Friday, February 2, 2018

How Long Should We Live Dependent Life-Article-181

प्रचीन आर्थिक सोंचमा कहिलेसम्म बाँच्ने?

जीवन उपयोगी आर्थिक विकासका सिद्धान्त हामी पुस्तकमा खोज्छौं, तर व्यवहारमा खोज्दैनौं। व्यवहारमा नखोजिएकोले स्वाभाविकरूपमा ती प्रकाशमा आउँदैनन् र तिनको प्रयोग पनि हुन पाउँदैन। तिनको फाइदाबाट हामी वञ्चित हुन्छौं।
    पुस्तकमा भएका सिद्धान्तबाट कोरा ज्ञान त पाउन सकिन्छ, व्यावहारिक ज्ञान पाउन सकिंदैन। अर्कोतिर आर्थिक विकासका लागि सैद्धान्तिकभन्दा  बढी व्यावहारिक ज्ञान चाहिन्छ। व्यावहारिक ज्ञानले मात्र आर्थिक जीवनमा सुधार ल्याउन सक्छ। तर व्यावहारिक ज्ञान हाम्रो समाजमा सदीयौंदेखि उपेक्षित छ।
    आर्थिक विकासका लागि प्रतिकूल प्रभाव पार्ने हाम्रा व्यवहारहरू हुन् जुन हामी दैनिक जीवनमा देख्न सक्छौं। तर त्यसतर्फ गम्भीर ध्यान दिदैनौं। हेर्दा सामान्य र महत्वहीन देखिने ती व्यवहारले हाम्रो आर्थिक जीवनमा ठूलो प्रभाव पारिरहेका छन्। हाम्रो दृष्टि त्यता किन नपरेको होला?
    आर्थिक विकासका लागि बाधक अनेक व्यवहारमध्ये एक हो ‘आर्थिक स्वावलम्बनको अभाव’। हाम्रो सामाजिक जीवनमा आर्थिक स्वावलम्बन अभ्यासको ठूलो खाँचो छ। हामीले सन्तानलाई हुर्काउँदा उनीहरूलाई न सामाजिक रूपमा, न आर्थिकरूपमा नै स्वावलम्बी हुन सिकाउँछौं। उल्टो आफ्नो (बाबुआमाको) सामाजिक, राजनैतिक वा आर्थिक हैसियतमा गर्व गर्न सिकाउँछौं। सानै उमेरदेखि परनिर्भरता सिकाउँछौं। बाबुआमाको सम्पत्तिमा धाक देखाउने तरिका बताउँछौं। वयस्क (१८–१९ वर्ष उमेर पुगेका) सन्तानलाई पनि संयुक्त परिवारमा राख्छौं, उसका अनेक खर्च बेहोर्छौ। यस्तो गरेर उसलाई आर्थिक रूपमा स्वावलम्बी हुन दिदैनौं भन्ने कुरा पटक्कै बोध गर्दैनौं। आप्mनै सन्तानका लागि राम्रो गरिरहेका छैनौं भन्ने कुरा बुझ्दैनौं । उनीहरूको भविष्य खराब पार्छौं । आफ्ना सन्तानलाई स्वतन्त्ररूपमा अध्ययनको क्षेत्र रोज्न दिने, आफ्नो जीवन साथी (पति वा पत्नी) खोज्ने जस्ता अधिकारबाट समेत वञ्चित गर्छौं। र त्यस्तो गरेकोमा गर्व गर्छौं। सन्तानलाई यो कुल, यो जात, यो खानदानमा विवाह गर भनेर निर्देशितसमेत गर्छौं। मोटो रकम लिएर छोरा बेच्छौं वा मोटो रकम तिरेर ज्वाइँ खरिद गर्छौं। ज्वाइँ खरिद (दाइजो, दहेज, तिलक आदि) मा मरीमरी कमाएको ठूलो धनराशि खर्च गर्छौं। ज्वाइँलाई परिश्रम गरेर होइन, त्यसै हात परेको सम्पत्तिको मालिक बनाFउँछौ। उसलाई पनि परनिर्भरता सिकाउँछौं। अरूको सम्पत्तिमा मोज गर्ने मनोवृत्तिको मालिक बनाउँछौं। यस्तो गरेर न छोराको, न छोरीको बौद्धिकताको उपयोग हुन दिन्छौं। अझै छोरीहरूप्रति त घोर अन्याय नै गर्छौं किनभने उसका लागि पति खरिद गरिदिएर परिवार (आमाबाबु) नभए तिम्रो विवाह नै हुने थिएन भन्ने ‘काल्पनिक भय’ जीवनभर बोध गराउँछौं। छोरीहरूलाई ‘परनिर्भरता’को कालो छायामा जीवनभर बाँच्न बाध्य पार्छौं। छोरीहरूलाई स्वावलम्बी हुने वातावरण तयार गर्ने विषयमा हामी झनै पछाडि मात्र होइन, अत्यधिक अनुदार पनि छौं। जबकि छोरी (आमा) हरू ‘जीवन पाठशाला’ का महान् शिक्षक हुन्। बालबालिकाले जीवन व्यवहारका अनेक महŒवपूर्ण विषय सर्वप्रथम आमाबाट सिक्छन्। तर पनि छोरीहरू किन उपेक्षित?
