Saturday, June 30, 2012

Forced To Think So-Poem of the week-35


यही सोंच्न कर लाग्छ

आज भोलि मान्छेहरु किन
केवल अनेक छल लाग्छ
स्वार्थ र लोभ हुर्काउने
आधुनिक मल लाग्छ

आफ्नै स्वार्थको भारले
थिचिएका छन सबै
जसलाई हेर्यो भास्सिंदै छन
कहिले नउठ्ने हुन कि
कहाली लाग्दो डर लाग्छ

कहिले नअघाउने भोक छ
अन्तहीन आवश्यकतामा न कुनै रोक छ
जिवनको हर घडिमा केवल
अपार धन सुबिधाको मोह छ

हरेक दिन मानिस लोभमा सुत्छ
लोभमा नै जाग्छ
मानिसले अब त आफूलाई नै भुल्ने हो कि
हरपल यही सोंच्न कर लाग्छ

विश्वराज अधिकारी

Friday, June 29, 2012

Relationship Between Employer and Employee-Article-48


अब साँच्चिकै मजदूरहरुको हितमा काम गर्न होस्

नेपालमा उपलब्ध भूमिको हिसाबले मानिसको बसोबास तुलनात्म रुपमा निकै धेरै छ। यसै गरी मुलुकमा एकातिर कृषियोग्य भूमिको अभाव छ भने अर्कोतिर कृषि क्षेत्रले नै जन संख्याको ठूलो हिस्सालाई अन्न र रोजगारी दिनु पर्ने वाध्यता छ। समयस्या यतिमा मात्र सीमित छैन। साथै, समतल भूमि (तराई), जुन कृषिका लागि ज्यादै उत्तम मानिन्छ, कुल उपलब्ध भूमिको केवल १७ प्रतिशत जति छ। तर यो समतल भूमिमा जन घनत्व बढ्दै गएर दिन प्रति दिन कृषि योग्य भूमि अति क्रमित हुँदै गइ रहेको छ, बारी र खेतहरु घर घडेरीमा रुपान्तरित हुँदै गइ रहेका छन ।यो समस्याले भोलिका दिनमा राष्ट्रिय कृषि उत्पादन क्रमिक रुपमा कम हुँदै जानेमा दुई मत हुन सक्तैन।
नेपालमा कृषियोग्य भूमिको अभाव रहेको कारणले गर्दा उब्जाउ जमिनको व्यवस्थापन ज्यादै व्यवहारिक किसिमले गर्नु पर्ने देखिन्छ। रोजगारीका लागि कृषि क्षेत्र प्रतिको अति निर्भरता कम पार्दै लग्न जरुरी छ। तर त्यस्तो गर्न सकिएको छैन। उद्योगको यथेष्ट विकास तथा विस्तार गरेर कृषि क्षेत्र प्रतिको अति निर्भरतालाई कम पार्न सकिएको छैन। हुन त पंचायत कालमा, विदेशी सहयोगबाट नै भए पनि विभिन्न किसिमका उद्योग (जनकपुर चुरोट कारखाना, बीरगंज चीनी कारखाना, कृषि औजार कारखाना, हेटौडा कपडा उद्योग, हेटौडा सिमेन्ट कारखाना, आदि) हरुको स्थापना गरिएको थियो। देशमा औद्योगिक विकास गर्ने ठोस प्रयास भएको थियो। तर पंचायती व्यवस्थाको समाप्ति पछि वा प्रजातन्त्रको प्रारम्भ सँगै नेपालको औद्योगिक वातावरणमा ग्रहण लाग्न शुरु भयो। रोजगारदाता-श्रमिकहरु बीचको कटुतापूर्ण सम्बन्धले गर्दा औधोगिक क्षेत्रमा गरिने लगानी जोखिमपूर्ण बन्दै गयो। उद्योगमा गरिने लगानी जोखिमपूर्ण र भरपर्दो नदेखेर उद्योगपतिहरुले पनि तुलनात्मक रुपमा सुरक्षित क्षेत्र - सेवा, व्यवसाय (बैंक, वीत्तिय संस्था, होटल, सपिंग सेन्टर, मल आदि) मा लगानी गर्न थाले। विस्तारै, दीर्घकालिन लगानी, जसले श्रमिकहरुलाई बढी फाइदा हुन्छ बाट लगानीकर्ताहरुले हात झिकेर बढी र छिटै राम्रो प्रतिफल पाउने क्षेत्रमा लगानी गर्न थाले। उद्योपति वा पूँजीपतिहरुले त्यस्तो गर्नु अस्वभाविक पनि होइन। कुनै पनि पूँजीपतिले आफूले देख्दा देख्दै असुरक्षित क्षेत्रमा आफ्नो सम्पत्ति लगानी गर्दैन। नेपाल मात्र होइन, संसार मै कहिं कसैले त्यस्तो गर्दैन, सरकारले जस्तो सुकै औधोगिक नीति बनाए पनि। सरकारी नियमहरुलाई जति सुकै खुकुलो पारे पनि।
नेपालमा प्रचुर मात्रामा उद्योगको विकास मुलुकको राजनैतिक वातावरण एवं नेताहरुको व्यवहारले गर्दा नभएको हो। हुन त नेपालमा उद्योगको यथेष्ट विकास हुन नसक्नुका लागि अरु तत्वहरु पनि जिम्मेवार होलान तर मुख्य तत्व भनेको नेताहरुले लगानीकर्ता वा पूँजीपति-श्रमिक बीचको सम्वन्ध लाई कटुतापूर्ण तुल्याउनु हो। नेपालका सवै दलका नेताहरु र मुख्य गरी कम्युनिष्ट नेताहरुले दलगत र व्यक्तिगत स्वार्थका लागि लगानीकर्ता-श्रमिक बीचको सम्वन्ध कहिले पनि राम्रो हुन दिएनन्। उनीहरुले लगानीकर्ता-श्रमिक बीच अविश्वासको ठूलो खाडल मात्र निर्माण गरेनन् साथै त्यो खाडलाई झन झन गहिरो र फराकिलो पार्दै लगे। लगानीकर्ताहरुलाई जहिले पनि सामन्त, शोषक, दलाल आदि इत्यादि नाम दिएर उनीहरुलाई मजदूरहरुको दिमागमा वर्गीय सत्रुको रुपमा स्थापित गराए। नेताहरुले मजदूर युनियनको प्रयोग मजदूरहरुको हित गर्नका लागि होइन आफ्नो हित गर्नका लागि गर्न थाले। कारखानाहरुमा उत्पादनका क्रियाकलापहरु कम राजनैतिक गतिविधिहरु बढी हुन थाले। कालान्तरमा त्यस्ता क्रियाकलापहरुले मजदूरहरुलाई नै वेफाइदा हुन पुग्यो। कारखानहरु बन्द हुन थाले, मजदूरहरुको जागिर गयो। कारखानाहरुमा अति राजनीति भएर मजदूरहरुले आखिर के फाइदा पाए त? वरु मजदूरको नाममा राजनीति गर्ने नेतहारु उपल्लो स्थानाम पुगे।
