्दो छ। नेताहरु सत्ताको दाउपेंचमा सफल देखिए तापनि राष्ट्रिय राजनीतिमा उनीहरुको पकड कमजोर हुँदै गएको छ। नेपाली जनतालाई सबल नेतृत्व दिन नेताहरु असफल हुँदै गएका छन्। अन्तरार्ष्टिय राजनीतिमा नेपाली नेताहरुको प्रभाव त एक किसिमले सून्यताको स्थितिमा पुगेको छ।
 माथि उल्लेख गरिएका  समस्याहरु नेपालमा गंभिर किसिमले विद्यमान छन् र यी समस्याहरुले गर्दा नै यो मुलुक असफल राष्ट्र हुन सक्छ भनी संका गर्नेहरु धेरै छन। नेपाल असफल राष्ट्र बन्न थालेको हो भनी शंका गर्नेहरुका लागि माथि उल्लेख गरिएका समस्याहरु त्यस किसिमले संका गर्ने बलियो आधार बनेका छन् पनि। तर के नेपाल साच्यै असफल राष्ट्र हुन थालेको हो त? या, यो केवल कल्पना मात्र हो? अथवा यो मात्र नेताहरुले आफू सक्तिसाली हुन चलाएको हल्ला मात्र हो? वा कुनै खास वर्ग जसलाई फेलिने यस किसिमको हल्लाले फाइदा हुन्छ उनीहरुले नै फैलाएको प्रायोजित हल्ला हो?  वा सामान्य जनता त्यसै त्यसै डराएर यस किसिमको संकामा सहमति जनाउन बाध्य भएका हुन? या नेपाल असफल राष्ट्र हुने संकेत प्रष्ट रुपमा देखिएकोले त्यसो भनिएको हो?
नेपाल असफल राष्ट्र हुने सम्भावना छ कि छैन भनी चर्चा गर्नु भन्दा पहिले कुनै एउटा राष्ट्रलाई के कस्तो अवस्थामा असफल राष्ट्र भन्ने गरिन्छ वा कुनै एक राष्ट्रलाई  के के कुराहरुले असफल बनाउनमा विशेष भूमिका खेल्दछन् त्यस बारे छोटो चर्चा गरौ। 
संयुक्त राज्य अमेरिकाको वासिङ्टन स्थित एक स्वतन्त्र एवं गैर मुनाफा मुलुक अनुसन्धान तथा शैक्षिक संस्था ‘फन्ड फर पिस’ (स्था १९५७) ले निम्न समस्याहरु कुनै पनि राष्ट्रलाई असफल बनाउन सक्ने सूचक (indicators) वा कारक बन्न सक्छन् भनी उल्लेख गरेको छ। ती सुचकहरु यस प्रकार छन्।
सामाजिक
1.       जनसंख्याको चाप बढ्दै जानु
2.       ठूलो किसिमको सर्णार्थी समस्यावाट मानवीय समस्या उत्पन्न हुनु
3.       समूहरुद्वारा बदलाका कार्यवाहीहरु हुनु
4.       निरन्तर किसिमबाट नागरिकहरु विदेशतिर पलायन हुनु
आर्थिक
1.       आर्थिक विकास असमान किसिमले हुनु
2.       अर्थ तन्त्र तिब्र गतिमा ओर्हालो लाग्नु
राजनैतिक
1.       अपराध बढ्नु र कानून व्यवस्था फितलो हुँदै जानु
2.       सार्वजनिक सेवामा तिब्र ह्रास आउनु
3.       मानवाधिकारको व्यापक उलंघन हुनु
4.       राज्य भित्र पनि राज्यहरु खडा हुनु
5.       शक्ति समूहरुको उदय हुनु
6.       वाह्यका शक्ति केन्द्रहरुको हस्तक्षेप बढ्नु
माथि उल्लेख गरिएका समस्याहरु मध्ये नेपालमा सामाजिक समस्या अन्तरगत निरन्तर किसिमबाट नागरिकहरु विदेशतिर पलायन हुने समस्या गंभिर रुपमा देखिएको छ। र यो आम नेपालीहरुले देखेको र भोगेको यथार्थ हो पनि। यसै गरी आर्थिक समस्या अन्तरगत नेपालको आर्थिक विकास अति नै असमान किसिमले भइ रहेको छ। केही व्यक्तिहरु राज्यको फितलो कानूनको फाइदा उठाएर अप्रत्यासित रुपमा अति नै धनी हुन पुगेका छन् भने वहुसंख्यक व्यक्तिहरु जो पहिले देखि निर्धन थिए, झनै ज्यादै निर्धन हुन पुगेका छन्। यो