Thursday, July 19, 2018

The Formulas of Success Part 17


खुसीपूर्वक बाँच्ने प्रयास गर्नु

सुत्र - १७

जीवन कला हो, जीवन विज्ञान होइन

विज्ञानको नियम हुन्छ र निर्धारित नियम अनुसार विज्ञान चल्छ। पानी जहिले पनि उँचो स्थानबाट तल्लो स्थानमा बग्छ। रूखमा फलेको आँप पाके पछि भूइँमा झर्छ, आकासतिर (जाँदैन) झर्दैन। पानीको आफ्नो निश्चित आकार हुँदैन। जस्तो भाँडोमा पानी राख्यो सोही भाँडो अनुरुपको आकार पानीले ग्रहण गर्छ। आगो स्वयं उत्पन्न हुँदैन। आगो उत्पन्न गर्न कुनै माध्यम (कपास, तेल, काठ आदि) अवश्य चाहिन्छ। यस्तो विज्ञानको नियमले गर्दा भएको हो। विज्ञानको आफ्नो निर्धारित नियमहरू छन। हरेक विहानी सूर्यदय हुनु विज्ञानको नियम हो। कसैले जति बल गरे पनि विहान (हुन) लाई उसले रोक्न सक्दैन। विज्ञानको नियम अनुसार २+=४ हुन्छ। ५ हुँदैन। कसैले जति सुकै बल प्रयोग गरे पनि ५ हुन सक्तैन।

तर जीवन विज्ञान होइन। जीवन एक कला हो। जीवन निर्धारित नियम अनुसार चल्दैन। उल्टो जीवनले समय समयमा विभिन्न किसिमका नियमहरू निर्माण गर्छ। जीवनको गणितमा २+=३ हुन सक्छ। ५ पनि  हुन सक्छ। जीवन कला भएकोले नै गौतम बुद्धले राजा हुने औसर त्यागेर भिक्षु हुने बाटो रोजे। भिक्षु भएर हिंडे। तर अन्य राजकुमार वा युवराज राजा भए। गौतम बुध्दले राजकुमारहरू राजा हुने नियम तोडे। यसरी उनले २+=३ हुन्छ, भनेर देखाइ दिए। अरू राजकुमारहरूले राजा भएर २+=४ हुन्छ भन्ने नियमलाई माने।

भारतीय इतिहासका एक प्रमुख पात्र मुगल युवराज सलिम, जो पछि सम्राट जहाँगीर (जन्म ३१ अगष्ट १५६९ मृत्यु २८ अक्टोबर १६२७) को नामले प्रख्यात भए, ले आफ्नो दरबार भित्रकी एक दासी युवती (अनारकली) सँग प्रेम गरेर राज परिवारले राज परिवारमा नै विवाह गर्नु पर्छ भन्ने मान्यता मात्र तोडेनन, साथै प्रेमले राजकुमारी र दासी बीचमा अन्तर देख्दैनन, केवल मन देख्छ भन्ने कुरा व्यवहारद्वारा प्रदर्शित गरेर प्रमाणित गरि दिए। उनले पनि दुई जोड दुई चार मात्र हुन्छ भन्ने विज्ञानको नियमलाई भत्काइ दिए।

माथिका वर्णनन् हरू जीवन एक कला हो भन्ने मान्यता पुष्टि गर्नका लागि प्रस्तुत गरिएका हुन। जीवन कला भएकोले नै आफ्नो ज्ञानको प्रयोग गरेर जहिले पनि सुखसँग बाँच्ने प्रयास गर्नु पर्छ। जसरी एउटा बगैचामा विभिन्न फूलहरू रोपेर, रंगी बिरंगी फूल फुलाएर, बगैचा सुन्दर, मोहक र आकर्षक तुल्याउन सकिन्छ त्यसैगरी विभिन्न कार्यहरू गरेर यो जीवनलाई सुखी तुल्याउन सकिन्छ।
केवल भौतिक सम्पत्तिले मात्र जीवन सुखमय हुन्छ भन्ने मान्यता गलत हो। गरिबीमा पनि व्यक्तिहरू खुसीपूर्वक बाँच्न सक्छन भने ज्यादै धन सम्पत्ति भएको व्यक्तिहरूको मनमा एक पल पनि शान्ति नभएको हुन सक्छ।

