Wikipedia

Search results

Friday, July 26, 2024

What Political System is Appropriate for Economic Development? -Article-562

आर्थिक विकासका लागि कस्तो व्यवस्था उपयुक्त हुन्छ?

राजनीतिक व्यवस्था र आर्थिक विकासबीच सम्बन्ध छ कि छैन? यसैगरी कुनै पनि राष्ट्रको आर्थिक विकासका लागि त्यस देशमा कुन किसिमको राजनीतिक व्यवस्था आवश्यक पर्छ? प्रजातान्त्रिक राजनीतिक प्रणाली भएको देशले तीव्र गतिमा आर्थिक विकास गर्छ वा साम्यवादी राजनीतिक प्रणाली भएको देशले ? कुनै पनि देशको आर्थिक विकासको सन्दर्भमा यी प्रश्नहरू अति महत्वपूर्ण छन्। यी प्रश्नहरूमाथि अहिले अमेरिका एवं युरोपका धनी राष्ट्रका अर्थशास्त्रीहरूले समेत चिन्तन–मनन गर्न थालेका छन्।

माथिका प्रश्नहरूको उत्तर खोज्नु पूर्व केही राष्ट्रको चर्चा गरौं जहाँको राजनीतिक प्रणाली प्रजातान्त्रिक छ। यसैगरी केही यस्ता राष्ट्रको पनि चर्चा गरौं जहाँ राजनीतिक प्रणाली साम्यवादी वा समाजवादी छ।

ग्रीसका एथेन्सका नागरिकहरूले प्रजातन्त्रको परापूर्वकालमा नै प्रयोग गरेको पाइन्छ। एथेन्सलाई विश्वको पहिलो प्रजातन्त्रको अभ्यास गर्ने स्थलको रूपमा लिने गरिन्छ। यसैगरी रोमनहरूले पनि सयौं वर्ष पहिले प्रजातन्त्रको अभ्यास गरेको पाइन्छ। बेलायतको प्रजातन्त्रलाई पनि प्रचीन प्रजातन्त्र मान्ने गरिन्छ। संयुक्त राज्य अमेरिकाको प्रजातन्त्रलाई आधुनिक युगको पुरोनो र राम्ररी कार्य गरिरहेको प्रजातन्त्र मान्ने गरिन्छ। जनसङ्ख्याको हिसाबले हेर्ने हो भने संसारको ठूलो प्रजातन्त्र भारतमा छ। कस्तो प्रादेशिक एवं केन्द्रीय सरकर निर्माण गर्ने भनी करोडौं भारतीय मतदाताले मत जाहेर गर्छन्। आफ्नो इच्छा अनुसार सरकार निर्माण गर्छन्।

संयुक्त राज्य अमेरिकाको एक्लो उदाहरण छाडेर हेर्ने हो भने नयाँ वा पुराना प्रजातान्त्रिक देश हुन् वा संसारको नै सर्वाधिक ठूलो प्रजातन्त्र भएको देश (भारत) होस, आर्थिक विकासको गतिको आधारमा हेर्ने हो भने ती राष्ट्रहरूले चमत्कारी किसिमले आर्थिक प्रगति गरेको मान्न सकिंदैन। प्रचीनकालदेखि प्रजातन्त्रलाई व्यवहारमा प्रयोग गर्दै आएको इटाली (रोम) र ग्रीसले त चमत्कारी किसिमले आर्थिक प्रगति गर्नुपर्ने होइन र? यसैगरी भारतले त झनै बढी विकास गर्नुपर्ने थियो, किनभने त्यहाँ प्रजातन्त्र पनि छ, जनसङ्ख्या पनि ठूलो छ। अदक्ष, अर्धदक्ष र दक्ष जनशक्तिको कुनै कमी छैन।

आर्थिक विकासको गतिको विश्लेषण गर्दा आफ्नो देशको राजनीतिक व्यवस्था प्रजातान्त्रिक भए तापनि धेरै राष्ट्रले अपेक्षित गतिमा आर्थिक विकास गरेको देखिंदैन। उनीहरूले गरेको आर्थिक प्रगतिको दर सुस्त छ। यो तथ्यलाई दृष्टिगत गर्दा के कुरा छर्लङ्ग हुन आउँछ भने आर्थिक विकास गर्नका लागि राजनीतिक व्यवस्था प्रजातान्त्रिक भएर मात्र हुने रहेन छ।

