व्यापारको अवसर र सरकारको नीति
नेपालको राजनीतिलाई अति प्रभावित पारेर आफूले
चाहेको दिशामा दौडाउन सक्ने एवं सङ्ख्याको आधारमा संसद्मा अति ठूला दुई दलका रूपमा
रहेका नेपाली काङ्ग्रेस र नेकपा एमाले मिलेर कार्य गर्न तयार हुनु मुलुकमा
राजनीतिक स्थिरताको लागि ज्यादै महत्वपूर्ण कुरा हो। यी दुई ठूला दल मिलेर कार्य
गर्न सहमत भएको यो नयाँ स्थितिले देश स्थिरतातर्फ जान थालेको सन्देश नेपाली
जनतालाई दिनेछ। साथै अन्तर्राष्ट्रिय जगत्मा पनि यो नयाँ स्थितिले सकारात्मक
प्रभाव पार्नेछ। मुख्य गरी यो नयाँ स्थितिले राष्ट्रिय व्यापारको क्षेत्रमा
विश्वासको वातावरण सृजना गर्ने आशा गर्न सकिन्छ। उद्योगी एवं व्यापारीहरू थप लगानी
गर्न प्रोत्साहित हुने आशा गर्न सकिन्छ।
तर यो नयाँ स्थिति, नेका र एमाले राजनीतिक स्थिरता र आर्थिक विकासको लागि मिलेर
कार्य गर्न सहमत हुनुमा पूर्ण विश्वस्त हुने अवस्था भने छैन। यी दुई राजनीतिक
दलहरूले विगतमा गरेका एक अर्काप्रतिको घात र प्रतिघातले यी दुई दलहरू मिलेर अगाडि
जाने आधार र विश्वास सहजै प्रदान गर्दैन। आशा गरौं, दुई दलहरू नेका र एमालेको अग्रणी भूमिका रहनेगरी निर्माण
भएको अनेक दल सम्मिलित सरकारले आउने निर्वाचनसम्म कार्य गर्न सकोस्। केपी शर्मा
ओली नेतृत्वको सरकारले पूर्ण अवधि पाओस्। नवनियुक्त प्रम केपी शर्मा ओलीले असल
समन्वयकारी भूमिका निर्वाह गरून्।
२०४६ सालदेखि नै नेपाल राजनीतिक रूपमा अशान्त
छ। माओवादीका नेताहरूले मचाएको तथाकथित दश वर्षे जनयुद्धले त नेपाललाई आर्थिकरूपमा
दुर्बल नै पा–यो। २०६३ सालदेखि मचेका अनेक सङ्घर्ष एवं राजनीतिक अस्थिरता एवं
छिटोछिटो सरकार फेरिने एवं नयाँ प्रम नियुक्त हुने क्रमले देशलाई आर्थिक रूपमा
बर्बाद नै पा–यो। देशलाई आर्थिक रूपमा बर्बाद मात्र पारेन, जनतालाई अति निराश बनायो। युवाहरू ठूलो सङ्ख्यामा रोजगारका
लागि विदेशतिर लागे। युवाहरू ठूलो सङ्ख्यामा विदेश जाने क्रम अहिले पनि जारी नै छ।
आशा गरौं, यो स्थितिमा अब सुधार आउने छ।
राजनीतिक अस्थिरता र अनिश्चितताको कारण
आर्थिकरूपमा देश बर्बाद हुन थालेको स्थितिमा स्थिरता र निश्चितता प्रदान गर्न नेका
र एमाले मिलेर कार्य गर्न तयार हुनु राम्रो कुरा हो। यो नयाँ एवं विशेष स्थिति
नेका र एमालेको लागि पनि महान् अवसर हो। यो अवसरको प्रयोग गरेर नेका र एमालेले
हामी जनता र मुलुकको लागि हित गर्ने दल हौं भन्ने सन्देश दिन सक्छन्। साथै
आफूप्रति मतदाताको गुमेको विश्वास पुनः कायम गर्न सक्छन्।
अहिले दुई ठूला दलको सहभागितामा सरकार निर्माण
भएकोले नयाँनयाँ आर्थिक नीति निर्माण गर्न र तिनको कार्यान्वयन गर्न पक्कै पनि
पहिलेभन्दा निकै सजिलो हुनेछ।
नेपाली वस्तु विदेशी बजारहरूमा बिक्री गर्ने
सन्दर्भमा सरकारले नयाँनयाँ नीति निर्माण गर्न आवश्यक छ। निर्यात व्यवस्था सरल र
