Friday, January 26, 2018

Unpractical Pricing Method-Article-180

अव्यवहारिक मूल्य निर्धारणबाट सताइएका हामी

व्यापार व्यवसायमा अहिलेसम्म पनि हाम्रा अनेक धारणाहरू परम्परागत छन्। मुख्यगरी मुनाफाको सन्दर्भमा हाम्रो धारणा पटक्कै आधुनिक छैन। हामी अहिलेसम्म पनि के विश्वास गर्छौ भने महँगोमा बिक्री गरेर धेरै मुनाफा आर्जन गर्न सकिन्छ। चर्को मूल्य राखेर बिक्री गरेमा छोटो समयमा धेरै मुनाफा आर्जन गर्न सकिन्छ र यसरी धेरै मुनाफा आर्जन गरेर छोटो समया धेरै धनी हुन सकिन्छ।
    यस किसिमको धारणाबाट साना व्यापारी त पीडित छन् नै, ठूला व्यापारीहरू पनि उत्तिकै पीडित छन्। ठूलो पूँजीसहित ठूलो आकारमा कारोबार गर्ने व्यापारीहरू पनि छोटो समया धनी हुन खोज्छन् र कुन र कस्तो समयमा आफ्नो वस्तुको मूल्य चर्को तुल्याउन सकिन्छ भन्ने ‘मौका’को खोजिमा हरदम तल्लीन रहन्छन्। यो धारणालाई ‘भारतीय व्यापारिक परम्परा’ ले मलजल दिएको छ किनभने भारतीय व्यापारीमा पनि यस किसिमको धारणा व्याप्त छ। भारतीय व्यापारीहरूको चिन्तनबाट पनि कम समयमा बढी धनी हुने धारणा गएको छैन ।
    पश्चिमी जगत् र खासगरी अमेरिकामा मूल्य निर्धारण र मुनाफाप्रति पृथक दृष्टिकोण छ। पश्चिमी देशहरूमा ती व्यवसायीहरू, जो व्यापारमा लामो समयसम्म रहने उद्देश्यले सञ्चालित छन्, आफूले बिक्री गर्ने वस्तु एवं सेवाहरूको मूल्य सकेसम्म कम पार्ने प्रयास गर्छन्। यस्तो गर्न उनीहरूलाई दुईवटा स्थितिले बाध्य पार्ने गर्छ। पहिलो, बजारमा बिक्रीका लागि तीव्र प्रतिस्पर्धा भएकोले वस्तुको मूल्य चर्को निर्धारण गरेमा बिक्री हुन नसक्ने र दोस्रो, चर्को मूल्य निर्धारण गरेमा क्रेताको क्रयशक्तिमा ह्रास आएर लामो अवधिसम्म आफ्नो वस्तु बिक्री हुन नसक्ने स्थिति।
    यस आलेखमा चर्को मूल्य निर्धारण गरेमा क्रेताहरूको क्रय शक्तिमा ह्रास आएर लामो अवधिसम्म वस्तु बिक्री हुन नसक्ने स्थितिबारे चर्चा गरिने छ।
    पश्चिमी जगत्मा बिक्रेताहरूले हरदम आफूले बिक्री गर्ने वस्तु एवं सेवाहरूको मूल्य सकेसम्म कम पार्ने प्रयास यस उद्देश्यका साथ गर्छन् कि क्रेताहरूको क्रय शक्तिमा ह्रास आएन भने उनीहरू बढी वस्तु खरिद गर्ने स्थितिमा हुन्छन् जसले गर्दा थप वस्तु बिक्री हुने अवस्था सृजना हुन्छ। र बजारमा आफ्नो उपस्थितिलाई निरन्तरता दिन सकिन्छ। अर्थात् बजारमा चिरकालसम्म रहन सकिन्छ। यो कारणले उत्पादक एवं बिक्रेताहरू आफूले बिक्री गर्ने वस्तु एवं सेवाको मूल्य कसरी काम पार्न सकिन्छ भन्ने कुरा सोच्न प्रतिपल तल्लीन रहन्छन्। अनेक अध्ययन र अनुसन्धान गर्छन्। वस्तु एवं सेवाको मूल्य कम पार्न उपलब्ध हरसम्भव प्रयास गर्छन्, हरेक सम्भव विकल्पको खोजी गर्छन्।