परम्परागत मान्यता र बहुसङ्ख्यक व्यक्तिको विश्वासले के भन्छ भने कुनै पनि देशले आर्थिक विकास गर्नका लागि त्यस देशको राजनीतिक व्यवस्था प्रजातान्त्रिक हुन आवश्यक छ। अर्थात् कुनै पनि राष्ट्रले आफ्नो राजनीतिक व्यवस्थालाई प्रजातान्त्रिक नबनाएसम्म त्यस देशले आर्थिक विकास गर्न सक्तैन। सम्भव छैन।

आर्थिक विकास र प्रजातन्त्रबीचको सम्बन्धको कुरा गर्ने हो भने चीनले गरेको महान् आर्थिक उपलब्धिको चर्चा नगरी रहन सकिन्न। छुटाउन पनि पाइँदैन। चीनमा प्रजातन्त्र छैन। सरकार निर्माण गर्नका लागि प्रजातान्त्रिक बालिग मताधिकारमार्फत त्यहाँ निर्वाचन हुँदैन। चीनमा एकतन्त्रीय शासन छ। चलनचल्तीको भाषामा भन्ने हो भने चीनमा निरङ्कुश तन्त्र छ। चीनको शासन व्यवस्था केही सीमित व्यक्तिहरूको हातमा छ। कम्युनिस्ट पार्टीको हातमा छ। तर अचम्म! चीनले चमत्कारी किसिमले आर्थिक प्रगति गरेको छ। केवल केही दशकभित्र चीन विश्वको दोस्रो ठूलो अर्थ व्यवस्था हुन सफल भएको छ। परम्परागत मान्यता अनुसार र चीनमा प्रजातन्त्र नभए अनुसार, चीन आर्थिक विकासको दौडमा ज्यादै पछाडि पर्नुपर्ने होइन र? अनि भारत अग्र पङ्तिमा हुनुपर्ने होइन र? चीनको चमत्कारी आर्थिक विकासले के पुष्टि गर्दछ भने देशको आर्थिक विकासका लागि राजनीतिक व्यवस्था अनिवार्यरूपमा प्रजातान्त्रिक हुनुपर्ने रहेन छ।

देशको आर्थिक विकासका लागि साम्यवादी, वा एकतन्त्रीय अथवा नियन्त्रणकारी राजनीतिक व्यवस्था उपयुक्त हुने रहेछ। चीनको आर्थिक विकासले यसै भनाइलाई पुष्टि गर्छ। तर यो भनाइमा पनि पूर्ण सत्यता छैन। यदि पूर्ण सत्यता हुँदो हो त उत्तर कोरियाले धेरै आर्थिक विकास गर्नुपर्ने थियो, किनभने उत्तर कोरियामा, तथाकथित नै भए तापनि, साम्यवादी राजनीतिक व्यवस्था छ। यसैगरी क्युबा, भेनेज्युएलाजस्ता देशहरू पनि आर्थिक विकासको पथमा दौडिरहेको हुनुपर्ने थियो। यी दुवै राष्ट्रहरूमा राजनीतिक व्यवस्था समाजवादी छ। भेनेज्युला र क्युबा दुवै गरीब राष्ट्र हुन्।

माथिको विश्लेषणको आधारमा के भन्न सकिन्छ भने कुनै पनि देशको आर्थिक विकासको लागि सर्वाधिक महत्वपूर्ण कुरा त्यस देशको जनताको मनोविज्ञान ठूलो रहेछ। त्यसपछि मात्र राजनीतिक व्यवस्था प्रजातान्त्रिक हुनु आवश्यक रहेछ। फरक–फरक किसिमको राजनीतिक व्यवस्था भए तापनि, चीनमा एकतन्त्रीय र संयुक्त राज्य अमेरिकामा प्रजातान्त्रिक राजनीतिक व्यवस्था भए तापनि, दुबै देशहरूले चमत्कारी किसिमले आर्थिक विकास गरेका छन्। कसरी चमत्कारी किसिमले आर्थिक प्रगति गरे त? किनभने यी दुवै देशका नागरिकमा आफ्नो स्थान र राष्ट्रको द्रुतगतिमा आर्थिक विकास गर्नुपर्छ भन्ने चाहना छ र त्यसका लागि बलियो इच्छाशक्ति छ।

जनताको मनोविज्ञान सकारात्मक भएमा त्यसको असर राष्ट्रको आर्थिक विकासमा पनि सकारात्मक किसिमले पर्ने रहेछ। अमेरिका र चीन, दुवै देशका जनताको मनोविज्ञान सकारात्मक छ। सकारात्मक मनोविज्ञान भन्नाले यहाँ केवल आर्थिक विकासप्रति बलियो इच्छा शक्ति मात्र भन्न खोजिएको होइन, जातपात, तल्लो जाति, माथिल्लो जाति, छुत, अछूतजस्ता भावना सकारात्मक हुनु पनि भन्न खोजिएको हो। अर्थात् जातीय, वर्गीय, सामाजिक शोषण नहुनु पनि भन्न खोजिएको हो। जातीय कारणले गर्दा उत्पादनका साधनहरू ठूलो परिमाणमा, उच्च जातिहरूको हातमा नपर्नु पनि भन्न खोजिएको हो। 