नेपाली व्यापारीहरू निर्यात गर्न प्रोत्साहित हुने नीति निर्माण हुने हो भने अहिले
ठूलो सङ्ख्यामा नेपाली वस्तु–मुख्यगरी खाद्य, धार्मिक, सांस्कृतिक
वस्तुहरू संसारका अनेक मुलुकमा बिक्री गर्न सकिने स्थिति छ। स्थिति मात्र होइन,
ठूलो अवसर नै पनि छ।
माओवादी सङ्घर्ष (२०५२–२०६३ साल) ले उत्पन्न
गरेको भय एवं त्रासले गर्दा ठूलो सङ्ख्यामा नेपालीहरूले स्वदेश त्याग गरे। संसारका
अनेक देशतिर लागे। ठूलो सङ्ख्यामा, विदेशमा नै स्थायी
बसोवास गर्ने किसिमले अन्य मुलुकहरू तिर लागे। यसैगरी छिटोछिटो सरकार परिवर्तन
हुने स्थितिले देशमा ठूलो अस्थिरता र अनिश्चितताको स्थिति सृजना ग–यो। अस्थिरता र
अनिश्चितताको स्थितिले पनि ठूलो सङ्ख्यामा नेपालीहरूलाई संसारका अनेक देशमा पुग्न
बाध्य पा–यो।
उपरोक्त दुई कारणले गर्दा ठूलो सङ्ख्यामा
नेपालीहरूले स्थानान्तरण गरेका छन्। यसरी यति ठूलो सङ्ख्यामा देशको जनशक्ति अर्को
देशमा, त्यो पनि स्थायी किसिमले बस्नेगरी, स्थानान्तरण हुनु देशको अर्थ व्यवस्थाको लागि
राम्रो होइन।
तर ठूलो सङ्ख्यामा नेपालीहरू संसारका अन्य
मुलुकहरूमा बसेको स्थितिलाई अवसरको रूपमा पनि लिन सकिन्छ। यो विशेष स्थितिलाई एउटा
राम्रो व्यापारिक अवसरको रूपमा पनि प्रयोग गर्न सकिन्छ।
संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा र अस्ट्रेलियामा अहिले ठूलो सङ्ख्यामा नेपालीहरूको बसोवास रहेको छ।
अमेरिकामा मात्र ३ लाखभन्दा बढी नेपालीको बसोवास रहेको अनुमान गरिएको छ। यसैगरी
जर्मनी, फ्रान्स, बेल्जियम, इटली, स्पेन, इजराइल, डेनमार्क, पोर्चुगल, नर्वे आदि देशमा
पनि राम्रो सङ्ख्यामा नेपालीहरूको बसोवास रहेको छ। ती राष्ट्रमा बस्ने नेपालीहरूको
क्रयशक्ति तुलनात्मकरूपमा (मलेशिया र खाडीका देशहरूभन्दा) बढी छ। यसैगरी साउदी
अरेबिया, कतार, युनाइटेड अरब इमिरेट्स, ओमान, बहरेन, मलेशिया आदिमा पनि नेपालीहरूको बसोवास ठूलो सङ्ख्यामा छ।
यसरी ठूलो सङ्ख्यामा नेपालीहरू देश बाहिर बसेको
स्थितिलाई राम्रो व्यापारिक अवसरको रूपमा उपयोग गर्न सकिने पर्याप्त सम्भावना छ।
खाद्य वस्तु (चिउरा, चाउचाउ, दाल, भटमास, गुन्द्रुक, बिस्कुट, चकलेट, मार्सी चामल आदि), धार्मिक वस्तु (पूजाका सामग्री, मूर्ति, भाँडा आदि) तथा
सांस्कृतिक वस्तु (टोपी, खादा, पोशाक, नेपाली साडी आदि) ठूलो परिमाण एवं सङ्ख्यामा विदेशमा बसेका नेपालीहरूलाई
बिक्री गर्न सकिन्छ। माथि उल्लेख गरिएका मौलिक नेपाली वस्तुहरूको विदेशी बजारहरूमा
ठूलो माग पनि छ। मार्सी चामल, चाउचाउ, रातो चिउरा आदिको माग त झन् ठूलो परिमाणमा छ।
ठूलो सङ्ख्यामा नेपालीहरूको बसोवास रहेको ठूला शहरहरू जस्तै टोरन्टो, न्युयोर्क, डालस, ह्युस्टन आदिमा
नेपाली वस्तु ठूलो परिमाणमा बिक्री हुने ठूलो अवसर नै रहेको छ। स्वाद फेर्नका लागि