    आफूले बिक्री गर्ने वस्तुको मूल्य कम पार्नका लागि सस्तोमा सामग्री खरिद गर्ने, सोझै उत्पादकसँग खरिद गर्ने, सञ्चालन लागत कम पार्ने, यातायात लागत कम पार्ने, श्रम बजारबाट सस्तो जनशक्ति भर्ना गर्ने, प्रत्यक्ष मानवीय श्रमको कम प्रयोग गरेर बढी मात्रामा प्रविधि, यन्त्र एवं मेसिनहरूको प्रयोग गर्ने, बिक्रेताको ठाउँमा मेसिन प्रयोग गर्ने जस्ता कार्य गर्छन्।
    हुन पनि बजारमा उत्पादक एवं बिक्रेताहरूसँग दुई विकल्प १) चर्को मूल्य निर्धारण गरेर, बढी मुनाफा आर्जन गरेर छोटो समयमा बजारबाट पलायन हुने वा २) सस्तो मूल्य निर्धारण गरेर, कम मुनाफा आर्जन गरेर आफ्नो अस्तित्व दीर्घकालसम्म कायम राख्ने।
    मूल्य कम राखेर, कम मुनाफा लिने तर बढी परिमाणमा बिक्री गरेर बढी मुनाफा हात पार्ने वा मूल्य बढी पारेर, बढी मुनाफा लिने तर थोरै परिणामा थोरै बिक्री गरेर थोरै मुनाफा प्राप्त गर्ने। यी दुई किसिमको अवसर बजारमा हरपल विद्यमान रहन्छ।
    अमेरिकामा सञ्चालित संसारकै सर्वाधिक ठूलो खुला भण्डार वालमार्ट (Walmart) ले मूल्य कम राखेर, कम मुनाफा लिने तर बढी परिणाममा बिक्री गरेर बढी (वा न्यायोचित) मुनाफा हासिल गर्ने उद्देश्य राखेको पाइन्छ। बजारमा चिरकाल (नित्य) आफ्नो अस्तित्व कायम राख्ने उद्देश्य राखेको पाइन्छ। सस्तोमा सामग्री बिक्री गर्न वालमार्टले अमेरिका मात्र होइन, विश्वभरि नै प्रसिद्धि पाएको छ। तुलनात्मकरूपमा कमजोर आय भएका व्यक्ति (ग्राहक) का लागि वालमार्ट ‘प्रिय खरिद भण्डार’ हुन पुगेको छ। वालमार्टले वस्तुको मूल्य लक्षित गरेर नै ‘पैसा बचत गरौं, राम्रो गरी बाँचौ (Save money. Live better) भन्ने नारा ग्राहकहरू समक्ष राखेको छ।
    प्रतिस्पर्धीहरूको वस्तु एवं सेवाभन्दा आफूले बिक्री गर्ने वस्तु एवं सेवाको मूल्य कम पारेर क्रेताहरूलाई सस्तोमा वस्तु एवं सेवा उपलब्ध गराउने र कमजोर आय भएका व्यक्तिहरूको क्रय शक्ति वृद्धि गरेर उनीहरूले बढी वस्तु एवं सेवा उपभोग गर्न पाउने स्थिति सृजना गर्ने उद्देश्य वालमार्टको प्रमुख लक्ष्य रहेको पाइन्छ।
    खुला भण्डार ‘वालमार्ट’को कुनै पनि भण्डार (खासगरी सुपर सेन्टर) भित्र प्रवेश गरेपछि घरायसी लगभग सम्पूर्ण सामग्री एउटै छतमुनि घुमेर खरिद गर्न सकिन्छ। तरकारी, फलफूल, मासु र अन्डा, दूध, दही र मख्खन, बेकरी, औषधी, शृङ्गार सामग्री, अन्य खाद्य वस्तु, लुगाफाटो, चुत्ता, चप्पल, खेलौना, फर्निचर, रेडियो र घडी, मोटर मरम्मत एवं जगेडा पार्टपूर्जा, सैलुन, बैकिंग सेवा, रेस्टुरेन्ट, टेलिभिजन, क्यामरा, स्टेशनरी, विभिन्न पेय आदि घरायसी सामग्रीहरू वालमार्टमा उपलब्ध रहेका हुन्छन् । एउटै स्थलमा घरायसी लगभग सम्पूर्ण सामग्री