विश्वको ठूलो प्रजातन्त्र एवं अनेक स्रोत तथा साधनहरूले भरिपूर्ण भए तापनि भारतले अपेक्षित आर्थिक विकास गर्न नसक्नु र त्यहाँ गरीब र धनीबीचको खाडल ज्यादै ठूलो हुनुको मुख्य कारण जनताको मनोविज्ञान सकारात्मक नहुनु हो। अर्थात् उत्पादनका साधनहरू (भूमि, पूँजी ) ठूलो परिमाणमा तथाकथित उच्च जातिकाका हातमा हुनु हो। कमजोर वर्गको हातमा ज्यादै कम मात्रामा उत्पादनका साधनहरू हुनु हो। जातीय, वर्गीय एवं सामाजिक शोषणको इतिहास भारतमा ज्यादै प्रचीन छ। चीन र अमेरिका दुवै राष्ट्रमा ठूलो जातीय विभेद छैन। उत्पादनका साधनहरू केही सीमित ब्यक्तिहरूको हातमा मात्र, ठूलो परिमाणमा छैन।

राजनीतिक व्यवस्था नियन्त्रणकारी भए तापनि, शासन व्यवस्था केही व्यक्तिको हातमा भए तापनि, यदि नेताहरूमा इमानदारी छ, उनीहरू आर्थिक विकासप्रति समर्पित छन् भने पनि त्यस राष्ट्रले आर्थिक विकास गर्ने रहेछ। चीनको आर्थिक विकासले यो भनाइको पुष्टि गरिरहेको छ। राजनीतिक चरित्रको दृष्टिकोणले हेर्ने हो भने चीनका नेताहरूमा तानाशाही प्रवृत्ति छ। केही नेताहरू मात्र लामो समयसम्म सत्तामा छन्। उदाहरणको लागि बहालबाला चिनियाँ राष्ट्रपति सि जिनपिङ सन् २००७ देखि नै शक्तिमा छन्, सत्तामा छन्। आउँदा वर्षहरूमा पनि उनी चीनको उच्च पदमा रहि नै रहनेछन्। सि मात्र होइन, चीनमा केही अन्य व्यक्ति पनि छन्, जो लामो समयदेखि सत्ता र शक्तिमा छन्। राजनीतिक स्थिति यस्तो हुँदा पनि चीनले चमत्कारी किसिमले आर्थिक प्रगति गरेको छ। यस्तो हुनुको मुख्य कारण चीनका नेताहरूमा तानाशाही प्रवृत्ति देखिए तापनि, आर्थिक विकासप्रति उनीहरू समर्पित छन्। देशको आर्थिक विकास गर्न दत्तचित्त भएर लागेका छन्।

अफ्रिकी देशहरूको आर्थिक विकास तीव्र गतिमा हुन नसक्नुको मुख्य कारण पनि त्यहाँका जनताको मनोविज्ञान सकारात्मक नहुनु हो। जातीय, धार्मिक, सामुदायिक, अनेक किसिमका हिंसाको दलदलमा भासिएका अफ्रिककी देशहरू आर्थिक विकासको पथमा कछुवा चालले हिंडिरहेका छन्। अफ्रिकामा धर्मको आधारमा देशको विभाजन (सुडान र दक्षिण सुडान) भएको छ। जातिको निहुँमा कंगोमा, हुटु र टुट्सीबीच भयानक सङ्घर्ष भएको छ।

कुनै पनि देशको आर्थिक विकास तीव्र गतिमा हुनका लागि त्यस देशको जनताको मनोविज्ञान पनि सकारात्मक हुन आवश्यक छ। आर्थिक विकासको लागि राजनीतिक व्यवस्था गौण कुरा हो। प्रथम शर्त जनताको सकारात्मक मनोविज्ञान हो। नेपालको आर्थिक विकास तीव्र गतिमा गर्नका लागि हाम्रो मनोविज्ञान सकारात्मक हुन अति आवश्यक छ। हिंसा, सङ्घर्ष र युद्धद्वारा कुनै पनि समस्याको समाधान खोज्ने हाम्रो बानी हामीले परित्याग गर्नैपर्छ, यदि राष्ट्रको आर्थिक विकास तीव्र गतिमा गर्ने हो भने।





विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, July 26, 2024

https://eprateekdaily.com/2024/07/26/72011/

No comments:

Post a Comment