Wikipedia

Search results

Friday, July 5, 2024

Nepalese Economy Again in Crisis-Article-559

 नेपालको अर्थतन्त्रमा पुनः सङ्कट

अस्थायी नै भए पनि नेपालको राजनीति केही समयको लागि स्थिर थियो, शान्त थियो। तर त्यो स्थिरतामा अहिले अचानक परिवर्तन आएको छ। नेपालको राजनीति पुनः अस्थिर भएको छ। यसपटकको अस्थिरता भने अति अनिश्चित र विशेष किसिमको छ।

नेपालको राजनीतिमा देखिएको यो अस्थिरता वा हलचलले राष्ट्रको अर्थतन्त्रलाई दुई किसिमबाट प्रभाव पार्ने देखिएको छ। यदि नयाँ निर्माण हुने सरकारले दीर्घता प्राप्त ग–यो भने त्यसको प्रभाव नेपालको अर्थतन्त्रमा सकारात्मक किसिमको हुनेछ। उद्योगी एवं व्यापारीहरूमा आशा उत्पन्न भएर उनीहरू व्यापार विस्तार, नयाँनयाँ व्यापार सञ्चालन एवं लगानीको अनुपातमा वृद्धि गर्न प्रोत्साहित हुनेछन्। देशको अर्थतन्त्रमा सुधार आउने छ। तर यदि नयाँ निर्माण हुने सरकार अस्थिर भयो भने राष्ट्रिय अर्थतन्त्र सोही अनुसार अस्थिर बन्नेछ, अनिश्चित हुनेछ। उद्योगी–व्यापारी थप निराश हुने छन्। उद्योग एवं व्यापारको क्षेत्र झनै सङ्कुचित हुनेछ। देशमा झनै बढी निराशा देखिने छ। नेपाली युवाहरूमा रहेको निराशाको मात्रामा झनै अभिवृद्धि हुनेछ। युवाहरूले स्वदेशमा आफ्नो भविष्य असुरक्षित देख्ने कार्यमा झनै तीव्रता आउने छ। अझै ठूलो सङ्ख्यामा युवाहरू विदेश पलायन हुनेछन्।

समाचारहरूले जनाए अनुसार संसद्को सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता सञ्चालनका लागि मिलेर कार्य (गठबन्धन) गर्ने सहमति भएको छ। दुवै दलले पालैपालो सरकार सञ्चालन गर्ने सहमति भएको छ। सहमति अनुसार पहिलोपटक नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीको नेतृत्वमा एमालेले सरकार गठन गर्ने अनि दोस्रोपटक नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नेपाली काङ्ग्रेसले सकार गठन गर्ने। अर्थात् देशको शासन व्यवस्था एमाले र नेपाली काङ्ग्रेसले मिलेर सञ्चालन गर्ने। संसद्का दुई ठूला दलहरू मिलेर देशको शासन व्यवस्था सञ्चान गर्ने। दुई ठूला दलहरू (नेपाली काङ्ग्रेस र एमाले) मिल्न नसकेको स्थितिबाट फाइदा उठाएर सरकार निर्माण गर्न सफल भएको माओवादी केन्द्रलाई निकाल बाहर गर्ने। पुष्पकमल दहाललाई प्रमको कुर्सीबाट तल झार्ने। दुई दलबीच भएको हालको सहमतिले उपरोक्त कार्यहरू गर्नेछ।

राजनीतिक स्थिरता ल्याउन एवं देशलाई आर्थिक विकासको पथमा दौडाउन संसद्का दुई ठूला दलहरू मिल्नु र पालैपालो सरकार सञ्चालन गर्न सहमत हुनु सकारात्मक कुरा हो। यी दुई दलहरूको सहकार्यले नेपाली अर्थतन्त्रलाई विकासका कार्यहरू गर्न अवश्य पनि अनुकूल वातावरण प्रदान गर्नेछ। उद्यमी एवं व्यवसायीहरू थप लगानी गर्न उत्साहित हुनेछन्।  रोजगारको क्षेत्र विस्तार हुनेछ। रोजगारका लागि विदेश पलायन भइरहेका युवाहरूले स्वदेशमा नै रोजगार पाउने वातावरण निर्माण भएर जनशक्ति पलायनको स्थितिमा सुधार आउने छ। अर्थात् नेपाली काङ्ग्रेस र एमालेबीच सत्ता साझेदारी गर्न भएको समझदारीले नेपालको अर्थतन्त्रमा अति नै राम्रो प्रभाव पार्नेछ।