उपलब्ध गराएर ग्राहकहरूको समय पनि बचत गरिदिने लक्ष्य वालमार्टले राखेको पाइन्छ। यति मात्र होइन, अमेरिकाका अनेक थुप्रै शहरहरूमा सञ्चालित वालमार्टका भण्डारहरूबीच व्यवस्थापन, भवनको भित्री ढाँचा तथा भण्डार एवं वस्तुहरू सजाएर प्रदर्शनका लागि राख्ने तरिका पनि समान रहेको पाइन्छ। अर्थात् कुनै एक शहरको वालमार्टमा कुनै एक वस्तु कुनै एक निर्धारित ठाउँमा राख्ने गरिन्छ भने दोस्रो कुनै शहरको वालमार्टमा पनि उक्त वस्तु त्यही ठाउँमा हुन्छ जहाँ पहिलो कुनै शहरमा राखिएको थियो। अर्थात् वालमार्टका भण्डारहरूबीच, भित्री सजावट पनि समान वा एकै किसिमको पारिएको हुन्छ जसले गर्दा जुनसुकै शहरको वालमार्टमा पुगेपछि खरिद कर्तालाई कुन समान कहाँ पाइन्छ भन्ने कुराको पूर्व ज्ञान हुन्छ जसले गर्दा सामान खोज्न बढी समय लाग्दैन। यसरी वालमार्टमा समय बचत हुने भएकोले क्रेताहरूले थोरै समयमा धेरै वस्तु खरिद गर्न सक्छन्।
    अमेरिकाको आरकान्स राज्यको बेन्टनभिलमा प्रधान कार्यालय रहेको वालमार्टको, अमेरिकामा त हजारौं भण्डार छन् नै, अन्य २८ देशमा पनि यसका भण्डार सञ्चालित छन्। अमेरिका र अन्य देशमा वालमार्टका ११ हजार ७०३ भण्डार छन्। यी विभिन्न भण्डारहरूमा २३ लाख कर्मचारी कार्यरत छन्। अमेरिकी नागरिक साम वाल्टनले आफ्नो निजी लगानीमा एउटा सानो भण्डारबाट सन् १९६२ मा वालमार्ट स्थापना गरेका थिए। अहिले वालमार्ट संसारको सर्वाधिक ठूलो खुद्रा भण्डार बन्न पुगेको छ। अन्य प्रतिस्पर्धी भण्डारहरूभन्दा वालमार्टले सस्तोमा वस्तु र सेवा छोटो समयमा र प्रायः धेरै कुराहरू एकै छतमुनि उपलब्ध गराउने हुनाले वालमार्ट एउटा लोकप्रिय भण्डार हुन पुगेको छ।
    हामी नेपालमा मूल्य कसरी घटाउन सकिन्छ, कसरी सस्तोमा ग्राहकहरूलाई वस्तु उपलब्ध गराउन सकिन्छ, कसरी ग्राहकको क्रयशक्ति वृद्धि गर्न सकिन्छ, कम आय भएकाहरूको जीवन गुजारा कसरी सजिलो पार्न सकिन्छ भन्नेबारे गम्भीर रहेको देखिएका छैनौं। अर्कोतिर, छोटो समयमा धेरै मुनाफा गर्ने तर ग्राहकको क्रयशक्तिको वास्ता नगर्ने मनोविज्ञानले व्यापारी समुदाय ग्रसित देखिन्छ। मूल्यबारे नागरिक तहबाट पनि चासो लिएको देखिन्न। जे कामका लागि पनि सरकारलाई जिम्मेवार देखाउने, आफूले कुनै जिम्मेवारी नलिने संस्कृतिले पनि हामीलाई ‘मूल्य विषय’ मा गम्भीर हुन दिएको छैन। तर अब वस्तु एवं सेवाहरूको मूल्य कम पारेर ग्राहकहरूको क्रय शक्ति र खासगरी गरिबहरूको क्रय शक्ति कसरी वृद्धि गर्नेबारे ‘स्थानीय बहस’ हुन आवश्यक छ। यसतर्फ मुख्यगरी स्थानीय सरकारहरूले ध्यान दिन आवश्यक छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, January 26, 2018

No comments:

Post a Comment