कुनै पनि उत्पादकले कम उत्पादन गरेर, संधै घाटा खाएर कारखाना संचालन गर्दैन। विभिन्न किसिमका अशान्तिहरुले गर्दा उत्पादन कम भएर घाटा लाग्न थाले पछि लगानीकर्ताहरुले स्वभाविक रुपमा कारखाना बन्द गर्छन नै। तर यो कार्यले बढी वेफाइदा श्रमिकहरुलाई नै हुन्छ। त्यसकारण मजदूरहरुको हित कारखाना बन्द भएर होइन, कारखाना संचालन भएर हुन्छ। जति बढी संख्यामा कारखाना स्थापना भयो, त्यसै अनुसार ठूलो संख्यामा मजदूरको आवश्यकता पर्छ, त्यसै अनुसार मजदूरहरुको मागमा वृद्धि हुन्छ। बजारमा मजदूरहरुको मागमा वृद्धि हुना साथ मजदूरहरुको मोलमोलाई क्षमता (Bargaining power) मा वृद्धि हुन्छ। मजदूरहरुले अधिक सुविधाहरु- बढी पारिश्रमिक, राम्रो आवास, औषधि उपचार आदि माग गर्न सक्छन। बजारमा उद्योग व्यापारको स्थिति राम्रो भएकोले लगानीकर्ताहरु मजदूरहरुका त्यस्ता मागहरु पूरा गर्न स्वेच्छाले तयार हुन्छन पनि। यूनियन वा सरकारले दवाव दिनु पर्दैन, मजदूरहरुको माग पूरा गर्नका लागि, विकसित वा धनी राष्ट्रहरुमा देखिए झै। बजारमा मजदूरहरुको माग बढेकोले मजदूरहरुलाई आफ्नो उद्योगतिर आकर्षित गर्न एक किसिमले लगानीकर्ताहरु बीच प्रतिस्पर्धा नै हुन्छ। यस प्रकार मजदूरहरुको हित कारखाना बन्द भएर होइन, खुला भएर हुन्छ। उद्योगहरुको संख्यामा वृद्धि भएर हुन्छ। यो कुरा नेताहरुले राम्रो गरि बुझ्न आवश्यक छ, यदि उनीहरु यथार्थमा मजदूरहरुको हित गर्न कटिवद्ध छन् भने। कम्युनिष्ट नेताहरुले बुझ्न त झन आवश्यक छ किनभने राजनैतिक कार्यका लागि मजदूरहरुको बढी प्रयोग उनीहरुले नै गर्छन।
नेपालको राजनीतिमा कम्युनिष्टहरुको उपस्थिति बाक्लो छ र प्रभाव पनि उत्तिकै कसिलो छ। कम्युनिष्ट नेताहरुले औधोगिक वातावरणलाई निकै प्रभाव पारेका छन र भविष्यमा अझै बढी प्रभाव पार्न सक्छन, मुलुकको गरिबी अहिलेको गतिमा नै बढ्दै गयो भने। अर्कोतिर कम्युनिष्ट नेताहरुले लगानीकर्ताहरुलाई हेर्ने आफ्नो परम्परागत धारणामा परिवर्तन ल्याएका छैन। अहिले पनि उनीहरु लगानी कर्ताहरुलाई शोषक र मजदूरहरुलाई शोषितको रुपमा हेर्छन। लगानीकर्ताहरुको हितको पूर्णतया वेवास्ता गर्छन। मौजुदा विश्व परिस्थितिमा उनीहरुले आफ्नो त्यो परम्परागत धारणामा परिवर्तन ल्याउन अति आवश्यक छ। नेताहरुले मजदूरहरुको हित अभिवृद्धि गर्ने हो भने सँग सँगै लगानीकर्ताहरुको हित पनि अभिवृद्धि गर्नु पर्यो। लगानीकर्ताहरुले बढी भन्दा बढी लगानी गर्ने वातावरण तयार पारि दिनु पर्यो। मजदूरहरुको हित लगानीकर्ताहरुको हित सँग गास्सिएको छ, सरकारी नियम कानून भन्दा। यो तथ्यलाई गंभिरतापूर्व लिदिनु पर्यो।
लगानीकर्ता र मजदूरहरु बीचको सम्वन्ध भनेको बगैचा र माली जस्तो हो। लगानीकर्ता माली हो भने मजदूर बगैचा हो। बगैचा नै भएन भने मालीको कुनै काम हुँदैन। अर्थात बिना मजदूरको उपस्थितिले लगानीकर्ताले कुनै पनि किसिमको व्यापारिक क्रियाकलाप गर्न सक्तैन। यसै गरी माली न भएमा बगैचाको संरक्षण राम्रो गरी हुन सक्तैन, बगैचा जंगल हुन पुग्छ, उजाड हुन सक्छ। अर्थात मजदूरहरुको कार्य कुशलताको उपयोग लगानीकर्ताले नै गर्न सक्छ। मजदूरहरुको जिवनमा आर्थिक खुसहाली लगानीकर्ताहरुको व्यापारिक क्रियाकलापले नै ल्याउन सक्छ। लगानीकर्ताहरु भनेको मौरी हुन। मौरीले कुन फुलबाट मिठो रस आउन सक्छ भनी थाहा पाए झै पूँजीपति वा लगानीकर्ताले पनि कहाँ र कसरी लगानी गरेर बढी फाइदा पाउन सकिन्छ भनी थाहा पाउन सक्छ। महको निर्माण कमिला वा अरुले होइन, केवल मौरीले मात्र गरे झै धनको निर्माण, वृद्धि पनि केवल लगानीकर्ताले नै गर्न सक्छ। तर यो कार्य गर्नका लागि लगानीकर्ताहरुलाई अनिवार्य रुपमा मजदूरहरुको सहयोग चाहिन्छ। यो यथार्थलाई चीनका कम्युनिष्टहरुले बुझे। र व्यवहारमा ल्याए पनि। मजदुरहरु मात्र होइन समग्र राष्ट्रको आर्थिक विकासमा कलगानीकर्ताहरुको भूमिका अहम् हुन्छ भन्ने यथार्थलाई बलियो गरी स्वीकारे। देङ्ग जियायोपिङले प्रारम्भ गरेका आर्थिक सुधारका कार्यहरुले गर्दा चीनले अति नै निर्धनतामा बांचिरहेका र ठूलो संख्या (यूरोपको जनसंख्या जति) मा रहेका आफ्ना नागरिकहरुलाई त्यस किसिमको गरिबी बाट बाहिर ल्याउनुका साथै विश्व अर्थ व्यवस्थामा आफ्नो स्थानलाई महत्वपूर्ण  तुल्याउने कार्यमा पनि सफलता प्राप्त गर्यो। राष्ट्रको आर्थिक स्थितिमा सुधार ल्याउन, जनताको जिवनमा खुसहाली भर्न लगानीकर्ता वा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको यथार्थलाई चीनका कम्युनिष्टहरुले स्वीकार गरेता पनि नेपालका कम्युनिष्टहरुले, व्यवहारद्वारा, स्वीकार गरेको देखिएको छैन। मार्क्स, लेनिन र माओ त्से तुङको बिचारबाट प्रशिक्षित यी नेताहरुले बदलिंदो परिस्थितिमा फरक किसिमबाट सोंच्न आवश्यक छ। कुनै पनि विचार, दर्शन, सिद्धान्त कालजयी हुँदैन। अहिलेको यो बजार अर्थ तन्त्रको युगमा, मुलुक र जनताको जिवनमा आर्थिक समृद्धि ल्याउन, राष्ट्रिय अर्थतन्त्रलाई विश्व बजारमा प्रतिस्पर्धात्मक तुल्यान, मार्क्स, लेनिन र माओका विचारहरुले काम गर्न सक्तैनन। तिनका विचारहरु म्याद नाघेका ओषधिहरु जस्तो भइ सके।  
नेताजीहरु, नेपालीहरुमा डरलाग्दो रोगको रुपमा रहेको रोग, गरीबी रोगको इलाज त्यो म्याद नाघेको औषधिले नगर्नुहोस। बरु अगाडि बढ्नुस, देश आर्थिक विकास गर्न, मजदूरहरुको हित गर्न, सिंगापुरका नेता लि क्वान यु जस्तो, मलेसियाका नेता महादिर मोहम्मद जस्तो अनि चीनका नेता देङ्ग जियायोपिङ जस्तो। तपाँई, कुनै एक नेताको पनि सकारात्मक सोंचले राष्ट्रको मुहार फेर्न सकिन्छ। मजदूरहरुको हित अभिवृद्धि गर्न सकिन्छ। राष्ट्रलाई समृद्ध पार्न सकिन्छ।

