Friday, January 20, 2017

Life Abroad:Our Concept and Economic Development-Article-140

विदेशको बसाइँ, हाम्रो धारणा र आर्थिक विकास

सर्वाधिक बसाइँसराइ अहिले अफ्रिकी मुलुकहरूबाट भइरहेको छ। हिंसा, हत्या, अपहरण जस्ता समस्याले निरन्तर सताइएका अफ्रिकाका गरीब राष्ट्रहरू धार्मिक कट्टरपन्थीहरूको पटकपटकको आक्रमणले थप आक्रान्त हुन पुगेका छन्। कट्टरपन्थी इस्लामिक सङ्गठनहरू अलसवाह, बोकोहराम, अलकायदा का जेहादी वा मिलिटेन्टहरूको आक्रमणमा हजारौं अफ्रिकीहरूको ज्यान गइसकेको छ। गाम्बिया, यमन, इरिट्रिया, सुडान, दक्षिण सुडान, नाइजेरिया, कङ्गो,  इथियोपिया, लिबिया, जिम्बाब्वे, चाड, मध्य अफ्रिका गणतन्त्र, सोमालिया, माली जस्ता अफ्रिकी राष्ट्रहरूले निरन्तर रक्तपातपूर्ण उथलपुथलको सामना गरिरहनुपरेको छ। उनीहरूले राजनीतिक अस्थिरताको पीडा पनि उत्तिकै सहनुपरेको छ। हरपल असुरक्षित र डरलाग्दो जीवन बाँच्नुपरेको छ। यी कारणले गर्दा यी मुलुकका नागरिकहरू जीउज्यानको बाजी थापेर, सरल र सुरक्षित जीवनको खोजीमा अमेरिका, क्यानडा, युरोपतिर बसाइँ सरिरहेका छन्। समुद्री बाटो भएर युरोपतिरको यात्रा भने उनीहरूको लागि ज्यान लिने खालको भएको छ। यसरी अफ्रिकी नागरिकहरूको बसाइँसराइ वा स्थातान्तरण स्वेच्छा होइन, बाध्यताले गर्दा हुन पुगेको छ।
    वर्तमान सन्दर्भमा नेपालको स्थिति भने अफ्रिकी मुलुकहरूभन्दा ज्यादै पृथक छ। नेपालमा अहिले विदेश जानु बाध्यता कम र स्वेच्छा बढी हुन पुगेको छ। नेपालमा अहिले ती अफ्रिकी देशहरूजस्तो डरलाग्दो अशान्ति छैन। बाँच्नका लागि नै कठिन वा जीउज्यानको अति नै खतरा पनि छैन, माओवादी हिंसाकालमा भएजस्तो। तर पनि नेपाली ठूलो सङ्ख्यामा विदेश गइरहेका छन्। नागरिक ठूलो सङ्ख्यामा स्वदेश छाडेर जानु कुनै पनि देशको लागि राम्रो होइन। यस किसमको बसाइँसराइले देशको आर्थिक र सामाजिक विकासमा ठूलो आघात पुग्छ। त्यो आघात मुलुकले अहिले भोगिरहेको पनि छ।

    नेपालमा अहिले गरिबी र बेरोजगारी छ। बेरोजगारी र गरिबीले गर्दा नेपालीहरू रोजगारका लागि विदेश लाग्नु स्वाभाविक हो। यस अर्थमा गरीब परिवारका सदस्यहरू रोजगारका लागि विदेशतिर जानुलाई सही नै मान्नुपर्ने हुन्छ। यस सत्यमा कुनै विवाद हुन सक्तैन। तर त्यस्ता परिवारका  सदस्यहरू, जो नेपालमा राम्रो आर्थिक अवस्थामा छन्, उनीहरूलाई रोजगारको पनि समस्या छैन, अनेक किसिमका सुविधाहरू प्राप्त भएर जीवन सरल छ, अहिले विदेश जान आतुर रहेका छन्। यस्ता व्यक्तिहरूले किन जानुपर्यो विदेश? यो अहिले नेपालमा यक्ष प्रश्न हुन पुगेको छ।

