Friday, April 27, 2012

What Does The Bitter Relationship Between Sudans Says-Article-40


के भन्छ दुई सुडान बीचको तनावपूर्ण सम्बन्धले

जब सिंगो सुडान जुलाई २०११ मा विभाजित भएर सुडान र दक्षिण सुडान गरी दुई बटा देश बन्यो धेरै मानिसले अपेक्षा गरेका थिए- विभाजित हुनु भन्दा पहिले सुडानीहरुमा देखिएको अति मन मुटाबको स्थिति अब समाप्त हुनेछ, खास गरी सुडानी सरकार र सुडान पिपुल्स लिबरेसन मुभमेन्ट बीच पहिलेदेखि चल्दै आएको डरलाग्दो मन मुटाब, र संघर्ष।
विभाजन पछि, दुबै देशका जनता बीचको सम्वन्ध सुमधुर नभएता पनि पहिलेको जस्तो ज्यानै लिने किसिमको कटुतापूर्ण रहने छैन। दुई दशकसम्म चलेको गृहयुद्ध जसले करिब २० लाख भन्दा बढी सुडानीहरुको ज्यान लियो, जस्तो डरलाग्दो संघर्षको पुनरावृति हुने छैन। लामो दुखद गृह युद्ध समाप्त हुनेछ, यस्तै विश्वास गरेका थिए धेरैले। तर त्यस्तो हुन सकेन। दुई देशमा विभाजित सुडानीहरु बीचको सम्बन्ध सामान्य हुनुको साटो मदभेदहरु थुप्रिएर ती मतभेदहरुले युद्धको रुप लिने स्थिति देखिन थालेको छ। अहिले सुडानले विभिन्न क्षेत्रहरु- बेनटिउ, हेगलिगमा युद्धक बिमानद्वारा बम वर्षा गरेको छ।
सुडान सिंगोको स्थितिमा हुँदा, वर्षौको युद्धमा पिल्सिर बसेका जनता अहिले मुलुक विभाजित भए पछि पनि आफ्नो टाउको माथि युद्ध मडारिन थालेको देख्न थालेका छन र त्रसित तथा चिंतित समेत देखिएका छन। अर्कोतिर दुबै देशका सरकार, र खास गरि दुबै तिरका नेताहरुको वाक युद्ध र मनोविज्ञान हेर्दा दुवै पक्षहरु शान्तिपूर्ण समाधान खोज्नुको साटो यो सानो संघर्षलाई ठूलो युद्धमा परिणत गराउने मनस्थितिमा देखिन्छन। मुलुकलाई युद्धमा संलग्न गराउने र राष्ट्रिय स्वाभिमानको नारा दिएर राजकीय शक्तिमा आफ्नो नियन्त्रण कायम राख्ने नेताहरुको रणनीति हुने हुँदा यी दुवै देशका नेताहरुले विवादका शान्तिपूर्ण समाधानका औसरहरुलाई महत्व नदिएर केवल युद्धको भाषा बोलेको हुन सक्ने अनुमान धेरैले गरेका छन।
अहिले भइ रहेको यी दुई देशहरु बीचको संघर्ष ठूलो युद्धमा परिणत हुने हो कि भन्ने भय अन्तराष्ट्रिर्य समुदायलाई लाग्न थालेको छ। दुबै देशले सहमति र शान्तिको कुरालाई महत्व न दिएकोमा अन्तर्ष्ट्रिय समुदाय चिंतित पनि उत्तिकै छ।
जब हालका यी दुई सुडानहरु एउटै थिए, त्यस बेलाको सिंगो सुडानको सरकार र सुडान पिपुल्स लिबरेसन मुभमेन्ट बीच चर्को, डर लाग्दो संघर्ष थियो। त्यो लामो संघर्षको उपयुक्त समाधान सुडानको बिभाजन हुनु पर्ने मानिएको थियो, र समाधान का लागि सुडानको विभाजन भयो पनि । तर विभाजन पछिको, मोजुदा स्थिति हेर्दा, विभाजनले झनै अनेक किसिमका समस्याहरु थपि दिएको देखिएको छ। र त्यसरी थपिएका समस्याहरु उत्तिकै जटिल  छन। ती समस्याहरुको सजिलो किसिमले समाधान हुने