सम वा विषम, सरल वा कठिन जस्तो किसिमको अवस्थामा पनि प्रशन्नतापूर्वक बाँच्न सक्ने व्यक्ति सहजै सफल हुन सक्छ। अर्थात सफल हुने व्यक्तिमा सुखमय सँग बाँच्ने जीवनकला हुन आवश्यक छ। अर्को शब्दमा भन्ने हो भने हरदम सुखमय रहने कुनै व्यक्तिको मनोविज्ञानले उक्त व्यक्तिलाई सफल हुन सहयोग पुर्याउँछ। तर अब प्रश्न उठ्छ हरपल कसरी मनलाई प्रशन्न राख्ने? कसरी जुन बेला पनि प्रशन्न रहन सक्ने? मनलाई प्रशन्न राख्ने दुई तरिकाहरू बारे तल वर्णनन्  गरेको छु। अर्थात यी कार्यहरू गरेर, वा यसरी मनलाई हरफल प्रशन्न राख्न सकिन्छ।    

     ((क) उपलब्धि बढाएर 

आकांक्षा, उपलब्धि, सन्तुष्टि व्यक्तिहरूमा रहेका यस किसिमका मनोवैज्ञानिक स्थितिहरू हुन जसलाई संख्याद्वारा नाप्न र व्यक्त गर्न सकिंदैन। तर आंकाक्षां, उपलब्धि र सन्तुष्टिलाई एक अर्कासँग तुलना भने गर्न सकिन्छ। माथिको चित्रमा कुनै एक व्यक्तिको उपलब्धि, आकांक्षा र सन्तुष्टि देखाइएको छ। केवल बुझ्न सजिलो पार्नका लागि व्यक्तिको आकांक्षा, उपलब्धि र सन्तुष्टिलाई संख्यामा व्यक्त गरिएको छ। र आकांक्षा र उपलब्धि बीच तुलना गरेर सन्तुष्टि हेर्न खोजिएको छ।  
यो उदाहरण चित्रमा व्यक्तिले जति आकांक्षा राखेको छ त्यो आकांक्षाको तुलनामा धेरै उपल्बधि हासिल गरेको छ। उसले आकांक्षा भन्दा जति बढी उपल्बधि हासिल गरेको छ ऊ त्येति नै बराबर सन्तुष्ट छ। मानौ त्यो व्यक्तिले ८० प्रतिशत आकांक्षा गरेको थियो, चित्रमा त्यस्तै देखाइएको छ। उपलब्धि भने उसले सत प्रतिसत हासिल गरेछ। यो स्थितिमा, त्यो त्यक्तिमा २० प्रतिसत बराबर सन्तुष्टि रहेको छ। यो स्थिति व्यक्ति सन्तुष्ट रहेको स्थिति हो। सुखद मनोवैज्ञानिक स्थिति हो।
अर्को स्थितिमा, यो व्यक्तिले (यदि चाहन्छ भने) सुन्तुष्टिको मात्रा बढाउन उपलब्धि पनि बढाउँदै लग्नु पर्छ। यसैगरी (यदि) उसको आकांक्षाको तुलनामा उपलब्धि क्रमिक रूपमा कम हुँदै गएमा त्यो व्यक्तिमा रहेको सन्तुष्टि पनि क्रमिक रूपमा त्यसै अनुपातमा कम हुँदै जान्छ। तर उक्त व्यक्ति अहिलेको स्थितिमा (बिस प्रतिसत बराबर) जति सन्तुष्ट छ र उसले त्येही सन्तुष्टिको अनुपातलाई कायम राख्न चाहन्छ भने उसले अहिले रहेको आकांक्षा र उपलब्धीको सन्तुलनलाई कायम राख्नु पर्छ।
यदि व्यक्तिले उपलब्धि घटाउँदै गएको छ भने सोही अनुपातमा (स्थितिमा सन्तुलन ल्याउन) उसले आकांक्षा पनि घटाउँदै लग्नु पर्छ। यस्तो गरेमा व्यकति सन्तुष्ट रहन्छ र उ भित्र नैराष्यता उत्पन्न हुन पाउँदैन। यो तरिका वा यसरी गरेर कुनै व्यक्तिले आफूलाई हरदम प्रशन्न राख्न सक्छ वा आफ्नो जीवन निराशाको कुप्रभावबाट जोगाउन सक्छ। हरदम सन्तुष्ट रहनका लागि उपलब्धिलाई आकांक्षा जतिकै पार्न पर्छ।
  