    नेपालमा विदेश जानु अहिले एक किसिमको सामाजिक हैसियतहुन पुगेको छ। आफू वा आफ्ना सन्तानहरू विदेश जानु नेपालमा प्रतिष्ठाको विषय हुन पुगेको छ। कस्तो विडम्बनापूर्ण स्थिति! स्वदेशमा बस्न पाएकोमा गर्व हुनुपर्नेमा उल्टो स्वदेशमा बस्नु तुच्छ र विदेश जानु र त्यहाँ बस्नु गर्वको विषय हुन पुगेको छ। यस्तो मनोविज्ञान निर्माणका लागि हामीले युवापीढीलाई दोष दिने ठाउँ भने पटक्कै छैन। यस्तो स्थिति निर्माण हाम्रो समाजले गरेको हो। हाम्रो समाजको सोचमा नै ठूलो त्रुटि छ। जसरी दाइजो, दहेज वा तिलक लिनु वा दिनुलाई समाजले हैसियत प्रदर्शनको माध्यम मान्दछ, त्यसैगरी अहिले आफ्नो कलिलो उमेरका सन्तानहरूलाई पढ्न वा रोजगारको लागि विदेश पठाउनुलाई नेपाली समाजले हैसियत प्रदर्शनको माध्यम मान्दछ, सफलताको प्रतीक मान्दछ।

    कलिलो उमेरका युवायुवतीहरू विदेशमा गएर कुन स्थितिमा बसेका छन्? कार्य गर्दा वा अध्ययनको क्रममा कस्ता शारीरिक कष्ट झेलिरहेका छन्? के कस्ता मानसिक पीडाहरूका माझ बाँचिरहेका छन्? समस्याग्रस्त हुँदा तिनीहरूलाई कुन किसिमबाट सामाजिक सहयोग प्राप्त भइरहेको छ? परिवारबाट छुट्टिएर बस्दा उनीहरूको मनोविज्ञान कस्तो हुन पुगेको छ? परदेशमा एक्लै कसरी जीवनसँग सङ्घर्ष गरिरहेका छन्? आजभोलि नेपाली समाजमा यस्ता प्रश्नहरूले कुनै अर्थ राख्दैन। अर्थ राख्ने विषय एउटै छसन्तान विदेश पढ्न वा कमाउन गएको छ भन्ने गर्वले। यो गर्वले नेपाली आमाबुबाका लाखौं सन्तानलाई काखाबाट पाखा पुर्याएको छ।

    विदेश जानेहरूको पनि नेपाली समाजले श्रेणी निर्धारण गरेको छ। हाल नेपालमा व्याप्त विचारअनुरूप अमेरिका पढ्न वा काम गर्न जानेहरू अब्बल दर्जामा पर्छन्। सोही उद्देश्यका साथ अस्ट्रेलिया, क्यानडा, बेलायत, इटली, फ्रान्स आदि जाने दोस्रो दर्जामा पर्छन्। सिङ्गापुर, थाइल्यान्ड, चीन, जापान, दक्षिण कोरिया जाने तेस्रो दर्जामा पर्छन्। केवल काम गर्ने भनेर मलेसिया, कतार एवं अरबका राष्ट्रहरूमा जाने चौथो दर्जामा पर्छन्। भारततिर कामका लागि जानेहरूको कुनै दर्जा नै छैन। एक समयमा भने थियो। एक समयमा भारत जानेहरूलाई लाहुरेभन्ने गरिन्थ्यो र लाहुरेहरू पैसावाल हुन्छन् भन्ने विश्वास गरिन्थ्यो। समाजले यसरी विदेश जानेहरूप्रति पनि विभेद गर्नु उचित हो? यस्तो सामन्ती सोच पनि राख्ने हो? यस्तो विभेद उचित हो?

