Friday, June 8, 2012

Conflicts Cause Poverty-Article-45


हिंसा आर्थिक विकासको प्रमुख बाधक तत्व

कुनै समयमा राष्ट्रपति समेत रही सकेका चार्लस टेरलरले आफ्नो जिवनमा कहिले सोंचेका समेत थिएनन् होला आफ्नो जिवनको बाँकी समय जेलमा बिताउनु पर्नेछ। आफू शक्तिसाली हुँदा शक्तिको उन्मादले उनलाई यो सोंच्न दिएन की आफू शक्तिसाली भएको समयमा आफूले गरेको अपराधलाई सक्तिद्वारा दवाउन सकिएता पनि त्यो, त्यसरी, गरिएको अपराधलाई सँधैका लागि दबाउन वा लुकाउन सकिंदैन, शक्तिबाट बाहिर आउने बित्तिकै वा अपराध कर्मले सीमा नाघे पछि, समयले जहाँ भए पनि तानेर, ल्याएर सजाए दिनेछ। त्यस्तै भयो पनि। लाइबेरियाका २२ सौ राष्ट्रपति, जो सत्तामा अगष्ट २, १९९७ देखि अगष्ट ११, २००३ सम्म रहेका थिए, ले आफूले गरेका विभिन्न अपराधका लागि हालै ५० वर्षको जेल सजाए पाएका छन। ६४ वर्षिय टेलरको सम्पूर्ण जिवन अब जेलमा नै बित्ने देखिन्छ। टेलरलाई, ५० वर्षको जेल सजाए द हेगमा अन्तरार्ष्ट्रिय युद्ध अपराध अदालतद्वारा सुनाइएको हो। अदालतले, टेलरलाई आतंक, बलात्कार, हत्या, यौन शोषण, बाल शैन्य भर्ना, दासता, लुट जस्ता अपराधका लागि जिम्मेवार ठहर्याएको थियो। मानव इतिहासमा गरिएका जघन्य अपराधहरु जस्तै जघन्य अपराध टेलरले गरेको उल्लेख गरिएको छ। उनले जेल सजाए बेलायतमा काट्नु पर्नेछ।
टेलरले छिमेकी मुलुक सियरा लियोनमा सन् १९९१ देखि २००२ सम्म मच्चिएको गृह युद्धमा विद्रोही, क्रान्तिकारी एकीकृत समूह (Revolutionary United Front) लाई आर्थिक र भौतिक सहयोग गरेका थिए। दस वर्ष सम्म चलेको उक्त गृह युद्धमा ५० हजार भन्दा बढी व्यक्तिहरुको ज्यान गएको थियो, कैयौं अहिले पनि अंग भंग ( हात, खुट्टा काटिएको) स्थितिमा छन। भिख मागेर गुजारा गर्न बाध्य भएका छन, उनीहरु। युद्ध प्रभावितहरुले राजधानी फ्रि टाउनमा भिख मांग्दै हिंडेको अहिले पनि देख्न सकिन्छ। त्यति मात्र होइन, उक्त गृह युद्धमा विद्रोहीहरुले जघन्य मानवता विरुद्ध अपराधहरु समेत गरेका थिए।
मानवता विरुद्ध अपराध गर्नेहरुलाई सहयोग गरेको, हिंसा मच्चाउनमा योगदान पुर्याएको,  पश्चिम अफ्रिकामा नै युद्ध विस्तार हुन सक्ने क्रियाकलाप गरेको, आफ्नो पद र शक्तिको दुरुपयोग गरेको जस्ता कार्यहरुका लागि जिम्मेवार रहेका टेलर, दोस्रो विश्व युद्ध पछि, अन्तरार्ष्ट्रिय ट्राइब्युनलबाट फैसला सुन्ने पहिलो भूतपूर्व राष्ट्राध्यक्ष भएका छन। यस भन्दा पहिले कार्ल डोनिज, जो हिटलरले आत्महत्या गरे पछि छोटो समयका लागि जर्मनीको राष्ट्रपति भएका थिए, ले अन्तरार्ष्ट्रिय ट्राइब्युनलबाट फैसला सुनेका थिए। उनले दस वर्षको जेल सजाए पाएका थिए।
टेलरले  १.आतंककारी कार्य (युद्ध अपराध), २.हत्या (मानवता विरुद्ध अपराध), ३.रक्तपात (युद्ध अपराध), ४.बलत्कार (मानवता विरुद्ध अपराध), ५.यौन दासता र आतंक (मानवता विरुद्ध अपराध), ६.व्यक्तित्व माथि प्रहार (युद्ध अपराध), ७.क्रुर व्यवहार (युद्ध अपराध), ८.अन्य अमानवीय व्यवहार (मानवता विरुद्ध अपराध), ९.बाल शैन्य प्रयोग (अन्तरार्ष्ट्रिय मनवीय कानूनको उलंघन), १०.दास बनाउने (मानवता विरुद्ध अपराध), ११. लुट मच्चाउने (युद्ध अपराध) जस्ता विभिन्न किसिमका अपराधहरु गरेको उल्लेख गरिएको छ।
