Friday, May 11, 2012

President-elect Francois Hollande's Challenges-Article-42


नव निर्वाचित राष्ट्रपति ओलांका चुनौतिहरु

फ्रान्समा, हालै (Sunday, 6 May) मा भएको निर्वाचनमा फ्रान्स्वां ओलां राष्ट्रपति निर्वाचित भएका छन। वर्तमान राष्ट्रपति निकोलास सार्कोजीले नव निर्वाचित राष्ट्रपति ओलांलाई यस महिना (May, 2012) को १५ तारिखमा सत्ता हस्तान्तरण गर्ने छन।
आर्थिक मन्दीले यूरोपलाई सताइ रहेको समयमा फ्रान्स्वां ओलां फ्रान्सको राष्ट्रपतिमा निर्वाचित हुनु ओलांको लागि नै पनि सजिलो देखिंदैन। इटाली, स्पेन, पोर्चुगल लगाएत यूरोपका धेरै राष्ट्रहरु अहिले खराब आर्थिक स्थितिमा छन। ग्रिसको स्थिति त झनै कष्टकर छ, आर्थिक रुपमा। फ्रान्सको आफ्नै आर्थिक स्थिति पनि राम्रो छैन। फ्रान्समाथि पनि ऋणको भार छ, मानिसहरु बेरोजगार छन्, आर्थिक विकासको गति सुस्त छ।
फ्रान्स आर्थिक रुपले विषम परिस्थितिमा रहेको बेला समाजवादी नेता ओलां चुनावमा विजयी हुनुले फ्रान्सेली जनता पूँजीवादको असरहरुबाट निरास भइ समाजवादतिर आकर्षित भएका त होइनन? यस्तै किसिमका  विश्लेषणहरु पनि गर्न थालेका छन, विश्लेषकहरुले। केही विश्लेषकहरुको बिचारमा ओलांलाई विजयी तुल्याउने प्रमुख रुपमा दुई कारणहरु रहेका छन- पहिलो, फ्रान्सको वर्तमान आर्थिक स्थिति। दोस्रो, वर्तमान राष्ट्रपति निकोलास सार्कोजीको लोकप्रियतामा आएको ह्रास। फ्रान्सको मौजुदा आर्थिक स्थिति राम्रो छैन र यसका लागि फ्रान्सेली जनता राष्ट्रपति सार्कोजीलाई जिम्मेबार ठहर्याउँदै छन। ओलांले यी दुई तत्वहरुलाई चुनावमा उपयोग गरे।
राष्ट्रपति सार्कोजीको कार्यकालमा फ्रान्सले भोग्नु परेको आर्थिक समस्याबाट फ्रान्सलाई बाहिर ल्याउने आशा देखाए, ओलांले, खास गरी युवाहरुलाई। ओलांले भन्दै पनि आएका छन ‘म फ्रान्सका युवाहरुको राष्ट्रपति हुँ।’ ओलांले धनी कम्पनी र वार्षिक दस लाख यूरो भन्दा बढी आम्दानी गर्नेहरुका लागि कर वृद्धि गर्ने भनेका छन। यसै गरी न्युन्तम ज्याला वृद्धि गर्ने, केही कामदारहरुका लागि सेवा निवृति (Retirement) को उमेर ६२ वाट ६० बनाउने, ६० हजार नयाँ शिक्षकहरु भर्ना गर्न घोषणा पनि गरेका छन। तर सबै भन्दा उल्लेख्य रुपमा, उनले के भनेका छन भने उनको विजयले आर्थिक अनुशासन (Austerity) समाप्त पार्ने आशा जागेको छ। ओलांले आर्थिक विकास, आर्थिक अनुशासनले होइन आर्थिक वृद्धि द्वारा हासिल गर्ने कुरामा जोड दिँदै आएका छन। वर्तमान राष्ट्रपति निकोलस सार्कोजीले भने बजेट घाट कम पार्न खर्चमा कट्टौति गर्नु पर्ने कुरामा जोड दिँदै आएका थिए, आर्थिक अनुशासनलाई महत्व दिएका थिए।
नव निर्वाचित राष्ट्रपति ओलां अहिले निकै लोकप्रिय देखिएका छन। त्यस्तो निर्वाचन परिणामले देखाएको पनि छ। ओलां सत्र वर्ष पछि समाजवादी दलका तर्फबाट निर्वाचित हुने पहिलो राष्ट्रपति बनेका छन्। उनी भन्दा पहिले समाजवादी दलका फ्रान्स्वां मित्रां राष्ट्रपति भएका थिए। मित्रां सन् १९९५ मा राष्ट्पति पदबाट बाहिरिएका थिए। मित्रां लामो समय सम्म (21 May 1981 – 17 May 1995) फ्रान्सका राष्ट्रपति रहेका थिए।
ओलांले कुल मत मध्ये ५१.६२ प्रतिशत प्राप्त गरेका थिए। जबकी सार्कोजीले ४८.३८ प्रतिशत प्राप्त गरेका थिए। मतदान भने ८०.३४ प्रतिशत भएको थियो। सार्कोजी भन्दा केही मात्र बढी मत प्राप्त गरेर विजयी भएता पनि ओलां मौजुदा फ्रान्सको खस्किँदो आर्थिक स्थितिको कारणले गर्दा जनता माझ निकै लोकप्रिय रहेको देखिन्छन, मतदान बाहेक सामान्य जनमतको कुरा गर्दा। वा भनौ, उनले फ्रान्सका जनतालाई समृद्धिको दिशा तिर डोर्याउने आशा देखाएको हुनाले उनको लोकप्रियता बढेको देखिन्छ।