विश्वराज अधिकारी

Saturday, June 23, 2012

Go down-Poem of the week-34


धिक्कार छ

एक हुल दुर्योधनहरु पसेर
एक हुल दुस्सासनहरु पसेर
हस्तिनापुरलाई बरबाद पार्न कस्सिएका छन
सकुनीहरु मख्ख छन
आफ्ना योजनाहरु सफल भएकोमा

सकुनीहरु,
दुर्योधनलाई आफ्नो महत्वाकांक्षाको घोडा बनाएर
धृतराष्ट्रलाई रथ बनाएर
कुरू क्षेत्रमा घचेट्दै छन
हस्तिनापुरको राजा बन्ने सपना देख्दै छन

आफ्नै वंश विनास गर्न उद्धत
दुस्सासनहरु, दुर्योधनहरु अनि धृतराष्ट्रहरु
सकुनीको चालमा परेर महा पाप गर्दै छन
अत्याचारको पराकाष्टा पार गर्दै छन

दुर्योधनहरु
दुस्सासनहरु
आफ्नै इज्जत (द्रौपदी) लाई निर्वश्त्र पारेर
नाङ्गो शरिर हेर्न प्रतिस्पर्धा गर्दे छन
उत्सवहरुको खुसी मनाउँदै छन

दुर्योधनहरु
दुस्सासनहरु
धिक्कार छ तिमीहरुलाई
सकुनीको छलमा परेर
आफ्नो विवेक आफैले लिलाम गरेकोमा
धिक्कार छ
धृतराष्ट्रहरुलाई पनि
मोहमा परेर सत्यको पक्ष नलिएकोमा

अनि देवव्रत, तिमीलाई पनि धिक्कार छ
भो अब भिस्म पिताम्हको मन पदवी फर्काइ देउ
हस्तिनापुरको जनतालाई
अनि घोषण गर
मेरो कायरताले
दुस्सासन, दुर्योधन, धृतराष्ट्रहरुको
अत्याचारहरु टुलु टुलु हेर्नु बाहेक
केही पनि गर्न दिंदैन
हस्तिनापुर बरबादको योजनाकार
सकुनीहरुलाई दण्डित गर्न सक्दैन।   

विश्वराज अधिकारी

Friday, June 22, 2012

How Far Democracy Is From Egyptians?-Article-47


कति पर छ प्रजातन्त्र इजिप्टका जनतादेखि?

