Saturday, June 23, 2012

Go down-Poem of the week-34


धिक्कार छ

एक हुल दुर्योधनहरु पसेर
एक हुल दुस्सासनहरु पसेर
हस्तिनापुरलाई बरबाद पार्न कस्सिएका छन
सकुनीहरु मख्ख छन
आफ्ना योजनाहरु सफल भएकोमा

सकुनीहरु,
दुर्योधनलाई आफ्नो महत्वाकांक्षाको घोडा बनाएर
धृतराष्ट्रलाई रथ बनाएर
कुरू क्षेत्रमा घचेट्दै छन
हस्तिनापुरको राजा बन्ने सपना देख्दै छन

आफ्नै वंश विनास गर्न उद्धत
दुस्सासनहरु, दुर्योधनहरु अनि धृतराष्ट्रहरु
सकुनीको चालमा परेर महा पाप गर्दै छन
अत्याचारको पराकाष्टा पार गर्दै छन

दुर्योधनहरु
दुस्सासनहरु
आफ्नै इज्जत (द्रौपदी) लाई निर्वश्त्र पारेर
नाङ्गो शरिर हेर्न प्रतिस्पर्धा गर्दे छन
उत्सवहरुको खुसी मनाउँदै छन

दुर्योधनहरु
दुस्सासनहरु
धिक्कार छ तिमीहरुलाई
सकुनीको छलमा परेर
आफ्नो विवेक आफैले लिलाम गरेकोमा
धिक्कार छ
धृतराष्ट्रहरुलाई पनि
मोहमा परेर सत्यको पक्ष नलिएकोमा

अनि देवव्रत, तिमीलाई पनि धिक्कार छ
भो अब भिस्म पिताम्हको मन पदवी फर्काइ देउ
हस्तिनापुरको जनतालाई
अनि घोषण गर
मेरो कायरताले
दुस्सासन, दुर्योधन, धृतराष्ट्रहरुको
अत्याचारहरु टुलु टुलु हेर्नु बाहेक
केही पनि गर्न दिंदैन
हस्तिनापुर बरबादको योजनाकार
सकुनीहरुलाई दण्डित गर्न सक्दैन।   

विश्वराज अधिकारी

No comments:

Post a Comment