(ख) आकांक्षा घटाएर

माथिको चित्रमा भने स्थिति पृथक छ। माथि देखाइएको चित्रमा व्यक्तिले जति आकांक्षा गरेको छ त्यसको तुलनामा उसले कम उपलब्धि हासिल गरेको छ। ऊ निराशाको स्थितिमा छ। कति निरास छ भन्ने कुरा यस चित्रमा मापन गर्न खोजिएको छ।

मानौ, उक्त व्यक्तिले एक सय प्रतिसत आकांक्षा गरेको छ, माथिको चित्रमा त्यस्तै देखाइएको छ। तर उसले केवल ८० प्रतिसत मात्र उपलब्धि हासिल गरेको छ। यसरी आकांक्षाको तुलनामा उसले जति कम उपलब्धि हासिल गरेको छ त्येही कम उपलब्धि बराबर उक्त व्यक्तिमा नैरास्यता रहने छ। माथिको काल्पनिक स्थितिमा उक्त व्यक्ति २० प्रतिसत बराबर नैरास्यताको स्थितिमा छ। यो स्थितिमा, उसले (यदि) नैराश्यता घटाउन चाहेमा आकांक्षाको तुलनामा उपलब्धि बढाउनु पर्ने हुन्छ।  
माथिको स्थितिमा, उक्त व्यक्तिसँग अनेक विकल्पहरू उपलब्ध छन्। यदि व्यक्तिले उपलब्धि बढाउन चाहँदैन भने उसले वर्तमानमा रहेको उसको आकांक्षाको मात्रा घटाएर, त्यसलाई उपलब्धि बराबर तुल्याएर, आफूलाई सन्तुलनको स्थितिमा राख्न सक्छ। अर्थात आकांक्षा (उपलब्धिको तुलनामा) घटाउनु पनि सन्तुष्टि तर्फ उन्मुख हुनु हो। वा उपलब्धि (आकांक्षाको तुलनामा) बढाउनु पनि सन्तुष्टि तर्फ उन्मुख हुनु हो।

(ग) सन्तुलनको स्थिति

माथिको चित्रमा देखाइएको स्थितिमा व्यक्ति सन्तुलनको स्थितिमा छ। सन्तुलनको स्थितिमा किन र कसरी छ भने यो उक्त व्यक्तिले जुन परिमाणमा अपेक्षा गरेको छ सोही परिमाणमा उसले उपलब्धि पनि हासिल गरेको छ। यसरी उसको आकांक्षा र उपलब्धि समान रहेकोले ऊ सन्तुलनको स्थितिमा छ। तर उक्त व्यक्तिले (यदि ) उपलब्धि घटाएमा उसको घटे जतिको उपलब्धि बराबर नैराश्यता बढेर जानेछ। अर्को स्थितिमा, उक्त व्यक्तिले (यदि) वर्तमानको उपलब्धिको अनुपातमा वृदधि गरेमा जुन अनुपातमा उपलब्धिमा वृद्धि हुन्छ सोही अनुसार उसको सन्तुष्टिमा पनि वृद्धि हुन्छ।

निष्कर्ष: व्यक्तिले जहिले पनि आफूलाई सन्तुलनको स्थितिमा राख्ने प्रयास गर्नु पर्छ। आफ्ना क्रियाकलापहरुलाई सन्तुलन प्राप्तिको दिशातर्फ निर्देशित गर्नु पर्छ।