अर्को ठूलो समस्या हो। राजनैतिक समस्या अन्तरगत भने दुई समस्याहरु प्रमुख रुपमा देखिएका छन्। ती हुन- सार्वजनिक सेवामा तिब्र ह्रास आउनु र वाह्य शक्ति केन्द्रहरुको हस्तक्षेप बढ्नु। यी केही समस्याहरु बाहेक अन्य समस्याहरु  भने गंभिर रुपमा देखिएका छैनन। यी समस्याहरु नेपालको सामाजिक एवं राजनैतिक व्यवस्थाको कारणले गर्दा जन्मिएका होइन। नेपालको समुन्नत एवं प्रभावसाली सामाजिक एवं राजनैतिक व्यवस्थालाई राष्ट्रको विकासमा प्रयोग गर्न नसक्ने राजनैतिक नेताहरुको बौद्धिक दुर्बलताको कारणले गर्दा यी समस्याहरु जन्मिएका हुन। नेताहरुको स्वार्थी र पद लोलुप प्रवृतिका कारणले गर्दा जन्मिएका हुन। नेताहरु केवल सुविधाभोगी भएको कारणले गर्दा जन्मिएका हुन। त्यसकारण नेपालको सामाजिक एव राजनैतिक व्यवस्थामा कुनै गंभिर समस्या छैन जस्तो कि केही  अफ्रिकी राष्ट्रहरुमा देखिएको छ। ती अफ्रिकी राष्ट्रहरुमा जनता धर्म र संस्कृतिको नाममा नराम्रो गरी विभाजित छन, संघर्षरत छन, एक अर्काको ज्यान लिरहेका छन्। राजनैतिक रुपमा, सरकारले सम्पूर्ण राष्ट्रलाई आफ्नो नियन्त्रणमा राख्न सकेको छैन। देशको विभिन्न भाग विद्रोहीहरुको कब्जामा छ। देशमा शान्ति कायम गर्न अन्य राष्ट्र वा संयुत्त राष्ट् संघ बाट सेना बोलाउनु पर्ने स्थिति छ। संघर्षरत ती अफ्रिकी मुलुकमा देखिएका त्यस किसिमका समस्याहरु नेपालमा हाल अस्तित्वमा छैनन्। र भविष्यमा त्यस्ता समस्याहरु नेपालमा देखिने सम्भावना पनि विस्तारै सून्य हुँदै गइ रहेको छ। नेपालमा अहिले शान्ति छ। द्वन्दको पीडाले सबैलाई शान्त बस्न सचेत पारेको छ।  शिक्षित पारेको छ।   
नेपालमा बरु सकारात्मक कुराहरु धेरै देखिएका छन्। केही स्वार्थी नेताहरुले आफ्नो नितान्त व्यक्तिगत  फाइदा का लागि नेपाली जनतालाई राजनैति दर्शनको आधारमा, धर्म र संस्कृतिको आधारमा, जात जातिको आधारमा, भूगोलको आधारमा, भाषाको आधारमा विभाजन गर्न खोजे पनि नेपाली जनता ती स्वार्थी नेतहरुको पछाडि लागेका छैनन्, बरु राम्रो सामाजिक सद्भाव कायम गरी बस्न सफल भएका छन।
माथि उल्लेख गरिएका तथ्यहरुको विश्लेषण गर्दा नेपाल असफल राष्ट्र हुने सम्भावना देखिंदैन। बरु उल्टो नेपालका नेताहरु असफल हुँदै गएको देखिएको छ। नेपालका नेताहरुमा पनि, पुरानापुस्ताका नेताहरु असफल हुँदै गएको देखिएको छ। नेपाल असफल त होइन बरु झनै बलियो राष्ट्र हुने दिशा तर्फ अग्रसर हुँदै गएको छ। राम्रो नेतृत्व दिने इमान्दार नेताहरु अगाडि आउने हो भने नेपाल राजनैतिक र आर्थिक, दुबै किसिमले बलियो हुँदै जाने बलियो सम्भावना छ। नेपाल राजनैतिक र आर्थिक, दुबै रुपमा बलियो हुने पर्याप्त औसरहरु मात्र होइन र स्रोत एवं साधनहरुले पनि सम्पन छ। यसै गरी, राष्ट्रिय आय वितरणमा अति असमानता देखिएता पनि समग्र रुपमा राष्ट्र पहिले भन्दा निकै धनी भएको छ, खास गरी वैदैशिक रोजगारी र सेवा व्यवसायको आयले गर्दा।  


विश्वराज अधिकारी

(प्रतीकमा प्रकाशित Friday, January 31, 2014)

No comments:

Post a Comment