नयाँनयाँ व्यापारको खोजी गरौं
अहिले देशभरि नै एक किसिमको अनिश्चितता छ।
नेपालको राजनीति स्थिर हुन सकिरहेको छैन। देशको अस्थिर राजनीतिले राष्ट्रिय
अर्थतन्त्रलाई झनै अस्थिर पारेको छ। यस किसिमको अनिश्चितताको स्थितिमा निश्चय पनि
लगानीकार्ताहरू थप लगानी गर्न उत्सासहित हुने छैनन्, बरु उल्टो गरेको लगानीप्रति सशङ्कित हुनेछन्। उद्योग र
व्यापारको गति झनै सुस्त हुनेछ। यो कारणले गर्दा अहिले लेख्नुपर्ने विषय धेरै छन्।
तर यसपटक अस्थिर राष्ट्रिय राजनीतिलाई एकातिर पन्छ्याएर एउटा महत्वपूर्ण विषयको
चर्चातर्फ लागौं। नयाँनयाँ व्यापारको विकास गर्नेबारे कुरा गरौं।
राष्ट्रिय राजनीति अस्थिर वा स्थिर जे भए तापनि,
व्यापार त गर्नैपर्छ। आजभोलि बाँच्नका लागि
प्रत्येक व्यक्तिले व्यापार गर्नु नै पर्ने अनिवार्यता छ। यो उत्तर आधुनिक युगमा
हामी धेरैजना केवल श्रम मात्र उत्पादन गर्छौं। र त्यही श्रम बिक्री गरेर जीवनयापन
गर्छौं। अर्थात् हामी प्रत्येक श्रम–व्यापार गर्छौं। श्रम बजारमा प्रवेश गर्छौं।
क्रिया गर्छौं।
पहिलेजस्तो धरै मानिसले जीवनयापनको क्रममा धेरै
वस्तु उत्पादन गर्ने युग अब रहेन। यो उत्तर आधुनिक युगमा हामी खेत जोत्ने त परको
कुरा, बारी पनि गोडमेल गर्दैनौं। तरकारीसम्म पनि
बजारबाट खरीद गर्छौं। केवल श्रम मात्र उत्पादन गर्छौं। र त्यही श्रम बिक्री गरेर
जीवन निर्वाह गर्छौं।
उपर्युक्त कारणले गर्दा हामी बाँच्नका लागि
रक्तसञ्चार अति महत्वपूर्ण भएझैं व्यापार पनि अति महत्वपूर्ण हुन पुगेको छ। तर
व्यापार गर्नु पहिलेजस्तो सहज र सरल छैन। मानव जीवन गतिशील छ। समाज गतिशील छ।
व्यापारिक जगत् झनै गतिशील छ। व्यापारिक जगत् खरायोको गतिमा दौडिन्छ। अनुभवले
त्यस्तै देखाएको छ। विगत ५० वर्षभित्र अनेक किसिमका व्यापारको जन्म भएको छ। केही
पुराना व्यापारिक पद्धतिहरू हराएर इतिहास भइसकेका छन्। भोलिका दिनमा झनै नयाँनयाँ
किसिमका व्यापारहरू बजारमा देखा पर्नेछन्।
नयाँनयाँ वस्तुहरूको उत्पादनसँगै नयाँनयाँ
व्यापार पद्धतिहरूको पनि विकास भएको छ। अर्कोतिर उपभोक्ताहरूको नयाँनयाँ माग
अनुसार उत्पादकहरूले नयाँनयाँ वस्तु तथा सेवा अनुसन्धान एवं विकास गर्नुपरेको छ।
केही वर्ष पहिलेसम्म पनि घर बाहिर, अन्यत्र वा भ्रमणमा
गएको बेला बास बस्ने स्थलको रूपमा केवल मोटेल वा लज वा होटेलहरू थिए। अहिले सोही
सेवा उपलब्ध गराउन ‘एयर बिएन्डबी’ ‘होमस्टे’, ‘काउच शेयरिङ’ वा ‘काउच सर्फिङ’, ‘बेड एन्ड ब्रेकफास्ट’ जस्ता स्थलहरूको विकास भएका छन्।
उपरोक्त स्थलहरू तुलनात्मकरूपमा सस्तो उपलब्ध छन्। सेवा र सुविधाहरू पनि राम्रै
दिन्छन्।
अहिले रेस्टुराँमा नै पुगेर खानुपर्छ भन्ने