माथि उल्लेख गरिएका वस्तुहरू विदेशमा बस्ने नेपालीहरूले ठूलो परिमाणमा खरीद
गर्छन्। उपभोग गर्छन्।
विदेशमा रहेका अन्य व्यापारी (मुख्य गरी भारतीय
मूलका) हरूले यो अवसरको राम्रो प्रयोग गरेका छन्। ती व्यापारीहरूले ठूलो परिमाणमा
विदेशमा बसेका नेपालीहरूलाई नेपालीहरूले मन पराउने वस्तुहरू बिक्री गरेर राम्रो
आम्दानी प्राप्त गरिरहेका छन्।
एउटा फरक प्रसङ्ग उल्लेख गरौं– केही दिन पहिले
म क्यानाडाको विभिन्न शहरको भ्रमणमा थिएँ। क्यानाडाको एक प्रख्यात शहर मोन्ट्रिएल
पुगेको बेला एउटा पसल देखें। त्यस पसलको नाम थियो ‘बुद्ध आर्ट’ र त्यस पसलमा केवल
बुद्धसम्बन्धी अनेक सामग्री बिक्रीका लागि राखिएका थिए। त्यो पसल एकजना भारतीय
मूलका व्यक्तिले सञ्चालन गरेका थिए। त्यस पसलमा राखिएका बुद्धसम्बन्धी सामग्री अति
रोचक र सुन्दर थिए। जानकारीमूलक पनि थिए। मेरो मनमा जिज्ञासा उत्पन्न भयो। मैले
त्यस पसलका बिक्रेतालाई प्रश्न गरे–“बुद्ध सम्बन्धी यी सामग्रीहरू यहाँ (मोन्ट्रिएल)
कुन देशबाट आयात गरिन्छ ?” उनले उत्तर
दिए–“भारतबाट।” मैले पुनः प्रश्न गरें–“नेपालबाट आयात हुँदैन ?” उनले भने–“केवल ८ देखि १० प्रतिशत सामग्री
मात्र नेपालबाट आयात हुन्छ। नेपालबाट आयात गर्न निकै झन्झट छ।”
क्यानाडा र अमेरिकाका अनेक शहरमा रहेका नेपाली
वस्तु बिक्री गर्ने अनेक पसलका सञ्चालकहरूसँग नेपाली वस्तु उनीहरूको पसलमा
राख्नेबारे कुरा गर्दा नेपाली वस्तुहरू आयात गर्न अनेक किसिमका झन्झट र कठिनाई
रहेको उनीहरूले उल्लेख गरेको मैले पाएको छु।
खास परिस्थितिमा निर्माण भएको यो नयाँ
प्रकृतिको सरकारले प्रभावकारी नीति, नियम र व्यवस्थाहरू निर्माण गरेर नेपाली व्यापारीहरूलाई मौलिक नेपाली वस्तु
संसारका अनेकौं शहरमा निर्यात गर्न प्रोत्साहित गर्ने हो भने हामीले ठूलो परिमाणमा
मौलिक नेपाली वस्तुहरू निर्यात गर्न सक्छौं। नेपाली वस्तुहरू ठूलो परिमाणमा
निर्यात गरेर देशमा उद्योग–व्यापार विस्तार गर्न सक्छौं। रोजगारका नयाँनयाँ अवसर
सृजना गर्न सक्छौं।
हामीसँग अनेक व्यापारिक अवसरहरू छन्। हामीसँग
स्रोत र साधनको अभाव पनि छैन। यी सब हुँदाहुँदै पनि हामीले उद्योग र व्यापारको
क्षेत्रमा अपेक्षित विकास गर्न सकेका छैनौं। यस्तो हुनुको मुख्य कारण सरकार स्थिर
नहुनु हो। निर्यात व्यापारलाई सरल र प्रभावकारी बनाउने निर्यात नीति निर्माण नहुनु
हो। वैदेशिक व्यापारलाई लाभदायक बनाउन हामीले निर्यात व्यापार सरल बनाउनु नै पर्छ।
आशा गरौं, केपी ओली नेतृत्वको र नयाँ प्रकृतिको यो
सरकारले यसतर्फ ध्यान दिनेछ। यो सरकार स्थिर हुनेछ।
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: Friday, July 19, 2024
https://eprateekdaily.com/2024/07/19/71687/
No comments:
Post a Comment