Friday, March 27, 2015

Goodbye Founding Father of Modern Singapore-Article-164

अलबिदा आधुनिक सिंगापुरका निर्माता

एउटा व्यक्ति  (देशबासी) असल भएमा उसले आफ्नो इमान्दार सोंच, चिन्तन र क्रियाकलापहरुद्वारा देशलाई बलियो, आत्मनिर्भर र धनी तुल्याउन सक्छ भने स्वार्थी भएमा उसले आफ्ना गलत उच्च महत्वाकांक्षा, सत्ता लोलुपता र हृदयहीन व्यवहारद्वारा आफ्नो देशलाई गृहयुद्धमा धकलेर, लाखौ जनताको ज्यान लिएर, देशलाई नै बरबाद गर्न सक्छ। अन्य विभिन्न व्यवहारहरुदवारा देश र जनतालाई निरन्तर पीडित तुल्याउन सक्छ।
देश र जनतालाई आफ्नो स्वार्थी व्यवहारद्वारा अन्तहीन पीडा दिने नेताहरुको संख्या मुख्य गरी एशिया र अफ्रिकामा निकै छ। लिबिया, इथोपिया, सोमालिया, इरिट्रिया, लाइबेरिया, नाइजेरिया, सुडान, युगान्डा, सिएरा लियोन आदि जस्ता अफ्रिकी मुलुकहरु साना, ठूल, विभिन्न किसिमका स्वार्थी नेताहरुको व्यवहारद्वार पिडित छन्। घरेलु झगडा र द्वन्दले गर्दा ती देशका नागरिकहरु ज्यान जोगाउन युरोपका विभिन्न मुलुकहरुमा पुगेर शरर्णाथीको जीवन बाँच्न बाध्य छन्। एशियाली मुलुकहरु- सिरिया, अफगानिस्तान, इराक आदि जस्ता द्वन्दग्रस्त मुलुककका नागरिकहरु पनि त्यस्तै किसिमका समस्याहरुद्वारा पीडित छन्। एशियाका ती द्वन्दग्रस्त मुलुकका नागरिकहरु नेताहरुले चर्काएका युद्धका पीडाहरु खेपरे बाँच्न बाध्य छन। नेपालका स्वार्थी नेताहरुको व्यवाहरहरुदारा नागरिकहरु कति पीडित छन् भन्ने कुराको अनुमान कसैले पनि सहजै लगाउन सक्छ।
यस आलेखमा भने एक इमान्दार नेताको निस्वार्थी सोंच, चिन्तन, सुझबुझ आदिले भरिएको व्यवहारले देशको कत्तिसम्म विकास हुन सक्छ भन्ने बारे चर्चा गर्न खोजिएको छ। एक दूरदर्शी, असल नेताले समान्य आर्थिक स्थिति भएको राष्ट्रलाई विश्वका धनी राष्ट्रहरुको पंक्तिमा कसरी खडा गर्न सक्छ भन्ने उल्लेख गर्न खोजिएकोछ।
सिंगापुरका दिवंगत नेता लि क्वान येउ विश्व थोरै त्यस्ता नेताहरु मध्ये पर्दछन् जसले आफ्नो देशलाई आर्थिक एवं सामाजिक विकासको पथमा तिब्र गतिमा दौडाए। छोटो समया आफ्नो मुलुकलाई विश्वका धनी राष्ट्रहरु मध्ये एक तुल्याए। सिंगापुर अहिले विश्वका प्रमुख व्यापारिक केन्द्रहरु मध्ये एक मानिन्छ। सिंगापुर विश्वको चौथो ठूलो आर्थिक कारोबार हुने ठाउँ हो भने विश्वका पाँच अति व्यस्त बन्दरगाह मध्ये एक हो। सिंगापुरको वहु आयामिक अर्थ व्यवस्था विश्व अर्थव्यवस्था सँग ज्यादै बलियो गरि टाँस्सिएको छ। भूमिको अभावको कारण कृषिमा निकै पछाडि रहेको सिंगापुर मूख्य गरि व्यापारमा आश्रित छ, त्यसमा पनि खास गरी निर्माणमा। सन् २०१३ मा, सिंगापुरको कुल गार्यहस्थ उपत्पादनमा निर्माण क्षेत्रको योगदान ३० प्रतिशत थियो। प्रतिव्यक्ति आयको हिसाबले सिंगापुर विश्वको तेस्रो बढि प्रति व्यक्ति आय हुने राष्ट्र हो। ५४ लाख ६९ हजार ७०० सय जनसंख्य (सन् २०१४) भएको सिंगापुरको प्रति