बाध्यता छैन। पहिले त्यस्तो बाध्यता थियो। अहिले अनलाइन अर्डर गरेर वा खानेकुरा
घरसम्म ल्याइदिने सेवा (Door Dash, Uber Eats) प्रयोग गरेर रेस्टुराँहरूबाट खानेकुरा सजिलै आफ्नो घर वा
कार्यस्थलसम्म मगाएर खान सकिन्छ। यसैगरी, केही वर्ष पहिलेसम्म सामानहरू खरीद गर्न तोकिएको स्थल वा बजार नै
पुग्नुपथ्र्यो। अहिले आपूmले खरीद गर्न
खोजेका कुराहरू अनलाइन नै खरीद गर्न सकिन्छ। खरीद गरिएका सामानहरू घरमैं
आइपुग्छन्।
अहिले धेरै उत्पादकले प्रत्यक्षरूपमा
उपभोक्ताहरूलाई वस्तु आपूर्ति गरिरहेका छन्। यसरी आपूर्ति व्यवस्थालाई फुर्तिलो र
प्रभावकारी पारेर राम्रो आम्दानी हात पारिरहेका छन्। अर्थात् अहिले वस्तुहरू छोटो
मार्गबाट उपभोक्तासम्म पुगिरहेका छन्। तर केही वर्ष पहिलेसम्म पनि स्थिति यस्तो
थिएन। पहिले कुनै पनि वस्तु उपभोक्तासम्म पुग्न पहिले वितरक, डिलर वा एजेन्ट कहाँ पुग्नुपथ्र्यो। त्यसपछि
थोक विक्रेताकहाँ पुग्नुपथ्र्यो। थोक विक्रेताकहाँबाट खुद्रा विक्रेताकहाँ
पुग्नुपथ्र्यो। कुनै पनि वस्तु खुद्रा विक्रेताकहाँ पुगेपछि मात्र उपभोक्ताकहाँ
पुग्ने स्थिति थियो। अर्थात् कुनै वस्तु उत्पादककहाँबाट उपभोक्तासम्म पुर्याउन
अनिवार्यरूपमा ठूलो बाटो (Channels) प्रयोग गर्नुपथ्र्यो। अहिले त्यो स्थितिमा परिवर्तन आएको छ। माथिका उदाहरणहरू
यहाँ के सन्दर्भमा प्रस्तुत गर्न खोजिएको हो भने नयाँनयाँ रोजगारका अवसर सृजना
गर्न व्यापारका नयाँनयाँ तरीकाको खोजी गर्न आवश्यक छ। नयाँनयाँ वस्तु एवं सेवा
विकास गर्न आवश्यक छ। हाम्रो सन्दर्भमा, नेपालमा, हामी नयाँनयाँ व्यापार विकास गर्ने र नयाँनयाँ
वस्तु एवं सेवा उत्पादन गर्ने सन्दर्भमा ज्यादै पछाडि छौं। यस्तो भएकोले पनि
हाम्रो रोजगारको क्षेत्र विस्तार हुन सकिरहेको छैन। हामीले रोजगारको क्षेत्र
विस्तार गर्न नयाँनयाँ व्यापारको विकास र सञ्चालन गर्न अति आवश्यक छ।
वर्तमानमा, हामीकहाँ विगतमा जे जस्ता व्यापारहरू थिए, अहिले पनि तिनै व्यापार छन्। विगतमा जेजे वस्तु
एवं सेवाको विकास भयो, बजारमा अहिले पनि
तिनै व्स्तु एवं सेवाहरू छन्। हामी नयाँनयाँ वस्तु एवं सेवा विकास गर्ने सन्दर्भमा
निकै पछाडि परेका छौं। नयाँनयाँ व्यापार विकास गर्ने सन्दर्भमा निकै पछाडि परेका
छौं। किन होला ? हामीसँग पूँजी पनि
पर्याप्त छ। आवश्यक प्रविधि पनि छ। हाम्रो ज्ञानको स्तर विकसित राष्ट्रहरूको
स्तरको छ। हाम्रो राष्ट्रिय बजार पनि सानो छैन। यस्ता अनेक अवसर हुँदाहुँदै पनि
हामी किन नयाँनयाँ व्यापार विकास गर्ने सन्दर्भमा पछाडि छौं ? किन नयाँनयाँ वस्तु एवं सेवा विकास गर्ने
सन्दर्भमा पछाडि छौं ?