देखिएको छैन। ती समस्याहरुको समाधान युद्ध उन्माद होइन शान्तिपूर्ण तरिकाले खोज्नु पर्ने महसुस गरिएको छ। युद्धका लागि सामान्य जनतालाई उचाल्न नेताहरुलाई सजिलो हुन्छ तर सामान्य जनताले भने युद्धको ठूलो मूल्य चुकाउनु पर्दछ। लाखौको ज्यान दिएर, बेघरबार भएर, शर्णार्थी बनेर, गरिबीको दलदलमा भास्सिएर, अंगभंगको स्थितिमा कष्टकर जिवन बाँचेर सामान्य जनताले युद्धको मूल्य चुकाउनु पर्दछ। नेताहरुको उच्च महत्वाकांक्षा, वा स्वार्थको निकै नै ठूलो मूल्य सामान्य जनताले चुकाउनु पर्दछ। अब, अहिले आएर सुडानको विभाजन, त्यो लामो रक्तपातपूर्ण संघर्षको सांच्चिकै उपयुक्त समाधान थियो त भनी प्रश्न गर्न थालिएको छ, सुडान विभाजन पछिको यो नयाँ स्थितिलाई हेर्दा।
अहिले, सुडान र दक्षिण सुडान बीचको सम्बन्ध सत्रुतापूर्ण हुनुका कारणहरु धेरै छन। तर ती कारणहरुमा प्रमुख कारण भने आर्थिक नै हो। दुबै देशको अर्थ व्यवस्था तेल उत्पादन र बिक्रीमा ज्यादै निर्भर गर्दछ। देशको अर्थ व्यवस्था तेलमा निर्भर रहेकोले दुबै मुलुकले तेल उत्पादन र वितरणलाई बढी महत्व दिरहेको छन। अर्कोतिर के भएको छ भने, सुडान विभाजन भए पछिको स्थितिमा, तेल उत्पादन गर्ने धेरै क्षेत्रहरु दक्षिण सुडानको क्षेत्र भित्र परेका छन भने अर्कोतिर दक्षिण सुडानले तेल निर्यात गर्नका लागि सुडानको पाइप लाइन प्रयोग गर्नु पर्ने वाध्यता छ। यस बाहेक, दुई देश बिचको सीमा रेखा प्रस्ट् नहुनु र एबाइलाई दुबै पक्षले आफ्नो क्षेत्र रहेको दाबा गर्नु पनि दुई सुडानहरु बीचको मतभेदका कारणहरु हुन पुगेका छन।
केही हप्ता पहिले दक्षिण सुडानले हेगलिग भन्ने ठाउँमा नियन्त्रण कायम गरेको थियो। तर हेगलिग सुडानको भूभाग भित्र रहेको सुडानले मान्दै आएको छ र त्यस दाबालाई अन्तर्राष्ट्रिय समुदायले पनि अस्वीकार गरेका छैनन। हेगलिग तेल उत्पादन गर्ने क्षेत्र हो र त्यस कारण पनि यो क्षेत्र यी दुबै पक्षहरु बीच विवादित रहँदै आएको छ।  हेगलिगमा, सुडान र दक्षिण सुडान बिच २६-२८मार्च २०१२ र १०-२० अप्रिल २०१२ गरी दुई पटक भिडन्त भइसकेको छ।  केहि दिन पहिले दक्षिण सुडानले नियन्त्रण कायम गरेको, तेल उत्पादन गर्ने क्षेत्र, हेगलिगमा सुडानले २२ अप्रिलदेखि पुन आफ्नो नियन्त्र कायम गरेको घोषणा गरेको छ। हेगलिगका संघर्षहरुमा दुबै तर्फका गरेर एक हजारभन्दा बढी मानिसले ज्यान गुमाई सकेका छन।
सुडानको विभाजन पछिको संघर्षले के देखाउँछ भने विभाजन नै उपयुक्त समाधान होइन रहेछ र लामो संघर्षको, मदभेदको। उपयुक्त समाधान पाउनका लागि त मन मिल्नु पर्दो रहेछ। मन न मिले पछि समाधान पाउन गार्हो हुँदो रहेनछ तर मन नमिल्ने हो भने मदभेतका नया नया कारणहरु सजिलै प्रकट हुन थाल्छन।
एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर, विभिन्न जात जाती तथा समुदायहरु बीच समन्वय कायम गरेर, विभिन्न क्षेत्रहरु बीचको सम्बन्धलाई सुमधुर तुल्याएर, कुनै खास जातिको हुनुमा गर्व गर्नुको साटो सिँगो राष्ट्रमाथि गर्व गरेर बस्ने हो भने संघर्षलाई संधैका लागि टाढा राख्न सकिने मात्र नभएर शान्तिपूर्ण किसिमले बस्न पनि सकिन्छ। दुइ सुडानहरु बीचको ताजा भिडन्तहरुले यो तथ्यलाई झनै प्रष्ट पारेको छ।
यथार्थमा, कुनै पनि देशको समग्र आर्थिक विकासका लागि, देशका विभिन्न क्षेत्रहरुमा उपलब्ध रहेका स्रोत तथा साधनहरुको उपयोग, देशका विभिन्न क्षेत्रहरुमा छरिएर रहेका जनताले मिलेर गर्नु पर्दो रहेछ। कुनै एउटा स्थान आफैमा स्रोत तथा साधनहरुले भरिपूर्ण हुँदैन। एउटा स्थानले एक किसिमको स्रोत उपलब्धतामा विशिष्ठता हासिल गरेको हुन्छ भने अर्को स्थानले अर्को किसिमको स्रोतमा। यसरी, कुनै पनि मुलुकका विभिन्न क्षेत्रहरुले  मिलेर काम गर्नु पर्दो रहेछ आफ्नो क्षेत्र र समग्र मुलुकको आर्थिक विकासका लागि। नेपालमा अहिले, जातीयता, पहिचान, स्थान विषेश आदिको आधारमा मुलुकलाई संघीय ढाचामा लानु पर्ने विभिन्न तर्फबाट चर्को आबाज उठि रहेको परिप्रेक्ष्यमा यो विषयमा गंभिरतापूर्वक विचार गर्नु पर्ने भएको छ कि विभिन्न किसिका नाराहरुको छाया मुनी विभाजित मनस्थितिमा विभिन्न संघ (राज्य) हरुको स्थापना गर्नु के उपयुक्त होला, देशको आर्थिक विकासका लागि। त्यसरी मनोवैज्ञानिक रुपमा समेत विभाजित भएको स्थितिले साच्चि नै विभिन्न क्षेत्रहरुको आर्थिक विकासमा ठोस योगदान पुर्याउला त? त्यस्तो विभाजनले मुलुकलाई आर्थिक र सामाजिक विकासको साटो उल्टो द्वन्दतिर डोर्याउने त होइन? मुलुकमा जातीयता, पहिचान आदिको आधारमा राज्य खडा गरिएको स्थितिले के मुलुकको कहाली लाग्दो गरिबी निवारण होला त? के नेपालीहरुले स्वदेशमा रोजगारी पाएर विदेशतिर लाग्नु पर्ने वाध्यताको अन्त हुनेछ? कि नया किसिमको द्वन्दमा मुलुकले प्रवेश गर्नेछ?
कुनै पनि द्वन्दले आर्थिक विकास त हुँदैन नै उल्टो मानवीय विनास हुन्छ, त्यो पनि ज्यादै ठूलो संख्यामा, र त्यसको ताजा उदाहरण हो सुडानको यो स्थिति।
नेपालमा माओवादी र तत्कालिन सरकार बीचको द्वन्दले गर्दा १५ हजारभन्दा बढी नेपालीहरुले ज्यान गुमाइ सकेका छन। हजारौंको अंगभंग भएको छ। कति अहिले पनि वेपत्ता छन। आम नेपालीहरु अहिले पनि हिंसक मनोविज्ञानले ग्रस्त छन। अनेक किसिमका कलह छ। समाज विभिन्न चिरामा विभाजित छ। तर पनि, नेपालमा, द्वन्दको घाउ विस्तारै पुरिन थालेको स्थितिमा छ। यस्तो परिप्रेक्ष्यमा जातीयता, पहिचान आदिको आधारमा गरिने राज्य पुन संरचनाले मुलुकलाई अर्को द्वन्ततिर लग्ने त होइन? बेला हुँदै गंभिरतापूर्वक सोँच्नु पर्ने भएको छ, भावनामा बगरे होइन, यथार्थवादी भएर।

विश्वराज अधिकारी

No comments:

Post a Comment