सत्ता साझेदारीका लागि नेका र एमालेबीच भएको सहमति के साँच्चीकै नेपालको आर्थिक विकासको लगि हो त? नेपालको राजनीति पुनः अस्थिर भएको सन्दर्भमा यो प्रश्न अति महत्वपूर्ण हुन पुगेको छ।

माथिको प्रश्नको उत्तर खोज्नुपूर्व नेपाली काङ्ग्रेस र यसका नेताहरूको चरित्र तथा यसैगरी एमाले र यसका नेताहरूको चरित्रको विश्लेषण एवं मूल्याङ्कन गर्न आवश्यक छ। यी दुवै दलका नेताहरूले विगतमा गरेका कार्यको लेखाजोखा गर्न आवश्यक छ।

नेपाली काङ्ग्रेस र एमाले, दुवै केवल सत्ताका लागि राजनीति गर्ने शक्तिलोलुप दल हुन्। यी दलका नेताहरू जहिले पनि शक्ति र सत्तामा  रहन रुचाउने प्रकृतिका छन्। यी दुवै दलका नेताहरूमा त्याग र इमानदारीको खडेरी परेको छ। र शक्ति र स्वार्थ पूर्तिका लागि यी दुवै दलका नेताहरूले जे पनि गर्न सक्छन्। यी दुवै दलका नेताहरूका विगतका क्रियाकलापहरूबाट यस कुराको पुष्टि हुन्छ। यदि यी दुवै दलका नेताहरू राष्ट्रको आर्थिक विकासको लागि समर्पित भएका भए वर्तमानको, दहाल नेतृत्वको सरकारलाई नै काम गर्न दिन्थे। दहाल नेतृत्वको सरकार खसाउने थिएनन्। यी दुवै दल– नेका र एमाले, सरकारमा आए पनि त्यही गर्ने हुन्, जुन अहिले दहाल नेतृत्वको सरकारले गरिरहेको छ। सामान्य किसिमले हेर्दा त्यही देखिन्छ।

नेका र एमाले, दुवै दल मिलेर दहाल नेतृत्वको सरकारलाई कार्य गर्न दिनुपथ्र्यो। दहाल नेतृत्वको सरकारले गलत गरेमा यी दुवै दलले अंकुश लगाउने कार्य गर्नुपथ्र्यो। यस्तो गरेको भए देशमा राजनीतिक स्थिरता रहेको जनतालाई अनुभूत हुन्थ्यो। उद्योगी–व्यापारीमा थप उत्साह जाग्रत हुन्थ्यो। तर केवल केही हप्ता पहिले मात्र बजेट पेश गरेका अर्थमन्त्री वर्षमान पुनलाई एक वर्ष मात्र पनि यी दुई दलहरूले कार्य गर्न दिएनन्। अहिले बजेट ल्याउने एउटा दल,  कार्यान्वयन गर्ने अर्को दल, यस्तो स्थिति उत्पन्न भएको छ। यस्तो स्थितिले देशको अर्थतन्त्रमा ज्यादै नराम्रो प्रभाव पार्छ।

नेपाली काङ्ग्रेस र एमाले, दुवै दलका नेताहरूलाई पद र शक्ति चाहिएको छ। पद र शक्ति प्राप्त गर्न यी दुवै दलका नेता जे पनि गर्न सक्छन्। २०४६ सालको राजनीतिक परिवर्तनपछिको स्थिति हेर्ने हो भने वा नेका र एमालेको राजनीतिक चरित्रको इतिहास खोतल्ने हो भने राष्ट्रको आर्थिक विकासका लागि यी दुवै दल मिलेर कार्य गरेको देखिंदैन। उल्टो, नेका सरकारमा रहेको बेला एमालेका नेता एवं कार्यकर्ताहरूले नयाँ सडकको रेलिङ भत्क्याएको र एमाले सरकारमा रहेको बेला नेकाका नेता तथा कार्यकर्ताहरूले नयाँ सडकको रेलिङ भत्क्याएको ताजा इतिहास छ।