नयाँनयाँ वस्तु एवं सेवा तथा नयाँनयाँ व्यापार
विकास गर्ने सन्दर्भमा हामी पछाडि हुनुका मुख्य दुई कारण छन्। ती कारण हुन्,
पहिलो–व्यापारिक वातावरणको अभाव। दोस्रो–
स्वरोजगार प्रतिकूल शिक्षा प्रणाली। हाम्रो समाजलाई राजनीतिले ज्यादै प्रभावित
पारेको छ। हाम्रो जीवनमा राजनीति आवश्यकताभन्दा बढी सवार र सक्रिय रहेकोले हाम्रो
समाजमा व्यापारिक वातावरणको ज्यादै अभाव हुन पुगेको छ। राजनीतिलाई हामी बढी महत्व
र समय दिन्छौं। दल र नेताहरूको झोला बोक्न हामी जति सक्रिय र समर्पित हुन्छौं
त्यति सक्रिय व्यापार क्षेत्रमा हुने हो भने अनेक किसिमका व्यापार विकास गर्न
सक्छौं। नयाँनयाँ वस्तु एवं सेवाको विकास गर्न सक्छौं। र अब हामीले त्यस्तो गर्नु
पनि परेको छ। रोजगारका लागि विदेश धाउने परम्परा र मनोविज्ञान, दुवै अन्त्य गर्नुपर्छ। वैदेशिक रोजगार
दीर्घकालमा, राष्ट्रिय अर्थतन्त्र र सुव्यवस्थित समाजको
लागि घातक हो।
हाम्रो शिक्षा प्रणाली ज्यादै खराब त छैन तर
अनेक त्रुटिले भरिएको छ। हाम्रो शिक्षा प्रणालीमा दुई महत्वपूर्ण त्रुटि छन्।
पहिलो–हाम्रो शिक्षा प्रणालीले विद्यार्थीहरूलाई आत्मनिर्भर हुन सिकाउँदैन।
दोस्रो–यसले विद्यार्थीलाई आफ्नो लागि रोजगार सृजना गर्न सिकाउँदैन। हाम्रो शिक्षा
प्रणलीले उच्चतम ज्ञान त दिन्छ, तर सीप दिंदैन।
अहिले केवल रोजगार सृजना गर्नेबारे चर्चा गरौं।
हाम्रा विद्यालय एवं कलेजहरूले विद्यार्थीहरूलाई सीप सिकाउनेतर्फ जोड दिनुपर्छ,
तर त्यस्तो भएको छैन। विश्वविद्यालयले मात्र
विद्यार्थीहरूलाई ज्ञान प्रदान गर्न जोड नदिएर विद्यालय एवं कलेजहरूले
विद्यार्थीहरूलाई सीप सिकाउनेतर्फ जोड दिनुपर्छ। विद्यालय र कलेजस्तरका
विद्यार्थीहरूको लागि पाठ्यक्रम तयार पार्दा पाठ्यक्रममा सीप सिकाउने तरीकाहरू
समावेश गर्नुपर्छ। अहिलेको यो वैश्य युगमा ज्ञान जति आवश्यक छ, सीप पनि उत्तिकै आवश्यक छ। दैनिक जीवनयापनका
लागि त ज्ञानभन्दा सीप आवश्यक छ।
हामीले विद्यालय र कलेजका लागि पाठ्यक्रम तयार
पार्दा पाठ्यक्रमभित्र त्यस्ता सामग्री समाविष्ट गर्नुपर्छ जसले विद्यार्थीहरूलाई
रोजगार सृजना गर्न प्रोत्साहित गरोस् तथा नयाँनयाँ रोजगार सृजना गर्ने बाटाहरू
देखाओस्। अहिलेको यो वैश्य युगमा रोजगार अति नै आवश्यक छ। यो युगमा कुनै पनि
व्यक्ति बाँच्न एवं सरल किसिमले जीवनयापन गर्न ऊसँग रोजगार हुन अति आवश्यक छ।
विनारोजगार कुनै पनि व्यक्ति बाँच्न कठिन छ, किनभने बहुसङ्ख्यक व्यक्ति केवल श्रम उत्पादन गर्छ, वस्तुहरू उत्पादन गर्दैन। अर्थात् कृषिमा
संलग्न हुँदैन।
रोजगारको क्षेत्र विस्तार गर्न वा नयाँनयाँ
रोजगार सृजना गर्न हामीले नयाँनयाँ वस्तु एवं सेवा विकास तथा नयाँनयाँ व्यापारको
खोजी एवं विकास गर्नु अति आवश्यक छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, July 12, 2024
https://eprateekdaily.com/2024/07/11/71447/
No comments:
Post a Comment