इजिप्टमा त्यहाँका जनताले ठूलो उत्साह र उमंगका साथ गएको वर्ष सडकहरुमा ओर्लेर तत्कालिन राष्ट्रपति होस्नी मुबारकको व्यापक विरोध गरेका थिए। जनताको निरन्तरको बिरोध एवं सडक संघर्षले गर्दा लामो सयम देखि तानाशाही कायम गरेर बसेका मुबारक सत्ता छाड्न बाध्य हुनु परेको थियो। मुबारकको पतन पछि इजिप्टमा पूर्ण प्रजातन्त्रको बहाली हुने सपना देखेका थिए त्यहाँका जनताले। तर जनताको त्यो सपना पूरा नहुने स्थिति देखा पर्न थालेको छ। सेनाले जनताबाट निर्वाचित भएर आएको प्रतिनिधिलाई राजकीय सत्ता सुम्पिनुको साटो सत्ता माथि आफ्नो पकड झन झन बलियो पार्दै लगि रहेको छ। इजिप्टमा देखिएका ताजा घटना क्रमहरुले यसै कुराको पुष्टि गर्दैछन्।  
गएको आइतवार इजिप्टमा भएको राष्ट्रपतिय निर्वाचनमा मुस्लिम ब्रदरहुडका मोह्म्मद मुर्सीले ५२ र पूर्व प्रधान मंत्री अहमद शफिकले ४८ प्रतिशत जति मत प्राप्त गरेको समाचारहरुमा उल्लेख गरिएको छ। विचारणीय कुरा त के छ भने मुबारकको शासनकालमा प्रधान मंत्री रहि सकेका शफिकले एक करोड भन्दा बढी मत प्राप्त गरका छन। मोर्सीले भने केही बढी, एक करोड दस लाख भन्दा माथि मत प्राप्त गरेका छन। दुबैले प्राप्त गरेको मतको तुलना गर्दा ज्यादै नै ठूलो अन्तर रहेको देखिंदैन। र मुबारकको पालामा प्रधान मंत्री रहेका शफिकले अपेक्षा गरिए भन्दा बढी मत प्राप्त गर्नुले मुबारकको शासन शैली मन पराउने वा मुस्लिम ब्रदरहुडका मोर्सीलाई नरुचाउनेहरुको जमात पनि ठूलै रहेछ भन्ने कुराको पुष्टि हुन्छ। हुन त निर्वाचनको परिणाम ओपचारिक रुपमा घोषणा हुन भने बाँकी नै छ।
इजिप्टमा अहिले राजकीय सत्ता एक किसिमले भन्ने हो भने सेनाको हातमा छ। सेनाको नेतृत्व रहेको ‘द सुप्रिम काउन्सिल अफ आर्मड फोर्सेस’ ले शासन व्यवस्था संचालन गरि रहेको छ।  सुप्रिम काउन्सिलले हालै अन्तरिम संविधान जारी गर्दै आफूमा विभिन्न किसिमका अधिकारहरु रहेको भनी घोषणा गरेको छ। आफूलाई अझै शक्तिसाली पारेको छ। यो अन्तरिम संविधानमा व्यवस्था भए अनुसार राष्ट्रपतिले विभिन्न महत्वपूर्ण कार्यहरु सुप्रिम काउन्सिलको अनुमति लिएर मात्र गर्न पाउने छन। 
जस्तै राष्ट्रपतिले सरकार बनाउन एवं वर्खास्त गर्नु पाउने छन, कानून स्वीकृत गर्न एवं खारेज गर्न सक्ने छन, यसै गरी युद्धको घोषणा गर्न पाउने छन्। तर यी कार्यहरु राष्ट्रपतिले केवल सुप्रिम काउन्सिलको स्वीकृति लिएर मात्र गर्न पाउने छन्। सेनाको यो कार्यलाई विरोधीहरुले एक किसिमको सैनिक विद्रोह ( Coup) को रुपमा लिएका छन। विरोधीहरुको भनाई अनुसार यो विद्रोह केही नरम र कानून मान्ने किसिमको भएता पनि विद्रोह नै हो। यो विद्रोहले राजकीय सत्ता माथि निर्वाचित जन प्रतिनिधिहरुको पकडलाई कमजोर तुल्याउने छ र सेनाको उपस्थितिलाई बलियो पार्दै लग्ने छ।  
इजिप्टको राजनीति अहिले निकै असजिलो स्थितिमा छ। सेनाका जर्नेलहरु जन निर्वाचित प्रतिनिधिहरुलाई पूर्ण अधिकार दिन तयार देखिएका छैनन्। प्रथम त, उनीहरु, सत्तामाथि उनीहरुको एक किसिमको नियन्त्रण जुन पहिलेदेखि कायम रहँदै आएको छ, त्यसलाई छाड्न चाहि रहेका छैनन्। दोस्रो, राष्ट्रिय राजनीतिमा मुस्लिम ब्रदरहुडको  भूमिका बढ्दै गएमा इजिप्टमा कट्टर पन्थीहरुको उदय भएर जातीय सद्भाव खल्बलिनु का साथै अन्य किसिमका समस्याहरु पनि आउने हो कि भन्ने भय उनीहरुमा छ। इजिप्टमा ५ प्रतिशत भन्दा बढी जनता क्रिस्चियन धर्म मान्नेहरु छन। क्रिस्चियनहरु जातीय दंगाको सिकार भएको घटनाहरु विगतमा देखिएका छन् पनि ।
अर्कोतिर, मुस्लिम ब्रदरहुड लगाएत त्यस्तो जन समुदाय पनि छ जसले इजिप्टको राजनीतिमा सेनाको भूमिका नहोस र मुलुकमा जन निर्वाचित प्रतिनिधिहरुद्वारा पूर्ण प्रजातन्त्रको अभ्यास होस भन्ने चाहि रहेको छ। मुबारकको पालादेखि नै रहँदै आएको सेनाहरुको अप्रत्यक्ष्य तर शक्तिसाली भूमिकाबाट उनीहरु पहिले देखि नै ससंकित र अप्रसन्न थिए।
इजिप्टको राजनीति त्यस किसिमको ताना तानमा अल्झिएको छ, अहिले। र अब आउने दिनहरु इजिप्टका लागि सरल नहुने संकेत पाउन थालिएको छ, नेपालमा देखिए जस्तै। तर जब जनता मुबारकको तानाशाही शासन समाप्त पार्न सडकहरुमा संघर्षरत थिए, उनीहरुले मुबारकको पतन पछि इजिप्टमा आर्थिक विकासको गतिले तिब्रता पाउने, रोजगारी बढ्ने, उनीहरुको जिवनमा आर्थिक खुसहाली आउने सपना देखेका थिए। जनसंख्याको चाप धेरै रहेको उत्तर अफ्रिकी देश, इजिप्ट अन्य अरब राष्ट्रहरु झै धनी भने होइन। वहु संख्यक जनता गरिब छन।
विश्वका विभिन्न राष्ट्रहरु, र खास गरि विकासशील राष्ट्रहरुमा भएका परिवर्तनहरुको विश्लेष गर्दा एउटा कुरा के छर्लंग हुन्छ भने मुलुकमा सकारात्मक परिवर्तन ल्याउन अति गाह्रो हुँदो रहेछ। अर्थात, मुलुकमा रहेको तानाशाही व्यवस्था समाप्त पार्न जति सजिलो हुँदो रहेछ स्वच्छ, द्वन्दरहित, अशल र प्रभावकारी कानून व्यवस्था सहितको प्रजातन्त्र स्थापना गर्न त्यति सजिलो हुँदो रहेनछ। संघर्ष, मनमुटाव र जातीय कलह रहितको प्रजातन्त्रको स्थापना गर्न अति नै गार्हो पर्दो रहेछ। इराक, अफगानीस्तान, लिबिया, इजिप्ट, नेपाल मा भएको राजनैतिक परिवर्तनले यो तथ्यको पुष्टि गर्दछ। सबै भन्दा गार्हो त के हुन्छ भने, प्रजातन्त्रको स्थापना पछि, जनताका इच्छा र आकांक्षाहरु  चुलिएर जान्छन। साथै सही र गलत इच्छा तथा आकांक्षाहरु पनि एकै पटक देखिन्छन, सतहमा। अर्कोतिर नया एवं अनुभवहीन सरकारले छोटो समयमा जनताको सही माग पूरा गर्न सक्तैन। न त गलत मागलाई बल पूर्वक दबाउन नै सक्छ। बरु उल्टो नेता र सरकारमा भएका व्यक्ति सत्ता हात पार्ने खेलमा लिप्त हुन्छ र भ्रष्टाचारको पृष्ठपोषण गर्न थाल्छन। यसले गर्दा तानाशाही व्यवस्था पछिको प्रजातन्त्र धान्न झन गार्हो हुँदो रहेछ, मुलुकहरु लाई। तानाशाही पछिको प्रजातन्त्र यति भद्रगोल र मुलुकलाई अस्त व्यस्त पार्ने किसिमको हुन पुग्छ कि जनता, यस्तो प्रजातन्त्र भन्दा त तानाशाही व्यवस्था नै ठीक थियो कि भन्ने स्थितिमा पुग्छन। नेपालको स्थिति मा नै पनि हेर्न हो भने जुन जनता राजाको शासन फाल्न सडकमा उत्रेका थिए त्यही जनता राजाको शासनको कट्टर पक्षधर कमल थापाको भाषण सुन्न पुगेका थिए, त्यो पनि ठूलो संख्यामा। नेपाली जनता, वर्तमानका प्रजातन्त्रवादी एवं  प्रजातन्त्र पक्षधर नेताहरुको उराठ र उदेक लाग्दो सत्ताको खेलबाट दिक्कदार भएर, यी पचासौं नया राजाहरुको खेलभन्दा पुरानै तर एउटै राजाको खेल राम्रो हुने हो कि भन्ने स्थितिमा पुग्न थालेका छन।
हुन त प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अझै अशल प्रजातन्त्र उत्तम विकल्प हो। तर जनतामा पर्याप्त शिक्षाको विकास, आफ्नो दीर्घकालीन हित हेर्न सक्ने क्षमता, एक आपसमा मिलेर बस्ने प्रवृति र नेताहरुमा इमान्दारी एवं सिंगो देशको विकास गर्ने चाहना र अनुशासन नभएसम्म प्रजातन्त्र धान्न गार्हो पर्दो रहेछ। नेताहरुको स्वार्थी व्यवहारले त मुलुकको अस्तित्वलाई नै संकटतिर धकेल्दो रहेछ, देशमा प्रजातन्त्र वहाल रहेता पनि। अनुभवहरुले त्यस्तै भन्दै छन्।        
प्रजातन्त्रलाई धान्न यस्तै किसिमका चुनौतिहरुको सामना अहिले इजिप्टका जनताले गरि रहेका छन। आउने दिनहरुमा, लामो तानाशाही व्यवस्था पछि प्राप्त भएको प्रजातन्त्रलाई इजिप्टले कसरी संस्थागत पार्दै लाने छ, त्यहाँका जनताको जिवनमा आर्थिक खुस हाली ल्याउने छ के के गर्नेछ, जस्ता कुराहरु त्यहाँका नेताहरुको क्रियाकलापमा भर पर्ने छ। आशा गरौ, आउने दिनहरुमा इजिप्टका जनताको जिवनमा खुस हाली आओस। त्यहाँ अमन चयन कायम होस। तर, अहिलेको भन्दा मुबारकको शासन व्यवस्था राम्रो थियो भनी त्यहाँका जनताले भन्न नपरोस। 