यसरी कुनै पनि व्यक्ति कुन स्तरमा सन्तुष्ट  वा नैरास्य हुन्छ भन्ने कुरा उसले राखेको आकाक्षा र उसले प्राप्त गरेको उपलब्धिको अन्तर्क्रिया द्वारा निर्धारित हुन्छ। व्यक्तिलाई सन्तुष्ट वा निरास पार्नमा स्वयं व्यक्तिभित्र रहेको आकांक्षा पूरा गर्ने दृढ्ता र आफूलाई सन्तुष्ट राख्न सक्ने उसको क्षमता (उपलब्धि) मा निर्भर गर्दछ। र व्यक्ति जुन अनुपातमा सन्तुष्ट रहन्छ त्येही अनुपातमा उसले सफल हुनका लागि चाहिने ऊर्जा प्राप्त गर्दछ। अर्थात सफल हुनका लागि कुनै पनि व्यक्तिले ऊर्जा सन्तुष्टिबाट प्राप्त गर्दछ। सन्तुष्टि जीवन-ऊर्जा हो। हाम्रो जीवनमा सन्तुष्टिको भूमिका अत्यन्त महत्वपूर्ण छ। सन्तुष्टिले जीवन यापनलाई सरल तुल्याउँछ। सन्तुष्टिले व्यक्तिलाई सुखी पार्छ।
अनेक किसिमका सुख, सुविधाहरू पाउन सक्षम हुनु अर्थात धनी हुनु एउटा कुरा हो भने सन्तुष्ट हुनु वा खुसी हुनु अर्को कुरा हो। हरेक सन्तुष्ट व्यक्ति धनी हुनु आवश्यक छैन। यसैगरी हरेक धनी व्यक्ति सन्तुष्ट हुनु आवश्यक छैन। तर सन्तुष्ट व्यक्ति सुखी हुन्छ र त्यसरी प्राप्त भएको सुखले उसलाई सफल तुल्याउँ छ। यो भने निश्चित कुरा हो।

कुनै पनि व्यक्तिले आफ्नो जीवनकाल भरि आफूले राखेको महत्वाकांक्षा र त्यो महत्वाकांक्षालाई पुरा गरिने उपलब्धिसँग क्रिया गर्छ। जसले महत्वाकांक्षा र उपलब्धि बीच एक राम्रो सन्तुलन कायम गर्छ उसले यथार्थमा सन्तुष्टि प्राप्त गर्छ र त्यो सन्तुष्टिले उसलाई सफल हुन सहयोग पुर्याउँछ।

निष्कर्ष: सफल हुनका लागि सन्तुष्ट हुन आवश्यक छ।

तर कुनै व्यक्तिले आंकाक्षा भने ज्यादै बढी राख्छ र आकांक्षा राख्ने कार्यलाई केवल सोंचाइमा मात्र सीमित राख्छ तथा आकांक्षा पूरा गर्न क्रियाहरू गर्दैन भने त्यस किसिमको व्यक्तिलाई केवल नैराष्यता वा लघुताभाष (Inferiority complex) मात्र हात लाग्छ। कुनै पनि व्यक्तिले जन्म लिंदा नै लघुताभाष भावना लिएर आएको हुँदैन। सामाजिक परिवेश र व्यक्ति स्वयंको मनोविज्ञानले लघुताभाष सृजना गराउँछु। र खास गरी उच्च महत्वाकांक्षा राख्ने तर त्यो महत्वाकांक्षा पुरा गर्न ठोस कार्यहरू नगर्ने व्यक्तिमा लघुताभाष भाव अति उच्च हुन्छ।

(घ) जीवनमा सन्तुष्ट रहनका लागि केही सुझावहरू

यदि तपाइँ असामान्य परिस्थितिको पनि समना गर्न सक्नु हुन्छ र सानो सानो कुराले तपाइँलाई घोच्दैन भने र समुन्द्र जत्तिकै शान्त हुनु हुन्छ भने ठीक छ तर स्थिति पृथक छ, अरूले भनेको सानो कुराले पनि तपाइँलाई घोच्छ भने कृपया निम्न कार्यहरू नगर्नु होस। र यदि गर्नु भएको छ भने भने आफूमा परिवर्तन ल्याउनु होस। आफूलाई उदार तुल्याउनु होस।

