Saturday, March 21, 2015

Geeta Chapter 15


भागवत गीता अध्याय १५

श्रीभवानुवाच
ऊर्ध्वमूलमध:शाखमश्वत्थं प्राहुरव्ययम्।
छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित्।।१।।
भगवान श्रीकृष्णले आज्ञा गर्नु भयो
(यो संसाररुपि पिपलको वृक्ष अविनाशी छ भनी शास्त्रहरुमा भनिएको छ। यो वृक्षको माथिको जरा आदि पुरुष, तलको शाखा ब्रह्मरुप र पातहरु वेद हुन। यो वृक्षलाई जसले जान्दछ त्यो वेदवेत्ता हो।)

अधश्चोर्ध्वं प्रसृतास्तस्य शाखा
गुणप्रवृद्धा विषयप्रवाला:।
अधश्च मुलान्यनुसन्ततानि
कर्मानुबन्धीनि मनुष्यलोके।।२।।
(तीन गुणहरुद्वारा बाँधिएको त्यस संसार-वृक्षको विषयरुप पातयुक्त शाखाहरु मनुष्य, पशु इत्यादि निम्न योनीहरुमा र देवताहरु उच्च योनीमा फैलिएका छन्। कर्मफल- कर्म प्रवाहजनक भोग वासनारुपी जराहरु तलतिर र निरन्तर विकसित भइरहेका छन्।)

न रुपमस्येह तथोपलभ्यते
नान्तो न चादिर्न च सम्प्रतिष्ठा।
अश्वत्थमेनं सुविरुढमूलम्
असंगशस्त्रेण दृढेन छित्त्वा।।३।।

तत: पदं तत्परिमार्गितव्यं
यस्मिन् गता न निवर्तन्ति भूय:।
तमेव चाद्यं पुरुषं प्रपद्ये
यत: प्रवृत्ति: प्रसृता पुराणी।।४।।
३-४
(यस वृक्षको वास्तविक स्वरुपलाई यस संसारमा बुझ्न सकिंदैन। यो कहाँ समाप्त हुन्छ, कहाँ शुरु हुन्छ र कहाँ अवस्थित छ भन्ने कुरा कसैले बुझ्न पनि सक्दैन। तर मोहत्याग रुपि हतियार द्वारा दृढ निश्चय भएको व्यक्तिले भने यो बलियो गरी जरा गाडेको रूखलाई काटेर ढाल्न सक्छ। त्यसकारण त्यस्तो स्थानको खोजी गर्नुपर्दछ जहाँ पुगेर फर्किनु पर्दैन र त्यहा पुगेर आफूलाई त्यो परमेश्वरमा समर्पित गर्नु पर्दछ जसले अतिप्राचीन समयदेखि सम्पूर्ण कुराहरुको विस्तार गर्नु भएको छ।)

निर्मानमोहा जितसंगदोषा
अध्यात्मनित्या विनिवृत्तकामा:।
द्वन्द्नदैर्विमुक्ता: सुखद:खसंज्ञैर्
गच्छन्त्यमूढा: पदमव्ययं तत्।।५।।
(त्यस्ता मुक्त व्यक्तिहरुले त्यो अव्यय पद प्राप्त गर्दछन् जो घमण्ड तथा मोह नभएका छन्, आशक्ति जस्तो दोषबाट मुक्त छन्, आत्म अनुशासनमा तत्पर रहन्छन्, भोग विलासको इच्छा राक्दैनन् र सुख दु:ख नामक द्वन्दबाट छुटकारा पाएका छन्।) 

न तद् भासयते सूर्यो न शशांको न पावक:।
यद् गत्वा न निवर्तते तद्धाम परमं मम।।६।।
(मेरो परमधाम-स्थानमा पुगेर फेरि यो भौतिक जगतमा फर्किनु पर्दैन। मेरो स्थानलाई सूर्य, चन्द्र, अग्नि कसैले पनि प्रकाशित गर्न सक्तैनन्।)

ममैवांशो जीवलोके जीवभूत: सनातन:।
मन:षष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति।।७।।
(यस भौतिक संसारका देहधारी आत्माहरु मेरा सनातन-कहिले नाश नहुने अंशहरु हुन। तर ती अंशहरु भौतिक प्रकृतिसँग आवद्ध रहेको हुनाले पाँच इन्द्रियहरु सहित मनसँग संघर्षरता रहन्छन्।)

शरीरं यदवाप्नोति यच्चाप्युत्क्रामतीश्वर:।
गृहीत्वैतापनि संयाति वायुर्गन्धनिवाशयात्।।८।।
(यस भौतिक संसारमा इन्द्रियहरुका मालिक देहधारी जीवले नया शरीर प्राप्त गर्दा र पुरानो शरीर परित्याग गर्दा आफ्ना छ इन्द्रियहरुलाई साथमा लिएर त्यसै गरी यात्रा गर्छ जसरी वतासले फूलहरुबाट गन्ध आफ्नो साथमा लिएर यात्र गर्छ।)

श्रोत्रं चक्षु: स्पर्शनं च रसनं घ्राणमेव च।
अधिष्ठाय मनश्चायं विषयानुपसेवते।।९।।
(यो जीवआत्माले पाँच इन्द्रियहरु-कान, आँखा, छाला, जिभ्रो, नाक र मनसहतिको माध्यमबाट विषयहरुको भोग गर्दछ।)