विश्वराज अधिकारी

Saturday, June 16, 2012

Like That-5-Poem of the week-33


यस्तो पनि (५)

धनको रूखमा न सन्तोष फल्छ न त फल्छ माया
न दिन्छ सितल छाय यसले दिन्छ बरु पोल्ने डाहा

माटो आफु नै अनि  आफु नै बिउँ र  आफु नै हावा पानी
आफुले आफैलाई रोपेर फुलाउनु पर्ने त्यो फूल यो जिन्दगानी

अगाडि बढ्दा  पांग्राको  जसरी छुट्दै जान्छ पछाडिको माटो
आफन्त त्यसरी नै छुट्दै जान्छन जति लम्कियो उन्नतिको बाटो

२५
जिवन विषम यात्रा अविरल पथमा हिंड्नै पर्ने सबैले यसमा
कोही अगाडि कोही पछाडि हिंड्दै गर्दा आफ्नै आफ्नै गतिमा

विश्वराज अधिकारी

Friday, June 15, 2012

Identifying And Using Local Resources-Article-46


स्रोत र साधनहरुको पहिचान एवं उपयोग

विकासशील राष्ट्रहरुमा, हरेक क्षेत्रमा अति नै राजनैतिकरणले गर्दा विकास र निर्माणका कार्यहरुले प्राथमिकता पाएका हुँदैनन। साथै स्थानीय स्रोत र साधनहरुको पहिचान एवं उपयोग पनि स्थानीय स्तरमा प्रभावकारी किसिमले गर्न सकिएको हुँदैन। स्थानीय स्रोत र साधनहरुको उपयोग गर्न नसक्नुको प्रमुख कारण त्यस्ता साधनहरुको उपयोगका लागि केन्द्र वा सरकारको योजना एवं सक्रियतामा भर पर्नु हो। अर्कोतिर सरकार वा सरकारमा भएका व्यक्तिहरु केवल आफ्नो शक्ति र कुर्सीको आयु लम्ब्याउने तिर मात्र लागेका हुन्छन। जन प्रतिनिधिहरु पनि आफ्नो क्षेत्रको विकासमा क्रियाशील हुनुको साटो अर्को चुनावमा कसरी विजयी हुने विषयमा केन्द्रित रहेर पार्टी कार्यालय र शक्ति केन्द्रहरुमा धाउनमा नै व्यस्त हुन्छन। स्थानीय जनता पनि राजनैतिक दलहरुको दाउपेंचको सिकार भएर विभाजित मनस्थितिमा पुगेका हुन्छन र स्थानीय स्रोत एवं साधनको उपयोग एक आपसमा मिलेर, हातेमालो गर्दै गर्न सक्दैनन। यसरी स्थानीय स्रोत र साधनहरुको उपयोग हुन पाउँदैन र जनता गरिबीहरुको कुचक्र भित्र पिल्सिएर बाँच्न बाध्य हुन्छन। विकासशील राष्ट्रहरुमा देखिने यो कटु सत्यले गर्दा नै नेपाल, भारत, बंगलादेश, पाकिस्तान जस्ता मुलुकका निर्धन जनतालाई अति गरिबीको घेराबाट बाहिर आउन गार्हो परि रहेको छ।
कुनै पनि मुलुक वा क्षेत्रका जनतालाई गरिबीबाट बाहिर ल्याउन सर्वाधिक महत्वपूर्ण भूमिका खेल्ने तत्व त्यहाँका स्रोत र साधनहरु हुन। र त्यस्ता स्रोत र साधनहरुको उपयोग गर्ने, त्यस बारे राम्रो अनुभव र जानकारी राख्ने त्यहाँका जनता हुन। स्थानीय जनताद्वारा, स्थानीय स्रोत र साधनहरुको भरपूर उपयोगले नै अति निर्धन जनताको जिवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। उनीहरुलाइ आर्थिक रुपमा स्वावलम्वी र सक्षम पार्न सकिन्छ। प्राय हरेक क्षेत्र कुनै न कुनै किसिमको स्रोत वा साधनले भरिपूर्ण रहेको हुन्छ नै। कुनै किसिमको स्रोत वा साधनले भरिपूर्ण नभएमा पनि अहिलेको यो अति वैज्ञानिक भौतिक युगमा कुनै पनि क्षेत्रलाई विभिन्न किसिमका साधनहरु द्वारा सम्पन्न तुल्याउन सकिन्छ। प्रकृतिले नदिए पनि मानवीय प्रयत्नहरुद्वारा साधन सम्पन्न तुल्याउन सकिन्छ। कतारले गरेको प्रयत्नबाट पनि यो कुराको पुष्टि हुन्छ। कतारले आफ्नो मुलुकलाई पर्यटकहरुको महत्वपूर्ण गन्तव्य बनाउनका लागि विभिन्न किसिमका निर्माणहरु गरि रहेको छ। कतारले सन २०२२ मा FIFA (  Federation International de Football Association) World Cup को आयोजना गर्दैछ। यो खेल सम्पन्न भए पछि १८ लाख ५३ हजार जनसंख्या भएको कतार FIFA World Cup आयोजना गर्ने, अरब राष्ट्रहरुमा, पहिलो राष्ट्र हुनेछ। यो खेलले कतार लगाएत अरब विश्व र पश्चिमेली राष्ट्रहरु बीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास कतारका जनताले लिएका छन।
नेपालमा प्रकृति र इतिहासले दिएका स्रोत र साधनहरु प्रचुर मात्रामा भएता पनि तिनको प्रयोग स्थानीय र राष्ट्रिय गरिबी कम पार्नमा गर्न सकिएको छैन। प्रकृति र इतिहासले दिएका तर व्यापक मात्रमा उपयोग गर्न नसकिएका विभिन्न किसिमका स्रोत र साधनहरु मध्ये एक हो जनकपुरका मन्दिर मठहरु, धार्मिक र सांस्कृतिक महत्वका स्थानहरु, कला र सौन्दर्यहरु। जनकपुरमा रहेका यस किसिमका स्रोत र साधनहरुको उपयोग स्थानीय स्तरमा, विभाजित मनस्थितिमा नरही, सबैले मिलेर गर्ने हो भने जनकपुर नगरले गरेको आर्थिक आर्जनले त्यस क्षेत्र र त्यस क्षेत्र वरि परिका बासिन्दाहरुलाई सजिलै खान पुग्छ। जनकपुरमा उपलब्ध रहेको जन शक्तिले नपुगेर बाहिरबाट ल्याउनु पर्ने हुन्छ। अर्थात जनकपुरमा व्यापक मात्रामा रोजगारी सृजना गर्न सकिन्छ। जनकपुरलाई भारतको हरिद्वार जस्तो धार्मिक पर्यटकीय शहरको रुपमा नेपाल, भारत लगाएत विश्व भरिका विभिन्न राष्ट्रहरुमा प्रचार प्रसार गर्ने हो भने यस शहरमा उल्लेख्यनीय रुपमा पर्यटकहरुको संख्यामा वृद्धि गर्न सकिन्छ। यस क्षेत्रको द्रुततर गतिमा आर्थिक विकास गर्न सकिन्छ।  
अहिलेको युग सूचनाको युग हो। इन्टरनेटले सूचना र जानकारीको प्रवाहलाई ज्यादै सरल र प्रभावकारी तुल्याइ दिएको छ। इन्टरनेटले गर्दा बजारीकरण (Marketing) को कार्य अति नै सजिलो हुन पुगेको छ। विश्वको कुनै पनि कुनामा बसेर इन्टरनेटको माध्यमद्वारा संसार भरि नै आफूले लक्षित गरेको बजार भित्र प्रवेश गरेर आफ्नो सामाग्री बिक्री गर्न सकिने स्थिति सृजना भएको छ। तर नेपालमा उद्योग, पर्यटन र व्यापारको विकास एवं विस्तारमा इन्टरनेटलाई व्यापक मात्रामा प्रयोग गर्न सकिएको छैन।  विभिन्न किसिमका वेभ पेजहरु बनाएर, जनकपुरका धार्मिक स्थलहरुको व्यापक प्रचार प्रसार गरेर, यस क्षेत्रमा हरेक वर्ष लाखौंको संख्यामा पर्यटकहरु भित्र्याएर, यस क्षेत्रको आर्थिक विकासको गतिलाई तिब्र पार्न सकिन्छ।
जनकपुरको जानकी मंदिर, राम मंदिर, विवाह मंडप, संकट मोचन आदि अति नै धार्मिक महत्वका तिर्थ स्थलहरु हुन। यी धार्मिक सम्पत्तिहरुको सदुपयोग गरेर यहाँका जनताको गरिबी मात्र कम गर्न सकिंदैन साथै यी धार्मिक सम्पत्तिहरुको प्रभावकारी किसिमले संरक्षण समेत पनि गर्न सकिन्छ र आउने पुस्तालाई यी सम्पत्तिहरु अझै सुन्दर अवस्थामा हस्तान्तरण गर्न सकिन्छ। यी मन्दिरहरु अति पुराना मात्र होइन साथै इतिहासका प्रमाणहरु पनि हुन। भनिन्छ सन् १९११ मा टिकमगढ की महारानी बृषभानु कुमारीले नौ लाख रुपैयाँ खर्च गरेर जानकी मंदिरको निर्माण गरेकी हुन। त्यसै कारण यसलाई नौ लखा मन्दिर पनि भन्ने गरिन्छ।  जानकी मंदिरले प्राचीन इतिहासको त्रेता युगलाई वर्तमान युगसँग जोड्छ। के यो साधरण कुरा हो? साथै तेत्रा (सत्य) युगका भगवान रामचन्द्रको विवाह यस धरति कि पुत्री सीता जी सँग यहाँ भएको एतिहासिक धार्मिक घटनाको प्रमाण समेत पेश गर्दछ। के यो आफैमा, संसारमै,  ठूलो धार्मिक एवं सांस्कृतिक महत्वको घटना होइन र? जनकपुरको महत्वलाई यो सानो लेखमा वयान गर्नु अति नै गार्हो कुरा हो। जनकपुरमा रहेका यति धार्मिक महत्वका मंदिरहरुको व्यापक मात्रामा प्रचार प्रसार अझै गर्न सकिएको छैन। जबकी संसारका अन्य राष्ट्रहरुमा केवल वन जंगल, पहाड, झरना आदिलाई पनि कलात्मक किसिमले सजाएर तीनलाई पर्यटिक महत्वको बनाई, तिनको व्यापक प्रचार प्रसार गरिएको सहजै देख्न सकिन्छ।  
आफ्नो स्थानको विकास आफैले गर्ने हो। आ-आफ्नो स्थानको विकास गरेर नै स्थानीय स्तरमा रोजगारी सृजना गरी गरिबी निवारण गर्न सकिन्छ। र यसका लागि स्थानीय स्रोत एवं साधनहरुको पहिचान र तिनको उपयोगमा जोड दिन आवश्यक छ। सबै विचार र किसिमका व्यक्तिहरु मिलेर अगाडि बढ्न आवश्यक छ। यस्तो गरिएमा मात्र जनतालाई आर्थिक रुपमा सक्षम तुल्याउन सकिन्छ। तर यसको बिपरित, विभिन्न राजनैतिक दल एवं तिनका नेताहरुको पछाडि लाग्ने हो, उनीहरुको झण्डा र नारा बोकेर समय बर्बाद गर्ने हो, उनीहरुले उकस्याएको भरमा विभाजित भई आपसमा मारकाट गर्ने हो र विकासका लागि केवल केन्द्र वा नेताहरुको मुख ताक्ने हो भने आउँदा वर्षहरुमा नेपालीहरु झन झन गरिब हुँदै जाने छन्। खास गरी ग्रामिण क्षेत्रका जनताको आर्थिक र सामाजिक जिवन झन झन कष्टकर हुँदै जाने छ। नेताहरुले त झगडा गर्न सिकाउनु भन्दा बढी के नै गर्न सिकाएका छन र? २०४६ साल पछिका घटनाहरुको विश्लेषण गर्दा यो कुरा प्रष्ट हुँदैन र?