व्यक्ति आम्दानी ७८ हजार ७ सय ६२ डलर रहेको छ। आर्थिक विकासको हिसाबले सिंगापुर एशियाको चार प्रारम्भिक बाघहरु मध्ये एक हो। सन् २०१३ को इन्डेक्स अफ इकोनोमिक फ्रिडम अनुसार सिंगापुर विश्वको दोस्रो स्वतन्त्र (सरल) अर्थ व्यवस्था भएको देश मानिएको थियो। अति स्वतन्त्र, अति अन्वेषणमूखि, अति प्रतिस्पर्धी र अति व्यापार-मैत्री सिंगापुरको अर्थ व्यवस्थाका चार प्रमुख विशेषताहरु हुन। यी विशषताहरुले नै सिंगापुरलाई छोटो समयमा नै अति धनी राष्ट्रको दर्जा दिलाए। सिंगापुर विश्वको १४ औ ठूलो निर्यातकर्ता हो भने १५ औ ठूलो आयात कर्ता। यसै गरी सिंगापुरसँग, विश्व मै, एघारौ ठूलो वैदेशिक संचिति भएको राष्ट्र हो। तर यी सबै उपलब्धिहरुको पछाडि लि क्वान येउको ठूलो हात रहेको विश्वास गरिन्छ। ३१ वर्षसम्म सिंगापुरको प्रधान मंत्री रहेका लि क्वान येउले आफूलाई केवल सिंगापुरको आर्थिक विकासमा केन्द्रित गरे। सिंगापुरलाई एक समृद्ध राष्ट्र तुल्याउनका लागि लि ले प्रतिभातन्त्र (Meritocracy) मा जोड दिएका थिए। लिको इमान्दारी र प्रतिभातन्त्रको प्रयोगले नै सिंगारपुर आज यो अवस्थामा पुगेको हो। प्रतिभातन्त्रले हरेक व्यक्तिलाई उसको सामाजिक हैसियत, पद, पैसा, जाति वा समुदायको आधारमा होइन उसको प्रतिभाको आधारमा औसर दिनु पर्दछ भन्ने कुरामा विश्वास गर्दछ। सिंगापुरले विश्वभरका प्रतिभाहरुलाई आकर्षित गरेको छ। परिणामस्वरुप सिंगापुर अहिले वहु भाषिक, वहु सांस्कृतिक, वहु जातीय हुन पुगेको छ। सिंगापुरको जनसंख्यामा करिब ७६ प्रतिशत चाइनिज, १५ प्रतिशत मले र ७ प्रतिशत भारतीय मूलकाहरु रहेका छन्। वहु सांस्कृतिक भएको कारणले पनि यो देशले चमात्कारी किसिमले आर्थिक प्रगति गरेको हुन सक्छ।
आधुनिक सिंगापुरको निर्माता मानिएका लि क्वान येउको मृत्यु केही दिन पहिले ( Monday, March  23, 2015) भएको थियो। यो आलेख तयार पार्दासम्म, प्राप्त समाचारहरुको अध्ययन गर्दा, लिलाई अन्तिम श्रद्धाजलि दिनेहरुको भिड लाग्ने क्रम जारी थियो। सरकारले जनतालाई ठूलो भीड न गर्ने अनुरोध गर्नु परेको थियो। लि को अन्तिम दर्शन गर्न सिंगापुरको डाउनटाउनमा आठ घण्टा लामो भिड लागेको थियो। यति मात्र होइन, त्यति ठूलो भीड अधिकारीहरुका लागि अप्रत्यासित समेत हुन पुगेको थियो। लिको लोकप्रियतालाई मध्य नजर गर्दै सिंगापुरका विभिन्न संघ संस्थाहरुले आफ्ना कर्माचारीहरुलाई लिको श्रद्धांजलीमा भाग लिन जान दिन कामबाट बिदा समेत दिएका थिए। केही समयका लागि भूमिगत रेल, ‘एम आर टि’ चौबिस घण्टा संचालन गरिएको थियो। लिलाई सम्मान प्रदान गर्न लागेको केही किलोमिटरसम्मको लामो भीडले लि सिंगापुरमा कति लोकप्रिय थिए भन्ने कुराको अनुमान सजिलै लगाउन सकिन्थो।