उत्क्रामन्तं स्थितं वापि भुञ्जानं वा गुणान्वितम्।
विमूढा नानुपश्यन्ति पश्यन्ति ज्ञानचक्षुष:।।१०।।
(जीव आत्माले शरीर त्याग गरेको वा जीव आत्मा शरीरमा नै रहेको अज्ञानीहरुले अनुभूत गर्न सक्तैनन र गुणहरुसँग आवद्ध भएर इन्द्रियहरुका सुखबाट आनन्दित हुन्छन्। तर ज्ञानका आँखा हुनेहरुले भने देख्न र अनुभूत गर्न सक्छन्।)

यतन्तो योगिनश्चैनं पश्यन्त्यात्मन्यवस्थितम्
यतन्तोSप्यकृतात्मानो नैनं पश्यन्त्यचेतस:।।११।।
(अन्त:करण-हृदयम अवस्थित यो आत्मालाई योगीहरुले यत्नद्वारा देख्न सक्छन तर अविवेकी एवं अज्ञानीहरु, जसको हृदय पवित्र छैन, ले जतिसुकै प्रयत्न गरेता पनि देख्न सक्दैनन्।)

यदादित्यगतं तेजो जगद् भासयतेSखिलम्।
यच्चन्द्रमसि यच्चाग्नौ तत्तेजो विद्धि मामकम्।।१२।।
(जुन तेजले सूर्य, चन्द्र र अग्निमा रहेर सारा संसारलाई प्रकाशित गर्दछ त्यसलाई मेरो नै तेज जान।)

गामाविश्य च भूतानि धारयाम्यहमोजसा।
पुष्णामि चौषधी: सर्वा: सोमो भूत्वा रसात्मक:।।१३।।
(र, म पृथ्वीमा प्रवेश गरेर आफ्नो शक्तिले सम्पूर्ण चर अचर प्राणीहरुलाई धारण गर्दछु र म नै अमृतमय चन्द्रमा भएर सम्पूर्ण बिरुआ-औषधिहरुलाई पोषित गर्दछु।) 

अहं वैश्वानरो भूत्वा प्राणिनां देहमाश्रित:।
प्राणापानसमायुक्त: पचाम्यन्नं चतुर्विधम्।।१४।।
(म जठ अग्नि बनेर प्राणीहरुको शरीरमा रही प्राण- भित्रिने र अपान-बाहिरिने वायुको संयोगबाट चार किसिमका अन्नहरुलाई पचाउँछु।)

सर्वस्य चाSहं हृदि सन्निविष्टो
मत्त: स्मृतिर्ज्ञानमपोहनं च।
वैदेश्च सर्वैरहमेव वेद्यो
वेदान्तकृद् वेदविदेव चाहम्।।१५।।
(म सबै प्राणीहरुको हृदयमा अन्तरयामीको रुपमा स्थित छु। मबाट नै स्मृति, ज्ञान र विस्मृति उत्पन्न हुन्छ। सबै वेदहरुमा जानिने म नै हुँ। यथार्थमा वेदहरुका रचनाकर्ता र यसका ज्ञाता पनि म स्वयं नै हुँ।)

द्वाविमौ पुरुषौ लोके क्षरश्चाक्षर एव च।
क्षर: सर्वाणि भूतानि कूटस्थोSक्षर उच्यते।।१६।।
(यस चौध लोकमा क्षर-नाश भएर जाने र अक्षर-नाश भएर नाजने गरी दुई किसिमका पुरुष तत्वहरु छन्। सम्पूर्ण प्राणीहरुलाई क्षर र जीवआत्माहरुलाई अक्षर भन्ने गरिन्छ।)
नोट: प्राणीहरुलाई नाश हुने र नाश नहुने गरी दुई वर्गमा विभाजित गरिएको छ। भौतिक संसारमा स्थित प्रत्येक प्राणी नाश हुने हो र आध्यात्मिक संसारमा स्थित प्रत्येक प्राणी नाश नहुने हुन्छ। 

उत्तम: पुरुषस्त्वन्य: परमात्मेत्युदाह्रत:।
यो लोकत्रयमाविश्य विभर्त्यव्यय ईश्वर:।।१७।।
(तर पहिले भनिएको क्षर र अक्षर तत्व भन्दा भिन्न एक उत्तम परुष छन् जसलाई परमात्मा भन्ने गरिन्छ। परामात्मा, जो इश्वर र निर्विकार हुन्, ले तिन ओटै लोकहरुमा प्रवेश गरेर तिनै लोकको भरण पोषण गर्दछन्।

यस्मात्क्षरमतीतोSहमक्षरादपि चोत्तम:।
अतोSस्मि लोके वेदे च प्रथित: पुरुषोत्तम:।।१८।।
(किनकि म क्षर भन्दा अति प्राचीन र अक्षरहरुमा उत्तम छु। त्यसकारण म लोकमा र साथै वेदमा पनि पुरुषोत्तम नामले प्रसिद्ध छु।)

यो मामेवमसम्मूढो जानाति पुरुषोत्तमम्।
स सर्वविद्भजति मां सर्वभावेन भारत।।१९।।
(हे भारत, जो ज्ञानीले मोहशून्य भएर मलाई यसप्रकारले पुरुषोत्तम भनी जान्दछ त्यो सर्वज्ञ हो र उसले सर्वप्रकारले मलाई नै भज्दछ।)

इति गुह्यतमं शास्त्रमिदमुक्तं मयाSनघ
एतद् बुद्ध्वा बुद्धिमान् स्यात्कृततकृत्यश्र्च भारत।।२०।।

(हे निष्पाप भारत, यसप्रकार यो अति रहस्यपूर्ण शास्त्र मैले तिमीलाई वर्णनन् गरी अवगत गराएँ। यसलाई जानेर बुध्दिमान व्यक्ति अझै कृतार्थ- ज्ञानले पूर्ण प्रकाशित हुन्छ।)

पन्द्रौ अध्याय समाप्त

No comments:

Post a Comment