विश्वराज अधिकारी 

Saturday, June 9, 2012

Like That-4-Poem of the week-32


यस्तो पनि (४)

बालापन पठाउन जति हतार थियो बुढेसकाल त्येति नै ढिलो गरि आओस भन्दै छु
आज भोलि जिवनका दिनहरुलाई किफायतसाथ खुब मोलमोलाई गरेर खर्च गर्दैछु

भुल्न नसकेका ती क्षणहरुलाई ब्युँताउन खोज्दै छु
सम्झनाका ती टुक्राहरुलाई सपनाले जोड्दै छु

धनका मन्त्र जोड र गुणा राख तिमी नै दिएर मलाई केवल घटाउ र भाग
सन्तोष भए बाँच्न धेरै हुन्छ दुई छाक मोटो भात माथि अलिकति फुस्रो साग

२०
इर्षा, घमण्ड र लोभमा कति पार्छौ अमूल्य जिवन यो अन्ध्यारो
प्रदिप्त पार मनलाई बालेर निस्वार्थ प्रेम र त्यागको दियालो

समयलाई बरबाद गरे मैले अब यसले मलाई बरबाद गर्दैछ
निर्यदी बाढी बनेर मेरो आशा उमंगको बस्ती भित्र पस्दै छ

विश्वराज अधिकारी

Friday, June 8, 2012

Conflicts Cause Poverty-Article-45


हिंसा आर्थिक विकासको प्रमुख बाधक तत्व

कुनै समयमा राष्ट्रपति समेत रही सकेका चार्लस टेरलरले आफ्नो जिवनमा कहिले सोंचेका समेत थिएनन् होला आफ्नो जिवनको बाँकी समय जेलमा बिताउनु पर्नेछ। आफू शक्तिसाली हुँदा शक्तिको उन्मादले उनलाई यो सोंच्न दिएन की आफू शक्तिसाली भएको समयमा आफूले गरेको अपराधलाई सक्तिद्वारा दवाउन सकिएता पनि त्यो, त्यसरी, गरिएको अपराधलाई सँधैका लागि दबाउन वा लुकाउन सकिंदैन, शक्तिबाट बाहिर आउने बित्तिकै वा अपराध कर्मले सीमा नाघे पछि, समयले जहाँ भए पनि तानेर, ल्याएर सजाए दिनेछ। त्यस्तै भयो पनि। लाइबेरियाका २२ सौ राष्ट्रपति, जो सत्तामा अगष्ट २, १९९७ देखि अगष्ट ११, २००३ सम्म रहेका थिए, ले आफूले गरेका विभिन्न अपराधका लागि हालै ५० वर्षको जेल सजाए पाएका छन। ६४ वर्षिय टेलरको सम्पूर्ण जिवन अब जेलमा नै बित्ने देखिन्छ। टेलरलाई, ५० वर्षको जेल सजाए द हेगमा अन्तरार्ष्ट्रिय युद्ध अपराध अदालतद्वारा सुनाइएको हो। अदालतले, टेलरलाई आतंक, बलात्कार, हत्या, यौन शोषण, बाल शैन्य भर्ना, दासता, लुट जस्ता अपराधका लागि जिम्मेवार ठहर्याएको थियो। मानव इतिहासमा गरिएका जघन्य अपराधहरु जस्तै जघन्य अपराध टेलरले गरेको उल्लेख गरिएको छ। उनले जेल सजाए बेलायतमा काट्नु पर्नेछ।
टेलरले छिमेकी मुलुक सियरा लियोनमा सन् १९९१ देखि २००२ सम्म मच्चिएको गृह युद्धमा विद्रोही, क्रान्तिकारी एकीकृत समूह (Revolutionary United Front) लाई आर्थिक र भौतिक सहयोग गरेका थिए। दस वर्ष सम्म चलेको उक्त गृह युद्धमा ५० हजार भन्दा बढी व्यक्तिहरुको ज्यान गएको थियो, कैयौं अहिले पनि अंग भंग ( हात, खुट्टा काटिएको) स्थितिमा छन। भिख मागेर गुजारा गर्न बाध्य भएका छन, उनीहरु। युद्ध प्रभावितहरुले राजधानी फ्रि टाउनमा भिख मांग्दै हिंडेको अहिले पनि देख्न सकिन्छ। त्यति मात्र होइन, उक्त गृह युद्धमा विद्रोहीहरुले जघन्य मानवता विरुद्ध अपराधहरु समेत गरेका थिए।
मानवता विरुद्ध अपराध गर्नेहरुलाई सहयोग गरेको, हिंसा मच्चाउनमा योगदान पुर्याएको,  पश्चिम अफ्रिकामा नै युद्ध विस्तार हुन सक्ने क्रियाकलाप गरेको, आफ्नो पद र शक्तिको दुरुपयोग गरेको जस्ता कार्यहरुका लागि जिम्मेवार रहेका टेलर, दोस्रो विश्व युद्ध पछि, अन्तरार्ष्ट्रिय ट्राइब्युनलबाट फैसला सुन्ने पहिलो भूतपूर्व राष्ट्राध्यक्ष भएका छन। यस भन्दा पहिले कार्ल डोनिज, जो हिटलरले आत्महत्या गरे पछि छोटो समयका लागि जर्मनीको राष्ट्रपति भएका थिए, ले अन्तरार्ष्ट्रिय ट्राइब्युनलबाट फैसला सुनेका थिए। उनले दस वर्षको जेल सजाए पाएका थिए।
टेलरले  १.आतंककारी कार्य (युद्ध अपराध), २.हत्या (मानवता विरुद्ध अपराध), ३.रक्तपात (युद्ध अपराध), ४.बलत्कार (मानवता विरुद्ध अपराध), ५.यौन दासता र आतंक (मानवता विरुद्ध अपराध), ६.व्यक्तित्व माथि प्रहार (युद्ध अपराध), ७.क्रुर व्यवहार (युद्ध अपराध), ८.अन्य अमानवीय व्यवहार (मानवता विरुद्ध अपराध), ९.बाल शैन्य प्रयोग (अन्तरार्ष्ट्रिय मनवीय कानूनको उलंघन), १०.दास बनाउने (मानवता विरुद्ध अपराध), ११. लुट मच्चाउने (युद्ध अपराध) जस्ता विभिन्न किसिमका अपराधहरु गरेको उल्लेख गरिएको छ।
टेलर कहिले पनि सियरा लियोन पुगेनन तर पनि सियरा लियोनको गृह युद्धमा उनको अप्रत्यक्ष संलग्नताले, उनले त्यहाँका विद्रोहीहरुलाई गरेको आर्थिक र भौतिक सहयोगको कारणले, सियरा लियोनका थुप्रै मानिसले अति नै दुख: पाए। सियरा लियोनका विद्रोहीहरुको अमानवीय कार्यको सिकार धेरै व्यक्तिहरु हुन पुगे।
टेलरका त्यस किसिमका कार्यहरुले गर्दा नै उनलाई युद्ध नायक (warlord) भन्ने गरिन्छ। उनी अफ्रिकाका कुख्यात युद्ध नायकहरु मध्ये एक हुन पुगेका छन, समाचारहरुमा उल्लेख भए अनुसार।
अफ्रिका स्रोत र साधनहरुले भरिएको महादेश हो। त्यहाँ के छैन? प्रकृतिले दिएका सुन्दर र रमणीय धेरै स्थानहरु छन, पर्यटनका लागि। सुन, हिरा, तेल आदि ठूलो परिमाणमा उत्पादन हुन्छन, अफ्रिकी देशहरुमा। तर यति हुँदा हुँदै पनि त्यहाँका धेरै देशहरु गरिब छन। र त्यसरी गरिब हुनुको कारण प्रष्ट छ। अफ्रिकी देशका नेताहरु नै त्यहाँका गरिबीको प्रमुख कारण बनेका छन। अफ्रिकाले धेरै महत्वाकांक्षी, शक्ति पिपासु, लहडी, सनकी, तानाशाह नेताहरु भोगेको छ। गद्दाफी, होस्नी मुबारक, इदि अमिन आदिको सनक र लहडलाई खेपेको छ। नेताहरुले मच्चाएका संघर्ष, द्वन्द, गृह युद्ध, र युद्धले गर्दा आर्थिक विकासको भरपुर सम्भावना भएता पनि अफ्रिकाका धेरै राष्ट्रहरु गरिबीमा बाँच्न बाध्य भएका छन। निरन्तरको संघर्षले गर्दा गरिबीबाट बाहिर आउन गार्हो भइ रहेको छ।
नेपालमा पनि, नेताहरुको व्यवहार, शक्तिका लागि उनीहरु बीच हुने गरेको छलकपट एवं द्वन्द, आफ्नो स्वार्थका लागि जनतालाई झुक्याउने एवं उनीहरु बीच मतभेद ल्याउने, काल्पनिक र गलत मुद्दा खडा गरेर जनतालाई अलमल्याउने जस्ता कारणहरुले, अफ्रिकाको अति निर्धन मुलुकमा रहेको डरलाग्दो गरिबीको स्थिति आउन सक्ने हो कि भनी शंका लाग्न थालेको छ। नेताहरुको व्यवहार अहिलेको जस्तै हुने हो भने त्यो संका यथार्थमा परिणत हुन धेरै समय लाग्ने छैन।
चार्लस टेलरलाई सुनाइएको यो सजाएले विश्वका त्यस्ता नेताहरु माझ यो सन्देश प्रष्ट रुपमा गएको छ- आफ्नो स्वार्थका लागि युद्ध मच्चाउने, जनता जनता बीच मदभेद खडा गरेर उनीहरुलाई लड भीड गर्ने प्रेरित गर्ने, आफ्नो महत्वाकांक्षा पूरा गर्न हत्या हिंसाको प्रयोग गर्ने र समग्रमा भन्ने हो भने केवल निजी फाइदा का लागि  मानवता विरुद्ध  जघन्य अपराध गर्न पछाडि नपर्ने नेताहरुलाई जनताले एक दिन अवश्य न्यालयको कठघेरामा उभ्याएर सजाए दिंदा रहेछन। तत्काल नेता शक्तिसाली भएर जनता कमजोर भएता पनि पछि जनता बलियो भएको बेलामा त्यस्ता नेताहरुलाई खोजेर जनताले न्यालय पुर्याउँदा रहेछन र उनीहरुले गरेको अपराधका लागि सजाए सुनाउँदा रहेछन। यो सन्देशलाई नेपालका नेताहरुले पनि मनन गरे हुन्छ।