ओलांका अगाडि निकै चुनौतिहरु छन। फ्रान्सको खस्किंदो आर्थिक स्थितिमा सुधार ल्याउन उनले धेरै कुराहरुमा ध्यान पुर्याउनु पर्ने देखिन्छ। अहिले यूरोपियन यूनियनको, एक किसिमले नेतृत्व नै, जर्मनी र फ्रान्सले गर्दे आइ रहेका छन। र यो स्थितिलाई कायम राख्न वा यस किसिमको  नेतृत्वदायी भूमिकामा रहि रहन फ्रान्सले जर्मनी सँग मिलेर काम गर्नु पर्ने हुन्छ। जबकी अर्कोतिर जर्मनीले, त्यहाँका चान्सलर, एन्जेला मर्केलले, आर्थिक अनुशानको माध्यम द्वारा यूरो जोन राष्टहरुको आर्थिक अवस्थामा सुधार ल्याउन जोड दिइ रहेकी छन। तर नव निर्वाचित राष्ट्रपति ओलांले आर्थिक अनुशासन (Austerity) यूरोपको भाग्य होइन भन्दै आएका छन। संक्षेपमा, जर्मनीलाई नाखुस बनाउने स्थितिमा फ्रान्स अहिले छैन तर यदि आफ्नो घोषणा अनुसार ओलांले आर्थिक अनुशासनलाई महत्व नदिने दिने हो भने जर्मनी फ्रान्स सँग रुष्ट हुन सक्छ। त्यति मात्र होइन, जर्मनी र फ्रान्स बीचको एकता, मुख्य गरी आर्थिक विषयहरुमा, जुन सार्कोजीको कार्यकाल देखि सुमधुर रुपमा रहँदै आएको छ, नराम्रो गरी प्रभावित हुन सक्छ। यो समस्या ओलांको सामुन्ने जटिल रुपमा प्रस्तुत हुने सम्भावना झनै बढ्ने देखिन्छ। तर कतिपय विश्लेषकहरु ओलां केवल सिद्धान्तमा टाँस्सिने किसिमको व्यक्ति नभएर एक कुशल व्यवहारवादी नेता भएकोले उनले त्यस किसिको समस्याको सजिलै समाधान झिक्न सक्छन भन्ने विचार व्यक्त गर्दै छन।
ओलां समाजवादी नेता भएकोले उनले समाजवादी कार्यक्रमहरुमा पनि बढी जोड दिने छन। यस किसिमका आशाहरु पनि केहीले व्यक्त गरि रहेका छन। सार्कोजीको समयमा धनीहरु झनै धनी र गरिबहरु झनै गरिब भएको आरोप सार्कोजी माथि लाग्दै आएको छ। यस्तो स्थितिमा सुधार ल्याउन पनि ओलांले केही ठोस कदमहरु चाल्ने छन् भनि धेरै अपेक्षा गरेका छन। तर बजार अर्थ तन्त्रले विश्व अर्थ व्यवस्थालाई डोर्याइ रहेको परिप्रेक्ष्यमा समाजवादी नीतिद्वारा ओलांले फ्रान्सको अर्थ व्यवस्थामा सुधार ल्याउने छन भन्ने कुरामा धेरैलाई संका छ। हुन पनि समाजवादी अर्थ व्यवस्था वर्तमान विश्व परिस्थितिमा म्याद गुज्रेको औषधि जस्तो भएको छ।
मौजुदा विश्व परिस्थितिमा समाजवादी आर्थिक नीतिद्वारा राष्ट्रको आर्थिक विकास गर्न सकिन्छ भन्नु देशको आर्थिक विकासको गतिलाई झनै सुस्त पार्नु हो। आर्थिक विकासको लागि विपरित दिश तिर लाग्नु हो। यस्तो भन्ने र त्यस माथि विश्वास गर्नेहरुको जमात पनि निकै ठूलो छ।
यूरोपका ठूला अर्थ तन्त्रहरु मध्येको एक फ्रान्सका नव निर्वाचित राष्ट्रपति ओलांको कार्यकालमा फ्रान्स लगाएत यूरोपको आर्थिक स्थितिमा कुन किसिमले सुधार आउने छ त्यो कुरा त भविष्यले नै देखाउने छ। तर फ्रान्स लगाएत यूरोपको अर्थ तन्त्रमा सुधार ल्याउन ओलांले महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना भने प्रशस्त मात्रमा रहेको देखिन्छ। ओलां सँग पर्याप्त औसरहरु छन पनि। र सबै भन्दा महत्वपूर्ण कुरा त के छ भने ओलांको विजयले यूरोपका विभिन्न राष्ट्रहरुमा लादिएको आर्थिक अनुशासन ( Austerity ) कार्यक्रमको भविष्य असुरक्षित देखिनुको साथै त्यस माथि प्रश्न चिन्ह पनि लागेको छ।

विश्वराज अधिकारी 


Published in prateekdaily.com
http://www.prateekdaily.com/2012/05/blog-post_2171.html?utm_source=BP_recent

No comments:

Post a Comment