    पश्चिमी समाजमा जस्तो वयस्क सन्तानलाई उनीहरू आफ्नो किसिमले बाँचून भन्ने सोचाइ हामीले राख्नुपर्छ र यो सोचाइलाई कुन हदसम्म व्यवहारमा ल्याउन सकिन्छ त्यसबारे गम्भीरतापूर्वक विचार गर्नुपर्दछ। छोरा होस् वा छोरी उनीहरूलाई सानैदेखि स्वतन्त्र भएर बाँच्न सिकाउनुपर्छ। आफ्नो जीवनयापन र अध्ययनका लागि खर्च जुटाउन उनीहरूलाई प्रेरित गर्नुपर्छ। युवावस्थादेखि नै  जीवनसम्बन्धी अनेक महत्वपूर्ण निर्णयहरू उनीहरू आफैंले लिने मौका पाएपछि उनीहरूमा आर्थिक स्वावलम्बनको विकास हुन्छ।
    किशोरकिशोरीहरूले सानै उमेरदेखि स्वावलम्बी भएर बाँच्ने ज्ञान र वातावरण दुवै पाएका छन् भने उनीहरूले आफैं विभिन्न विषयमा निर्णय लिन सक्छन्, सानासाना कुराका लागि अभिभावकको मुख ताक्दैनन्। सानो उमेरदेखि स्वतन्त्र भएर निर्णय गर्ने बानी विकास भयो भने किशोरकिशोरीहरूलाई त्यो बानीले नयाँनयाँ रचना, खोज, अनुसन्धान एवं अविष्कार गर्न प्रेरित र उत्साहित गर्छ । पश्चिमी जगत्मा किशोरकिशोरीहरूले सानै उमेरदेखि स्वतन्त्र भएर निर्णय गर्न पाएका हुनाले नै मानव जीवनका लागि जति पनि आवश्यक सेवा वा वस्तु (रेल, कार, बिजुली, फोन, कम्प्युटर, टिभी, रेडियो, फ्रिज, जीवन उपयोगी औषधि आदिे) छन्, ति सबै कुराको आविष्कार पश्चिमा जगत्मा मात्रै भएको हो। युवाहरूमा रहेको स्वतन्त्र चिन्तन परिपाटीले उनीहरूमा रचनात्मकता विकसित भई पश्चिमी जगत्मा अनेक किसिमका वस्तु एवं सेवाहरू आविष्कार हुने वातावरण सृजना गरेको हो।
    एउटा सानो अनुभव यस लेखका लागि सान्दर्भिक हुने देखिएकोले यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु। यो स्तम्भकार पाटन अस्पताल, ललितपुरमा कार्यरत रहँदा सोही अस्पतालमा कार्यरत नर्वे निवासी डाक्टरसँग कुराकानी हुँदा एकपटक निकै आश्चर्यमा परेको थियो। “नर्वेबाट नेपाल भ्रमणमा आएको मेरो छोरा अहिले पोखरा पुगेको छ। ऊ पर्वतारोहणमा जान चाहन्छ। तर मौसम ज्यादै खराब छ, पर्वतारोहणका लागि उपयुक्त छैन”–ती डाक्टरले भने र निकै चिन्ता पनि व्यक्त गरे। मैले सहज किसिमले ती डाक्टरलाई भनें– “तपाईंको छोरालाई पर्वतारोहणमा नजाऊ भन्नुस् र जानबाट रोक्नुस्।”
    “वयस्क छोरालाई मैले कसरी त्यस्तो भन्न सक्छु वा आदेश दिन सक्छु? पर्वतारोहणमा जाने आफ्नो निर्णयमा ऊ अडिग छ। उसको त्यो निर्णय म परिवर्तन गराउन सक्तिनँ। मैले त्यस्तो गरेमा मैले उसको निजी जीवनमा हस्तक्षेप गरेको उसले अनुभव गर्नेछ। र राम्रो पनि मान्नेछैन। आफ्नो जीवनबारे निर्णय गर्न ऊ स्वतन्त्र छ र म अनावश्यक हस्तक्षेप गर्न चाहदिनँ।”
    हामी हाम्रा सन्तानलाई सानैदेखि आफ्नो स्वभाव र सपनाको भारी बोकाउँछौं। कलिलो उमेरदेखि नै यसो गर त्यसो गर भनेर निर्देशित गर्छौं। हामीबाट प्रदर्शित त्यस किसिमको व्यवहार कलिला बालबालिकाका लागि उपयुक्त हुन सक्ला तर वयस्क  सन्तानलाई भने हामीले त्यस किसिमबाट निर्देशित गर्नु पटक्कै उपयुक्त हुन सक्दैन। स्वतन्त्र चिन्तन परिपाटीमा नै नयाँनयाँ सोच, तरिका, पद्धतिको विकास हुन्छ। किनभने त्यस किसिमको परिपाटीले व्यक्तिलाई रचनात्मक बनाउँछ। परनिर्भर बनाउँदैन। आर्थिकरूपमा स्वावलम्बी हुन प्रेरित गर्छ।
    हामी जुन किसिमको जीवन पद्धतिमा अहिले बाँचिरहेका छौं, पश्चिमाहरू त्यस किसिमको जीवन पद्धतिमा दुई सय वर्ष पहिले बाँच्ने गर्दथे। हाम्रो जीवन पद्धतिले पनि हामीलाई आर्थिकरूपमा पछाडि पारेको छ। त्यस्तो लाग्दैन र?
   
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, February 2, 2018

No comments:

Post a Comment