विश्वराज अधिकारी

Saturday, June 2, 2012

Like That-3-Poem of the week-31


यस्तो पनि (३)

११
लाग्दछ किन यो जिवन  एक पूर्णाङ्की नाटक यस्तो
आफ्नो आफ्नो भागको अभिनय सबैले गरि रहे जस्तो

१२
कुनै दिन त पलाउला डढेलोको ठुटो  पनि गर्नुस हजूर विश्वास
फुल्नेछ यो एकबारको जुनीमा अवश्य आउला त्यो दिन खास

१३
मन छछल्किएर आँखाभरि किन पोखिएको यस्तो
चर्को घामले हिँउ पग्लिएर एता उता बगे जस्तो

१४
लाग्छ कहिले कल्पना र सपना नै जिवनको सार
आशाले जिवन किन्ने यो दिन दु:खिको व्यापार

१५
यो मन भइ दिन्छ कहिले ढुङ्गा भन्दा पनि धेरै सार्हो
मुखले बोले पनि बोल्न मनले भने अति अति नै गार्हो

१६
एउटा दियोले करोडौ दियो बाल्दा घट्दैन रत्तिभर पनि बाल्ने दियोको ज्योति
ज्ञानीले जति बाँडे पनि नरित्तिने कहिले अन्नत अपार उसको ज्ञानको मोति