लिले आफ्नो कार्यकालमा विभिन्न आलोचनाहरु नखेपेका भने होइनन्। उनले सिंगापुरियन मात्र होइन, सिंगापुर भित्र रहेका जो कोहीलाई पनि चुईंगम खान पूर्ण रोक लगाएका थिए। सरकारको आलोचन गर्ने प्रकाशनहरु बन्द गर्न लगाएका थिए। वंश वृद्धिका लागि शिक्षित महिलाहरुलाई प्रोत्साहित गर्न उनीहरुलाई आर्थिक प्रोत्साहन दिने व्यवस्था गरेका थिए। उनी देशमा विभिन्न राजनैतिक दलहरु हुनु पर्दछ भन्ने मान्यताको विपक्षमा थिए। राष्ट्रको आर्थिक विकासका लागि विरोधी स्वरहरु दबाउन पर्दछ भन्ने मान्यता बलियो विश्वास राख्दथे।
३१ वर्षसम्म सत्तामा रहेर एक किसिमको तानाशाही कायम गरेका लि ले  देशमा प्रभावकारी राजनैतिक व्यवस्था का लागि एक राजनैतिक दल बढी उपयोगी हुन्छ भनी वकालत गर्थे। एक दलीय व्यवस्था पूर्वी एशियाली राष्ट्रहरुको लागि सुहाउँदो हुनेमा जोड दिन्थे। बरोधीहरुको रचनात्मक विचार सुन्नु भन्दा कान थुन्नु लाइ उपयोगी मान्थे। तर यति हुँदा हुँदै पनि लि आफ्नो क्षेत्रमा मात्र होइन, विश्व कै प्रभावकारी नेताको रुपमा स्थापित भए। यस्तो हुनुको एउटै कारण थियो। र त्यो कारण थियो उनी इमान्दार हुनु। सिंगापुर र त्यहाँको जनताको आर्थिक विकासका लागि लि समर्पित थिए। आफ्नो जीवन कालमा जे गरे सिंगापुरा र त्यहाँका जनताका लागि गरे। तर सन्तुलित रुपमा गरे। चाइनिज मुलका भएता पनि मले वा भारतीय मुलकाहरु प्रति कुनै पनि किसिमको भेदभाव गरेनन्।
लि को लोकप्रियताले एउटा कुरा विवादरहित किसिमले प्रष्ट भएको छ। प्रष्ट के भएको छ भने, अहिले यो भूगोलको जुन सुकै क्षेत्रको र खास गरी एशिया र अफ्रिकाको जनतालाई मात्र शान्ति र आर्थिक खुसहाली चाहिएको छ। अहिले, जुन सुकै देशका नागरिकहरु, आर्थिक खुसहालि ल्याउने र शान्ति कायम गर्न सक्षम हुने राजनैतिक व्यवस्था नै उपयुक्त हो भन्ने मनस्थितिमा पुगेका छन्। राजनैतिक व्यवस्था पूर्ण प्रजातान्त्रिक छ कि छैन भन्ने कुरा ठूलो होइन, जुन सुकै राजनैतिक व्यवस्थालाई संचालन गर्ने नेताहरु इमान्दार छन्  कि छैन्न भन्ने कुरा ठूलो हो भन्ने स्थितिमा पुगेका छन्। अहिले नागरिकहरुले इमान्दार नेताहरु खोजि गरिरहेका छन्। सिद्धान्तको भारि बोक्ने नेताहरु खोजिरहेका छैनन्। सिद्धान्तको भारि बोक्ने र त्यही सिध्दान्तको नाममा जनतालाई ठग्ने नेताहरु खोजिरहेका छैनन्।   
नेताले जस्तो सुकै राजनैतिक व्यवस्था प्रतिपादन गरेता पनि, यदि ऊ तानाशाह भएता पनि, यदि उसले इमान्दारीपूर्वक देश र जनताको हितमा काम गरेको छ भने जनताले त्यस्तो नेताको गल्तिलाई माफ गर्दो रहेछ। उसको गल्तिलाई भुलेर उसलाई प्रिय  र सम्मानीय नेताको दर्जा प्रदान गर्दो रहेछ। सिंगापुराको दिवंगत नेता लिको लोकप्रियाताले यस तथ्यको निर्विवाद पुष्टि गरेको छ। यो तथ्य नेपालका यी अपरिपक्व नेताहरुले बुझ्न अति आवश्यक छ। सिद्धान्त, वाद र विभेदको विद्या पढेर महान नेता हुने होइन, जनताको निस्वार्थ सेवा गरेर महान नेता बन्ने तथ्य नेपाली नेताहरुले बुझ्न आवश्यक छ।


विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, March 27, 2015

No comments:

Post a Comment