माथि प्रस्तुत गरिएका विवरणहरूको आधारमा नेका र एमालेबीच भएको सत्ता साझेदारीको सहमतिको आयु लामो छैन भनी प्रस्ट भन्न सकिन्छ। नेका र एमालेबीच सत्ता साझेदारीको लागि भएको यो नयाँ सहमतिले नेपालको राजनीतिलाई थप अस्थिर पार्नेछ। नेपालको अर्थतन्त्र झनै अस्थिर हुनेछ, विश्वासका साथ भन्न सकिन्छ।

देशको आर्थिक विकासप्रति यी दुई दल– नेका र एमाले कटिबद्ध भएको भए, ठूलो सङ्ख्यामा नेपाली युवाहरू रोजगारका लागि विदेशतिर पलायन भइरहेको स्थितिप्रति चिन्तित भएको भए, गत निर्वाचन (२०७९) देखि नै नेका र एमालेका नेताहरूले राष्ट्रको आर्थिक विकासको लागि मिलेर कार्य गर्ने थिए। दुवै दल मिलेर सरकार निर्माण गर्ने थिए। मिलेर शासन–सञ्चालन गर्ने थिए। तर त्यस्तो कहिले गरेनन्। केवल यो दलसँग मिलेर अर्को दलको सरकार खसाउने अर्को दलसँग मिलेर अर्को सरकार खसाउने काम गरे। देशको राजनीति थप अस्थिर पार्ने कार्य गरे। आर्थिक विकासको गति सुस्त पारे। आफ्ना यस्ता कार्यद्वारा युवाहरूलाई निराश पारे।

विगतमा जे जस्ता कार्य यी दुई दल–नेका र एमालेले गरे तापनि, विगतका ती सबै कुरा बिर्सेर, आफूलाई सुधारेर, यो नयाँ अवसरलाई सदुपयोग गर्ने हो भने देशको आर्थिक विकासका लागि यी दुई दलले धेरै काम गर्न सक्छन्। यो नयाँ परिस्थिति (पुष्पकमल दहाल–सरकारको पतन) दुवै दलका लागि नेपालको आर्थिक विकासका लागि योगदान पु–याउने अवसरको रूपमा रूपान्तरित हुन सक्छ। सबैभन्दा ठूलो कुरा, अब देश स्थिरितातिर अग्रसर हुँदैछ भन्ने सन्देश जनतामा पुग्न सक्छ।

यी लोभी र पापी नेताहरूबाट सृजित राजनीतिक वातावरणमा भोलि जे पनि हुन सक्छ। नेकाको नेतृत्व एवं माओवादी केन्द्रको समर्थनमा शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार निर्माण हुन सक्छ। ज्योतिषिले भने अनुसार शेरबहादुर देउवा छैठौंपटक नेपालको प्रम हुन सक्छन्। तर यस्तो भएमा देशमा चरम निराशा व्याप्त हुन सक्छ। देशमा उथलपुथल आउन सक्छ। त्यस उथलपुथलमा यी लोभी र पापी नेताहरूले देशलाई नै त्यस्तो सुदूरमा पु–याउन सक्नेछ जहाँबाट फर्केर राष्ट्रिय राजनीतिमा आउन यी नेताहरूलाई कठिन हुनेछ।

आशा गरौं, नेका र एमालेको सहकार्यमा निर्माण हुने नयाँ सरकारले देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्न सकोस्। विशेषगरी युवाहरूमा उत्पन्न भएको चरम निराशा कम गर्न सकोस्।






विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, July 5, 2024

https://eprateekdaily.com/2024/07/05/71023/

 

No comments:

Post a Comment