विश्वराज अधिकारी


Friday, June 1, 2012

Nepali Dream-Article-44


नेपाली सपना

आधुनिक नेपालको इतिहासमा देशवासी यसरी भ्रम र हिंसक मनोविज्ञानमा बाँचेको उदाहरण बिरलै होला। उदाहरणका लागि, अहिले, नेपालीहरु एकातिर जातपात छुवा छुतको बिरोध गर्छन, को सानो जात को ठूलो जात भन्ने भावनाको आलोचना गर्छन अर्कोतिर जातिय राज्य चाहियो भनेर बन्द, हडतालको आयोजना गर्छन। एकातिर समावेसीको नारा लगाउँछन अर्कोतिर यो तेरो प्रदेश यो मेरो प्रदेश भनी सीमा छुट्याउँछन। एउटै व्यक्ति, एकै समयमा, खास राजनैतिक संगठनको सदस्य हुन्छ, त्येही व्यक्ति एक खास जातीय संगठनको सदस्य हुन्छ, फेरि त्येही व्यक्ति एक खास क्षेत्रिय संगठनको सदस्य पनि हुन्छ। अर्थात कुनै बेला सिद्धान्तको, कुनै बेला जातीयताको, अनि कुनै बेला क्षेत्रीयताको आधारमा मानिसहरु संगठित भइ रहेका छन। वहु संख्यक नेपालीहरु अहिले भ्रमको स्थितिमा छन। के गर्नु सही हो र के गर्नु गलत हो छुट्याउन सकि रहेका छैनन। राजनैतिक वातावरणद्वारा जस्तो किसिमको सामाजिक मनोविज्ञानको निर्माण भइ रहेको छ त्यसको पछि लागि रहेका छन, आफू स्वयंले, कुन कुरा सही र कुन कुरा गलत हो भनी छुट्याउन सकि रहेका छैनन्।
यसै गरी, वाक् स्वन्त्रता, प्रेस स्वतन्त्रताको कुरा गर्छन तर कसैले आफ्नो सामान्य किसिमको  पनि आलोचना गरेको छ, पत्र पत्रिकामा वा मौखिक रुपमा, भने  सहन नसकी आलोचना गर्ने व्यकतिको ज्यान लिन पनि बेर लगाउँ दैनन्। सानो सानो मतभेदमा पनि हिँसाको प्रयोग गर्छन। मानिस मानिस बीच मतभेदहरु हुनु सामान्य कुरा हो तर त्यस किसिका मतभेदहरुको समाधान केवल हिँसा देख्नु डर लाग्दो स्थिति हो। कुनै पनि किसिमको समस्याको समाधान केवल हिँसाद्वारा गर्न खोज्नुले, समाजले न त आर्थिक रुपमा न त सामाजिक रुपमा नै विकास गर्न सक्छ। र स्थिति त्यस्तै रहि नै रहेमा सयौं वर्षसम्म मुलुक गरिबीको कुचक्र भित्र रुमलिन वाध्य हुन्छ।
यसरी, नेपलीहरुलाई भ्रमित तुल्याउने र हिँसक मनोविज्ञानमा पुर्याउने श्रेयता वर्तमान नेपालका राजनैतिक नेताहरु र उनीहरुद्वारा निर्माण गरिएको परिस्थितिलाई जान्छ। नेपालीहरुलाई भ्रम र हिँसक मनोविज्ञानमा पुर्याउने नेपालका राजनैतिक नेताहरु हुन। उनीहरुको अदूरदर्शी, अविवेकी, स्वार्थी योजना, व्यवहार र निर्णयहरुले गर्दा नेपालीहरु भ्रम र हिँसाको मनोविज्ञान रुमलिन बाध्य भएका छन। वर्तमान नेपालको राजनैतिक परिवेशमा, नेताहरु जुन सुकै दलका भएता पनि उनीहरुमा जनतालाई अशल नेतृत्व दिने, जनताको आर्थिक जिवनस्तर माथि उकास्ने, म यो देशको बासिन्दा हो भनी गर्व गर्न सक्ने भावना जनतामा अझै जागृत गराउने क्षमताको अति नै अभाव छ देखिएको छ। बरु उल्टो नेताहरुले सौम्य, शान्त, स्थिर र आपसी सद्भाव कायम गरेर बसेको नेपली समाजलाई विभिन्न चिराहरुमा टुक्राइ दिएका छन। एउटा समूहको अर्को समूहसँग कृत्रिम सत्रुता कायम गराइ दिएका छन। एक समूहरुको अर्को समूह प्रति अविश्वास पैदा गराई दिएका छन।
नेपालका राजनैतिक दलका नेताहरु राजनैतिक रुपमा अशक्षमा छन भन्ने कुराको प्रत्यक्ष उदाहरण त यत्रो समय लगाएर पनि संविधान निर्माण गर्न नसक्नु हो। जनताले जुन कार्य गर्न का लागि यति धेरै समय, यति धेरै पैसा र सबै भन्दा ठूलो कुरा त, यति धेरै विश्वास दिएर पठाएका थिए, त्येही कार्य सम्पन्न गर्न  नसक्नेहरु लाई सक्षम रहेको भनी कसरी मान्ने? उनीहरुमा उचित निर्णय लिन सक्ने क्षमता छ भनी कसरी विश्वास गर्ने? र उनीहरु योग्य छन भनी आगामी चुनावमा उनीहरुलाई कसरी भोट दिने?
नेता र राजनैतिक दलहरुले त मुलुकलाई संविधान बनाएर दिन नसकेकोमा जनतासँग क्षमा माग्नु पर्ने होइन र?
नेताहरुमा के कारणले गर्दा उचित राजनैतिक निर्णय लिने क्षमताको अभाव देखिएको हो त? यस प्रश्नको उत्तर गार्हो छैन। नेताहरुमा, मैले लिएको निर्णय उचित छ, म मात्र सहि अरु सबै गलत छन् , राजनीति मैले मात्र राम्रो गरि बुझेको छु अरुले छैन, अरुको बिचार मानेमा आफ्नो राजनैतिक कद होचो हुन्छ जस्ता अहंमहरु छन। नेताहरुमा एक अर्को प्रति पटक्कै विश्वास छैन। एउटा दलको नेता अर्को वा आफ्नै दलको अर्को नेतासँग हरफल ससंकित रहन्छ यस भावनाले कि उसलाई कुन बेला अर्कोले झुक्याउने, फंसाउने हो कि भनी। नेताहरुमा योग्यताको अभाव छ। अध्ययनको कमी छ। अधिकांस नेताहरुलाई विश्व राजनीति, इतिहास, राष्ट्रिय एवं अन्तरार्ष्ट्रिय अर्थ व्यवस्था, भूगोल आदिको ज्ञान पट्क्कै छैन। र सबै भन्दा ठूलो कुरा त, नेताहरु क्षणिक स्वार्थमा लिप्त छन। अनि यस्ता नेताहरुले सामान्य जनतालाई भ्रममा पार्नु बाहेक के नै गर्न सक्छन त?
नेपाली जनतालाई नेताहरुले भ्रमित स्थितिमा पुर्याएका उदाहरणहरु धेरै छन। सबै उदाहरणहरुलाई त प्रस्तुत गर्न सकिंदैन। एक वा दुई उदाहरणलाई यस लेख मार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ। पहिलो उदाहरण संघियतालाई नै लिउँ। कुनै पनि देशमा संघहरुको निर्माण, वर्तमान विश्व परिस्थितिमा, आर्थिक विकासका लागि हुनु पर्दछ। वर्तमान युग आर्थिक विकासको युग हो। आर्थिक विकासका लागि चिनले दसकौं देखि अंगाली आएको साम्यवादी अर्थ व्यवस्था परित्याग गरि बजार अर्थ व्यवस्था अंगाल्यो। भारतले पनि समाजवादी नीति परित्याग गरेर बजार अर्थ तन्त्र अंगालेको वर्षौ भइ सक्यो। यूरोपका मुलुकहरुले आर्थिक विकासका लागि यूरोपिएन यूनियनको स्थापना गरेका छन। भौगोलिक रुपमा टाढा भएता पनि आर्थिक विकासका लागि भारत, रुस, ब्राजिल र चिन मिलेर एक आर्थिक समूह (B R I C) मा रहेर एक अर्कोलाई सहयोग गर्दै राष्ट्रको आर्थिक विकास गर्न अगाडि बढेका छन। यस्तो विश्व परिस्थितिमा संघहरुको स्थापना गर्दा आर्थिक विकासलाई मुल आधार बनाउनुको साटो नेताहरुले जातीयतालाई आधार मान्न जनतालाई उत्प्रेरित गर्दे छन। जातीय आधारमा संघहरुको निर्माण भएमा त्यसले खास क्षेत्र र मुलुको आर्थिक विकासको गतिलाई ज्यादै सुस्त मात्र पार्ने छैन साथै एक जाति अर्को जाति प्रति ससंकित हुने स्थिति समेत ल्याउने छ।
संघहरुको निर्माण गर्दा मुल रुपमा आर्थिक विकासलाई आधार मानिएको हुन्छ। संघहरुको निर्माण गर्नु भनेको विभिन्न संघहरुको निर्माण यस उद्देश्यले गर्नु कि स्थापित संघहरुले आफ्नो क्षेत्रको सामाजिक, आर्थिक विकास सम्बन्धमा स्वयंले निर्णय लिन सकुन, केन्द्रको मुख ताक्नु नपरोस। संघहरुले आफ्नो क्षेत्रमा उपलब्ध रहेका स्रोत तथा साधनहरुको अधिक्तम उपयोग गर्न सकुन। विभिन्न क्षेत्रमा विभिन्न किसिमका स्रोत तथा साधनहरु हुन्छन र ती स्रोत तथा साधनहरुको कसरी उपयुक्त किसिमले उपयोग गर्ने भन्ने कुरा सम्बन्धित क्षेत्रका बासिन्दालाई मात्र थाहा हुन्छ। उदाहरणका लागि, कुन हिमालमा चढ्नका लागि कस्तो तरिका उपयुक्त हुन्छ, पर्यटनका लागि कुन हिमाल उपयुक्त हुन सक्छ वा ज्यादै हिमपात भएमा जिउ, धनको रक्षा कसरी गर्न सकिन्छ भन्ने कुराको राम्रो अनुभव वा ज्ञान हिमालमा बस्ने मानिसहरु संग हुन्छ। त्यस कारण हिमाली क्षेत्रको विकासका लागि त्यहाँका जनताले निर्णय गर्नु उपयुक्त हुन्छ। यसै गरी कस्तो माटोमा कुन किसिमको बाली लगाउने, भूमिको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कस्तो मल खाद प्रयोग गर्ने, बाढीबाट बाली नाली, जिउ धन जोगाउन कस्ता तरिकाहरु अपनाउने भन्ने कुरा तराईका मानिसलाई राम्रो गरी थाहा हुन्छ। यस्ता विषयहरुमा तराइका मानिसहरुले उपयुक्त निर्णय गर्न सक्छन।
यसरी, राष्ट्रिय सुरक्षा, विदेश नीति, आदि जस्ता विषयहरुमा केन्द्रिय सरकारले नीति निर्माण गर्ने तर विभिन्न संघको विकासका लागि सम्बन्धित क्षेत्रका बासिन्दाहरुले नीति निर्माण गर्ने, त्यहाँका समस्याहरु पनि त्यही का बासिन्दाहरुले समाधान गर्ने वा संघीय सरकारले गर्ने भन्ने उद्देश्यले संघहरुको स्थापना  गरिएको हुन्छ। त्यस कारण संघहरुको स्थापना गर्नु भनेको सम्बन्धित क्षेत्रको आर्थिक, सामाजिक विकासका लागि सम्बन्धित क्षेत्रका जनतालाई संलग्न गराउनु, उनीहरुलाई अधिकार दिनु हो।
तर नेताहरुले संघीयतालाई जातीयता, पहिचान, वा अन्य अन्य कुराहरुसँग जोडेर आर्थिक विकासको मुल मुद्दालाई ओझलमा पारि दिएका छन। वर्तमान समयमा, मुलुकको जुन सुकै भागमा बस्ने व्यक्तिको मुख्य सपना वा ‘नेपाली सपना’ भनेको श्रम गर्न सक्ने उमेर वा अवस्थामा रहेका प्रत्येक व्यक्तिलाई रोजगारी, शिक्षा र स्वास्थ्य सुविधा, दुई छाक ढुक्क संग खान पाउने स्थिति, काटमार स्थितिको अन्त्य भइ शान्ति र स्थिरता, जुलुस, बन्द, हडतालको समाप्ति हो। छोटकरीमा भन्ने हो भन्ने अहिले ‘नेपली सपना’ भनेको ‘शान्त र प्रगति’ हो।
केवल नेताहरुलाई मात्र दोष देखाएर सामान्य जनता पनि पन्छिने स्थिति छैन, समष्टिगतमा कुरा गर्ने हो भने। जनताले पनि नेताहरुलाई देशको आर्थिक विकासका लागि सजग र क्रियाशील हुन दबाब दिनु पर्दछ। र सबै भन्दा ठूलो कुरा त उनीहरुले लगाएका अर्थहीन नाराहरुको पछाडि लाग्नु हुँदैन। चुनावमा कुनै व्यक्तिलाई उसले अंगालेको राजनैतिक दर्शन वा उसले घन्क्याएको नाराको सट्टा उसको अशल व्यवहार, जनताप्रति उसको उत्तरदायित्वपनलाई आधार बनाई विजयी तुल्याउनु पर्दछ। जनताद्वारा अशल नेताको चयनबाट मात्र ‘नेपाली सपना’ पूरा गर्न सकिन्छ। अहिलेको जस्तो राजनैतिक स्थिति र नेतृत्वबाट भने ‘नेपाली सपना’ पूरा गर्न सकिंदैन।

विश्वराज अधिकारी