    विदेशको जीवन सरल छैन भन्ने यथार्थ केवल थोरै व्यक्तिले मात्र बुझेका छन्। स्वदेशी समाजसँग छुट्टिएर बस्नुपरेको पीडा, नयाँ स्थानमा बस्दा आइपर्ने अनेक किसिमका जलवायुसम्बन्धी समस्या, मौसमको प्रतिकूल प्रभाव केवल विदेशमा कष्टपूर्ण किसिमले बसेकाहरूलाई मात्र थाहा हुन्छ। विदेश बसेकाहरूलाई बाहिरबाट हेर्नेहरूले थाहा पाउन सक्तैनन्।

    आफू वा आफ्ना सन्तानहरू विदेश बस्नु समाजमा उच्च हैसियतप्रदर्शन गर्ने एक माध्यम हो भन्ने सोच सामाजिक विकासको लागि राम्रो होइन। स्वदेशमा नै बसेर केही गर्छु भन्ने कुनै युवा वा युवतीमा सोच आएको छ भने त्यस्तो सोचलाई समाजले हौसला प्रदान गर्नुपर्दछ।

    देशका नागरिक ठूलो सङ्ख्यामा विदेश पलायन हुनु आर्थिक विकासको दृष्टिकोणले त झनै राम्रो होइन। आर्थिक विकासका सशक्त माध्यम युवायुवती नै ठूलो सङ्ख्यामा विदेश पलायन हुने हो भने मुलुकको आर्थिक विकास कसरी हुन्छ? अहिलेसम्म हामीले युवायुवती ठूलो सङ्ख्यामा विदेश पलायन हुनुमा गरिबी र बेरोजगारीलाई मुख्य दोषी मानिरहेका छौं। गरिबी र बेरोजगारीका लागि सरकारलाई जिम्मेवार मानिरहेका छौं। तर हामीले माथि चर्चा गरिसक्यौं केवल गरिबी र बेरोजगारीले गर्दा मात्र नेपालीका सन्तान विदेशतिर पलायन भइरहेका छैनन्। विदेश जानु सम्मानको सूचक, सफलताको सङ्केत, उच्चताको आभास आदि जस्ता सामाजिक मनोविज्ञानले गर्दा ठूलो सङ्ख्यामा नेपाली विदेश पलायन हुन बाध्य भएका छन्। समाजमा व्याप्त यस किसिमको सोचले गर्दा नै नेपाली युवायुवतीहरूलाई स्वदेशमा बस्नु अपहेलनाको विषय हुन पुगेको छ। स्वदेशमा बस्नु प्रतिष्ठाको विषय हुन पुगेको छ, जतिसुकै ठूलो सङ्कट सहेर पनि।

    तर प्रश्न उठ्छ, कहिलेसम्म आफ्नो देशको दुर्गतिलाई पन्छ्याएर विदेशतिर लाग्ने? सधैं यस्तै किसिमको मनोविज्ञान राखेर देशको आर्थिक विकासमा कहिले ध्यान दिने? कहिलेसम्म अरूहरूको देशको विकासमा लीन रहने?

    कुनै पनि देशको आर्थिक विकास त्यस देशका नागरिकले गर्ने हो। विदेशबाट व्यक्तिहरू आएर देशको विकास हुने होइन। यो सबैले बुझेको कुरा हो। कटु सत्य पनि हो। समय आएको छ, स्वदेशमा नै रोजगार सृजना गरौं। स्वदेशलाई नै धनी तुल्यायौं। विदेशबाट फर्केर नेपाललाई समृद्ध पारौं। विदेशमा आर्जित पूँजी, प्रविधि र ज्ञानको उपयोग नेपालमा गरौं। आउने पुस्तालाई आर्थिकरूपमा समृद्ध नेपाल हस्तान्तरण गरौं।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 20, 2017

No comments:

Post a Comment