Saturday, April 21, 2012

Life Beyond Your Thinking-Poem of the week-26


सोंचे जस्तो हुँदैन जीवन

सोंचे जस्तो हुँदैन जीवन
देखे जस्तो हुँदैन जीवन
जस्तो आउँछ समय भोग्नै पर्छ
पन्छिएर बस्न नसकिने जीवन

जीवनको आफ्नै नियम
हाम्रो नियममा चल्दैन जीवन
जीवन तमासाको दर्शक हामी
प्रदर्शनकर्ता ठूलो रहेछ जीवन

युद्ध नायकहरु कति कति आए
दिशा फेर्न जीवनको
महत्वाकांक्षीहरु त्यति नै आए
गति रोक्न जीवनको
बगे जीवन खोलामा ती
पुगे कता कता
रोकिएन  बगिनै रह्यो
आफ्नै गतिमा आफ्नै मतिमा बग्ने जीवन

घेरा छैन रोक्न यसलाई
पर्खाल छैन छेक्न यसलाई
आफ्नै दिशामा चल्ने जीवन
बन्धनमुक्त उन्मुक्त जीवन

विश्वराज अधिकारी

No comments:

Post a Comment