·         आफू ज्यादै गरिब हुनु हुन्छ भने ज्यादै धनीहरूलाई साथी नबनाउनु होस। तपाइँका धनी साथीहरू तपाइँलाई नहेप्ने स्वभावको भएता पनि तपाइँलाई म गरिब भएको कारणले मेरा धनी साथीहरूले मलाई इज्जत दिंदैनन भन्ने मनोविज्ञानबाट ग्रसित रहनु हुनेछ।

·         आफू भन्दा ज्यादै पढे लेखेको व्यक्तिसँग विवाह नगर्नु होस। तपाइँको जोडीले तपाइँलाई असल व्यवहार गरेता पनि तपाइँ म कम पढेलेखेको भएकोले नै मेरो पति वा पत्नीले मलाई कदर नगरेको मनोविज्ञानबाट ग्रसित हुनु हुनेछ।

·         आफू भन्दा ज्यादै सुन्दर व्यक्तिसँग विवाह नगर्नु होस। तपाइँको जोडीको व्यवहार असल भएता पनि मेरो पति वा पत्नीले मलाई नराम्रो ठानेर हेप्ने गरेको छ भन्ने मनोविज्ञानबाट पीडित हुनु हुनेछ।

·         ज्यादै परिश्रम गर्न तपाइँको शरीर र मनोविज्ञान दुबैले दिंदैन भने ठूला ठूला आकांक्षा नपाल्नु होस। आकांक्षा पूरा नभएमा तिनले मानिसक पीडा दिन्छन र मानसिक पीडाले मानिसमा ‘डिप्रेसन’ हुने स्थिति सृजना गराउँछ।

·         आफू ज्यादै धनी हुनु हुन्छ भने ज्यादै गरिबसँग विवाह नगर्नु होस। तपाइँ असल स्वभावको भएता पनि तपाइँको पति वा पत्नीमा मेरो मेरो पति वा पत्नीले मलाई गरिब भनेर हेला गर्ने गरेको छ भन्ने मनोविज्ञान पलाउन सक्छ र त्यो मनोविज्ञानले तपाइँलाई पीडित गर्न सक्छ।

·         आफू ज्यादै गरिब हुनु हुन्छ भने धनीहरूको बस्तिमा नबस्नुहोस। तपाइँका धनी छिमेरकीहरू असल स्वभावको भएता पनि मेरा धनी छिमेकीहरूले मलाई चाहिने जति आदर दिंदैनन भन्ने मनोविज्ञानको सिकार हुन पुग्नु हुन्छ।

·         आफू पढाइमा कमजोर हुनु हुन्छ भने गार्हो विषय न रोज्नु होस। सफल नभएमा तपाइँलाई हरपल असफल मनोविज्ञानले पिरोल्ने छ।

·         यदि तपाइँलाई ज्यादै नै अल्छी लाग्छ र कामहरू गर्न मन लाग्दैन भने ठूला ठूला महत्वाकांक्षाहरू नपाल्नुस। किनभने तपाइँको अल्छी बानीले विभिन्न कार्यहरू गर्न दिदैन र तपाइँ निरासाको शिकार बन्न पुग्नु हुन्छ।