टेलर कहिले पनि सियरा लियोन पुगेनन तर पनि सियरा लियोनको गृह युद्धमा उनको अप्रत्यक्ष संलग्नताले, उनले त्यहाँका विद्रोहीहरुलाई गरेको आर्थिक र भौतिक सहयोगको कारणले, सियरा लियोनका थुप्रै मानिसले अति नै दुख: पाए। सियरा लियोनका विद्रोहीहरुको अमानवीय कार्यको सिकार धेरै व्यक्तिहरु हुन पुगे।
टेलरका त्यस किसिमका कार्यहरुले गर्दा नै उनलाई युद्ध नायक (warlord) भन्ने गरिन्छ। उनी अफ्रिकाका कुख्यात युद्ध नायकहरु मध्ये एक हुन पुगेका छन, समाचारहरुमा उल्लेख भए अनुसार।
अफ्रिका स्रोत र साधनहरुले भरिएको महादेश हो। त्यहाँ के छैन? प्रकृतिले दिएका सुन्दर र रमणीय धेरै स्थानहरु छन, पर्यटनका लागि। सुन, हिरा, तेल आदि ठूलो परिमाणमा उत्पादन हुन्छन, अफ्रिकी देशहरुमा। तर यति हुँदा हुँदै पनि त्यहाँका धेरै देशहरु गरिब छन। र त्यसरी गरिब हुनुको कारण प्रष्ट छ। अफ्रिकी देशका नेताहरु नै त्यहाँका गरिबीको प्रमुख कारण बनेका छन। अफ्रिकाले धेरै महत्वाकांक्षी, शक्ति पिपासु, लहडी, सनकी, तानाशाह नेताहरु भोगेको छ। गद्दाफी, होस्नी मुबारक, इदि अमिन आदिको सनक र लहडलाई खेपेको छ। नेताहरुले मच्चाएका संघर्ष, द्वन्द, गृह युद्ध, र युद्धले गर्दा आर्थिक विकासको भरपुर सम्भावना भएता पनि अफ्रिकाका धेरै राष्ट्रहरु गरिबीमा बाँच्न बाध्य भएका छन। निरन्तरको संघर्षले गर्दा गरिबीबाट बाहिर आउन गार्हो भइ रहेको छ।
नेपालमा पनि, नेताहरुको व्यवहार, शक्तिका लागि उनीहरु बीच हुने गरेको छलकपट एवं द्वन्द, आफ्नो स्वार्थका लागि जनतालाई झुक्याउने एवं उनीहरु बीच मतभेद ल्याउने, काल्पनिक र गलत मुद्दा खडा गरेर जनतालाई अलमल्याउने जस्ता कारणहरुले, अफ्रिकाको अति निर्धन मुलुकमा रहेको डरलाग्दो गरिबीको स्थिति आउन सक्ने हो कि भनी शंका लाग्न थालेको छ। नेताहरुको व्यवहार अहिलेको जस्तै हुने हो भने त्यो संका यथार्थमा परिणत हुन धेरै समय लाग्ने छैन।
चार्लस टेलरलाई सुनाइएको यो सजाएले विश्वका त्यस्ता नेताहरु माझ यो सन्देश प्रष्ट रुपमा गएको छ- आफ्नो स्वार्थका लागि युद्ध मच्चाउने, जनता जनता बीच मदभेद खडा गरेर उनीहरुलाई लड भीड गर्ने प्रेरित गर्ने, आफ्नो महत्वाकांक्षा पूरा गर्न हत्या हिंसाको प्रयोग गर्ने र समग्रमा भन्ने हो भने केवल निजी फाइदा का लागि  मानवता विरुद्ध  जघन्य अपराध गर्न पछाडि नपर्ने नेताहरुलाई जनताले एक दिन अवश्य न्यालयको कठघेरामा उभ्याएर सजाए दिंदा रहेछन। तत्काल नेता शक्तिसाली भएर जनता कमजोर भएता पनि पछि जनता बलियो भएको बेलामा त्यस्ता नेताहरुलाई खोजेर जनताले न्यालय पुर्याउँदा रहेछन र उनीहरुले गरेको अपराधका लागि सजाए सुनाउँदा रहेछन। यो सन्देशलाई नेपालका नेताहरुले पनि मनन गरे हुन्छ।

विश्वराज अधिकारी

No comments:

Post a Comment