मालीको संकट
स्वार्थी नेता, असक्षम सरकार र जातीत तथा क्षेत्रीय कलहले देशलाई कसरी टुक्रा पारि दिन्छ भन्ने कुराको उदाहरण सुडान विभाजनको सन्दर्भमा सबैले देखेकै यथार्थ हो। एउटा सिंगो, सबल राष्ट्र सुडान जातीय कलहले गर्दा अहिले विभाजित भएर सुडान र दक्षिणी सुडान गरी दुई मुलुकको रुपमा विश्व मान चित्रमा देखा परेको छ। सुडानकै पद चिन्हलाई पछ्याउने तरखरमा छ अहिले अफ्रिकी मुलुक माली। १ करोड ४५ लाख १७ हजार १७६ (सन् २००९ ) जनसंख्या भएको यो मुलुक कुनै समयमा फ्रान्सको उपनिवेस थियो र यसले सन् १९६० मा स्वतन्त्रता प्राप्त गर्यो। पश्चिमी अफ्रिकामा पर्ने भूपरिवेष्ठित मुलुक माली विश्वका अति निर्धन राष्ट्रहरु मध्ये एक हो। मालीको आधा जन संख्या गरिबीको रेखा मुनी पर्दछ। त्यसरी गरिबीको रेखा मुनी पर्नेहरुको दैनिक आम्दानी US$ १.२५ रहेको छ। मालीका कामदारहरुको औसत वार्षिक आम्दानी करिब US$ १,५०० रहेको उल्लेख गरिएको छ। कुल गार्यहस्थ उत्पादन (PPP, 2010 ) पनि केवल US$ १६.७७२ बिलियन छ। मालीको अर्थ व्यवस्था कृषिमा आश्रित भएता पनि खानीबाट पनि राम्रो आम्दानी गरेको देखिन्छ। सुन उत्पादनमा, दिक्षिण अफ्रिका र घाना पछि, मालीको स्थान अफ्रिका महादेशमा तेस्रो नम्बरमा पर्दछ। मालीले कपास पनि ठूलो परिमाणमा उत्पादन गरी निर्यात समेत गरेको देखिन्छ। बजार अर्थतन्त्र तर्फ उन्मुख मालीमा आर्थिक विकासका पर्याप्त सम्भावनाहरु भएता पनि भष्ट्राचार, असक्षम सरकार र आपसी मेल मिलापको अभावमा अपेक्षित किसिमले आर्थिक विकास हुन सकि रहेको छैन।
जुन मुलुक जति गरिब हुन्छ त्यहाँ त्यति नै बढी मात्रामा जातीता, साम्प्रदायिकता, क्षेत्रियताका नाराहरु चर्किने गर्दछन। जातीयता, साम्प्रदियकता, क्षेत्रियता जस्ता नाराहरुले गरिब मुलुकहरुलाई झन झन गरिब पार्दै छन। यो यथार्थलाई गरिब मुलुकका जनता र नेताहरुले बुझ्नु पर्ने हो। धनी देशहरुमा बरु जनताहरु मिलेर बसेको देखिएका छन। जनता मिलेर नबस्ने हो भने मुलुकको आर्थिक विकास गर्न गार्हो हुन्छ। हुन पनि सँधैको आन्तरिक कलहले मुलुकको आर्थिक विकास झन झन टाढा पुग्छ। यो तथ्यलाई स्वीकार गरेर नै पूर्व जर्मनी र पश्चिम जर्मनी गरी दुई देशमा विभाजित जर्मनी एकीकृत भएर एउटै राष्ट्रको रुपमा संगठित भए।
माली अहिले विभाजनको नजिक पुग्न थालेको भन्न नसकिएता पनि विभाजनको बिउँ भने रोपिएको छ। यो लेख तयार पार्दासम्म, हतियारधारी पृथकतावादी विद्रोहीहरु, जसलाई ताउरेग विद्रोही भन्ने गरिन्छ, ले अहिले मालीको उत्तरी ठूलो भूभागमा कब्जा जमाएका छन, उनीहरुको भनाईमा। उनीहरुले त्यसरी कब्जा गरेको क्षेत्रलाई मालीबाट स्वतन्त्र भएको घोषणा गर्नुको साथै त्यस क्षेत्रको नाम अजावाद रहेको उल्लेख गरेका छन। अजावाद क्षेत्र स्वतन्त्र भएको घोषण त्यस क्षेत्रका बिद्रोहीहरुको संगठन ( Azwad