(ङ) गीताको सन्देश

श्रमद् भगवद् गीता केवल एक धर्मशास्त्र मात्र होइन, यो एक नीति शास्त्र हो, एक दर्शन शास्त्र पनि हो। यो जीवन सुखमय तरिकाले बाँच्नु पर्छ र बाँच्ने उपायहरू यी हुन भनेर गीतामा विभिन्न अध्यायहरूमा उल्लेख गरिएका छन्। एक प्रशंगमा गीतामा उल्लेख गरिएको छ, “जे भयो राम्रो नै भयो, जे हुने छ राम्रो नै हुनेछ।” यो भनाइको आशय वा भावार्थ के हो भने हाम्रो नियन्त्रणमा सबै कुरा नभएकोले जे जति कुराहरू भइ रहेका छन तिनलाई हामीले स्वीकार गर्नु उचित हुन्छ। प्रकृतिका नियमहरूलाई हामीले नियन्त्रण गर्न सक्तैनौ र ती नियम अनुसार क्रिया हुँदा उत्पन्न हुने परिणामहरूलाई पनि हामीले नियन्त्रण गर्न सक्तैनौ। जब क्रिया र तिनका परिणामहरू हाम्रो नियन्त्रणमा छैन भने, हाम्रो नियन्त्रणमा नभएका कुराहरूका लागि हामीले किन दु:ख मान्ने? जन्म, मृत्यु, सूर्योदय, वर्षा, भूँइचालो, बाढी आदि जस्ता प्राकृतिक घटनाहरू हाम्रो नियन्त्रणमा हुँदैन। त्यसकारण नियन्त्रणमा नहुने घटना र तिनले उत्पन्न गर्ने परिणामप्रति हामी दु:खी हुनु हुँदैन। उत्पन्न भएका सकारात्मक वा नकारात्मक घटनाहरूलाई समान किसिमले स्वीकार गरेर हामीले हाम्रो जीवनलाई सुखमय तुल्याउन सक्छौ। गीतामा भनिएको छ, जो व्यक्ति ज्यादै विपत्तिमा पनि विचलित हुँदैन र ज्यादै सुखमा पनि अति नै हर्षित हुँदैन, सुख र दु:खलाई समान देख्छ, सुख र दु:ख दुबै आफ्नो नियन्त्रण भन्दा बाहिर रहेकोले त्यसलाई आफूले भोग्नुको विकल्प देखदैन, यथार्थ त्यो नै योगी हो। ऊ यसकारण योगी हो किनभने सुख र दु:ख बोध गर्ने इन्द्रियहरू माथि उसले योगद्वारा नियन्त्रण कायम गरेको छ।   

(च) जीवन दर्शन

अजगर करे न चाकरी पंक्षी करे न काम
दास मुलुका कह गए सब का दाता राम।

प्रशिद्ध कवि, दार्शनिक एवं सुधारका मुलुक भन्छन, “अजगर र पंक्षी दुबैले कुनै पनि किसिमको काम गर्दैनन तर ती दुबैलाई खाने जोहो भगवान्ले पुर्याइ दिएका छन्। अर्थात मानिसले सन्तोषसँग बाँच्ने प्रयास गर्नु पर्छ र भगवान्माथि विश्वास गर्नु पर्छ।

हुन पनि यो संसारमा ८४ लाख जीव वा प्राणधारीहरू छन्। सबैको आयु छ र सबै बाँचिरहेका छन पनि। तर अचम्म! यी ८४ लाख जीवहरू मध्ये मनुष्य मात्र एक यस्तो जीव हो जसले धनको सृजना, सङ्ग्रह, उपयोग गर्दछ। बाँकि अरू प्राणीहरूलाई धनप्रति कुनै चाँसो छैन। धन सञ्चय गर्ने इच्छा पनि छैन। यसैगरी मनुष्य मात्र एक यस्तो प्राणी हो जसले जीविकाको लागि कार्य गर्दछ। कृषि कार्य गर्छ, बाली लगाउँउछ, अन्न उत्पादन गर्छ। गरिएको उत्पादन सञ्चय गरेर भविष्यका लागि राख्छ। र त्यही सञ्चयको आधारमा धनी र गरिब कहलिन्छ। मानिसलाई नै रूपैया, पैसा, सुन, चाँदी बैंक आदि चाहिएको छ। तर अरू प्राणीहरूलाई केही पनि चाहिएको छैन। अरू प्राणीहरूले भविष्यका लागि सञ्चय पनि गर्दैनन। ती प्राणीहरूले खेति गृहस्थी नगरे तापनि उनीहरूको गुजारा चलेको नै छ। भगवान्ले सबैको लागि अन्न वा खानेकुरा उपलब्ध गराइ दिएका छन। बरू मानिसले धन (रुपैंया) को आविष्कार गरेर उल्टो आफ्नै सृजना (रुपैया) दवारा दु:ख पाएको छ। संसारिक दु:ख (जीवन-मृत्यु) बाहेक थप दु:ख मनुष्य स्वयंले नै सृजना गरेको हो।  

No comments:

Post a Comment