National Liberation Movement) का महा सचिवले अन लाइन पोष्ट गरेका थिए। पृथकतावादीहरुको त्यस कार्यको अफ्रिकन यूनियनले बिरोध मात्र गरेको छैन साथै त्यसरी छुट्टिएको भनिएको भूभागलाई कहिले मान्यता नदिने घोषण समेत गरेको छ। मालीको सम्पूर्ण भूभागमा सरकारको नियन्त्रण कामय राख्न आवस्यक पर्ने हर सम्भव प्रयास गर्ने पनि अफ्रिकन यूनियनले उल्लेख गरेको छ। अफ्रिकाका धेरै राष्ट्रहरुले ताउरेग विद्रोहीहरुको त्यस किसिमको पृथकतावादी कार्यको बिरोध गरेका छन। फ्रान्स, जसको कुनै समयमा मालीमा उपनिवेस थियो, ले पनि पृथकतावादीहरुको त्यो कार्यको बिरोध गरेको छ। यसरी हेर्दा, पृथकतावादीहरुले भित्र वा बाहिर, कतैबाट बाट पनि बलियो समर्थन पाएको देखिँदैन, उनीहरुको त्यस किसिमको कार्यको। बरु विगत पचास वर्षदेखि भ्रष्टाचार र असक्षम सरकारको क्रियाकलापबाट दिक्क भएका केही व्यक्तिहरुलाई पृथकतावादी बिद्रोहीहरुले उपयोग गरेको देखिन्छ।
मालीमा देखिएको संकटले मुलुकको आर्थिक र सामाजिक अवस्थामा निकै प्रभाव पार्ने देखिएको छ। विद्रोहीहरुले कब्जा जमाएको भनिएको क्षेत्रबाट अहिले दुई लाख भन्दा बढी व्यक्तिहरु घर छाड्न बाध्य भएका छन।
मालीमा, गत मार्च २२ मा त्यहाँको सेनाले निर्वाचित सरकारबाट आफ्नो हातमा सक्ति लिएको थियो। सेनाको त्यो कार्यको पनि अहिले व्यापक बिरोध भइ रहेको छ। सरकारले मुलुकमा व्याप्त समस्याहरु समाधान गर्न नसकेको भन्दै सेनाले शक्ति आफ्नो हातमा लिएको थियो। अन्तरार्ष्ट्रिय समुदायले मालीमा संबैधानिक कानूनको पुनर्वहाली गर्न अव्हान गरेको छ। यसै गरी पश्चिमी अफ्रिकी मुलुकहरु, अफ्रिकन यूनियन, संयुक्त राज्य अमेरिका आदिले पनि मालीमा सबैधानिक कानूनको पुनर्वहाली गर्न अव्हान गरेका छन। संयुक्त राष्ट्र, संघ सुरक्षा परिषदले पनि प्रजातान्त्रिक किसिमले निर्वाचित सरकारको पुनर्वहाली गर्न आव्हान गरेको छ।
माली अहिले विभिन्न किसिका समस्याहरुको जालोमा अल्झिएको छ। समस्याहरु जुन पक्षले जन्माएता पनि त्यसको असर भने जनतालाई नै पर्न जान्छ। एक त पहिले देखि नै कमजोर सरकार, भष्ट्राचार, सेनाको बोलबाल, कमजोर लोकतन्त्र, आदि जस्ता समस्याहरुको भूमरीमा परेका गरिब मुलुक मालीका जनताले अब अर्को ठूलो समस्या वा द्वन्द- पृथकतावादी आन्दोलनको सामना गर्नु पर्ने भएको छ। मालीले मुलुक भित्र देखिएको पृथकतावादी आन्दोलनको समाधान कुसलतापूर्वक गर्न सकेन भने भोलीका दिनमा सुडानकै स्थिति नआउला भन्न सकिँदैन। मालीले द्वन्दको व्यवस्थापन छिटै गर्न आश्यक छ। द्वन्दको स्थिति, जुन खास गरी गरिब मुलुकहरुमा नै बढी देखिन्छ, लामो समयसम्म रहेमा त्यसले राष्ट्रलाई आर्थिक विकासमा त पछाडि पार्छ नै जनतालाई पनि मनोवैज्ञानिक रुपमा हिँसक पार्दे लान्छ, जुन अहिले नेपालमा देखिएको छ।
विश्वराज अधिकारी
No comments:
Post a Comment